१७ आश्विन २०७९ सोमबार
कला

लियो टाल्सटायको लेखन र चिन्तनमा बौद्ध दर्शनको प्रभाव

इतिहास, भूगोल, भाषा, धर्म, संस्कृति र आर्थिक कारोबार सबै दृष्टिकोणले आफ्नो निकटतम राष्ट्र युक्रेनमाथि हमला गरेर हाल पुटिनले रुसको छवि एक अतिक्रमणकारी मुलुकका रूपमा धमिल्याएको भए तापनि त्यस देशमा धेरै यस्ता विद्वान् र चिन्तकहरू पनि जन्मेका थिए, जो अहिंसावादी र शान्तिकामी थिए र मानवीय जीवन र मूल्यको ठूलो कदर गर्दथे। त्यस्ता व्यक्तिहरूमध्येका एक शीर्षपुरुष विश्वविख्यात उपन्यासकार लियो टाल्सटाय (रुसी भाषाको उच्चारण -लेभ तोल्स्तोइ) हुन्। उनको ‘युद्ध र शान्ति’ नामक उपन्यास विश्व साहित्यकै सर्वाधिक महत्त्वपूर्ण कृति मानिन्छ।

साहित्यमार्फत अभिव्यक्त टाल्सटायको दर्शन र शान्तिको सन्देशले उनको समयमा र त्यस उप्रान्त कैयन् वर्षसम्म चलेका युद्ध र विभिन्न प्रकारका द्वन्द्वहरूमा संलग्न पात्रहरूको चिन्तनमा ठूलो प्रभाव पारेको थियो। आफ्नो विचारको एक प्रमुख स्रोत भने टाल्सटायले बौद्धदर्शनलाई मानेका थिए। उनले आफ्ना कृतिहरूमा जस्तोसुकै अनिष्टको पनि हिंसात्मक प्रतिकार निषेध गरिनुपर्ने मान्यता राखेका थिए। उनले लेखेका थिए, ‘हिंसालाई विवेकको सीमानाभित्र राखेर प्रयोग गर्न मिल्दैन। हिंसालाई स्थान दिनासाथ त्यसले हामीले तोक्न चाहेका सबै सीमा नाघिदिन्छ।’

आफू भगवान् बुद्धको शिक्षाद्वारा प्रभावित भएको कुरा टाल्सटायले कैयन् लेख तथा रचनाहरूमा बताएका छन्। उनले एक यस्तो घटनाको स्मरण गरेका छन्, जसले जीवन र समाजप्रति आफ्नो चिन्तन र दर्शनमा ठूलो प्रभाव पारेको थियो। सन् १८४७ मा अर्थात् भर्खर उन्नाइस वर्षको छँदा टाल्सटाय बिरामी परेर कजान सहरको एक अस्पतालमा भर्ना भएका थिए। त्यसै अस्पतालमा उनको एक बौद्ध भिक्षुसँग भेट भएछ। ती भिक्षु रुसको एसियाली भूभागमा पर्ने बुर्यातिया प्रदेशबाट आएका थिए, जहाँ अहिले पनि बौद्धमार्गीहरूको बाहुल्य छ।

भिक्षुमाथि एक डाँकाले हमला गरेर उनको पैसा र घडी खोस्न चाहेको रहेछ। भिक्षुले डाँकाको प्रतिकार गरेनछन्। बरु ‘यो घडी र पैसाको आवश्यकता मलाईभन्दा तिमीलाई बढी रहेछ, लैजाऊ’ भनेर आफैले झिकेर दिएछन् र सोधेछन्-‘यति सानो कुराका लागि किन यत्रो दुःख उठाउनुपर्थ्यो।’ घायल भिक्षुले त्यस व्यक्तिको अज्ञानताप्रति दया प्रकट गर्दै उसको सद्बुद्धिका लागि प्रार्थना गरेछन्। भिक्षुको यो बयानले युवा टाल्सटायको चिन्तनमा ठूलो परिवर्तन ल्यायो। त्यो भेटवार्ताबाट नै उनले पहिलोपटक भगवान् बुद्ध र उनको अहिंसाको सन्देशबारे जानकारी पाएका थिए र उनको मनमस्तिष्कमा बुद्धको शिक्षाप्रति गहिरो श्रद्धा जागेको थियो।

