३१ श्रावण २०७९ मंगलबार
कला

चिनियाँ इतिहासलाई सम्झाइरहेको ‘रातो डुंगा’

दक्षिणी तालमा तैरिइरहेको रेड बोट। तस्बिर: नागरिक

इतिहासका निसानहरूले विगत र वर्तमानका बीचमा सभ्यता, संस्कृति एवं राजनीतिक घटनाक्रमहरूलाई खण्डित तथा विशृङ्खलित हुन दिँदैनन्। राष्ट्रको जीवनमा नयाँ सभ्यता र संस्कृति निर्माण गर्ने कारकका रूपमा राजनीतिक घटनाक्रमहरू महत्वपूर्ण रहँदै आएका छन्। ऐतिहासिक राजनीतिक घटनाहरूले राष्ट्रिय स्तरमा सामाजिक एवं आर्थिक परिवर्तनका लागि निर्णायक भूमिका खेलेका हुन्छन्। ती तत्कालीन र भावी पिँढीका लागि पनि उत्प्रेरक एवं मार्गदर्शक बन्न सक्छन्। कतिपय राजनीतिक घटनाहरूले त विश्वस्तरमै ठूलो प्रभाव पार्दछन्। विश्वस्तरमै प्रभाव पार्ने घटनाहरूमा एउटा मात्र नभई धेरै देशहरूको भूमिका वा योगदान रहेको हुन्छ।

ऐतिहासिक महत्वका राजनीतिक घटनाहरूले समाजलाई बहुआयामिक रूपमा प्रभाव पार्दछन्। राजनीतिक घटनाक्रमहरूलाई आरम्भदेखि उत्कर्षसम्म पुर्‍याउन अपनाइएका रणनीतिहरू एवं त्यसनिम्ति प्रयोग गरिएका साधनस्रोतहरूको उत्तिकै महत्व रहन जान्छ। त्यस्ता साधनस्रोतहरू तत्कालका लागि सामान्यरूपमै ठानिए पनि कालान्तरमा ती आमजनसमुदायका लागि चासो र उत्सुकताका विषय बन्दछन्। त्यसैले त्यस्ता महत्वपूर्ण साधनस्रोतहरूलाई बुद्धिमान् वा दूरदर्शी नेतृत्वले अति महत्वका साथ संरक्षण प्रदान गरेको हुन्छ। अनिमात्र इतिहास अविस्मरणीय रहन्छ। सङ्ग्रहालयहरू भनेका त्यस्तै इतिहासका साधनस्रोतहरू, सभ्यताका माध्यम वा साक्षीहरू संकलित केन्द्रहरू हुन्।  

चेच्याङ प्रान्तमा प्रान्तीय सङ्ग्रहालयहरू निकै भएको बुझिन्छ। चेच्याङमा भएका राजनीतिक घटनाका स्मारकहरू चाखलाग्दा छन्। मलाई पनि चिनियाँ इतिहासबारे बुझ्ने अभिरुचि छँदै छ।

सन् २०१७ जुन १६ का दिन पथप्रदर्शक साओ लियाङले हाम्रो मिडिया टिमलाई चेच्याङको चियाक्सिङ नगरस्थित नान्हु क्रान्ति सङ्ग्रहालयतर्फ लिएर गए। स्पाइरक होटलबाट त्यहाँ पुग्न झन्डै एक घण्टा लाग्यो। सङ्ग्रहालयको परिसर निकै विशाल थियो। भवनको छतमाथि चिनियाँ राष्ट्रिय झण्डा फर्फराइरहेको थियो। निकै वर सडक किनारकै पार्किङस्थलमा गाडी रोकिएपछि सबैजना सामुन्नेको विशाल भवनतिर लाग्यौं। म, अमित र विष्णुको काम घुम्नेमात्र नभई सुटिङ गर्नु पनि थियो। विष्णु आफूले सुटिङ गरेको सट् (दृश्य) खेर नजाओस् भन्ने आशयले क्यामरा चलाउँदै गइन्। मैले खिच्न लगाएका दृश्यहरूलाई उनले क्यामरामार्फत कैद गरिसकेपछि हामी अघि बढ्यौँ। साथमा टान थिइन्। हाम्रो काम सकिएपछि उनलाई ‘ल हिँड’ भनेपछि उनी अघि लागिन्। त्यस भवनको दायाँबायाँको सामान्य परिचय गराउँदै उनी हिँडिन्। सङ्ग्रहालय भवनका विशाल ढोकाहरू हुँदै टानका साथ हामी भित्र पस्यौँ। पस्नेबित्तिकै भित्तामा सजिएका अनेकाैँ ऐतिहासिक घटनामय तस्बिरहरूले हामीलाई स्वागत गरे। 

