१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

को धाउँछ र त्यहाँ जहाँ आत्मीयपन हुँदैन

मुक्तक

कमला घिमिरे

१) मुक्तक

रगत सबैको रातो हुन्छ, मान्यता जातको गर्छन्,

स्वार्थसिद्ध भएपछि काम अन्तर्घातको गर्छन्।

पछाडि फर्केर हेर्दैनन्, विगत बिर्सेछन् कि कसो!

भित्र खोक्रो, बाहिर बोक्रो कुरा औकातको गर्छन्।

   २) मुक्तक

पानी र माया जहिले पनि ओरालोतिर सर्छ,

माथि फर्काउनुपरे पम्प लाएर तान्नुपर्छ।

आफूले सन्तानलाई गरे जति उबाट आश नगर्नु,

बाध्यतामा ऊ पनि माया खोज्दै तलतिर झर्छ।

  ३) मुक्तक

मेहनतसँग भाग्यले पनि ताल मिलाइदिए,

आफन्तले पनि सहयोगको चाल मिलाइदिए।

खुसी मात्र हैन, सुनमा सुगन्ध थपिन्थ्यो होला,

छिमेकीले दूरी घटाउन साँधको पर्खाल मिलाइदिए।

  ४) मुक्तक

को धाउँछ र त्यहाँ जहाँ आत्मीयपन हुँदैन,

दीर्घकालसम्म रहन सम्बन्धको जतन हुँदैन।

चिप्लोपन र देखावटी क्षणभरमा टुट्न सक्छ,

सामिप्यमा रहिरहन  निर्मल मन हुँदैन।

 ५) मुक्तक

श्रीखण्ड र खुर्पाको बिडलाई समान देख्न थालेपछि,

आफ्ना गुणगान र प्रशंसा आफैं लेख्न थालेपछि।

पछि हट्नुपर्छ दैवले पनि, सम्झाउन सक्दैन कसैले,

धैर्य, ऐश्वर्य र विवेकलाई  घमण्डले छेक्न थालेपछि।

प्रकाशित: २३ भाद्र २०७९ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App