‘...जाजरकोटको भेरी नगरपालिका–४ की उर्मिला विक शनिबार साँझ बुहारी भित्र्याउने तयारी गर्दै थिइन्। छोरा नवराज बुहारी ल्याउन रुकुम पश्चिमको चौरजहारी गएपछि उर्मिला बुहारी भित्र्याउने चटारोमा थिइन्। तर छोराले बुहारी ल्याउने अपेक्षा रहेको विक परिवारमा एकाएक बज्रपात भयो।
बिहेका लागि केटी लिन गएका नवराज भेरी नदीमा बेपत्ता भएको खबरले खुसी बाँड्न जम्मा भएका आफन्त र उनको परिवार शोकमा बदलियो। छोरा नदीमा बेपत्ता भएको खबरले उर्मिला बेहोस् भइन्।...’
१० जेठ २०७७ को रुकुम घटनाबारे १२ जेठमा ‘बुहारी ल्याउला भनेको, छोराको शव आयो’ शीर्षकमा नागरिक दैनिकमा आएको खबरको अंश हो यो।
ठकुरीकी छोरी र विश्वकर्माको छोराबिचको अन्तरजातीय प्रेमसित जोडिएको उक्त घटनाका विभिन्न आयाम हुन सक्छन्। भन्न त उनको फोन कब्जामा लिएर दाइले नै केटालाई घरमा बोलाएको अनि त्यस्तो घटना घटाइको आशंका पनि थियो। त्यता नजाऊँ। यो एउटा प्रतिनिधिमूलक दुःखद् घटना हो, जसले हाम्रो समाज अन्तर्जातीय विवाह सहजै स्वीकार गर्ने पक्षमा छैन भन्ने देखाउँछ। त्यसो त सुन्दर ढंगले अन्तर्जातीय विवाह भएका र सौहार्दपूर्ण तवरले घर परिवार चलेका अनेकौं उदाहरण पनि छन् समाजमा।
मन्दिर अनि मूर्ति बनाउने कर्मी काम गरुन्जेल चोखो हुन्छ। जब त्यही मूर्ति मन्दिरभित्र राखिन्छ अथवा त्यो संरचनालाई मन्दिरमा रूपान्तरण गरिन्छ, अनि त्यसैको सर्जक आफ्नै सिर्जनाको स्पर्शबाट बर्जित हुन्छ। मन्दिर पसेकै भरमा कुटपिट तथा हत्या गरिएका घटना पनि छन् हाम्रो समाजमा। लुगा सिउने दमिनी भाउजू वा शुभ साइतमा बाजा बजाउने दमाईं दाइ र जुत्ता बनाइदिने सार्की दाइको पनि यस्तै कथाव्यथा छ समाजमा। बिरालो, कुकुर भित्रै पलङमा बस्छन्। मान्छे छुँदा सुनपानी छर्किन्छ। पसिना र पौरख चल्छ, मान्छे चल्दैन। यौवन चल्छ, घरबार चल्दैन।
‘फलानी त फलानो जातका सित पो गै’छे त। कुलको नाकै काटी नि त्यसले। अब बिचरा बुढा बाबुआमाले समाजमा कसरी मुख देखाउने? के के न विदेश गएर पढेका छन् भन्थे, उतै कुहिरी केटी लिएर बसेको छ रे फलानाको छोरो। उतै लिभिङ टुगेदरमा बसेका रे। यो दसैंमा भोज दिएर बिहेको रन्को मेटाउने भन्थे। अरू जे जे गरे नि बिहे त आफ्नै जातकासित गर्नुपर्छ। त्यत्रो पढेगुनेकी छोरी अरू जे भए नि पानी नचल्ने जातसित त नभाग्नु पर्ने हो।’ चिया पसलमा प्रायः सुनिने संवादका केही प्रतिनिधि अंश हुन् यी।
