२१ मंसिर २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

सम्झनामा आत्मीय अमेरिका

यात्रा

मनमा उत्साह र उमङ्ग थियो। हामी पहिलोपटक विदेश यात्रामा, त्यो पनि विश्वको विकसित देश अमेरिका जाँदै थियौं। बैशाख ५, २०८२ को बिहानी भयो। आज त जेटमा उड्ने दिन थियो। मन त्यसैत्यसै नाँचूँनाचूँ र उडूँउडूँ भइराखेको थियो। कोरियन एरलाइन्सबाट काठमाडौँदेखि सिओलको इन्चेअन ( कोरिया)  सम्मको यात्रालाई  साँझको ७.२० को उडान निश्चित थियो।

हामीले योजना बुन्यौ, ``खाना खाएर ४ बजे घरबाट निस्किने छौं। ३ बजे म खाना पकाउन सुर गर्दै थिएँ,  फोनमा नोटिफिकेसन आयो - ३ घण्टा प्लेन डिले छ भनेर। निश्चिन्त हुन सम्बन्धित ठाउँमा कल गर्‍याैं। डिले भए पनि ५ बजेसम्म पुग्नु भनेर उताबाट जवाफ आयो। खाना पकाइनँ। दहीचिउरा खाएर तोकिएको समयमा हामी काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौं। आवश्यक प्रक्रिया पुर्‍याउँदा २ घण्टा खर्चियौं। कोरियन र डेल्टा ( ड्यालस सम्मलाई ) दुवै विमानको  वोर्डिङ पास पाइयो। एकप्रकारले ढुक्कै भयो। समय हेरेँ। अझ ३ घण्टा समय बिताउनु थियो। हामी डिनरका लागि विमानस्थलकै कोरियन रेस्टुरेन्टमा पस्यौं। तोकिएको समयमा कोरियन जेट यात्रु बोकेर आकाशतिर हानियो।

हामीसँग साथमा अमेरिका बस्दै आएकी नातिनी सदीक्षा पनि थिइन्। लगभग ५ घण्टाको उडानपछि हामी कोरियन भूमिमा पुगेका थियौँ। पहिलेकै उडान  डिले भएकाले ट्रान्जिटको समय काटिएको जानकारी पायौं। हतारहतारमै डेल्टा विमान उड्ने तयारीमा थियो। जहाँ गाह्रो, त्यहाँ झन् साह्रो भने जस्तै भयो कारण  हाम्रो पासपोर्ट साथमा थिएन। कोसँग छ? सदीक्षासँग वा चेकिङमा छुट्यो? दिमागले काम गरेन। म दौडिएर पाइलटको क्याविनतिर लागेँ। ढोकामा मलाई  रोक्यो। सोधपुछ गर्‍याे।  मैले समस्या बताएँ। उसले मोबाइलबाटै सदीक्षाको सिट खोज्यो र मलाई त्यही लिएर गयो। धन्न उनीसँग मेरो पासपोर्ट रहेछ। लिएर शान्तिको सास फेरेँ। प्लेन उड्न अब कत्ति पनि ढिलो गरेन। १२ घण्टाको उडानपछि बिहानको १० . २० मा ड्यालास एरपोर्टमा ओर्लियौँ।

यसरी लगातार १७ घण्टाको यात्रामा शरीरले कुनै दुख दिएको थिएन। यात्रा सुखद रह्यो। आफैं दङ्ग र छक्क परेँ। छोरा लिन आएको थियो। गाडीमा चढेर घरतिर हुइँकियौं। बाटोमा टेक्सासको हरियाली, शान्त र सफा वातावरणले मन रोमाञ्चित बन्यो। शारीरिक थकान पनि हरायो। ४० मि. पछि बल्ल हामी घर पुग्यौँ।

तीन वर्षपछि छोराबुहारीसँगको भेटघाट, नयाँ घर र नाति पाउनु आफैँमा अपूर्व आनन्द थियो। २/३ दिनको घरमा आराम गरेपछि टेक्सास छेउछाउका घर, सहर बजार घुम्न थाल्यौं। यसै क्रममा चौरास्ता, पिकन स्क्वायर, २/३ सपिङ सेन्टर, ट्रिनिटी नदी र पुल, पार्कहरू घुमेर रमायौँ। घुमाइकै क्रममा नेपालको सम्झना गराउने जोमसोम थकाली भेटियो। नेपाली खानाको भोक मेटाउन स्वाद लियौं। पानीका फोहोराहरू, चारैतिर हरियाली, सिस्टमले चलेको ट्राफिक, फराकिला र सफा सडकहरू,  ठूलाठूला घरहरू देखेर दङ्ग परें अनि नेपाल सम्झिएँ। लाग्यो, नेपालमा यस्तो कहिले होला कि नहोला? ´´

