प्रायः सार्वजनिक बिदा र चाडपर्वमा चलचित्र प्रदर्शनका लागि उपयुक्त समय मानिन्छ। नेपाली चलचित्रकर्मीहरू दसैँ र नयाँ वर्षजस्ता पर्वहरूमा चलचित्र प्रदर्शन गर्न तँछाडमछाड गर्छन्।
तर, यस पटक भने माइकल चन्दको निर्देशनमा बनेको चलचित्र ‘राम नाम सत्य’ ले नयाँ वर्षको छेको पारेर एकल प्रदर्शनको मौका हात पारेको छ। उक्त चलचित्रले अग्रिम टिकेट बिक्री सुरु गरेको छ।
चैत २७ गते अर्थात् शुक्रबार देखी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ लगायतको अभिनय छ।
निर्देशक चन्द स्वयंको लेखन रहेको चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, सियोन श्रेष्ठको कोरियोग्राफी, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पार्श्व संगीत छ।
प्रकाशित: २५ चैत्र २०८२ १२:४० बुधबार





