नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पहिलो दिन दुई फिल्म, दुई डकुमेन्ट्री र पाँच दिने एआई फिल्म वर्कसपको सुरुवातका गतिविधि भएका छन्।
काठमाडौंको सुन्धारास्थित सिभिल मलमा बिहीबार नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतको प्रुमख आतिथ्यमा भएको उद्घाट समारोह पश्चात इरानी फिल्म ‘माइ डटर्ज हेयर’को स्क्रिनिङ गरी निफको सुरुवात भएको हो। हिशान्त फराहमन्दद्वारा निर्देशित उक्त फिल्मबाट निफको सुरुवात भएको हो।
निफको पहिलो दिन सिभिल मल, ठमलेस्थित छाया सेन्टर र कलमपोखरीस्थित रसियन हाउसमा समान्नतर गतिविधि गतिविधि भएका थिए।
सिभिल मलमा अर्को फिल्म ‘तारा’ पनि प्रदर्शन भएको थियो । छायासेन्टरमा ‘द टाइट टर्न’ र ‘उडेको चरा’को स्क्रिनिङ गरिएको थियो।
यससगै रसियन हाउसमा एआई फिल्म मेकिङ सम्बन्धी पाँच दिने वर्कसप पनि सुरुवात भएको छ।
दोस्रो दिनका कार्यक्रम
निफको दोस्रो दिन शुक्रबार ‘रसियन फिल्म डेज’ को उद्घाटन कार्यक्रम रहेको छ। यो कार्यक्रम कमलपोखरीस्थित रसियन हाउसमा राखिएको छ। बिहान ११ बजे उद्घाटन कार्यक्रमसँगै फिल्म स्क्रिनिङ सुरू हुनेछ।
भृकुटी मण्डपस्थित पर्यटन बोर्डमा दुई अन्तर्क्रियात्मक कार्यक्रम राखिएको छ। दिउँसो १२ बजे ‘कुमारी : पहिलो रङ्गिन चलचित्रको अलिखित कथा’ शीर्षकमा संवाद कार्यक्रम राखिएको छ।
यस कार्यक्रममा नेपालको पहिलो रङ्गिन चलचित्र ‘कुमारी’का निर्देशक प्रेम बस्नेत, नायिका चैत्यदेवी सिंह र सह छायाकार मञ्जुकुमार श्रेष्ठसँग दीपक सापकोटाले संवाद गर्नेछन्।
महानायक राजेश हमाल र बलिउड फिल्म ‘शोले’का निर्देशकबीच हुने संवाद कार्यक्रम ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ दिउँसो ३ बजेलाई राखिएको छ। सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा फिल्म प्रदर्शन हुनेछन्।
प्रकाशित: २० चैत्र २०८२ ०८:१३ शुक्रबार