जेठ १४, १५ र १६ गते ३ दिनको यात्रालाई हामी घरमा नै  बिहानको खाजा खाएर ९ बजे सपरिवार टेक्सासको राजधानी अस्टिनतर्फ लाग्यौं। २ घण्टाको ड्राइभिङपछि एउटा रेसटुरेन्टमा टर्किज खानाको स्वाद लिएपछि स्थानीय संसद भवन (Texas State Capitol ) अवलोकन गर्‍याैं। साजसज्जाले भव्य गोलो भवन घुम्दै थियौं। मनपरेका विषयहरू क्यामेरामा कैद गर्दै थियौँ। त्यहाँको एउटा कर्मचारीले हलमा सेसन चलिरहेको र भित्र पसेर सुन्न अनुरोध गर्‍याे। हामी बैठक हलभित्र पस्यौं। उनीहरूको अङ्ग्रेजी केही बुझ्यौं, केही बुझेनौं। एकछिन सुनेपछि त्यहाँबाट बाहिरियौँ। निस्किदा ४ बजेको थियो। हामी आफ्नै गाडी लिएर रिभरवाक भन्ने ठाउँतिर बढ्यौँ।

बोटिङका लागि टिकट लिएर आधा घण्टाको  जलविहारमा रमायौं। साँझको समय, अग्ला भवनहरू, रूखहरूमा सजाएका रङ्गीन बत्तीहरूले मन रमायो। घुम्दै गर्दा बोटिङको निर्देशकले त्यहाँको संरचना र इतिहासबारे जानकारी दिंदै थिए। तल  पानी, पानीमाथि पुल र अन्य भौतिक संरचना  हेर्नेलायकको थियो। कसरी बनेको होला? सबैका मनमा जिज्ञासा उठनु स्वभाविक थियो।

राति ९ बजे रिभर साइडमा खुलेका रेस्टुरेन्टमा पसेर डिनर लिएपछि हामी बासस्थान मंगोलियन भिलेजतर्फ लाग्यौं। ३ दिन र २ रातको लागि भवन बुक गरिएको थियो। नयाँ ठाउँ, नयाँ परिवेश! इमेलमा प्राप्त  निर्देशन अनुसार गेट खुल्यो, घरको साँचो फेला पर्‍याे। न कोही घर मालिक छ, न कोही अन्य मानिस! सिस्टमले चलेको देशमा म दङ्गदास परे। भित्र पस्यौँ। घरमा जस्तै आवश्यक सम्पूर्ण सामान राखिएका थिए। न  केही बोक्नुपर्ने , न केही किन्नु नै पर्ने ! बिहानको ९ देखि रातिको १० बजेसम्म यात्राले शरीर पुरै थाकेको थियो।

यात्राको दोस्रो दिन, सान एन्टेनियोतर्फ लाग्यौँ। आधा घण्टाको ड्राइभिङपछि हामी त्यहाँको सीवर्ल्ड भित्र पस्यौँ। पानीको संसारमा रमाउने क्रम जारी रह्यो। ह्वेल, डलफिन, कछुवा र विभिन्न प्रजातिका माछाहरूका क्रियाकलाप नियाल्न थाल्यौं। प्रशिक्षकहरूले प्रशिक्षण दिएको तालमा तिनीहरू नाचेका दृश्यले यात्रा बढो रोमाञ्चकारी बनेको थियो। टिभी र फोटोमा हेरेकोभन्दा प्रत्यक्ष हेराइमा छुट्टै स्वाद आउने रहेछ। स्न्याक्स र लन्च, चिसो र तातोका लागि फ्रि टिकट पाएका थियौं। विविध प्रकारका खानाको स्वादसँग मन निकै रमाएको थियो। ३ बजेपछि हामी पानीका जन्तु छाडेर वाटरगेम सेक्सनतिर लाग्यौं। पौडी लगायत विविध खेलमा रमाएका मानिसहरूलाई हेरेर हामी पनि रमायौं। डिनरको लागि सहर छिर्‍याैं । एउटा होटेलमा पसेर  नेपाली  खाना खायौँ। विरानो देशमा नेपाली  वेटरसँगको कुराकानी र दाल, भात, तरकारीको स्वादले मन नै धन्य भयो।

तेस्रो दिन सधैंझै बिहानको खाजा खाएर हामी फिर्तीको  तयारीमा लाग्यौं। ११ बजेसम्म बुकिङ गरेको घर जसरी भए पनि छोड्नु थियो,  निर्देशित ठाउँमा साँचो छाडेर हामी समयमा नै निस्कियौँ।

हाम्रो योजना बाटोमा पर्ने राधाकृष्ण धाम अवलोकन गर्ने,  त्राभिस तालको किनारमा रहेको  ओसिसमा लन्च गर्ने  र  नर्थलेकतिर (घर) फर्किने थियो। योजना अनुरूप हामी अगाडि बढ्दै गर्दा वृन्दावनले मन हरण गरेको थियो  अनि ओसिसमा खाएको सामुन्द्रिक जन्तुको मासु  र ओलिभ नयाँ स्वाद रह्यो। यसरी मनभरि, नयनभरि अस्टिन र सान एन्टेनियोलाई कैद गरेर हामी राति ८ बजे घर फर्कियौँ।

