नियात्राकार राजेन्द्रमान डङ्गोलको चौथो नियात्रासंग्रह ‘कैलाश कोरा’ को लोकार्पण भएकाे छ। एसोसिएसन अफ कैलाश टुर्स अपटेरर्स नेपालका अध्यक्ष विमल नहर्कीलेकाे अध्यक्षता कार्यक्रम भएकाे हाे।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीओम श्रेष्ठ 'रोदन'ले 'भूत लेखन'को बिगबिगी भइरहेको बेला राजेन्द्रमान डङ्गोलको उत्कृष्ट नियात्राकृतिले निकै राम्रो अर्थ राख्ने बताए।
नियात्रामा कैलाश मानसरोवर यात्रा गर्न चाहनेका निम्ति मनग्य जानकारी मात्र छैन, त्योभन्दा त्यहाँ जान नसक्नेका निम्ति कृति पढेपछि गए जस्तै अनुभूत हुने र आर्थिक रूपमा सम्पन्न हुनसाथ जता गए पनि यसो एकखाले हुन नसकेको दैनिकीलाई नियात्रा भनाएर बन्ने नियात्राकारहरूको बाढी आएका बेला डङ्गोलको अर्गानिक नियात्राले विशेष अर्थ राख्ने राेदनले बताए।
समालोचक राम लोहनीले राजेन्द्रमान डङ्गोलले हरेक हरफमा के लेख्छन् वा उनले हिउँ, झरना, हिमाल, पहाड, नदी वा बस्तीलाई के भन्छन् भन्ने सबै कण्ठ हुन थालिसकेको दाबी गरे। 'कैलाश कोरा' किन नाम नै राखियो भन्नेबारे रौँचिरा केलाउँदै लाेहनीले कृतिको सङ्क्षिप्त रूपमा शल्यक्रिया गरेका थिए।
त्यस्तै चर्चित कवि डा. विन्दु शर्माले कृतिकाे समीक्षात्मक टिप्पणी गर्दै कर्तव्य अप्ठ्यारोलाई गाँठो फुकाउने भएको तर कृतिमा कुनै अस्पष्टता नभएको बताउँदै सायद चिनियाँ भएकाले हुन सक्छ पदयात्री बीचको संवाद अलिक कम भएको टिप्पणी गरिन्।
हरेक कैलाश मानसरोवर जान इच्छुकले 'कैलाश कोरा' लाई एकपटक मात्र आँखा लगायो भने पनि महत्त्वपूर्ण ज्ञान हासिल हुन सक्ने बताइन्।
वरिष्ठ पर्यटनकर्मी ज्योति अधिकारीले आफूहरूबीच उतारचढावको निजी सम्बन्ध रहे पनि राजेन्द्रमानको लेखकीय शक्तिको आफू प्रशंसक भएको बताउँदै कैलाश जाने जोसुकैले पनि नेपाल अहिले पनि राज्य बनी नसकेको लख काट्न सक्ने उल्लेख गरे।आफ्ना आसेपासे र भरौटेलाई मात्र पोस्ने र राज्य दोहन गरी अकुत सम्पत्ति कमाउनेबाहेक नेपाली शासकले माखो मार्न नसकेको उनको भनाइ थियो।
कृतिकार राजेन्द्रमान डङ्गोलले कृति तयार गर्दाका उकालीओरालीबारे आफ्नो अनुभव साझा गरे। उनले कैलाशमा आफू विलीन भएको अनुभूति हुने विषय पनि राखे।
कवि तथा कार्यक्रम प्रस्तोता लक्ष्मी रूम्बाले सहजीकरण गरेको कार्यक्रममा टानका अध्यक्ष सागर पाण्डे, हानका अध्यक्ष विनायक शाह, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे 'अटल' लगायतले शुभकामना व्यक्त गरेका थिए।
प्रकाशित: २६ आश्विन २०८२ १२:२५ आइतबार





