२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

मदरसा शिक्षाको गुणस्तर सुधार र शिक्षक तालिममा बजेटले ध्यान दिएन : सांसद खातुन

संसद्‌मा जारी आर्थिक वर्ष २०८३/२०८४ को बजेट बहसमा भाग लिँदै नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले मदरसा शिक्षाको गुणस्तर र शिक्षक तालिमका लागि ठोस योजना आउन नसकेको भन्दै ध्यानाकर्षण गराएकी छन्। 

मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै उनले बजेटमा मदरसा शिक्षातर्फ २१८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको भए पनि गुणस्तर सुधारका कार्यक्रमहरू पर्याप्त नभएको गुनासो गरिन्। संसद्‌मा बोल्दै उनले बजेटमा विद्यालय शिक्षा, छात्रवृत्ति, प्राविधिक शिक्षा, शिक्षक क्षमता विकास र शैक्षिक पूर्वाधार सुधारका केही कार्यक्रम समेटिनु सकारात्मक भएको बताइन्। तर अर्कोतर्फ मदरसा शिक्षाको गुणस्तर बढाउन कुनै ठोस योजना नदेखिएको उनको भनाइ थियो।

सांसद सिद्धिकीले भनिन्, ‘मदरसा शिक्षाको गुणस्तर सुधारका लागि त्यति ठोस योजना नभएकाले यसमा अझ बढी सुधारका कार्यक्रम राखेर अगाडि बढ्नुपर्छ। त्यसो भएमा मात्र मदरसाको गुणस्तरमा केन्द्रित हुन सकिन्छ। मदरसामा मुस्लिम समुदायका बालबालिका पढ्छन्, उनीहरू विद्यालय पनि गइरहेका छन्। देशको शैक्षिक योजनामा कुनै एउटा समुदायका बालबालिका पछाडि पर्नु हुँदैन।’

सांसद सिद्धिकीले बजेटमा मदरसाका शिक्षक (मौलाना) हरूका लागि आवश्यक तालिम र प्रविधिमैत्री शिक्षाको व्यवस्था नगरिएकोमा असन्तुष्टि जनाइन्। नेपालको सन्दर्भ र पाठ्यक्रम अनुसार मौलानाहरूलाई तालिम दिनु अनिवार्य रहेको उनको तर्क छ।

मदरसा शिक्षाको महत्त्वबारे प्रस्ट पार्दै उनले भनिन्, ‘मदरसाबाट निस्किएका बालबालिकाहरू अझ बढी क्षमतावान् हुन्छन्। उनीहरूलाई उर्दु र अरबी भाषाको ज्ञान हुनुका साथै राज्यले तोकेको पाठ्यक्रमको पनि ज्ञान हुन्छ। जसले गर्दा उनीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्छन्। मेरो आफ्नै बहिनी मभन्दा बढी क्षमतावान् छे, किनभने उसले मदरसा शिक्षा लिई तर मैले बाहिर शिक्षा लिएकाले त्यो प्रणालीमा जोडिन पाइनँ।’

बजेटमा मदरसा शिक्षा र देशको मूलधारको शिक्षाबीच समन्वय गर्ने स्पष्ट योजना नभएकाले यसलाई सच्याउन उनले अर्थमन्त्री र सभामुखसँग माग गरिन्। मदरसा शिक्षालाई केवल धार्मिक दृष्टिकोणले मात्र हेर्न नहुने उनको जोड छ।

उनले थपिन्, ‘यस विषयलाई धार्मिक रूपमा भन्दा पनि शिक्षाको पहुँच, गुणस्तर र समान अवसरका रूपमा हेरिनुपर्छ। एकातर्फ हामी समता र समानताका कुरा गर्छौँ भने अर्कोतर्फ यसलाई बजेटको भाषासँग कसरी मिलाउन सकिन्छ, त्यसमा अर्थमन्त्रीले ध्यान दिनुपर्छ।’

प्रकाशित: २९ जेष्ठ २०८३ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App