समय बित्दै जाँदा टाल्सटायको लेखनमा बौद्ध दर्शनको प्रभाव प्रकट हुन थाल्यो। उनले आफ्ना प्रख्यात उपन्यासहरू ‘युद्ध र शान्ति’ (१८६९) र ‘आन्ना कारिनिना’ (१८७७) मा बुद्धको निर्वाणको धारणालाई प्रयोग गरे। जीवनका असीमित कष्टबाट छटपटाइरहेको राजकुमार बोल्कोन्स्की (युद्ध र शान्ति) मार्फत उनले कष्टबाट मात्र मुक्तिको प्रयास गरेर होइन, जीवन नै नकारेर मानिसले मोक्ष प्राप्त गर्न सक्ने परिस्थितिको रचना गरे। ‘आन्ना कारिनिना’ उपन्यासमा आन्नाको मृत्युनिभेको दियो (निर्वाण) का रूपमा यस्ता शब्दमा चित्रण गरे, ‘त्यो दियो जसको उज्यालोमा उनले वेदना, कपट, शोक र क्षुद्रताको पाठ पढिरहेकी थिइन्। एकैछिन तेजिलो भयो। अनि धिपधिप गर्दै सदाका लागि निभ्यो।

’भगवान् बुद्धको अहिंसाको सन्देशबाट प्रभावित भएर नै जीवनको उत्तराद्र्धमा टाल्सटाय शाकाहारी बनेका थिए। उनको सन्देश थियो, ‘आफ्नो खुराकका लागि गरिने पशुपन्छीको हत्याबिना नै मानिस स्वस्थ्य जीवन जिउन सक्छ। त्यसैले यदि ऊ मासु खान्छ भने ऊ फगत् आफ्नो स्वादका लागि अरूको हत्यामा सामेल हुन्छ र यस्तो गर्नु अनैतिक हो।’ जीवनको अन्त्यतिर आइपुग्दा सन् १९०५ मा टाल्सटायले बुद्धबारे एक कृति पनि प्रकाशित गरेका थिए। जसको शीर्षक थियो-‘बुद्ध नामले प्रसिद्ध सिद्धार्थ गौतम।’ उनी बुद्धबारे एक ठुलै रचनाको तयारीमा भएको कुरा उनले छोडेको १९०८ मा कोरिएको खेस्राबाट थाहा भएको थियो। तर त्यो पूरा गर्न नपाई सन् १९१० मा उनको निधन भयो।

ईसाई धर्मावलम्बी भए पनि धर्मबारे टाल्सटायको आफ्नै धारणा थियो। उनी भन्थे, ‘धर्म भनेको जीवनको सारको ज्ञान हो। जसको मद्दतबाट मानिस आफ्नो जीवन जिउँछ, खेर फाल्दैन। धर्म जीवनको शक्ति हो।’ टाल्सटायले ईसाई, बौद्ध, हिन्दु, कन्फुसियस आदि विभिन्न धर्मशास्त्रको अध्ययनबाट प्राप्त ज्ञानको संश्लेषण गरेर आफ्नो दर्शनको निर्माण गरेका थिए। धर्मप्रति आफ्नो धारणा ईसाई गिर्जाघरको भन्दा भिन्न भएपछि उनी गिर्जाघर जानै छोडेका थिए र धार्मिक समाजको सदस्यता पनि त्यागेका थिए। उनले तत्कालीन रुसी गिर्जाघर र धर्म अनुष्ठान संस्थाहरू ईसा र बुद्धजस्ता पथप्रदर्शकहरूको मार्गबाट विचलित भएको धारणा पनि राखेका थिए।

साहित्य प्रधान रचनाहरूको लेखनको क्रममा विकसित हुँदै गएको चिन्तनलाई आधार मानेर टाल्सटायले सन् १८८० का दशकमा कतिपय विचारप्रधान रचनाहरू प्रकाशित गरे। त्यसैसमय लेखिएका ‘मेरो धर्म’, ‘स्वीकारोक्ति’ र ‘हामीले के गर्नुपर्ला’ जस्ता कृतिमा उनले भगवान् बुद्ध र बौद्ध दर्शनको प्रसङ्ग उठाएका थिए। सन् १८८० कै दशकमा टाल्सटायले अनिष्टको हिंसात्मक प्रतिकार निषेधको धारणालाई दुई उत्कृष्ट लघुउपन्यास ‘इभान इल्यिचको मृत्यु’ र ‘क्रुजर सनेट’ मा प्रस्तुत गरे। प्रसंगवश भनौं, यी दुवै रचना स्वर्गीय श्री कृष्णप्रकाश श्रेष्ठद्वारा नेपाली भाषामा उल्था भएका छन्।

