राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भेटेर मुख्य चार विषयमा खबरदारीसहितको सुझाव राखेका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा समसामयिक विषयमा गम्भीर छलफलको भेटमा सहभागी राप्रपा प्रमुख सचेतक खुस्बु ओलीले नागरिकसँग भनिन् ।
भेटका क्रममा सबैभन्दा धेरै संविधान संशोधनको विषयमा छलफल भएको थियो । यस विषयमा राप्रपाले संविधानको आधारभूत पक्ष, गणतन्त्र, धर्मनिरपेक्षताका विषय उठान भएपछि अरु दलले कार्यदल छोडेको चर्चासहित यही विषय संशोधनका लागि अघि सारिएको भए राप्रपाले पूर्ण रुपले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
उनले भनिन्, ‘सरकारले संविधानको मूलमर्म अनुसार धर्मनिरपेक्षता, गणतन्त्रको विषय संशोधन गर्ने विषयमा छलफल अघि बढाएको भए हामीले सरकारलाई पूर्ण समर्थन गर्छौँ भनेका छौँ ।’
त्यस्तै भेटमा सुकुम्बासीको व्यवस्थापनको विषय उठेको थियो। राप्रपाले सुकुम्बासीलाई अहिले जसरी होल्डिङ सेन्टरमा राखिनु थप पीडादायी भएको उल्लेख गर्दै सरकारले यस विषयमा सुक्ष्म अध्ययन गरी समाधान निकाल्न सुझाएको छ ।
नागरिकको प्रत्यक्ष जनजीवनसँग जोडिएको स्वास्थ्य बिमाको विषयमा पनि थप गम्भीर हुन राप्रपाले सरकारलाई सुझाएको छ । निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा नहटाइ नागरिकको पहुँज बढ्ने गरी र सेवाग्राहीले राहत अनुभूत गर्नेगरी बिमाको सेवा विस्तार गर्न राप्रपाले सरकारलाई सुझाएको छ ।
त्यस्तै अहिले धान रोप्ने सिजनमा मल अभावको विषय उठाउँदै किसानले गुनासो गरेको बताउँदै रसायनिक मलको दीर्घकालीन आपूर्तिको व्यवस्थापनमा जुट्न सरकारलाई राप्रपाले सुझाएको छ ।
वार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए।
प्रधानमन्त्रीको सचिवालयले भने भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक गतिविधि तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयमा विचार आदानप्रदान भएको जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयले भेटलाई नियमित राजनीतिक संवादको निरन्तरता भएको जनाएको छ। छलफलका विषयमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
प्रकाशित: ३२ असार २०८३ १६:३० बिहीबार





