नेकपा (एमाले) को केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा ऊर्जावान् समय दिएका कार्यकर्ता पाखामा परेको बताएका छन्। उनले पार्टी निर्माणमा योगदान गर्नेहरू पाखा पारिँदा एमाले अहिलेको संकटमा पुगेको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उनले राम्रा र नराम्रा कामको जस र अपजस दुवै ओलीले लिनुपर्ने बताए।
नेता मानन्धरले आन्दोलन र पार्टी नेतृत्व दुवै सच्याउन केन्द्रीय कमिटीमै लिखित रूपमा प्रस्ताव दर्ता गरेको जानकारी दिँदै पार्टी र आन्दोलन फरक कित्तामा पुगेको भनेका छन्।
उनले एमालेमा युवा संगठन भए पनि युवा नभएको, किसान संगठन रहेको तर किसान एमालेसँग नभएको बताए। नेतृत्वको नालायकीको कारण कम्युनिस्ट आन्दोलन दुर्घटनाको शिकार भएको उनको बुझाइ रहेको छ।
उनले देश अफ्ठ्यारोमा परिरहेको समयमा नेतृत्व नातामा रुमल्लिएको भन्दै जुन वर्गका लागि काम गर्नुपर्ने हो त्यो हुन नसकेको आरोप लगाए। पार्टीमा सामूहिकता हराएको बताउँदै मानन्धरले एउटा समूह अहिले पनि महाधिवेशनमा भाँडभैलो गर्ने गरी तयारी गरिरहेको बताए।
राजनीतिक दल सम्बन्धी ऐनलाई नै व्यवस्थित गरेर दलहरूलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए।
प्रकाशित: २४ मंसिर २०८२ १२:१४ बुधबार





