विश्व राजनीति आज पनि जटिल मोडमा उभिएकै छ। नवनाजीवादी प्रवृत्ति, इतिहासको तोडमरोड र तथ्यको पुनर्लेखनका प्रयासहरू विश्वव्यापी रूपमा देखिन थालेका छन्। यस्तो समयमै इतिहास–चेतना प्रस्तुत गर्ने कृति ‘हजारौं विजय’ पाठकमाझ आएको छ, जसका सर्जक हुन् - रामविन्दु श्रेष्ठ। फासीवादमाथि विजयको ८०औं वार्षिकोत्सवमा समर्पित यो पुस्तक इतिहासको पुनर्पाठ गर्दै वर्तमान र भविष्यबिच सेतु निर्माण गर्ने प्रयास हो।
लेखक श्रेष्ठ स्पष्ट भन्छन् - ‘इतिहास केवल स्मरणका लागि होइन, भविष्य निर्माणको आधार पनि हो। युवा पुस्ताले यसबाट सिक्नुपर्छ।’ यही विचार नै पुस्तकको मूल आत्मा हो। पुस्तकमा दोस्रो विश्वयुद्धमा सोभियत संघले खेलेको निर्णायक भूमिकालाई केन्द्रमा राख्दै विश्व इतिहासको त्यो मोडलाई पुनः उजागर गरिएको छ।
सोभियत संघको विजय आजभन्दा ८० वर्षअघि भयो। त्यसले विश्व इतिहासको मोड नै बदलिदियो। विश्वको नक्सा मात्र होइन, मानव चेतना पनि रूपान्तरित भयो। यो विजय सजिलै प्राप्त भएको थिएन। एक हजार चार सय १८ दिनसम्म चलेको युद्धमा प्रत्येक सोभियत नागरिकले आफ्नो अस्तित्वको बाजी थापे। रातदिन बमबारी, गोली र त्रासदीबिच उनीहरूले लडाइँ जारी राखे। जंगलमा छापामार युद्ध, खाडल र धराप, रणमैदानमा सञ्चालन गरिएका अस्थायी अस्पताल, सबै युद्ध, देश र विजयका लागि समर्पित थिए। यस संघर्षमा दुई करोड ७० लाख सोभियत योद्धाले ज्यान गुमाए। मानव इतिहासमा मातृभूमिको स्वतन्त्रताका लागि यति ठुलो बलिदान सायदै कहीं भएको छ। त्यसैले सोभियतहरू यस लडाइँलाई ‘महान् देशभक्तिपूर्ण युद्ध’ भन्छन्।
‘हजारौं विजय’ले यही ऐतिहासिक यथार्थलाई सूक्ष्म ढंगले प्रस्तुत गर्छ। पुस्तकमा ‘युद्धको कालो बादल’, ‘ती वीरङ्गना’, ‘युरोपको मुक्ति’, ‘महान् विजयहरू’, ‘सोभियत विजयको विश्वव्यापी सम्मान’, ‘सोभियत सभ्यता’ र ‘इतिहास तोडकरो गर्ने सिलसिला’ लामा शीर्ष शीर्षक दिएर इतिहास, युद्ध र देशभक्तिका अनेक तथ्यगत कथ्य प्रस्तुत गरिएको छ। यी मूल शीर्षकभित्र धेरै उपशीर्षकमा लेखहरू सन्निहित छन्।
‘युद्धको कालो बादल’मा संसार शान्ति चाहन्छ, सबै स्वतन्त्रता चाहन्छन्, तैपनि युद्धहरू किन चलिरहन्छन्? डर र आतंकले अझै पनि मानव जातिलाई शान्तिपूर्वक सुत्नबाट किन रोक्छ? भन्ने प्रश्न उठाइएको छ। साथै यहाँ विश्वशान्तिको आशाका धिपधिपे दीपहरू समेत बालिएको छ। ‘वीर–वीरङ्गनाहरू’ मूल शीर्षकभित्रका आलेखमा मातृभूमिले पुकार गर्दा देशका छोरा मात्र होइन, छोरीहरू पनि बन्दुक उठाएर मैदान उत्रिन्छन् भन्दै सोभियत रक्षाका लागि होमिएका जोया कस्मोदिमेन्स्काया, मारिया अक्त्याब्रस्काया, कोल्या, वान्या, तोल्या, मित्रोसा, अल्योसा, कान्छा वान्या, कान्छा अल्योशा, अन्या ओबुखोभा, अल्योस्कोभ सेर्गेइ, मारिया फिलिपोम्ना लिमान्स्काया आदि देशभक्त युवा, बालबालिका तथा महिलाको वीरताको सन्दर्भ प्रस्तुत गरिएको छ।
‘युरोपको मुक्ति’ शीर्षकभित्रका आलेखमा सोभियत जनताले आफ्नो बलिदानीपूर्ण संघर्षबाट केवल आफ्नो देशमात्र मुक्त गरेनन्, वर्षौंदेखि फासिस्टहरूको ग्यास च्याम्बरमा निसास्सिएका र यातना शिविरहरूमा कैद युरोपका उत्पीडित मानिसहरूलाई समेत मुक्त गरेको सन्दर्भ उल्लेख गरिएको छ। पुस्तकमा बर्लिन कब्जा, जर्मनकिो आत्मसमर्पण, सोभियत विजयको विश्वव्यापीरूपमा भएको सम्मानका सन्दर्भहरू आएका छन्।
