मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा डिब्बा ट्रक पल्टिँदा सडक अवरुद्ध भएको छ।
आज बिहान करिब ५ बजे हेटौंडाबाट काठमाडौंतर्फ डाइपर लोड लिएर जाँदै गरेको ना ६ ख ७२८ नम्बरको ६ चक्के डिब्बा ट्रक सडकमा थुप्रिएको ढुंगामा चक्का चढेपछि अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरका अनुसार सडकको भित्तापट्टि रहेको ढुंगा खसेर सडकमा थुप्रिएको अवस्थामा ट्रकको चक्का सोही ढुंगामा चढ्दा दुर्घटना भएको हो। ट्रक सडकमा पल्टिएपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध बनेको छ।
दुर्घटनामा चालकसहित तीन जना सवार रहेकोमा दुई जना सामान्य घाइते भएका छन्। घाइतेहरूले आफैँ उपचार गराउने भन्दै घटनास्थलबाट गएको प्रहरीले जनाएको छ। ट्रक चालक भने फरार रहेका छन् र हालसम्म प्रहरी सम्पर्कमा आएका छैनन्।
प्रहरीले सडक विभागसँग समन्वय गरी पल्टिएको ट्रक हटाएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ५ किलोमिटर पूर्व–उत्तर दिशामा पर्छ।
प्रकाशित: ८ जेष्ठ २०८३ ०६:५७ शुक्रबार





