२४ मंसिर २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘नृत्य नेपाली पारा’ को दोस्रो संस्करणको घोषणा

‘नृत्य नेपाली पारा’ को दोस्रो संस्करणको घोषणा गरिएको छ। काठमाडौंमा पत्रकार सम्मेलन कार्यक्रम गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो। नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठको प्रमुख आतिथ्य र एभरेट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइरालाको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो।

कार्यक्रममा निर्देशक शम्भु शाही, सुनिल गिरी, कृष्ण रसाल, रमेश बुढाथोकी, अजय विष्ट, सरोज श्रेष्ठ, रिषिकेश श्रेष्ठ, रमेश पाठक, शिला गजुरेल लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए।

यस्तै बुद्ध लामा, सन्देश लामा, अभि लामा लगायतको उपस्थिति रहेको थियो। आयोजक संस्था नेपाल लोक नृत्य सेन्टरका अध्यक्ष केशव कोइरालाले प्रतियोगिताको विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

कोइरालाका अनुसार प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ। जुनियर समूहमा २ देखि ५ कक्षासम्मका विद्यार्थी र सिनियरमा समूहमा ६ देखि १० कक्षासम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई नृत्य नेपाल संघले सहकार्य गरेको छ।

प्रतियोगिताको मुख्य निर्णयकमा शम्भु शाही र अन्य निर्णयकमा अनिता गोले तामाङ, रमेश बुढाथोकी, कृष्ण रसाल रहेका थिए। अडिसन राउण्डबाट छनोट भएका दुवै क्याटेगोरीका विद्यार्थीलाई नृत्य कार्यशाला (वर्कसप) गराइनेछ। जसको प्रशिक्षकमा दक्षिणा लामा दावा, सरोज श्रेष्ठ र अभि वाग्ले छन्।

प्रतियोगिताको वर्कसप दस्तुर तीन हजार ५०० रुपैयाँ तोकिएको छ। आवेदन फारम दर्ता शुल्क ५०० रुपैयाँ रहनेछ। वर्कसपपछि सहभागीको फोटोशुट पनि गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी विद्यार्थीले आवश्यक सामग्री स्वयं व्यवस्था गर्नुपर्नेछ। उनीहरूले नेपाली गीतमा मात्र प्रस्तुति दिन पाउनेछन्।

प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम पुरस्कारमा २० हजार रुपैयाँ, दोस्रोमा १० हजार, तेस्रोमा सात हजार, चौथोमा पाँच हजार र पाँचौं पुरस्कारस्वरूप पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

यसको साथै उत्कृष्ट हाउभाउ, वेशभूषा, मौलिकता, दर्शकको रोजाइ र उत्कृष्ट प्रस्तुति गरी पाँच विशेष विधामा पनि ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिने जनाइएको छ।

आयोजकले ‘नृत्य नेपाली पारा’ लाई बालबालिकाको प्रतिभा अभिव्यक्तिको मञ्चका रूपमा प्रभावकारी रूपमा अघि ल्याइने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २४ मंसिर २०८२ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App