कांग्रेस एमाले गठबन्धमा दरार आए पनि कोशी प्रदेश सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्न बसेको कोशी प्रदेशको कांग्रेस कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार कांग्रेसको कोशी प्रदेश कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको हो ।
बैठकमा कांग्रेस कोशी प्रदेशका सभापति तथा प्रदेश संसदीय दलका नेता उद्धव थापा, कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, कोशी प्रदेशसांसद गयानन्द मण्डललगायतका नेताहरूको सहभागिता थियो । बैठक चलिरहेको अवस्थामा केन्द्रबाट तत्काल निर्णय नगर्न निर्देशन आएपछि बैठक विना निष्कर्षविहीन भएको एक नेताले बताए । कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पत्रकारहरूसँग कुरा गर्दै आजै प्रदेश सरकारबाट मन्त्रीहरू फिर्ता नहुने जानकारी दिए ।
उनले प्रदेश सरकारबाट मन्त्रीहरू फिर्ता हुने विषय केन्द्रको निर्णय र निर्देशनमा निर्भर रहेको स्पष्ट पारे । थापाले भने ‘तत्कालै मन्त्रीहरू सरकारबाट फिर्ता हुनुहुन्न केन्द्रले निर्णय गरेर निर्देशन दिएपछि मात्रै फिर्ता हुने हो ।’ थापाले पुरानो सहमति अनुसार कांग्रेस–एमाले गठबन्धन भत्किसकेको जानकारी दिए ।
उनले पुरानो ७ बुंदे सहमति टुटे पनि नयाँ सहमतिको प्रयास भने जारी रहेको आफूले जानकारी पाएको बताए । थापाका अनुसार कांग्रेसले एमालेसँगै नयाँ सहमति गरेर सातै प्रदेशमा सरकार बनाउने, एमालेसँगको प्रयास सफल नभए नेकपासँग मिलेर सबै प्रदेशमा सरकार बनाउने र त्यसो पनि हुन नसकेको अवस्थामा सबै प्रदेशमा प्रतिपक्षमा बस्ने रणनीति बनाएको छ।
उक्त रणनीति अनुसार नै केन्द्रले एमाले, नेपाली कम्युनिष्ट पार्टी र अन्य साना दलहरूसँग पनि छलफल अघि बढाएको उनले जानकारी दिए । थापाले भने ‘पहिलो प्रयास एमालेसँगकै गठबन्धनलाई अघि बढाउने, त्यसो नभए नेकपासँग मिलेर सरकार बनाउने र त्यो पनि सम्भव नभए सबै प्रदेशमा प्रतिपक्षमा बस्ने हाम्रो रणानीति छ ।’
एमालेसँगको पुरानो सहमति समाप्त भइसकेका कारण नयाँ सिराबाट सबै विकल्पहरूमा सबै दलहरूसँग छलफल सुरू भएको थापाले बताए ।
प्रकाशित: ३२ असार २०८३ १६:१७ बिहीबार