आज जेठ २७ गते मंगलवार, मेरो जन्मदिन परेको दिन! बिहानको नित्यकर्म सकेपछि ८.३० बजे म , श्रीमान, सम्धिनी र छोरा टेक्सासको  युलेसमा रहेको हिन्दू मन्दिरतिर लाग्यौं। अनुपम प्राकृतिक छटाको अवलोकन गर्दै ४५ मि. मा मन्दिर पुग्यौं। मन्दिरभित्र पस्दा एकप्रकारको शान्ति र आनन्दको अनुभव भयो।

भनिन्छ नि, मनले चाहेको र रहर गरेको कुरा पुग्यो भने ठूलो सन्तुष्टि प्राप्त हुन्छ रे! मलाई आज त्यही अनुभव भयो किनभने अमेरिकामा बसेर पनि जन्मदिनको दिन हरेक वर्षझैं मन्दिर पुग्ने रहर र चाहना यसपालि छोरा र बुहारीले पूरा गरिदिएका थिए।

एउटै मन्दिरभित्र शिव, बुद्ध, शिरडी बाबा, नवदुर्गा सबै देवीदेवताको दर्शन गर्न पाइयो। त्यहाँ बसेका गुरूलाई  मैले भनेँ, ``आज मेरो जन्मदिन , आशीर्वाद लिन आएँ। ´´

गुरुले शिवको मूर्तिमा जलको अभिषेक गर्न लगाउनुभयो र मलाई टीका , प्रसाद दिनुभयो। म धन्य भएँ।

मन्दिर बडाे व्यवस्थित थियो। एनआरएन र नेपाली समुदायले सञ्चालन गरेको रहेछ। परिसरभित्र नेपालीहरू पनि भेटिए। गुरु लगायत सबै नेपालीसँग नेपाली बोल्न पाउँदा मन भावुक भएको थियो, देशप्रेम र राष्ट्रियता भावनाले मन हिमालझैं चुलिएको थियो।

आधा घण्टाको पूजापाठ र दृश्यावलोकनपछि मनभरि खुसीको भाव सँगालेर हामी घर फर्कियौं।

घरमा आएर खाना खाएपछि एकछिन आराम गर्न पल्टिएकी मात्र के थिएँ २ घण्टा  भुसुक्कै निदाएछु। उठेर  बाहिर बैठकमा आउँदा त एउटा भित्ता सजाएर मेरा लागि भनेर छोराबुहारीले बजारबाट सरप्राइज मगाउन  भ्याएछन्। यहाँ स्वादिष्ट मानिने पीजा,वर्गर अनि गिफ्ट र केक कटिङका लागि टेबलभरि फिजाइएको रहेछ। देखेर हाँस पनि उठ्यो। हसाउँनकै लागि मैले भनेँ, ``मर्ने बेलामा हरियो काक्रो!´´

बुहारीले भनिन्, ``अमेरिकामा नातिसँग जन्मदिन मनाउने पहिलो अवसर हो नि, मामु! ´´

समय र ठाउँको माग अनुरूप यसरी  ६६ औँ जन्मदिन रमाइलोसँग मनायौं।

२०८२ सालको असार ४ गते बुधवार साँझ ६ बजेतिर हामी सपरिवार टेक्सासमा अवस्थित Grapevine Lake तिर लाग्यौं। २५ मि. ड्राइभिङको यात्रापछि हामी त्यहाँ पुग्यौं। तापक्रम क्रमश: वृद्धिको क्रममा थियो। गर्मीको मौसममा लेकसाइडको यात्रा मनोरम बन्दै थियो। तालको छेउछाउमा टहल्दै , फोटो खिच्दै थियौं। सिरसिर चिसो हावा चलेको थियो। मौसम शान्त थियो। तालमा आएको पानीको छाल, हाँसको क्वाँक्वाँ र चराहरूको चिरविर ध्वनिले वातावरण मनमोहक थियो। ताल ठूलो रहेछ। आँखाले भ्याएसम्म आँखा तानीतानी टाढा टाढासम्म ताल नियाल्यौं।

पौडी खेल्न र बोटिङ गर्न रमाएका मानिसहरूको खुसी देखेर हामी पनि खुसी भयौं। माथि आकाशमा उडेका थुप्रै प्लेन र ड्रोनहरूले बेलाबेलामा शान्ति भङ्ग गर्थे।

असार १३ गते शुक्रवार, नातिको अन्नप्राशनको शुभ दिन परेको थियो।  हिजोअस्तिदेखि नै घरमा राहुल, सुप्रिया, आस्था र श्रीषा आइसकेका थिए। सबैको मनमा उल्लास थियो। बिहान ९.५ मि. को शुभ मुर्हुतमा खीर र नुन नहालेको मुङ्गको दाल चटाउने योजना गरिएको थियो। मन्दिर ९. ३० मा मात्र खुल्ने भएकाले हामीले घरमै खुवाएर मन्दिर लाने योजना बुनेका थियौं।