खासगरी जातीय, वर्गीय, लैंगिक कारणले समाजमा हुँदै आइरहेका विभेद, सामाजिक तथा राजनीतिक समस्या आदिको मनोदशा केलाएर सुन्दर, शान्त र समतामूलक समाजको कल्पना गरिएको साथै समाजद्वारा अछुत करार गरिएकी नारीकेन्द्रित कथावस्तुको केन्द्रीयतामा कताकता सुनेसुनेजस्ता लाग्ने घटना, पात्र, परिवेश निर्माण गर्दै स्वैरकाल्पनिकता मिसाएर प्रस्तुत गरिएको सुन्दर सामाजिक चेतनामूलक उपन्यास हो– ‘छलाङ’। जातीय समानता, राजनैतिक इमान्दारिता र समुन्नत राष्ट्र निर्माणको त्रिआयामिक विषयवस्तुलाई काव्यात्मक कलेवरमा आख्यानीकरण गरिएको छलाङमा पृथ्वीनारायण क्याम्पस पोखरा, पञ्चमूल सिरुबारी, काठमाडौं, इजरायललगायतको परिवेशात्मक प्रसङ्ग छन्। पञ्चमूल सिरुबारीकी निम्नवर्गीय दलित परिवारले दुःखजिलो गरी हुर्काएकी मानवी, त्यतैको मध्यम वर्गीय पण्डितको छोरो प्रभात र पोखरातिर ३/४ वटा स्कुल चहारेर नेपाली पढाउने निम्न/मध्यम वर्गीय दलित परिवारकै गम्भीर आख्यानमा बढ्ता छाएका पात्र हुन्। त्यसमा पनि केन्द्रमा मानवी नै छे भन्दा हुन्छ।
गाउँकै स्कुलमा प्लस टु पढेर पोखरामा ब्याचलर पढ्न बसेकी मानवी दलित भएकै कारण सजिलै भाडामा बस्नसमेत पाउँदिन। गाउँकै दाइसित मिलेर चलाएको सिम्पानीको मासु पसल जब उनीहरू दलित हुन् भन्ने थाहा भयो अनि बिस्तारै सङ्कटमा पर्यो।
गाउँकै स्कुलमा २०५१ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरी पृथ्वीनारायण क्याम्पसमा पढ्दैगर्दा विद्यार्थी राजनीतिमा संलग्न भएको प्रभात तत्कालीन माओवादी विचारबाट दीक्षित भएको देखिन्छ। राजनीतिक रूपले सचेत ऊ बिएससी पढ्नेताका क्रान्तिकारी विद्यार्थी संगठनको नेतृत्वमा देखिन्छ। माओवादीको प्रचार सामग्रीसहित गिरफ्तार हुन्छ र २०६२/०६३ को आन्दोलनपछि एकाएक देखापर्छ क्याम्पसमा।
विभेदको अन्त्य, समतामूलक समाजसहितको आमूल परिवर्तनको सपना बोकेर सङ्घर्षमा होमिएको पार्टीले परिवर्तनको बाटो बिसर्जन गरी सत्तामोह र आआफ्ना स्वार्थमा सम्मोहित भएकामा सोको प्रतिकार गर्दै अर्को आन्दोलनको तयारीमा भित्रभित्र जुटिरहेको प्रभात क्याम्पसमा प्रायः धुलो मैलो र विक्षिप्त अवस्थामा डुलिरहेको, बेवारिसेरूपमा क्याम्पसकै छिँडीहरूमा रात काटेकोबाट भित्रैभित्रै दुखेकी मानवीले मध्यरातमा म्युजियमको बरन्डामा बेबारिस पल्टिएको अवस्थामा मासु पकाएर पुर्याउन गएको प्रसङ्गलाई बडो कारुणिक तवरले कुँदिएको छ आख्यानमा। त्यसो