टाल्सटायले प्रतिकारलाई भन्दा प्रतिकारको हिंसात्मक स्वरूपलाई नकार्ने कुरामा बढी जोड दिएका थिए। उनको मान्यता थियो-हिंसात्मक गतिविधिको पूर्ण अवज्ञा गर्नु नै हिंसा विरुद्ध संघर्ष हो। टाल्सटायको अहिंसावादी चिन्तन रुसको सीमा नाघेर टाढाटाढासम्म फैलियो। उनको विचार त्यसबेलाका शक्तिशाली युरोपेली राष्ट्रका उपनिवेशहरूमा पनि फैलियो, जहाँका जनता आफ्नो मुक्तिका लागि असमान युद्ध लडिरहेका थिए।

एक दिन सन् १९०८ को मे महिनामा उनले नामुद भारतीय क्रान्तिकारी तथा विद्वान् तारकनाथ दासद्वारा प्रेषित पत्र पाए। जसमा अंग्रेजको उपनिवेश विरुद्ध लडिरहेका हिन्दुस्तानीहरूका लागि उनको के सल्लाह छ भनेर सोधिएको थियो। तारकनाथले आफ्नो पत्रमा हिन्दुहरूले हिंसाको पर्याप्त प्रतिकार गर्न नसकेका कारण सानो सङ्ख्यामा रहेका अंग्रेजहरूले लाखौँ हिन्दुहरूलाई अधीनमा राख्न सकेको कुरा बताएका थिए। प्रत्युत्तरमा टाल्सटायले बिलकुलै विपरित मत जाहेर गर्दै लेखे- हिंसात्मक प्रतिकारबाट अनिष्टलाई पराजित गर्न सकिँदैन। अंग्रेजहरूले हिन्दुस्तानीहरूलाई आफ्नो अधीनमा राख्न सक्नुको कारण हिन्दुस्तानीहरू स्वयम्ले अंग्रेजले लादेको हिंसालाई स्वीकार्नु, त्यसलाई आफ्नो जीवन शैलीमा ढाल्नु र त्यसैको बलमा आआफै बीच लड्नु हो।

टाल्सटायले तारकनाथलाई प्रेमको नियममा चल्न, हिंसामा भाग नलिन र हिंसात्मक प्रतिकारलाई निषेध गर्न सल्लाह दिए। टाल्सटायको पत्र तारकनाथको अखबार ‘फ्री हिन्दुस्तान’ मा छापियो। उक्त पत्रले त्यस बेला दक्षिण अफ्रिकामा रहेका तन्नेरी मोहनदास करमचन्द गान्धीलाई ठुलो प्रभाव पार्‍यो। गान्धीले आफैले एक पत्र टाल्सटायलाई पठाएर उक्त पत्र उनैले लेखेको हो भन्ने एकिन गरी पुनः प्रकाशनका लागि अनुमति मागे र आफ्नै पत्रिका ‘इन्डियन ओपिनियन’ मा प्रकाशित गरे।

टाल्सटायको सल्लाहअनुसार गान्धीले सत्याग्रहलाई आफ्नो आन्दोलनको मुख्य सिद्धान्तका रूपमा स्वीकारे र अन्ततः भारतीय स्वाधीनता सङ्ग्रामलाई विजयी बनाए। यसको श्रेय टाल्सटायलाई दिँदै उनले लेखेका थिए, ‘टाल्सटाय हाम्रो युगका अहिंसाका महान् पथप्रदर्शक हुन्, जसलाई मैले आफ्नो गुरु र लामो समयदेखि मार्गदर्शकका रूपमा मान्दै आएको छु।’

टाल्स्टायको वैचारिक प्रभाव सर्वत्र फैलँदा रुसी साम्राज्य भने प्रथम विश्वयुद्ध र त्यसले व्यक्त गरेका अन्तरविरोधहरूको जगमा सम्पन्न बोल्सेभिक क्रान्तिको पूर्व सन्ध्यामा थियो। ती दुवै घटना हिंसात्मक र असीम मानवीय पीडा र वेदनाले भरिपूर्ण थिए। टाल्सटायको मृत्यु भएको चार वर्षपछि रुसी जार निकोलस द्वितीय प्रथम विश्वयुद्धमा होमिए। युद्धमा १७ लाख रुसी सिपाही मारिए। युद्धको अन्त्यअघि नै जारशाही ढल्यो। बोल्सेभिकहरूले जार निकोलसको पूरै परिवारको हत्या गरे। त्यसपछि रुसी क्रान्तिकारीहरूले पनि टाल्सटायको मार्ग रोजेनन्। यद्यपि उनको दर्शनप्रति मौन रहन भने सकेनन्।