योजनामुताबिक नै हामी सबै बिहान सबरै उठ्यौं। नित्यकर्म सकेर मूलत: म र आस्था (बुहारीकी दिदी ) किचेन छिर्‍याैं। मिलेर खीर, मालुपुवा, ५६ भोग लगाउन विभिन्न परिकार समयमा नै बनायौ। श्रद्धा ( बुहारी ) ले ५६ भोग लगाउने ससाना कचौरामा सामान राखेर स्वस्ति चिन्ह बनाइन्। सम्धिनीले दियो, कलश, गणेश र पूजासामाग्री तयार गर्नुभयो। तोकिएको शुभसाइतमा  पुरोहितले भनेबमोजिम बाबुलाई देवतालाई अर्पिएको नयाँ लुगा र हातखुट्टामाआभूषण लगाइयो र सिंहासन जस्तो देखिने कुर्सीमा बसेर मर्यादाक्रम अनुसार पालैपालो अन्न चटाउने काम सम्पन्न भयो।

नातिले  टीका र उपहारग्रहण गरेपछि हामी ४० मि लाग्ने बाटो तय गरेर मन्दिरतिर हानियौं जुन मन्दिरमा हामी मेरो जन्मदिनको अवसरमा जेठ २७ गते पनि पुगेका थियौं। त्यहाँ पुरोहितले सङ्कल्प र स्वस्तिशान्ति वाचन गर्नुभयो। साँझ करिब ५० जना आफन्तहरूका बीचमा खानाका विविध परिकारसँग खुबै मस्ती गरेका थियौं।

जुलाई ३ (असार २०) को सन्ध्याकालीन समय थियो। करिब १५  हजार मानिस विशाल चउरमा  स्याउस्याउ कीरा परे जस्ता भएर भेला भएका थिए। आफूलाई चाहिने सम्पूर्ण सामान बोकेर चउरमा सबैले डेरा जमाएका थिए। मञ्चमा कन्सर्ट चलिरहेको थियो।

आकाशमा हवाइजहाजहरू उल्टोकोल्टो, माथितल, सिधाबाङ्गा भएर विभिन्न चटक देखाइरहेका थिए। कोही नाचिरहेका, कोही लम्पसार परेर शान्तिको खोजीमा लागे जस्तो गरिरहेका, कोही फुड स्टलहरूमा पङ्किबद्ध, कोही खाएर पिएर झुमिरहेका, कोही टेन्टमा, कोही छातामुनि गफिरहेका  देखिन्थे। त्यो भिडमा हामी पनि १ घण्टाको  ड्राइभिङ पूरा गरेर साँझ ६ बजे पुगेका थियौं।

भोलि जुलाई ४ मा परेको अमेरिकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा एडिशन सहरको काबुन टाउनमा फाइट्स, साइट्स र लाइट्सको कार्यक्रम आयोजना गरिएको थियो। यस ठाउँमा यस्तो कार्यक्रम ४० वर्षदेखि लगातार भइरहेको रहेछ। अमेरिकाको विभिन्न सहरमा आयोजना हुने यस्ता कार्यक्रममा काबुनटाउन तेस्रो ठूलो स्थानमा पर्दोरहेछ। यस्तो कार्यक्रम नियाल्ने अवसर मेरा लागि जीवनको पहिलोपटक थियो।

हामी साँझ ६ बजे जसै पुग्यौं,  १० मि. जति सिमसिम पानी पर्‍याे। हामी रूखमा ओत लाग्दै गर्दा लाग्यो, प्रकृतिले हामीलाई स्वागत पो गरिन् कि! त्यत्रा मानिसलाई परेको पानीले कुनै असर गरेन। ससाना बच्चाहरू पनि रूझाइकाे आनन्द लिइरहेका थिए। ९० पुग्दै गरेका बुढाबुढी काँधमा काँध, हातमा हात राखेर नाचिरहेका थिए। वातावरण बडाे मनमोहक बनेको थियो।

लगभग ७.३० बजेको थियो, स्टेजमा बजिरहेको गीत रोकियो। उद्घोषकले अबको पालो राष्ट्रिय गानको रहेको छ भनेर उदघोषण गरेपछि मञ्चमा केही कलाकार प्रस्तुत भए र गान गाउन थाले। उपस्थित सबै उभिएर देश र गानप्रति सम्मान खन्याए। हामीले पनि उनीहरूप्रति ऐक्यबद्धता जनायौं।  देश त आखिर माटो  न हो, चाहे अमेरिका होस् वा आफ्नो नेपाल!  मनमुटुमा बसेको राष्ट्रवाद त पोखिदो नै रहेछ।

समयले ९ बज्न लागेको थियो। आयोजकले वातावरण अध्याँरो बनाउन सबै बत्ती झ्याप्प निभायो। उत्साहित भिडले ठूलो आवाजले स्वागत गर्‍ये अनि सबैको नजर आकाशमा स्थिर भयो। रुख र फूलहरूका बिरुवा जस्ता देखिने आकृतिमा रातो, हरियो, निलो, सेतो  विविध रङका बत्ती बनेर पट्याङपुटुङ पडकिन थाले। माहोल निकै रङ्गीन थियो भने सबैका मन  उमङ्गले भरिएका थिए।