त, प्रभातले त्यस्तो बौलाहाजस्तो हुलिया र जीवन भित्रभित्र आन्दोलन तयारीकै लागि सजिलो हुने भएर लिएको हुन्छ। यसैबिच मानवीले उता आफ्नो गाउँको सौन्दर्यीकरण गरेकी हुन्छे, गाउँलेकै जनश्रमले। प्रभातको हुलिया बदल्न पनि उसकै हात देखिन्छ। प्रभातसित सल्लाह गरेरै उसले आफ्नै जातको उच्च आर्थिक हैसियत भएको केटासित बिहे नगर्ने निर्णयमा पनि पुग्छे। मानवीले प्रभातलाई आफ्नो आदर्श मानेकी हुन्छे। उसैको प्रभावमा आएर मानवी पनि क्रमशः एउटै राजनीतिक मोर्चामा संगठित हुन पुग्छे।
उता मानवीका बाबुआमा उसको विवाह गर्ने केटाकै खोजीमा लागि पर्छन्। उसको सामान्य तवरले मागी बिहे हुन्छ। पोखरातिरै दुईतीनवटा स्कुल चहारेर पढाउने गम्भीर सुनारसित बिहे हुन्छ। त्यही क्रममा धेरैपछि प्रभात गाउँ जन्ती भएर पुगेको छ। आफ्ना बाआमालाई पनि भेटेको छ। मानवीका बाआमालाई पनि ढाडस दिएको छ। छोरो बहुलाएको छ रे भन्ने खबर सुनेका बाआमा पनि छोरो भेटेर खुसी हुन्छन्। आफ्नै जात खोजेर बिहे गर्दिए हुन्थ्यो भन्ने लाग्छ बाआमालाई।
गम्भीरको दौडधुप, मानवीको राजनीतिक सक्रियता, पार्टीका सांगठनिक तथा प्रशिक्षणमा उसको व्यस्तता, प्रभातसितको स्वाभाविक निकटता र गम्भीर–मानवी प्रेम–प्रणयको पनि सहज आख्यानीकरण छ। जातीय विभेदका थुप्रै मुद्दाहरू थुप्रै ठाउँमा उठेका छन्। मानवीले सामाजिक, राजनीतिक विषयमा यसरी हेलिएकी छ कि ऊ आफ्नै नन्दको बिहेमा पनि अन्तिमतिर पुग्छे। उसले चाहेर पनि बिहे उसले भनेझैँ तडकभडकरहित हुन सक्दैन।
बिस्तारै गम्भीरलाई मानवीको राजनीतिक सक्रियता मन पर्दैन। मानवीले आफ्नो राजनीतिक सक्रियता छोड्न पनि सक्दिन। सकभर सन्तुलन कायम गर्ने कोसिसमा देखिन्छे ऊ। बिस्तारै सम्बन्धमा असमन्जस्यता देखिन थाल्छ। परिवारले आर्थिक अवस्था सुधार्नुपर्ने अपेक्षा राख्दछ। परिवारबाट गम्भीरमाथि दबाब बढ्न थाल्छ। गम्भीर, मानवीलाई वैदेशिक रोजगारमा इजरायल पठाउने तयारीमा लाग्छ। मानवी विदेश जाँदै नजाने जिद्धी गर्छे। यसबिच प्रभातसित फेरि सल्लाह गराएर आख्यानकार प्रभातलाई आख्यानको केन्द्रीय पात्रकै रूपमा स्थापित गर्ने कोसिसमा देखिन्छन्। नचाहँदा नचाहँदै गम्भीरको आग्रह र उनीहरूको आर्थिक–सामाजिक अवस्था र सपनाहरूले मानवी इजरायल उड्छे। रहरले होइन, बाध्यताले नेपाली चेलीहरू कसरी विदेसिन बाध्य छन् भन्ने कथा पनि छ छलाङमा। विदेश जाँदा पनि ऊ भने आफ्नो राजनीतिक सक्रियता र संगठन विस्तारको सपना बोकेरै गएकी हुन्छे।
