भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाली साहित्य समाज क्यालगरीले आफ्नो १५औं वार्षिकोत्सव तथा २१३औं भानुजयन्ती विशेष साहित्यिक कार्यक्रमसाथ सम्पन्न गरेको छ। अल्बर्टा, क्यालगरीमा आयोजित उक्त कार्यक्रममा नेपाली समुदायका साहित्यप्रेमी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्रष्टा तथा शुभेच्छुकहरूको सहभागिता थियो।
संस्थाका बोर्ड अफ डाइरेक्टर कल्पना ढकालले स्वागत मन्तव्य दिँदै भाषा, साहित्य र संस्कृतिको प्रवर्धनमा संस्थाले पुर्याउँदै आएको योगदानबारे प्रकाश पारिन्। कार्यक्रममा गर्दै संस्थाका वरिष्ठ आजीवन सदस्य जमुना ढकालले भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानका चर्चा गरिन्।
उक्त अवसरमा नेपाली साहित्य समाजको आधिकारिक वेबसाइट सार्वजनिक गरिएको थियो। समाजका सदस्य नवीन पौडेलद्वारा निर्माण गरिएको वेबसाइटले संस्थाका गतिविधि, साहित्यिक कार्यक्रम, सदस्यता विस्तार तथा आगामी योजनालाई विश्वभरका नेपाली समुदायसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
अरुण श्रेष्ठ र रेवा कायस्थले गीत प्रस्तुत गरे भने नेपाली साहित्य समाजको विगत, वर्तमान र भविष्यबारे बोर्ड अफ डाइरेक्टर नवीन सुब्बाले प्रकाश पारे।
संस्थापक अध्यक्ष राजेन्द्र प्रसाईंले भानुजयन्तीको महत्त्व र आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा तथा साहित्यको विकासमा पुर्याएको योगदानबारे चर्चा गरे। कविता वाचन कार्यक्रमअन्तर्गत निवर्तमान अध्यक्ष भीमलाल अर्याल, बोर्ड अफ डाइरेक्टर दीपक ढकाललगायत स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गरे।
कार्यक्रममा क्यानडास्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले नेपाली साहित्य समाजलाई शुभकामना व्यक्त गरेका थिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका वरिष्ठ उपाध्यक्ष सन्तोष दाहाल, नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरीका अध्यक्ष प्रकाश बस्याल, नेवा सोसाइटी अफ क्यालगरीका अध्यक्ष हेमन्त महर्जन, मातृभूमि मेलोडी आट्र्सका अध्यक्ष युवराज गुरुङलगायत विभिन्न संस्थाका प्रतिनिधिले शुभकामना दिँदै नेपाली साहित्य समाजले भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे।
कार्यक्रमका अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडा, नेपाली सनातन सांस्कृतिक समाज, पर्यटन व्यवसायी ईश्वरी भट्टराई तथा रियल्टर जीवन कटुवाललगायतबाट संस्थालाई सहयोग प्राप्त भएको थियो।
नेपाली साहित्य समाज क्यालगरीकी उपाध्यक्ष लक्ष्मी लम्साल खनालले धन्यवाद ज्ञापन गर्दै सहभागी, अतिथि, साहित्यकार, कलाकार, सहयोगदाता तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गरिन्। अध्यक्ष तथा कार्यक्रमका सभापति रमेश लामिछानेले कार्यक्रमको समापन गर्दै आगामी दिनमा नेपाली साहित्य समाज क्यालगरीले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाली साहित्य समाज क्यालगरीको १५औं वार्षिकोत्सव तथा २१३औं भानुजयन्तीले क्यानडामा रहेका नेपाली समुदायलाई भाषा, साहित्य र संस्कृतिको माध्यमबाट एकताबद्ध गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। कार्यक्रमले प्रवासमा नेपाली साहित्यको निरन्तरता, नयाँ पुस्तामा भाषाप्रतिको आकर्षण र सांस्कृतिक पहिचान संरक्षणमा नेपाली साहित्य समाज क्यालगरीको भूमिकालाई अझ उजागर गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको सञ्चालन साहित्य समाजका सचिव रुद्र दाहालले गरेका थिए भने कार्यक्रमको सभापतित्व समाजका वर्तमान अध्यक्ष रमेश लामिछानेले गरेका थिए।
प्रकाशित: ३२ असार २०८३ ०९:१० बिहीबार



-600x400.jpg)

