राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले जिल्ला भ्रमणमा रहँदा एक प्रधानाध्यापकसँग गरेको संवाद सार्वजनिक भएपछि नेपाली कांग्रेसका नेता कुमार लुइँटेलले संयमित बन्न सुझाव दिएका छन्।
पूर्वएआईजी समेत रहेका पोखरेलसँग निर्वाचनमा ५ मतले पराजित लुइँटेलले अब फौजी अभ्यास बिर्सिएर जनताको सेवक बन्नुपर्ने उल्लेख गरेका हुन्।
आफ्नो सचिवालयमार्फत धारणा राख्दै लुइँटेलले भनेका छन्, ‘माननीय विश्वराज पोखरेल जी, तपाईं हामी कोही समाज रूपान्तरणमा दशकौँ वर्षदेखि लागिरह्यौँ, कोही कुनै घटना/परिघटनाले राजनीतिमा आइपुग्यौँ।जो जे जसरी राजनीतिमा आइपुगे पनि तपाईं अहिले हामी सबै ओखलढुंगे जनताको माननीय हुनुहुन्छ।’
उनले अगाडि भनेका छन्, ‘यो बेला तपाईंले अब २९/३० वर्षको फौजी अभ्यास गरेको विशिष्ट श्रेणीको निवृत्त कर्मचारी भन्ने कुरालाई भुल्नैपर्छ। राजनीतिमा आएपछि हामी जनताका सेवक हौँ सर्वदा अब। यो कुरा तपाईंले पनि बुझ्नुपर्छ। हाम्रा कारण कम्तीमा ओखलढुंगे जनताको आत्मसम्मानमा चोट लाग्नु हुन्न। चण्डेश्वरी मावि, रगनीको प्रांगणमा सोही विद्यालयको हेडसरसँग भएको संवाद भिडियो हेरेँ, तपाईंको पदीय मर्यादालाई पटक्कै सुहाएन। अहिलेलाई यति नै। धन्यवाद।’
विद्यालय प्रांगणमा भएको उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। लुइँटेलले जनप्रतिनिधिले गर्ने व्यवहारले आम जनताको आत्मसम्मानमा असर पुग्न नहुने भन्दै सचेत गराएका हुन्।
प्रकाशित: १२ वैशाख २०८३ १०:१५ शनिबार