इजरायलमा भने मानवी एउटा घरमा बुढी आमैको केयर गिभरमा सीमित हुन्छे। बुढी आमैका छोरा–बुहारी र जवान नातिलाई भने अमेरिकामा बसाएर इजरायलका बस्तीलाई पनि हाम्रै गाउँघरको बुढाबुढीमात्रै बस्ने बस्ती करार गर्न सफल छ आख्यान। त्यहाँको रहनसहन, साथीसँगीको चर्चा, मानवीले दुःखजिलो गरी मासिक एकलाख पठाउँदै गरेका प्रसङ्गले रेमिट्यान्समा भर परेको हाम्रो मनोदशा पनि केलाएको छ छलाङले। झन्डै चार वर्ष इजरायल बसेकी मानवीको शारीरिक, मानसिक मनोदशाको अर्कै पाटो छ छलाङमा। एक महिनाका लागि अमेरिकाबाट इजरायल आएको आमैको ह्यान्डसम नातिसित एकदिन मानवीलाई एउटै बिछ्यौनामा पुर्याएर अर्को छलाङ मारेका छन् आख्यानकारले छलाङमा। पाठक एकपछि अर्को छलाङ पछ्याइरहन्छ कृतिमा।
गोरे नाम दिइएको नाति मानवीलाई सहयोग गर्न तयार नै देखिन्छ। बच्चा डिभोर्सन गर्ने वा बच्चाको आमाको हैसियतमा त्यहीं बस्ने विकल्प नरोजेर मानवी नेपालमै गएर सामाजिक तिरस्कार सहेरै पनि बच्चा जन्माउने जोखिम मोल्न कस्सिन्छे। यहुदीको बच्चा त्यतै नष्ट गरेर कसैले थाहा नपाउने गरी देश फर्कन सल्लाह दिने फुच्ची केटी, बुढी आमै र स्वयम् उक्त बच्चाको बाबुको आग्रहसमेत लत्याउन लगाएर आख्यानकारले मानवीलाई उच्च मातृत्व भएकी नारी पात्रको रूपमा अथ्र्याएका छन्। उसलाई त्यहाँ न्यायको ढोका ढकढक्याउन पनि लगाएनन् आख्यानकारले। न त्यो परिवारमा कुनै झमेला दिन लगाए।
यस्तो संगीन मोडमा पनि मानवी प्रभातसित मात्रै सबै कुरा भन्छे र आफू यहुदीको बच्चा पेटमा बोकेरै नेपाल फर्किंन आँटेको कुरा बताउँछे। मानवी–प्रभात उक्त संवादमा पनि मानवीलाई बोल्डरूपमा र प्रभातलाई क्रान्तिकारी युवाका रूपमा नै अथ्र्याइएको छ।
प्रभात समस्याको व्यवस्थापनमा जुट्छ। गम्भीरसित आफै भेट्छ। जे भयो, गल्ती भयो, अब कसरी अगाडि जाने भन्ने कुरा आख्यानमा त्यति सजिलै अगाडि बढेको छैन। प्रभात–गम्भीर, गम्भीर–मानवी, गम्भीर–उसका बामा, गम्भीर–अरू एकाध उसका गन्यमान्य बाहरूसितका संवाद आदिमार्फत हाम्रो सामाजिक संरचनाको सजीव चित्र उत्रिएको छ– आख्यानमा।
