२ श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय वायुसेनाको विमान दुर्घटना, पाँच सैन्यकर्मीको मृत्यु

भारतको उत्तरपूर्वी राज्य आसामको जोरहाटमा शनिबार भारतीय वायुसेनाको एउटा सैन्य विमान दुर्घटना हुँदा पाँच जना सैन्यकर्मीको मृत्यु भएको छ।

जोरहाटस्थित रौरिया सैन्य आधार इलाकामा अवतरणका क्रममा ‘एएन-३२’ विमान दुर्घटनामा परेको भारतीय वायुसेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

वायुसेनाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन्।

विमानमा सवार एक जना सह-चालक भने जीवितै फेला परेका छन्। घाइते सह-चालकको स्वास्थ्य अवस्थाका बारेमा थप विवरण सार्वजनिक गरिएको छैन।

भारतीय सञ्चारमाध्यम एनडीटीभीले सार्वजनिक गरेको दुर्घटनास्थलको दृश्यमा विमान टुक्रा-टुक्रा भएको र आकाशमा कालो धुवाँको बाक्लो मुस्लो उडिरहेको देखिएको छ।

प्रत्यक्षदर्शी र प्रारम्भिक विवरणअनुसार, अवतरण गर्ने क्रममा विमानमा अचानक आगलागी भएको थियो। लगत्तै विमान दुई हिस्सामा विभाजित भयो। वायुसेनाले विमान आफ्नो ‘नियमित उडान’ मा रहेको जानकारी दिएको छ।

‘भारतीय वायुसेना जोरहाटमा भएको यस दुर्घटनामा पाँच सैन्यकर्मीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ,’ वायुसेनाले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘हामी शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ र यस कठिन घडीमा उनीहरूको साथमा दृढतापूर्वक उभिने छौं।’

दुर्घटनाको ठोस कारण पत्ता लगाउन वायुसेनाले उच्चस्तरीय ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्ने आदेश दिएको छ। वायुसेनाका एक अधिकारीले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार, विमान अवतरणको अन्तिम चरणमा पुग्दा प्राविधिक समस्या देखिएको हुनसक्ने आशंका गरिएको छ।

वायुसेनाले आधिकारिक छानबिन प्रतिवेदन नआउन्जेलसम्म दुर्घटनाको कारणबारे कुनै पनि अड्कलबाजी नगर्न सबैलाई आग्रह समेत गरेको छ।

रुसी निर्मित ‘एन्टोरोभ एएन–३२’ दुई इन्जिन भएको टर्बोप्रप विमान हो। यो विमान विशेषगरी अत्यन्तै कठिन भौगोलिक अवस्था, उच्च हिमाली क्षेत्र र दुर्गम इलाकामा सामान ढुवानीका साथै सैन्य परिचालनका लागि उपयुक्त मानिन्छ।

भारतीय वायुसेनाले सन् १९८० को दशकदेखि नै यस्ता विमानहरू प्रयोग गर्दै आएको छ। भारतीय वायुसेनासँग हाल करिब १०० वटा ‘एएन–३२’ विमानको बेडा रहेको छ।

सुरुमा सोभियत संघबाट १२५ वटा विमान खरिद गरिएको भए तापनि हाल सक्रिय सेवामा रहेका विमानको संख्या केही घटेको छ। यी विमानहरूले दशकौँदेखि भारतीय वायुसेनाको मध्यमस्तरको ढुवानी क्षमताको मेरुदण्डका रूपमा काम गर्दै आएका छन्।

यसअघि सन् २०१९ मा पनि अरुणाचल प्रदेशको चीनसँगको सीमा नजिकै ‘एएन–३२’ विमान दुर्घटनाग्रस्त भएको थियो। सो भयानक दुर्घटनामा विमानमा सवार १३ जनाकै मृत्यु भएको थियो।

प्रकाशित: ३० जेष्ठ २०८३ १५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App