निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध भएकी छन्। फिल्मको निर्माण टिमले उनलाई अनुबन्ध गरेको हो। यस फिल्मकी अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले दीपाश्रीसँग पहिल्यै कुराकानी भएको र मंगलबार कागजी सम्झौता गरेको बताइन्।
‘हामीबीच सल्लाहसुझाव भइरहेको थियो, मौखिक रूपमा हामी ओके थियो, ’दीपाश्रीलाई फिल्ममा अनुबन्ध गर्दै निताले भनिन्,‘आजचाहिँ फाइनल हुनुभएको छ दिदी। मेरो प्रोजेक्टमा दिदी हुनु मेरा लागि ठुलो कुरा हो।’
निताले दीपालाई नायिकाको रूपमा अनुबन्ध गरेको बताइन्। फिल्ममा अनुबन्ध भएपछि दीपाश्रीले १२ वर्षअघि नितासँगको सहकार्य सम्झिइन्।
‘आजभन्दा १२ वर्षअघि २०७० सालमा 'छ एकान छ'मा हामीलाई हेल्प गरेकी थियौं, ’दीपाले निताको तारिफ गर्दै भनिन्, ‘१२ वर्षपछि खोलो फर्कियो भने जस्तै मलाई अनुबन्ध गराएकी छौं 'पार्वती' मा। अहिले यो साउनको महिना, शिवपार्वती जोडिएको महिना र पार्वती जस्तो फिल्ममा लिड रोलमा मौका पाएँ। धन्यवाद छ मलाई सम्झेकोमा।’
निताले १२ वर्षअघि उनले मलाई फिल्ममा सम्झिएको र १२ वर्षपछि मेरो डाइरेक्टरमा दीपालाई लिन पाएकोमा खुशी व्यक्त गरिन्। दीपाश्री छक्कापञ्जा टिमकी सफल निर्देशक तथा अभिनेत्री समेत हुन्। उनले निर्देशन गरेका अधिकांश फिल्म सफल छन्। त्यस कारण पनि यो फिल्ममा उनी अनुबन्धित हुँदा अर्थपूर्ण तरिकाले हेरिएको छ।
दीपाश्री अनुबन्ध हुनुअघि यो फिल्मका लागि चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुबन्ध भएका थिए। सफल अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीले निर्देशन गर्न लागेको फिल्ममा उनी आफैं मुख्य भूमिकामा अभिनय गर्दै छन्।
आउँदाे असोजदेखि छायांकन सुरु हुने यो फिल्मको दुई पोस्टर समेत सार्वजनिक भइसकेका छन्। निर्माण टिमले गत शनिबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिसकेको छ।
फिल्म आउँदाे माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा नीता र दीपाश्रीबाहेक अन्य कलाकारहरूको नाम भने निमार्ण टिमले खुलाएका छैनन्। निर्देशक निताका अनुसार कलाकार र प्राविधिक टिमबारे जानकारी क्रमशः सार्वजनिक गरिनेछ।
फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्।
फिल्ममा सावित्रा अधिकारी, नरहरि अधिकारी र पवन ढुंगानाले लगानी गर्नेछन्। निताले पहिलो पटक ‘ह्रस्वदीर्घ’ फिल्म मार्फत निर्माणमा होमिएकी थिइन्। यस पटक भने नीताले ‘पार्वती’ र ‘सुखदुःख’ फिल्म मार्फत निर्देशनमा पाइला राख्न लागेकी हुन्। वितरण पक्षमा, उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन्।
प्रकाशित: २८ श्रावण २०८२ ११:०२ बुधबार