आउँदा भने २६ डिसेम्बरमा साँझ ६ बजे काठमाडौं झर्ने खबर एकसाथ मानवीले प्रभात र गम्भीरलाई पठाउँछे। साच्चै, माओत्सेतुङको जन्म दिन नै पारेर किन काठमाडौं झारेका होलान् मानवीलाई? सायद, संयोग होला। मानवीको बस्ने व्यवस्थासहित दुईजना बहिनीहरू पठाएको रहेछ प्रभातले। गम्भीर पनि उसलाई ऊ बसेकै ठाउँमा भेट्न पुग्छ। त्यतैकतै बसेर बच्चा जन्माउने र उक्त बच्चाको कतै व्यवस्थापन गरेर सँगै बस्ने आग्रह सुनाउँछ। पारिवारिक सामाजिक कारणले बच्चासहित मानवीलाई अङ्गीकार गर्न नसक्ने बताउँछ। उसलाई यस्तो भन्न लगाएर उपन्यासमा मानिस पारिवारिक र सामाजिक तवरले कसरी बाँधिन्छ भन्नेतर्फ पनि संकेत गरिएको छ।
मानवी नेपाल आएर यहुदीकी छोरीकी आमा भएको पनि झन्डै चार महिना भइसकेको हुन्छ। गम्भीर मानवीसँग प्रभातको सहयोग लिएर छोरी कतै व्यवस्थापन गरी सँगै जाऊँ भन्न पुग्छ। मानवी छोरीसहित स्वीकार्न अनुरोध गर्छे। गम्भीर आफू त मानसिक रूपमा तयार रहेको तर परिवार र समाजका कारण त्यस्तो गर्न नसक्ने परिस्थितिमा रहेको बताउँछ। उता प्रभात पनि मानवीकै लाइनमा भेटिन्छ। साच्चै, आख्यान यसरी घुम्छ कि पाठक रनभुल्ल पर्छ, कसको कुरा सही, कसको गलत र कसको आंशिक सही। पाठकलाई पनि दुवैको अडान सहीजस्तो लाग्छ। पाठक ठम्याउनै सक्दैन। हुँदाहुँदा उनीहरू पाठकको मन अमिलो पारेर कानुनी रूपमै अलग हुन पुग्छन्।
निकै पहिलादेखि आख्यानकारले चलाखीपूर्ण तवरले मानवी र प्रभातको मनोदशा केलाइरहेकाले अब आख्यानले कता छलाङ मार्ला भन्ने कुराको पूर्वाभ्यास प्रायः पाठकलाई हुन्छ होला भन्ने ठान्छु म। नभन्दै, प्रभात र मानवी राम्रोसित नजिकिन्छन्। मानवीको हात मागेर प्रभात मानवीकै बाआमासित कुरा गर्न पुग्छ। उनीहरू आश्चर्यचकित त हुन्छन् नै, तर राजी हुन्छन्। प्रभातका बा मान्न तयार हुन्नन् र छोराले आफ्नै गाउँमाथिकी दलितकी छोरी, अझै यहुदी छोरीकी आमाको गोठसमेत हान्ने भयो भनेपछि त्यही बिहे देख्न पर्ने शोक बार्न विवाहको तीनचार दिनअघि नै आमासहित तराईतिर लाग्छन्। उता प्रभात ढकाल र मानवी विश्वकर्माको बिहे रीतिरिवाजपूर्वक हुन्छ।
प्रभातको राजनीतिक सक्रियता, उसको संगठनको विकास एवम् विस्तारमा पनि मनग्गे दिलचस्पी छ आख्यानकारको। उसलाई र उसको दलको सहकार्यको मोर्चालाई चुनाव जिताएर प्रभातलाई मन्त्री बनाएका छन् आख्यानको अन्त्यतिर। मन्त्री प्रभात पञ्चमूल गएको छ, उसको स्वागत सत्कार छ स्याङ्गजामा। गाउँलेलाई भेटेको छ, बाआमालाई भेटेको छ। बालाई चित्त अझै बुझेको छैन तर खुसीसाथ आशीर्वाद दिएका छन्। प्रभातले आफ्ना बाआमासँगै गाउँका केही बाआमाहरूलाई मठमन्दिर घुमाएको छ, घुम्नेक्रममा पनि उनीहरू र छोरीबाहेक बाहुन, घर्ती, कामी, दमै, गुरुङका एकएक जोडी छन्। यसरी मानवता, विकास, चेतना, समता, समुन्नति आदिको संयोगान्त निकास छ आख्यानमा।
