२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

इटहरीको काव्य डबलीमा प्रस्तुत कविताप्रति दर्शकस्रोता मोहित

मध्य पुस, त्यसमा पनि मंगलबार बिहानैदेखि शीतलहर चलेको थियो। यस्तो मौसम भए पनि साँझ इटहरीमा पहिलोपल्ट काव्य डबलीमा कविहरूको कविता वाचन कार्यक्रम तय भएको थियो। कविहरू आफ्ना रचना सुनाउन आउने नै भए, दर्शक तथा स्रोताको पनि बाक्लो जमघट थियो।

साँझ ५ः३० बजेबाट कार्यक्रम प्रारम्भ भयो। नाट्यकर्मी सोनु जयन्तीले उपस्थित कवि, लेखक, स्रोत तथा दर्शकलाई सम्बोधन गर्दै कार्यक्रम प्रारम्भ गरेका थिए।

त्यसपछि कार्यक्रमका सभापति कवि मनु मञ्जिलले कार्यक्रम गर्नुको औचित्यमाथि प्रकाश पारेपछि कविहरूले कविता वाचन गर्न थाले।

पूर्वमा नाम चलेका १३ कविले एकपछि अर्को कविता वाचन गर्दै गए। सबैभन्दा सुरुमा प्रज्वल पराजुलीले कविता वाचन गरे। उनले ‘एक थोपा पानी’ शीर्षकको कविता वाचन गरे।  त्यसपछि पत्रकार कवि गोपाल देवानले कविता वाचन गरे। उनले ‘लाल अञ्जनाजी’ कविता वाचन गरे।

काव्य डबलीमा विवश पोखरेलले नकचराहरूको नाममा र पुरुण याख्याले पाना खाली नै छ नामको कविता वाचन गरे। यस्तै मुकुन्द प्रयासले भ्रमको महाकाव्य, सुदीप पाख्रिनले बोध, केजी सुब्बाले आम्रपाली र  टीका आत्रेयले खोज कविता वाचन गरिन्।

उक्त क्रममा  सीमा आभासले स्मृति, करुणा राईले नफर्किएको बादल, बद्री भिखारीले हिँड्दाहिँड्दै, मनु मञ्जिलले पहाड र पहिरो र देवान किरातीले सत्चालिस लाख लासहरू शीर्षकको कविता प्रस्तुत गरे।

कविहरूले कविता वाचन गर्दा दर्शक र स्रोतालाई चिसोको कुनै प्रवाह नगरी शान्त वातावरणमा कविता सुनेका थिए।

कविता वाचन गर्नुपूर्व नै कार्यक्रमका सञ्चालक सोनु जयन्तीले कविता सुन्दा ध्यान अन्यत्र मोडिन नदिन मोवाइल साइलेन्स राख्न लगाएको र कार्यक्रम आयोजकको तर्फबाट कवि मनु मञ्जिलले कस्तो वातावरणमा कविता सुन्दा उपयुक्त हुन्छ भनेर प्रस्ट्याएकाले पनि दर्शक तथा स्रोताले शुरुवातदेखि कार्यक्रम नसकिञ्जेल चिसोको कुनै प्रवाह नगरी कविता सुनेका थिए।

कविता श्रवण गर्नु भनेको ध्यान गर्नु पनि हो। कविता लेखनका निम्ति निरन्तरको साधना अपरिहार्य छ। यही साधनाबाट रचयिता भएका कविताहरूको बुलन्दमा दर्शक तथा स्रोताहरू मोहित भएका थिए।

सो क्रममा कवि मनु मञ्जिलले कविता समाजमा हृदयको प्रतिनिधित्व भएको बताएका थिए। मञ्जिलले भने, ‘जुन समाजमा कविता छैन, त्यो हृदय नभएको मानिस जस्तै हो। उनले मानिससँग धन, पद र शक्तिले जतिसुकै ठूलो भए पनि जोसँग हृदय नहुँदा त्यो मानिस खासै उच्चस्तरको मानिस नभएको र  समाज पनि त्यस्तै भएको प्रस्ट्याए।

कथा, निबन्ध, गीत, नाटक र सिनेमा निर्माण हुनु कुनै सुन्दर काव्यजस्तै रहेको उनले बताए। ‘कविता ध्यान हो। ध्यानको अनुभूति गराउन पनि यो कार्यक्रमले बल दिनेछ,’ उनले भने, ‘इटहरीमा फरक पहिचान स्थापित गर्न र देशका अन्यत्र स्थानका नामूद कविहरूलाई लोभ्याउने गरी कार्यक्रम गर्ने सोचका साथ हरेक दुईदुई महिनाको अन्तरमा कार्यक्रम सञ्चालन गरिनेछ।’

काव्य डबलीले इटहरीलाई एउटा नयाँ उचाइको शहरमा पु¥याउन सहयोग गर्ने उनले बताए। 

खासगरी साँझको समय मानिस मौन बस्न सक्ने र कार्यक्रम साँझको समयमा नै आयोजना गरिएको आयोजकले जनायो।

 काव्य डबलीमा कविता वाचन गर्ने कविताको तह टेकेका र कविता लेखनमा सक्रिय कविहरूलाई मञ्च उपलब्ध गराउने जानकारी दिइयो। कार्यक्रममा प्रकाश घिमिरेले अर्वाज बाजाको तालमा संगीत प्रस्तुत गरेका थिए।  

प्रकाशित: १६ पुस २०८२ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App