५६ बर्ष पहिले वि.सं. २०२३ सालमा रोल्पाका खडानन्द सुवेदीले प्रकाशन गरेको जिल्लाको पहिलो पुस्तक पुनः प्रकाशन भएको छ। पश्चिम क्षेत्रकै राजनितिज्ञ तथा समाजसेवीका रुपमा छबि बनाएका खडानन्द सुवेदीले ५ दशक पहिले प्रकाशन गरेको ‘चेतन लहरी’ कविता संग्रहको उनका छोरा नेपाल प्रहरीका पूर्व एआईजी देबेन्द्र सुवेदीले खडानन्द सुवेदी स्मृती प्रतिष्ठान, नेपाल मार्फत पुनः प्रकाशन गरेका हुन्।
वि.सं. २०१५ सालमा क्षेत्र न. ८३ बाट प्रथम जननिर्वाचित सांसद समेत जितेका सुवेदीको चेतन लहरीको दोस्रो संस्करणमा विश्लेषकरसमिक्षक शेखर खरेलले लेखेका छन् ‘केहि थोरै मानिसका सम्झना मात्रले पनि हृदय टनाटन हुन्छ। कविताको सामथ्र्य तिनको गहिराई र सार्वभौमिकता हुन्। करिब ६ दशक अघि रचिएका यी गीत र कविता आज पनि त्यत्तिकै सान्दर्भिक छन्। यस दृष्टिले चेतन लहरी कालजयी कृति हो।’
पुस्तक समिक्षा गर्दै लेखक/अभिनेता/पटकथाकार व्रजेश खनाल लेख्छन् ‘सामाजिक क्रान्तिका लागी उहाँको कलमले मनग्यमसी खर्च गरेको छ। हामीलाई अचेल आफ्नो वरिपरिको परिस्थिति हेर्दा नैतिक शिक्षाको अभाबमा अहिलेको पुस्ता कतै पथभ्रष्ट हुदै गएको त छैन भन्ने चिन्ता लाग्छ।’ खनाल थप्छन,् ‘खडानन्द सुवेदीले त्यतिबेला रच्नुभएका गीत र कबितामा प्रशस्त मात्रामा नैतिक मार्ग दर्शन पाईन्छन्।’
पुस्तकका बारेमा गीतकार÷कवि रमण घिमिरे लेख्छन् ‘कसैको सृजना बारे महान् समालोचकले पनि छिन्किने कोसिस मात्र गर्न सक्छन्, त्यसको सम्पूर्ण ब्याख्या गर्न सक्दैनन्, किनभने कवि जहाँ पुग्न सक्छ, त्यहाँ सूर्यका किरण पनि पुग्न सकेका हुदैनन्।’ घिमिरे थप्छन् ‘जुन समय, परिस्थितिर बाताबरणमा कविको कलम सकृय भयो, त्यस बेलाको समाजतिर फर्केर हेर्ने हो भने कहाली लाग्छ। त्यो ‘कुवाको भ्यागुतो’ समाजमा कवि सुवेदीलाई कहाँबाट यस्तो जागृतिको शङ्खघोष गर्ने चेतना आयो, थाहा छैन तर यो आफैमा बिशिष्ट कार्य हो, महान अभियान हो।’
सुकुमवासी मजदुरी गर्ने यी आफ्नै सन्तान।
मानेर तुच्छ ईश्वरको द्वेषी गनेर नहान।।
त्यो भाई मार्नु या मांस खानु हो एकै समान।
जलमत्स्य–नीति लिएर बस्नु हक न हो कमान।।
उठ्दै छ जन बिकास बोकि यो बर्ग नेपाली।
सबैको आशा पु¥याउला अब सत्य नै कबोली।।
चेतन लहरीका रचनाकार सुवेदी र उनको साहित्यलाई सम्झँदै पूर्व मन्त्री बालाराम घर्ती लेख्छन,् ‘खडानन्द सुवेदी मेरा परम श्रद्वेय राजनितिक गुरुवर हुनुहुन्थ्यो। उहाँ सम्पन्न परिवारमा जन्मिएर पनि सरल प्रबृती र सहयोगी स्वभाबका धनी हनुहुन्थ्यो। उहाँ जिल्लाको जेठो राजनितिज्ञ हुनुहुन्थ्यो। शिक्षाको ज्योति फैलाउने उहाँमा प्रतिपक्ष वा विरोधीलाई पनि खुला दिलले सम्मान गर्ने अद्भुत र सहनशील राजनीतिक चरित्र थियो।’
पूर्व मन्त्री घर्तीका अनुसार सुवेदी एमपि भएपछि उनकै पहलमा ३० वटा विद्यालय स्थापना भएका थिए। विभिन्न व्यक्तित्वहरुको समिक्षा र सुवेदीका बारेमा लेखिएका स्मरण समेत समेटिएको १ सय ६३ पृष्ठको चेतन लहरी दोस्रो संस्करणको मूल्य ५ सय रुपैयाँ राखिएको छ। रोल्पाको पहिलो प्रकाशनका रुपमा रहेको यो कृती भित्रका रचनाहरु पठनिय रहेको बिभिन्न साहित्यकारहरु बताउने गर्दछन्। खडानन्द सुबेदी स्मृति प्रतिष्ठान, नेपालका अनुसार चेतन लहरी मण्डला बुक पोईन्ट, कान्तीपथ, जमलमा उपलब्ध छ।
प्रकाशित: १९ कार्तिक २०७९ ०४:४५ शनिबार