भिडबाट  वाह ! उहू ...!  आहा! सो एक्साइटिङ ! भन्दै आएका आवाजले  वातावरण  थप  उत्साहप्रद बनेको थियो। लगातार आधा घण्टासम्म एकनासले प्रस्तुत गरिएको  बत्ती र रङको त्यो दृश्य जीवनभरिका लागि यादगार बन्यो। जीवनको उत्तरार्द्धमा पहिलोपल्ट यो अवसर पाउनु नि भाग्यको खेल नै रहेछ जस्तो लाग्यो।

आज असार २८ गते, आदिकवि भानुभक्त आचार्यको २१२औं  जन्मजयन्तीको पूर्व सन्ध्या! साँझ ५. ३० बजे हामी ड्यालास फोर्थवर्थ श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको मन्दिरमा पुगेका थियौं। बाहिर सुनसान थियो। कता हो भन्दै चारैतिर नजर डुलाउने क्रममा एउटा गाडी आएर रोकियो। दुई जना पुरुष ओर्लिएको देखियो।

मैले भने , ``उहाँ नै हो, कथाकार  श्यामप्रसाद श्रेष्ठ !

कथाकार श्रेष्ठको कठै! कथासङ्ग्रहको परिचर्चा कार्यक्रम र भेटघाटको उद्देश्यले हामी त्यहाँ पुगेका थियौं। एकछिनको कुराकानीपछि मन्दिरको हलमा कार्यक्रम सुरु भयो। समाजका सदस्यहरूसँग परिचय भयो। लगभग २ घण्टा साहित्यिक माहौलमा हामी रमायौँ। कविता, गजल, लघुकथा पनि सुन्यौं र सुनायौं। मलाई पनि  हाम्रो लघुकथा केन्द्र, नेपालको अध्यक्षको नाताले  विशिष्ट अतिथिको आशन दिइएको थियो। आफ्नो प्रिय संस्था हाम्रो लघुकथा केन्द्र, नेपालको गतिविधि र लघुकथाको अवधारणाबारे विचार पस्किरहँदा निकै गर्व पनि लागिरहेको थियो। उपस्थित केही सदस्य केन्द्रमा जोडिएर लघुकथा पढने र लेख्न सिक्ने प्रतिबद्धता जाहेर गर्दै हुनुहुन्थ्यो, त्यस क्षण म भावुक भएको थिएँ।

तीन दिन न्युयोर्क घुम्न जाने भनेर १५ दिन अघिदेखि बनाएको योजनालाई सार्थकता दिन जुलाई १५, असार ३१ गते मंगलबार श्रीमान, म र छोरा ड्यालस विमानस्थल पुग्यौँ। पार्किङ चेकजाँचको सम्पूर्ण प्रक्रिया पुर्‍याएपछि उडानलाई डेढ घण्टा बाँकी थियो। खाजा खान मास्तिर चढ्न विद्युतीय सिँढीमा म र छोराले एकैपटक स्टेप लियौँ, श्रीमान भने २ स्टेप पछि। हामी सर्र माथि उक्लिदै थियौं, पछाडिबाट कोही करायो। मैले पछाडि हेर्दा त श्रीमान सिँढीमा थ्याच्च बसेर एक हातले सिँढीको रेलिङ अर्को हातले सिँढीको प्लेट समाइरहनुभएको अनि पछाडिबाट एकजना मावनतावादीले हातले टेको दिइरहेको देखेँ। छोरालाई भनेँ ,`` बुबा लड्नुभएछ। ´

ऊ आत्तिदै ब्याक भयो।  हातमा सामान्य चोट थियो। छोराले यात्रा रद्ध गर्ने कि?  सोध्यो।

उहाँले भन्नुभयो , ``रगत रोकिएकाले डराउनु परेन। यत्तिका लागि केही नगरौं। ठूलो दशा कट्यो। ३ घण्टाको उडानपछि हामी न्युयोर्क विमानस्थमा ओर्लियौं।

नजिकैको  ज्याक्सन हाइटमा रहेको CITY MD अर्जेन्ट कियरमा गयौ। इन्सुरेन्स र  सोसल सेक्युरिटी नपाएका हामी जस्ता भिजिट भिसालाई मेडिकल उपचार गर्नु  त्यहाँ आकाशको फल आँखा तरी मर भन्या जस्तो भए पनि २२५ डलर तिरेपछि सबैले सेवा पाइने रहेछ। त्यहाँ चाइनिज डाक्टरले उपचार सुरु गरे। एक्सरे गरेर हेर्दा छाला, बोसो काटेर मसलसम्म पुगेको रहेछ भनेर ११ टाँका लगाए। ब्याण्डेज गरेपछि ५ दिनको एण्टिबायोटिक लेखेर  नजिकको फार्मेसीमा  पठाए। हामीलाई २ दिनपछि आउन भने।

त्यो ठाउँमा नेपाली, बङगाली, भारतीयहरूको बसोबासको बाहुल्य  रहेछ। अमेरिकामा दक्षिण एसियाका मानिसले आफ्नो संस्कार देखाएको पाइयो। अलि कच्याककुचुक र फोहाेर ठाउँ लाग्यो।

