१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

आहा, तोरीको फूल!

तस्बिर कथा

असोज राम्रो धानले,

माघ राम्रो कोदोले,

माहोल बन्छ महकिलो,

फाटैभरि तोरी फुल्नाले।

यतिबेला भरतपुर महानगरपालिका गाजिपुर–१८ पहेँलपुर भएको छ। नजरले समेट्न नसक्ने फराकिलो फाँट तोरीले ढाकिएका छन्। मानौं नम्बरी सुनको सुकुल बिछ्याइएको हो फाटैभरि। महँगीको बजार भाउजस्तै यसको सुन्दरता र क्रेज पनि ह्वात्तै बढेको छ।

बतासले उडाएको हरहराउँदो सुगन्ध नाकमा ठोकिँदै छन्। महँगा आयातित अत्तर पनि क्षणभरमै फिक्का लाग्ने गरी। झुप्पाझुप्पा फूलको छेउबाट भँमरा, मौरीको सङ्गीतले वातावरण नै सरस र रसिलो बनाइदिन्छ। दृश्य क्यामरामा कैद गर्ने आगन्तुकको मन थाम्दै भन्छ, ‘यही क्षण, यही सुगन्ध र सङ्गीत नै पहेँलपुरको आत्मा हो।’

पहेँलपुर फाँटमा मध्य मंसिरको सूर्यास्तको घाम ओर्लेको छ। तोरीका डाँठहरू कलाकारले पोतेको सुनौलो तहझैं क्यानभासभरि उदाएका छन्। कलिला फूलहरू बहेको बतासमा एकैसाथ हल्लिन्छन्, पुरानो लोकगीतको लयमा झूमेंझैं। गाउँपाखा र रोधीघर एकैपटक स्मृतिमा फर्कन्छन्। फेरि एकपटक स्पर्श गर्ने अवर्णनीय अनुभूति बोकेर।

सांस्कृतिक साइनो गासिएका हाम्रा अन्नबालीले समय र ऋतु आगमनको सन्देश पनि दिन्छन्। तोरी पहेँलपुर फुल्दा पात्रो हेर्नुपर्दैन। मंसिरको स्पर्श अनुभूत गराउँदै लगनगाँठोको साइत सुरु भइसकेको संकेत मिल्छ। कोदो पाक्दा माघ भित्रिसकेको बोध हुन्छ। धान पहेँलिएपछि शरद् याम सुरु भइसकेको आभास मिल्छ।  

प्रकाशित: २७ मंसिर २०८२ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App