पुस्तकले नाजी फासीवादविरुद्ध जोसेफ स्टालिनको नेतृत्वमा सम्पन्न संघर्षको गाथा लिपिबद्ध गरेको छ। यस सन्दर्भमा लेखकले इतिहासको पुनर्लेखन र तथ्यको न्यूनीकरण गर्ने समकालीन प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
दोस्रो विश्वयुद्धमा सोभियत संघको निर्णायक भूमिकालाई कमजोर देखाउने वा ओझेलमा पार्ने प्रवृत्ति विश्व राजनीति र विचारधारात्मक संघर्षसँग जोडिएको छ। श्रेष्ठको कृति यस्ता प्रयासविरुद्ध प्रमाण, तथ्य र विश्लेषणसहित प्रस्तुत भएको छ। प्रसिद्ध अमेरिकी लेखक अर्नेस्ट हेमिङ्ग्वेले भनेका छन् - ‘स्वतन्त्रतालाई माया गर्ने प्रत्येक व्यक्ति सोभियत लालसेनाप्रति यति ऋणी छ कि उसले जीवनभर त्यसको गुन तिर्न सक्दैन।’
पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष यसले विश्व भूराजनीतिमा ल्याएको परिवर्तनको विवेचना हो। नाजी जर्मनीमाथि विजयपछि विश्व शक्ति सन्तुलन फेरियो, उपनिवेशवादी संरचनाहरू हल्लिए र एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकामा उपनिवेशविरोधी आन्दोलनको लहर उठ्यो। ‘हजारौं विजय’ले सोभियत विजयको प्रभावलाई विश्वव्यापी राजनीतिक जागरणसँग जोडेर विश्लेषण गरेको छ। यसले पाठकलाई बुझाउँछ - दोस्रो विश्वयुद्धको अन्त्यसँगै विश्व केवल शान्त भयो भन्ने होइन, नयाँ युगको आरम्भ भयो।
लेखक रामविन्दु श्रेष्ठ पेसाले इन्जिनियर हुन् र सोभियत संघमा अध्ययन गरेका हुन्। यसअघि उनको ‘मेरा सोभियत सम्झनाहरू’ प्रकाशित भइसकेको छ। त्यस अनुभवले ‘हजारौं विजय’लाई थप परिपक्वता र लेखकीय विश्वसनीयता दिएको छ। पुस्तकमा केवल तथ्यगत विवरण छैन, त्यहाँ स्मृति, संवेदना र वैचारिक प्रतिबद्धता पनि छ। इतिहासको विवेचना गर्दा लेखकले युद्धका त्रासदीको विश्लेषण मात्र गर्दैनन्, भविष्यमा यस्ता युद्धहरू कहिल्यै नहून् भन्ने सन्देश पनि दिन्छन्। पुस्तकले विजयको विगुल मात्र फुकेका छैन, शान्तिको सन्देश पनि प्रवाह गरेको छ। संसार शान्तिबिना बाँच्न सक्दैन र शान्तिका लागि प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ भन्ने आग्रह पुस्तकमा छ। साथै यस पुस्तकले रुसी र नेपाली जनताबिच भावनात्मक सेतु निर्माण गर्ने प्रयास गरेको छ। सोभियत इतिहासप्रतिको सम्मान र सम्झनाले दुई देशका जनताको अनुभवलाई नजिक ल्याउँछ। इतिहासको साझा चेतनाले अन्तर्राष्ट्रिय मित्रता र सहकार्यको आधार पनि तयार पार्छ।
पुस्तकमा सोभियत भूमिकाको प्रवर्धन अत्यन्त प्रखर रूपमा गरिएको छ, तर मित्रराष्ट्रहरू विशेषतः संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्सको सैन्य, आर्थिक तथा कूटनीतिक योगदानको तुलनात्मक विश्लेषण अपेक्षाकृत कम छ। स्टालिनकालीन दमन, गुलाग व्यवस्था, राजनीतिक शुद्धीकरण र नागरिक स्वतन्त्रतासम्बन्धी विवादित पक्षहरूको आलोचनात्मक समीक्षा समेटिएको छैन। यसले कृतिलाई केही हदसम्म एकपक्षीय व्याख्यामा सीमित बनाएको अनुभूत हुन्छ।
पुस्तकका यस्ता सीमा पनि छँदै छन्। यी सीमाका बाबजुद ‘हजारौं विजय’ ऐतिहासिक स्मृति र समकालीन चेतनाबिचको पुल बनेको छ। यसले विजयको गौरवगानसँगै शान्ति, स्वतन्त्रता र मानवीय जिम्मेवारीको सन्देश दिएको छ। पुस्तकको सबैभन्दा बलियो पक्ष देशभक्त इतिहासको सन्देश वर्तमान पुस्तालाई प्रवाह गर्नु बनेको छ।
प्रकाशित: १६ फाल्गुन २०८२ ०७:१७ शनिबार