साँझको ६ बजिसकेको थियो। हामी  टावर हेर्न सिधै भ्याण्डर बिल्ट समिट १ पुग्यौँ। त्यहाँ टावर चढेर बाहिरको मनोरम दृश्य हेर्ने लालसामा मानिसहरूको  भिड भयङकर थियो। प्रवेशद्वारमा टिकट लिएपछि सबै जस्तै हामी पनि लिफ्टमा ९१ औं तल्लामा पुग्यौं। एकछिन त दङ्गै परियो।

हेरेको हेरै भइयो। वाह, क्या रमझम दृश्य थियो। सारा दुख भुलेर मन प्रफुल्ल भयो। त्यतिका धेरै मानिस आआफ्नो मोबाइल तेर्स्याएर बाहिरभित्रको दृश्य लिन आतुर देखिन्थे। त्यो तल्लाको फ्लोर, भित्ता सबैतिर सिसाले कभर गरिएको थियो जसले गर्दा  हरेक मानिस र दृश्य रिफ्लेक्स भएर आउँदो रहेछ। अझ त्यसमाथि बेलाबेलामा आउने भयावह आवाज र विविध रङका प्रकाशले हरेकको मनमुटु तान्दोरहेछ। हेर्दै र घुम्दै गर्दा सूर्यास्तको समय भयो। सबैको मुखबाट आह, वाह! निस्किएको सुनिन थाल्यो।

९३औं तल्ला सर्सर्ती घुम्यौं। लुगा, मूर्ति, पोस्टकार्ड आदि विविध सामान बेच्न राखिएको व्यापारिक क्षेत्र रहेछ। हामीलाई केही किन्नु थिएन। लिफ्टतिर लाग्यौं। ९२ औं तल्लामा फुड स्टल खानेकुराहरू बेच्न राखिएका थिए तर हामीलाई सहजै पाच्य हुने खानेकुरा नदेखेपछि हामीले त्यहाँबाट बाहिरिने विचार गर्‍याैं। लिफ्टबाट ग्राउण्ड फ्लोर पुगेर पैदल यात्रा सुरु गर्‍याैं।

न्युयोर्क सहर, रातको ९, ३० बजे सिरसिर हावा, चिसो मौसम, झिलिमिली बत्ती, मान्छे र गाडीको घुइँचो हेर्नेलायकको थियो। करिव २० मि. हिंडेपछि हामी टाइम स्क्वायर पुग्यौं। त्यो व्यस्त सहरको बीचमा स्क्वायरको आकारमा अवस्थित थियो। वरिपरि मान्छेहरू ठूल्ठूला घरका भित्ताभित्तामा देखिने संसारभरिका कम्पनीको विज्ञापन हेर्न जम्मा हुँदा रहेछन्। तिहार जस्तो झिलिमिली उज्यालो एउटा आकर्षण रहेछ।

जुलाई १६ तारिखको बिहान ७ बजे भाडामा लिएको गाडी चढेर हामी यात्रामा निक्लियौ। अगाडि बढ्दै गर्दा हडसन नदीको विराटता नियाल्दै गर्दा हामी न्युजर्सी  राज्यमा पुगिसकेका थियौं। हडसनले न्युयोर्क र न्युजर्सीकाे सीमा छुट्याएका रहेछन् अर्थात् नदी वारि र पारि यी राज्य अवस्थित रहेछन्।

करिव २ घण्टाको निरन्तर यात्रापछि हामी विश्वकै दोस्रो ठूलो मानिने हिन्दू मन्दिर अक्षरधाम गयौं। मन्दिरको कलाकौशल र धामको फैलावटले मन तानिरह्यो। मन्दिर बढो व्यवस्थित र सफा थियो। मनले शान्तिको अनुभूति गरिरह्यो। त्यहाँको प्राकृतिक सौन्दर्य, भौतिक संरचना, मूर्तिहरू र कलाको भव्यता हेरेर जो कोही पनि भन्छ, `वाह!´ हामी पनि यसै वाहवाह! मा २ घण्टा रुमलिएछौं।

अचम्म त के लाग्यो भने त्यहाँ पूजाआजा र भजनकिर्तन केही थिएन। दर्शनका लागि पर्यटकीय दृष्टिबाट बनाइएको क्षेत्र भन्ने बोध भयो। मन्दिर व्यवस्थापकले प्रशिक्षण कक्षाहरू सञ्चालन गरेका थिए। स्थानीय कलाकौशलका सामानहरू बिक्रीकक्षमा राखिएका थिए। १२ बजेतिर हामीले धाम क्षेत्र छोड्यौं र सोझै वासिङटन डिसीतिर  हुइकियौं। फराकिला र व्यवस्थित सडकहरू,  सडकका किनारामा देखिएका प्रकृतिको हरियाली, कतै खेतीपाती त कतै वनजङ्गल, प्रशान्त महासागरको बेपार गर्दै हामी ३ .३० बजे गन्तव्यमा पुग्यौं।

लगभग १ घण्टा गाडीबाट डिसी सहरको नजारा हेर्दै अघि बढ्यौं। अग्लाअग्ला भवनले सहरको सौन्दर्य चित्रित गरिरहेझैं लाग्थ्यो। ३ घण्टाका लागि सुरक्षित स्थानमा गाडी पार्किङ गरेपछि हाम्रो पैदल यात्रा सुरु भयो। राष्ट्रपति भवन, संसद भवन र त्यसका वरपरका सरकारी भवनहरू बाहिरबाटै नियाल्दै हामी त्यहीको पार्कबाट अघि बढ्यौं।