लेनिनले ‘लियोटाल्सटाय: रुसी क्रान्तिका दर्पण’ भन्ने शीर्षकको आलेख प्रकाशित गरेर महान् साहित्यकारबाट रुसी ग्रामीण समाजको सही चित्रण भएको प्रतिक्रिया दिए। तर युद्धपश्चात् रुस पाँच वर्ष लामो चरम हिंसात्मक गृहयुद्धमा फस्यो र गैरसैनिकसमेत गरी एक करोडभन्दा बढी मानिस पुनः मारिए। भगवान् बुद्धको जुन सन्देशबाट टाल्सटाय प्रेरित भएका थिए, रुसमा त्यही सिद्ध भयो। अर्थात् हिंसात्मक प्रतिकारले समाजको मूल समस्या सम्बोधन गर्न सक्दैन। फगत् हिंसा र प्रतिहिंसाको चक्र सुरु हुन्छ।

गान्धीबाहेक गत शताब्दीका राष्ट्रिय स्वतन्त्रता तथा नागरिक अधिकार आन्दोलनका अन्य दुई शीर्ष पुरुष मार्टिन लुथर किंग र नेल्सन मन्डेलाले पनि टाल्सटायलाई आफ्नो अहिंसात्मक आन्दोलनका वैचारिक गुरु मान्थे। ऐतिहासिक कालखण्डको हिसाबले महात्मा गान्धी सबैभन्दा जेठा थिए भने नेल्सन मन्डेला र मार्टिन लुथर किंग आन्दोलनको समयको दृष्टिले समकालीन थिए। मन्डेलाको जातीय पृथकीकरण विरोधी पहिलो भद्रअवज्ञा आन्दोलन सन् १९५२ मा सुरु भएको थियो भने किंगको सार्वजनिक यातायातमा रंगभेद विरुद्ध चलाइएको मोन्टगोमेरी बस वहिष्कार आन्दोलन सन् १९५५ मा सुरु भएको थियो।

जातिभेद र रंगभेदको विरोधमा किंगले चलाएको आन्दोलनको कानुनी उपलब्धी उनको जीवनकालमै हासिल भएको थियो। सन् १९६४ मा अमेरिकी संसद्ले नागरिक स्वतन्त्रता ऐन पारित गरी राज्य प्रशासन, शिक्षा, रोजगारी र मताधिकारमा वर्ण, रंग, धर्म, लिङ्ग वा जातिको आधारमा भेदभाव गर्न निषेध गर्‍यो।

उक्त कानुन पास भए पनि अमेरिकी समाजमा नागरिक अधिकारका लागि अझ धेरै गर्न बाँकी थियो र त्यसका लागि लड्दालड्दै सन् १९६८ मा मार्टिन लुथर किंगको जघन्य हत्या भयो। उनको अभावमा नागरिक स्वतन्त्रता ऐनको कार्यान्वयन फितलो हुन गयो र त्यसैकारण अमेरिकी समाजमा रंगभेदका अवशेष अहिले पनि पर्याप्त देख्न पाइन्छ। उता दक्षिण अफ्रिकामा भने मन्डेलाको आन्दोलनले उपलब्धी हासिल गर्न धेरै वर्ष लाग्यो। अमेरिकामा नागरिक स्वतन्त्रता ऐन बनेको तीस वर्षपछि मात्र दक्षिण अफ्रिकामा सन् १९९४ मा कुनै भेदभावबिनाको पहिलो आमनिर्वाचन सम्पन्न भयो र नेल्सन मन्डेला राष्ट्रपति चुनिए।

नेल्सन मन्डेलामा टाल्सटायको प्रभाव पर्नु त्यसै पनि स्वाभाविक थियो किनभने गान्धीले आफ्नो आन्दोलन दक्षिण अफ्रिकाबाट सुरु गरेका थिए र टाल्सटायको पत्र पनि पहिलोपटक दक्षिण अफ्रिकामा नै प्रकाशित भएको थियो। मन्डेला लामो समय कारावासमा रहेकाले आन्दोलनको शैलीमा उनको प्रत्यक्ष नियन्त्रण कम थियो। त्यसैकारण वर्णभेद विरोधी आन्दोलनमा हिंसाका छिटाहरू परेका थिए। तर उनले टाल्सटायको सन्देशलाई केही फरक ढंगले खास गरी आफ्नो जीवनको आन्तरिक द्वन्द्वलाई मानवजातिको बृहत् हितका सम्भावनाहरूमा रूपान्तरण गर्ने साधनका रूपमा प्रयोग गरे।

