वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर युरोपका विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
रकम असुलेर सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढि रकम ठगी गर्ने ५२ वर्षीय कर्णबहादुर राउत रहेका छन्। सल्यानको कालीमाटी गाउँपालिका-७ घर भई हाल बुटवल उपमहानगरपालिका-२ बस्ने राउतले फिनल्यान्ड पठाइदिने भन्दै ११ जना पीडितबाट ५७ लाख रुपैयाँ असुलेका थिए।
त्यसैगरी, फिनल्यान्डकै प्रलोभन देखाएर नवलपरासी पूर्वको कावासोती नगरपालिका-३ की ३९ वर्षीया राधिका पाठक पौडेलले दुई जनाबाट ४ लाख २० हजार रुपैयाँ ठगी गरेकी छन्।
यस्तै, माल्टा पठाइदिने भन्दै एक जनाबाट ४ लाख ५० हजार रुपैयाँ ठग्ने तनहुँको भानु नगरपालिका-१२ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-९ बस्ने ४२ वर्षीय आनन्द थापा पक्राउ परेका छन्।
उता सर्बिया पठाउने नाममा दुई जनाबाट ८ लाख रुपैयाँ असुलेर फरार भएका मोरङको सुन्दरहरैँचा नगरपालिका-३ घर भई काठमाडौं-३१ बस्ने ४७ वर्षीय तिलक परियारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूको खोजी गरेको थियो। प्रहरीले राउतलाई काठमाडौं महानगरपालिका-११ राधिकालाई वडा नम्बर-१२, आनन्दलाई वडा नम्बर-२६ र तिलकलाई वडा नम्बर-२९ बाट नियन्त्रणमा लिएको बताएको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रकाशित: २१ चैत्र २०८२ १६:३५ शनिबार