३ घण्टाको पैदल यात्रापछि हामी भर्जिनियातिर लाग्यौं। प्रकृतिले धनी  सहर, मौसम र प्रकृतिले नेपालको सम्झना गराउने रहेछ। करिव ८ बज्न लागेको थियो, हामी पुग्नै लागेका थियौं झ्याप्पै अध्याँरो भयो। बिजुली चम्किएर घरघोर वर्षा हुन थाल्यो। एक रात भर्जिनियामा बितायौँ र बिहान ९ बजे भर्जिनियाबाट न्युयोर्क गन्तव्य बनाएर बाटो लाग्यौं। जाँदा गएको बाटोबाट नफर्किएर हामी नयाँ बाटोबाट अघि बढ्यौं। यो बाटोबाट फर्किदा  मेरिल्याण्डको बाल्टिमोर सहरको सूक्ष्म अवलोकन गर्ने अवसर मिल्यो। बाल्टिमोर डाउनटाउनका  भौतिक संरचना नियाल्दै हामी अघि बढ्यौं। २ घण्टाको यात्रापछि एउटा ग्यास स्टेसन (पेट्रोल पम्प) मा राेकियाैं। अमेरिकामा  पेट्रोललाई ग्यास भन्दा रहेछन्।

गाडीमा ग्यास भर्ने भनेको सुन्दा पहिला अचम्म लाग्यो। कुरा बुझ्दा त शब्द मात्र फरक रहेछ। अबको पालो  गाडीलाई र हाम्रो पेटमा इन्धन भर्नु  थियो। यहाँका  हरेक ग्यास स्टेसनमा स्टेसनका मालिकले केही सामान र केही खानेकुरा पाइने पसल पनि राखेका हुँदा रहेछन्। फेरि आफूलाई कतै राेक्नुपरे ग्यास स्टेसन सजिलो रहेछ। त्यहाँ पार्किङको सुविधा पाइने रहेछ। गाडीलाई इन्धन भरेपछि हामी खानेकुरा खोज्न रेस्टुरेन्ट पस्यौं। पिजा, स्याण्डवीच र जुस पाइयो। काम चलायौं। फिरन्तेहरूलाई जहाँ तही दाल भात कहाँ पाउनु र भनेर चित्त बुझायौं र अगि बढ्यौं। लगभग ४ घण्टाको निरन्तर यात्रापछि न्युजर्सी हुँदै न्युयोर्क छिर्‍याैं।

फेरि जाम, उफ! झर्को लाग्ने गरी जामले सतायो। न्युयोर्क भनेको जामको सहर हो कि भन्ने भान भयो। सिधै भाडाको गाडी बुझायौं र आस्नाको अपार्टमेन्ट गयौं। एकछिनको आरामपछि साँझको समय पारेर आस्ना पनि साथ लिएर मेट्रो रेलमा छकछक गर्दै  ट्वीनटावरतिर लाग्यौं। विनलादेनले क्षतविक्षत पारेको जोडी टावर त थिएन बरू संस्मरणका लागि होला, अलि पर एउटा नयाँ टावर ठडिएको थियो। अलिकति नजिकै पर्खाल जस्तो बनाएर उसबेला ट्वीनटावर काण्डमा मारिएका मानिसहरूको नाम लेखेर राखिएको रहेछ। त्यो ठाउँलाई मेमोरियल पार्क भन्दो रहेछ।

विश्व व्यापार केन्द्र बसेको भवन, आसपासमा रहेका व्यापरिक केन्द्रका ठूल्ठूला भवनहरू र भौतिक संरचनाहरू नियाल्यौं। हाम्रो लक्ष्य अब बोटिङमा सहरको नजारा कैद गर्नु थियो। साँझको समय पैदल यात्रा न्युओर्क सहर घुम्दै निश्चित स्थानमा पुग्यौं। हडसन नदीको छातीमा टेकेर हामीले Boat (Ferry)  चढ्यौं। लगभग डेढ घण्टा बोटको माथिल्लो खुला भागमा बसेर जलयात्रा गर्‍याैं। स्टाचु अफ लिवर्टी लगायत एकदम नजिकबाट चारैकोण घुम्दै न्युयोर्क सहर नियाल्न पाइयो। यो जलयात्रा यति रोचक र रमाइलो बन्यो कि सबै थकान साफ भयो, जीवनको एउटा नबिर्सिने मीठो क्षणको रूपमा रहेको अनुभूति गरें।

आज जुलाई १८, हामी घर फर्किनु थियो। १.२५ को फ्लाइट भएकाले १२ बजे एरपोर्ट पुग्नु थियो। आज घुमघाम केही थिएन तर ज्याक्सन हाइटमा City MD पुग्नु थियो। श्रीमानको हातको घाउ चेक गर्न, सफा गर्न  डाक्टरले बोलाएको थियो। बिहान ९ बजे मेडिकल पुग्यौं। त्यहाँ घाउ सफा गरेर ब्याण्डेज चेन्ज गर्यो। १० दिनमा टाँका काट्ने सल्लाह लिएर हामी विमानस्थलतिर हानियौ।