 कारावासमा रहँदा मण्डेलाले ‘युद्ध र शान्ति’ उपन्यास पढेका मात्र होइनन्, उनी सो उपन्यासको प्रमुख पात्र पियर बेजुखोभको चरित्र चित्रणबाट विशेष प्रभावित भएका थिए भनिन्छ। ‘दुःखले मानिसलाई पशु बनाउँछ या झन असल मानिस ? के मानिस निरन्तर आफ्नो उद्देश्य पूर्तिमा केन्द्रित रहनुपर्दछ या आफूसँग जे उपलब्ध छ, त्यसैको परिस्थितिअनुसार सदुपयोग गर्दै जानुपर्छ?’ टाल्सटायले प्रश्न गरेका थिए। मन्डेलाले दोस्रो बाटो रोजेर कारावासलाई नै आफ्नो उद्देश्य पूर्तिको कर्मस्थलमा परिणत गरे। दुःखकष्ट झेलेर उनी अझ असल मानिस बने र टाल्सटायको मार्गदर्शनबाट आफ्नै व्यक्तित्वको असाधारण रूपान्तरणमा सफल भए।

मार्टिन लुथर किंग टाल्सटायको पत्रबाट नागरिक अधिकार संघर्षको इतिहास नै बदलिएको मान्दथे। कसैकसैले भद्रअवज्ञा आन्दोलनलाई निष्क्रिय प्रतिकार भनेकोमा उनको विमति थियो। टाल्सटायले जस्तै किंगले पनि शासकले चलाएका नागरिक दमनका गतिविधिहरूको अवज्ञा तथा वहिष्कार गर्दा आन्दोलनकर्ता प्रत्यक्ष शारीरिक झडप र द्वन्द्वबाट अलग रहन्छ तर भावनात्मक रूपमा ऊ सक्रिय प्रतिकारमा हुन्छ र त्यसको प्रभावकारिता झन् विशाल हुन्छ भन्ने धारणा राख्दथे।

विश्वभर अहिंसा र शान्तिको सन्देश फैलाएका र आफ्नो साहित्यिक रचनाको प्रभावद्वारा भगवान् बुद्धको शिक्षालाई उन्नाइसौं शताब्दीदेखि नै एसिया, अफ्रिका, युरोप र अमेरिकासम्म सशक्त रूपमा पुर्‍याएका टाल्सटायको जन्मभूमि रुस अहिले पुनः हिंसाले आक्रान्त छ। जार निकोलसजस्तै वर्तमान रुसी शासक पनि देशभित्र र छिमेकका असीमित सामाजिक-आर्थिक र जातीय समस्याले उत्पन्न गरेका अन्तर्विरोधहरू र त्यसबाट उनको सत्तालाई आउन सक्ने खतरा टार्न एक भयावहपूर्ण हिंसामा उत्रिएका छन्, जसको स्वाभाविक परिणामस्वरूप प्रतिहिंसाको सिलसिला सुरु भइसकेको छ। यसबाट मानवीय क्षति, विध्वंस र राष्ट्रहरूबीच चरम अविश्वास बढिरहेको छ र विश्वव्यापारको मागआपूर्ति सन्तुलन बिग्रनाले नेपालजस्ता कैयन् विकासोन्मुख राष्ट्रहरूले चरम मूल्यवृद्धि, खाद्यान्न लगायत उपभोग्य वस्तुहरूको अभावको सामना गर्न परिरहेको छ।

यस्तो लाग्छ, प्रथम विश्वयुद्धको परिणामस्वरूप रुसी साम्राज्य ढलेको र अफगानिस्तानमा सैन्य हस्तक्षेपपछि सोभियत संघको विघटन भएको इतिहासबाट वर्तमान शासक पुटिनले जार निकोलसको युद्धको मार्गभन्दा टाल्सटायको शान्तिको मार्ग उत्तम हो भन्ने शिक्षा लिन सकेका रहेनछन्। आफ्नो र्थ्यो महत्त्वाकांक्षा पूरा गर्न उनले रुसी महासंघकै विखण्डनको जोखिमसमेत उठाए भने पनि मानव जातिले अन्ततोगत्वा शान्ति र मानव प्रेमको भावना जगाउने बुद्ध र टाल्सटायकै महिमागान गर्ने छ र युद्धोन्मादी शासकहरूको पतनको अध्यायलाई इतिहासको एक परिशिष्टमा सीमित गरिदिने छ।

प्रकाशित: २८ श्रावण २०७९ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App