सङ्ग्रहालयको नामै ‘रिभोलुसन म्युजियम’ अर्थात् क्रान्ति सङ्ग्रहालय थियो। भित्ताभरि टाँगिएका एकपछि अर्को फोटो, चित्र र अन्य अभिलेखहरू सबै चिनियाँँ क्रान्तिसँग सम्बद्ध थिए। उच्चकोटिका कलाकृतिहरूले हामीलाई तान्दै लगे, हामी तानिँदै गयौँ। कतै आङै जिरिङ्ग हुने खालका क्रान्तिकलाहरू झुन्ड्याइएका थिए। क्रान्तिगुरु कार्ल माक्र्स टेबुलमा बसेर केही लेख्न खोजेझैँ गरी क्रान्तिलाई निर्देशन दिइरहेझैँ देखिन्थे। अलि पर लेनिन थिए, कार्ल माक्र्सतिर हेरेर निर्देशन मागिरहेजस्ता, अर्कातिर माओत्सेतुङ थिए, माक्र्स र लेनिनलाई साक्षी राखेर चिनियाँँ क्रान्तिको विगुल बजाइरहेजस्ता। यसैगरी पल्लापट्टि युद्धरत सैनिकहरू आआफ्नो वीरता देखाइरहेजस्ता देखिन्थे। कतै फोटोहरू त कतै भित्तीकलामा निर्मित क्रान्तिवीरहरूका दुरुस्त शरीर आपसमा छलफल गरिरहेजस्ता अनेकाैँ कलासिर्जनाले सङ्ग्रहालय भरिएको र सजिएको थियो। अलि उतापट्टि भित्ताको टेलिभिजनको पर्दामा चिनियाँ क्रान्तिकै सिनेमा प्रस्तुत भइरहेथ्यो।

विष्णु ठाउँठाउँका केही कलाकृतिहरूको छायाङ्कन गर्दै हिँडिन्। दोस्रो तलामा पनि भित्ताभरि उस्तै क्रान्ति सम्बन्धी सामग्रीहरू सजाइएका थिए। अलि उता बाहिरी बरन्डातिरको भित्तामा राष्ट्रपति सि चिन फिङ विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदाका फोटाहरू लहरै राखिएका थिए। हामी क्रमबद्ध नभई ठाउँठाउँका फोटो एवं कलाका दृश्यहरूको छायाङ्कन गर्दै अघि बढ्यौँ।

सङ्ग्रहालय अवलोकनको अन्त्यतिर त्यहाँ एउटा डुंगाको तस्बिर देखियो। त्यो ससाना जहाजको आकर्षक जीवन्त चित्र थियो र अति मिहिनेतपूर्वक रचना गरिएको थियो। त्यस सुन्दर डुंगाको चित्र अगाडि पुगेर म टक्क अडिँदै त्यसलाई नियालेँ। त्यस डुंगाको प्रयोग चिनियाँ क्रान्तिताका भएको हुनसक्छ, क्रान्तिकारीहरू जलमार्ग भएर कतै जाँदा त्यसको उपयोग गरिएको थियो होला कि भन्ने म अनुमान गर्दै थिएँ। साओ लियाङ आइपुगे। हामी अरूभन्दा अलि ढिलै भएका थियाँै। त्यहाँका कलाकृति र अन्य सामग्रीबारे आंशिकरूपमा भए पनि मैले गरेको अनुमान बेठीक हुन सक्दैनथ्यो। साओले ‘अब हामी त्यही चित्रमा देखिएको डुंगाको हुबहु प्रतिकृति हेर्न जाँदै छौँ, यसलाई छायाङ्कन नगरे पनि हुन्छ, त्यो प्रतिकृति राखिएको ठाउँ नजिकै पर्छ’ भने। मलाई साओको भनाइले डुंगा (सानु पानीजहाज) प्रति झन् उत्सुकता जगायो।