निकै ठाउँमा धेरै नै लेखिएको कथानक भएर पनि सरल सहज ढंगले पाठकलाई अन्तिमसम्म तान्न सक्नु आख्यानको सबल पक्ष मान्नुपर्छ। काव्यात्मक भाषा, सुललित वाक्य गठन, सुरुचिपूर्ण संवादात्मक शैली र सुन्दर कथानक विन्यासको संयोजनका कारण पनि पढ्न थालेपछि पाठक बाँधिन्छ आख्यानमा। पात्रहरूको चरित्र निर्माण तथा परिवेशको क्यानभास बनाउन राम्रै मेहनत परेको छ लेखकको। आख्यान झन्डै सरल रेखामै अघि बढेको प्रतीत हुन्छ। त्यस अर्थमा पनि आख्यान पाठकमैत्री ठहर्छ।
पाठक ठान्दछ कि उसले आफूले चिनेजानेका या सुनेका कोही कसैको कथा पढिरहेको छु। मध्य गण्डकीको आञ्चलिकता पनि झल्केको छ कथ्यमा। सहरिया परिवेशमा नभिजेका पात्र आञ्चलिक लवजमा बोलेका भेटिन्छन् भने उही गाउँकै भए पनि सहरिया परिवेशमा भिजेका पात्रको लवज पूर्णतः गाउँले देखाइएको छैन। यहाँ आख्यानकारको संवादगत चलाखी चलाखी देखिन्छ। यो कुरा स्याङ्गजा वा त्यसको सेरोफेरोका पाठकले सजिलै भेउ पाउँछन्। हाम्रातिर अर्थात् लमजुङतिर भत्केरु भन्नाले बिहेमा जन्तीको खबर लिएर दुलहीका घरमा अरूभन्दा अलिक पहिला जाने दुलाहातर्फका मानिस भन्ने बुझिन्छ। एकाधपटक म पनि त्यसरी गएको छु र बेहुली तर्फका सित सावधानीपूर्वक रमाइलो वार्तालापमा सरिक भएको धुमिलधुमिल याद छ मसित। यहाँनेर भने उनले भतेरको भान्छेका रूपमा अथ्र्याएका छन्। उपन्यासमा बाहुन भान्छा र कामी भान्छाको सन्दर्भ आएको छ। त्यही भान्छाभित्रको आपसी जातीय विभेदको प्रसङ्ग भने झन् रोचक छ। सबैले भेउ नपाउने गरी बाझिएका सन्दर्भ र एकाध ठाउँमा भाषिक त्रुटिहरू छन् तर त्यसले आख्यानको गति, प्रवाह र प्रभावकारितामा असर परेको छैन। झन्डै २०५१ सालतिरबाट सुरु भएको कथानक त्यसपछिका लगभग २४/२५ वर्षसम्म फैलिएको भान हुन्छ। त्यत्रो कालखण्डका सबै आयाम एउटै उपन्यासमा खोज्नु न्यायपूर्ण पनि नहोला। समाजबाट मुख्यतः तीन जना प्रतिनिधि पात्र टिपेर एउटा सानो क्यानभासमा सामाजिक, लैङ्गिक, वर्गीय तथा जातीय विभेदका विरुद्ध आवाज उठाउनु र त्यसको कलात्मक व्यवस्थापन गर्नु उपन्यासको सुन्दर पक्ष हो। भेटेजस्ता लाग्ने पात्र, सुनेजस्तो लाग्ने कथानक, आफै गएजस्तो लाग्ने कथानक क्यानभास र पाठकमैत्री आख्यानीकरणको सुन्दर संयोजन हो– ‘छलाङ’।
प्रकाशित: २९ आश्विन २०७९ ०२:४३ शनिबार