३ घण्टाको यात्रापछि हामी ड्यालस एरपोर्ट प्लेन ल्याण्ड गर्यौँ। थकानले गर्दा होला, प्लेनमा मज्जाले सुतिएछ। एरहोस्टेजले सुतेका यात्रुलाई थपडी बजाएर ब्यझाउँदा पो झसङ्ग भइयो। पार्किङ गरेको आफ्नो गाडी लिएर सिधै नर्थलेक टेक्सासमा अवस्थित आफ्नो घर आइपुग्यौं। स्वर्ग पुगेको अनुभूति भयो, तब न आफ्नो घर! यसरी केही दुख र सुख, केही थकान र आराम, केही समस्या र समाधान खोज्दै ४ दिनको  यादगार यात्रा सम्पन्न भएको  थियो।

अगस्ट ,६ गते साँझको समय हामी बिङ्गो खेल्न पुग्यौं। टिकट किन्यौं र जमेर खेल्न बस्यौं। ४ राउण्ड खेल्यौं  यी राउण्डमा ससाना उपहार थिए। त्यसैले होला हात लाग्यो शून्य भए पनि खासै बेस्वाद भएन।  २ घण्टा बित्यो। अन्तिम राउण्ड सुरू भयो। जुन ५०० डलरको थियो। टिकटमा भएका २४ वटा न. सबै काट्नुपर्ने थियो।

बडाे उत्साहले खेल्न थालियो। नम्बरहरू फटाफट काट्दै थिएँ। जितिन्छ कि क्या हो? भन्दै खेलिदै थियो। खेल रमाइलो र उत्साहावर्द्धक भइरहेको थियो। ३ वटा न. बाँकी थियो। घोषणा भएका नम्बर सुन्न कानहरू चनाखो भएका थिए। कुनकुन बाँकी छ भनेर रिडिङ पनि गर्दै थिएँ। एक्कासि म बसेको पछाडिको सिटबाट BINGO भन्ने आवाज आयो। हामी हेरेको हेरै भयौं।

मुखबाट हैट! भन्ने आवाज मात्र आयो। विविध अनुभूतिसँग रमाउँदै आखिर सेप्टेम्बर १ अर्थात् भदौ १६ गते पनि आयो। नेपाल फर्किने एउटा छुट्टै खुसीको लहर मनभरि छाउँदै थियो भने अर्कोतिर नाति र छोराबुहारीलाई बाई भन्नु पर्ने पीडा पनि लुकेको थियो।

राति १०.५० को फ्लाइट थियो। साँझ ७.३० बजे हामी ड्यालस विमानस्थल पुग्यौं। तोकिएको समयमा जहाज दोहा विमानस्थलको लागि उड्यो। भुसुक्क निदाएछु। आँखा खुल्दा सबै यात्रु उठिसकेका थिए। भव्य र विश्वकै ठूलो विमानस्थल मानिएको दोहा विमानस्थलभित्रको  उज्यालो  र व्यापारिक केन्द्रहरूले मनभरि उत्साह थपिरहेको थियो। ट्रान्सिटको ३ घण्टा समय बिताउन हामीलाई कुनै कठिनाइ भएन।

काठमाडौंका लागि तोकिएको समयमा जहाज उड्यो। १४/१५ घण्टाको यात्रा तय गरिसकेपछि अबको ४ घण्टाको यात्रा असहज नहोला भन्नेमा म विश्वस्त थिएँ। सिटको अघिल्तिर राखिएको मनिटरमा प्लाइटको रुट हेर्दै समय बित्यो। निश्चित समय बिहानको ८.३३ बजे भदौ १८ गते जहाजले काठमाडौंको त्रिभुवन विमानस्थलमा भूमि छोयो। मनमा एकप्रकारको शान्ति छायो। अब त आफ्नो माटो, आफ्नो देशमा टेकेको भएकाले मन खुम्चिएको थिएन, विशाल रूपमा फराकिलो भएर छाएको थियो।

इमिग्रेसन र आवश्यक चेकिङपछि हामी लगेजतिर लाग्यौं। एकाएक मन्दिरा चापागाई बहिनी स्वागतका लागि उभिएको देखेर खुसीले मन जुरुक्कै उचालियो। लगेज लिएर तल बाटोसम्म पुर्‍याउन एउटा मान्छेको व्यवस्था गरिदिएकोमा बहिनीलाई यो सद्भाव र सहयोगका लागि मनमनै धन्यवाद भनें। तल पुग्दा छोरी लिन आएकी थिई। ट्याक्सी लिएर हामी निजी निवासतर्फ लाग्यौं।

लगभग ४ महिना १५ दिन अमेरिकाको भ्रमण र बसाईपछि आफ्नो घरमा आइपुग्दा भएको रमाइलो र सुखद अनुभूतिले  पनि  लामो सास फेरको थियो।

प्रकाशित: १ कार्तिक २०८२ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App