चिनियाँँ कम्युनिष्ट पार्टीको नामकरण त्यही डुंगामा भएको सम्मेलनबाट सन् १९२१ मा भएको रहेछ। त्यस बेलाका क्रान्तिकारी नेताहरूले नजिकैका शहरी क्षेत्रहरूमा रहँदा असुरक्षित हुने महसुस गरे। त्यसबाट बच्न उनीहरूले अनेक उपाय सोचे। एकातिर उपनिवेशवादी शक्तिहरूको बोलवाला, अर्कातिर त्यस समयमा चीन परम्परागत सामन्तवादी शक्तिको प्रभावमा थियो। त्यस्तो अवस्थामा कम्युनिस्ट पार्टीको स्थापना सहजरूपमा हुन सक्दैनथ्यो। त्यस स्थितिमा कम्युनिस्ट पार्टीका अग्रज नेताहरूले सल्लाह गरी चेच्याङ प्रान्तको यसै जियाक्सिङ भन्ने ठाउँमा सन् १९२१ को जुन महिनामा पार्टीको घोषणा सम्मेलनको आयोजना एउटा डुंगामा बसेर गरे। ती क्रान्तिकारीहरूमा चेन डक्चिउ, झोङ गुओट्टाओ, लि डाझाओ आदि प्रमुख थिए। उनीहरूले डुंगामा बसेरै माक्र्सवादी सिद्धान्तमा आधारित चिनियाँँ कम्युनिस्ट पार्टीका आधारभूत सिद्धान्तहरूको घोषणा गरे। चिनियाँँ कम्युनिस्ट पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको गठन पनि त्यहीँ गरे।

पार्टीको घोषणा गरिसकेपछि उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टी अमर रहोस्, समाजवाद अमर रहोस् आदि नाराहरू लगाएका थिए। पार्टी घोषणा सम्मेलन भएको केही समयपछि अन्यत्रै भएको चिनियाँँ कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय अधिवेशनमा विद्यार्थी एवं युवा जमातबाट प्रतिनिधित्व गर्ने युवाहरूमध्ये माओ त्से तुङ एक थिए, जसले पछि गएर चिनियाँँ क्रान्तिको नेतृत्व गरे। पार्टी स्थापना गर्दा प्रयोग गरिएको डुंगा जापानसँगको युद्धमा ध्वस्त भएपछि उस्तै रूप, आकारमा अर्को डुंगाको निर्माण गराई ‘रातो डुंगा’ नामकरण गरिएको भन्ने पनि साओले जानकारी दिए। पार्टी स्थापना गर्न बसिएको त्यसै डुंगाको प्रतिकृतिका रूपमा निर्मित रातो डुंगाको छेउमा हामी उभिएका थियौँ। रेड बोटलाई सिपिसी (कम्युनिस्ट पार्टी अफ चाइना) को प्रस्थान बिन्दु एवं क्रान्तिकारी सिद्धान्त, समाजवादी आदर्श एवं प्रतिबद्धता र जनताप्रति समर्पित दृष्टिकोणहरूको प्रतीकका रूपमा लिइने गरेको रहेछ। साओ लियाङले दिएको जानकारी यस्तै थियो। चिनियाँँ कम्युनिस्ट पार्टीका आधारभूत सिद्धान्तहरूको घोषणा गोप्य तवरमा यही दक्षिणी तालमा डुंगामा बसेर गरिएको सम्मेलनबाट भएको हुँदा त्यसको ऐतिहासिकतालाई स्मरण गर्न प्रतीकात्मकरूपमा ‘रेड बोट’ नामकरण गरिएको बुझ्न सकिन्छ।

संरक्षित ऐतिहासिक दस्तावेज वा वस्तुहरूकै माध्यमबाट इतिहास र वर्तमानबीचको सम्बन्ध अखण्डित रहन गएको हुन्छ। त्यस्ता वस्तुहरूबाट निःसृत भइरहेको आदर्श र प्रभावबाट भविष्यले समेत महत्वपूर्ण पाठ सिकिरहेको हुन्छ। अक्षरद्वारा लेखिएको इतिहासभन्दा इतिहाससम्बद्ध साधन वा माध्यमहरूको महत्व बढी हुन्छ।  

इतिहासलाई सम्झिन र सम्झाउन चिनियाँहरूले देखाएको बुद्धिमतापूर्ण कर्मबारे सुनेर अनि त्यसको प्रतीकलाई देखेर म जति मुग्ध भएँ, नेपालमा इतिहास मेट्न खोज्नेहरूको प्रवृत्ति सम्झेर उत्तिकै खिन्न पनि भएँ केहीबेर।  

डुंगाको जानकारीपछि हामी त्यस टापुको सिरानतिर गएर त्यहाँ रहेको सांस्कृतिक स्मारकको अवलोकन गर्‍याैँ। त्यहाँको शान्त परिवेशलाई मसिना चराचुरुङ्गीहरूको चिर्बिराईले संगीतमय बनाइरहेको थियो। तालमा हावाको मन्द बहावबाट सिर्जित शान्त लहरहरू टापुको सिरानबाट प्रस्टै देखिन्थे। त्यहीँबाट हेर्दा केही तलको रेड बोटका छेउमा पर्यटकहरूको अर्को हुल झुम्मिइरहेको थियो। त्यस डुंगाकै मात्र अवलोकन गर्न दिनहुँ असंख्य पर्यटकहरू आउने रहेछन्। ‘रेड बोट’ देखि प्रारम्भ भएको राजनीतिक यात्राले चीनमा निरन्तरता पाइरहेको बुझ्न सकिन्छ। रेड बोट एक अरब ४० करोडभन्दा बढी चिनियाँँहरूको इतिहासको एक शीर्ष सम्मानित प्रतीक बनेको छ।

मिडिया टोलीका लागि ‘रेड बोट’ का सम्बन्धमा प्राप्त जानकारी नौलो थियो। इतिहासको संरक्षण गर्न चेच्याङको राजनीतिक नेतृत्व कति सम्वेदनशील हुँदै आएको रहेछ भन्ने अनुभव सबैलाई हुनु पनि स्वाभाविक थियो। चिनियाँ राष्ट्रिय राजनीतिक नेतृत्व नै यस्ता ऐतिहासिक स्मारकहरूको संरक्षण गर्न उत्तिकै जागरुक रहँदै आएको सहजै महसुस गर्न सकिन्छ।  

लामो समय व्यतित गरिसकेका नेपालका राजनीतिक दलहरूले आफ्नो इतिहासलाई संरक्षण गर्न सकेका छन् कि छैनन्? जहानियाँतन्त्र विरुद्ध नेपालबाट जनजागरणको विगुल बजाउने काठमाडांैको ओमबहालस्थित नेपाल प्रजापरिषद् स्थापना भएको घरको संरक्षण गरी त्यसलाई दर्शनीय बनाउन त्यस पार्टीले जाँगर देखाएको जानकारीमा छैन। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना कलकत्तामा भयो। ती पार्टीहरू स्थापना गरिएका घरहरूलाई आआफ्ना इतिहासका निशानका रूपमा सुरक्षित राखिरहन सम्बद्ध पार्टीहरूले केही चिन्तन गरे कि गरेनन्? २०४६ साल पहिले त्यसो गर्न सहज थिएन भनिए पनि त्यसपछि ती ऐतिहासिक स्थल वा घरहरूको अन्वेषण गरी आआफ्ना इतिहासका प्रस्थान बिन्दुहरूलाई सुरक्षित गर्न कुनै पहल गरियो कि गरिएन? कतै यात्रा लामो गरिए पनि प्रथम प्रहरका आफ्नै पाइलाहरू मेटिँदै गएकोमा सम्बद्ध पक्षहरूद्वारा मौनरूपमा अपशोच मात्र गरिँदै आयो कि? कि पछिकाले गर्ने काम हो यो भनेर बेवास्ता गर्दै समयको गर्तमा इतिहासलाई विलिन हुन बाध्य पारियो? झण्डा बोकेर आम जनतासँगै सडकमा हिँडिरहेका नेताहरूले तिनै झण्डाहरू पहिलोपटक कहाँ कसरी उठाइएका थिए, त्यसबारे कुनै चिन्तन गरेका छन् कि छैनन् होला? आज निस्फिक्री गाइएको ‘इन्कलाव जिन्दावाद’ को प्रथम ध्वनि कुन ठाउँबाट प्रस्फुटित भएको थियो होला, त्यसलाई कुनै जिम्मेवार नेताले एकछिन घोरिएर सम्झे कि सम्झेनन् होला? कि यस्ता ‘नचाहिँदा’ कुरामा ध्यान दिनुलाई समयको बर्बादी मात्र पो ठानियो कि?

टापुको भित्री भागको सामान्य अवलोकनपछि साओले बोलाइहाले। क्रान्ति सङ्ग्रहालयमा देखेका चित्रहरू र त्यहाँ साउथ लेकको पानीमा तैरिरहेको रातो डुंगाले मेरो मनलाई पछ्याइरहे, म अरूसँगै साओलाई पछ्याउँदै हिँडेँ।

होटलमा फर्कँदा साँझ परिसकेको थियो। डिनरपछि कोठामा पुगेर पल्टेको बेला दिउँसो घुमिएका ठाउँहरूसहित हातले छोएको डुंगाको ताजा स्मरण भइरहनु त छँदै थियो सँगसँगै नेपालका प्रमुख राजनीतिक पार्टीहरूद्वारा उपेक्षा गरिएका ऐतिहासिक सन्दर्भहरू पनि खण्डित रूपमा झल्याकझुलुक आउँदै जाँदै गरे। इतिहासका हकदारले आफ्नै इतिहासका निसानलाई चिन्न सकेन भने के होला?

आज घुम्ने क्रममा अलि बढी हिँडिएछ क्यार! लामो हाई आयो, अनि बेडस्विच निभाएँ।

प्रकाशित: २१ श्रावण २०७९ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App