६ जेष्ठ २०७९ शुक्रबार
कला

गुरुत्वाकर्षण, मृत्यु र हजुरबा

कविता

गुरुत्वाकर्षणको हिसाब गर्दैगर्दा

मैले कक्षा दसमा पढ्दा

परीक्षामा दौडिएको मेरो कलम एक्कासी रोकियो

सँगै ती गार्ड दाइको आवाज मतिर सोझियो

ए भाइ! घर जा न अर्जुनसित

म जुरुक्क उठेँ

गुरुत्वाकर्षण आराम गर्यो

अनि मेरा पाइला र मन घरतिर बसाइँ सरे

झोला विद्यालयमा छोडियो

घरतिर मन जोडियो

तर खोइ किन हो कुन्नि

मेरो दाइ अर्जुनको आवाज भने सुनिनँ

कलिलो, काँचो केटो

खै कुन परिस्थितिले भेट्यो

मलाई स्कुलदेखि घरसम्म पुग्दा लाग्यो

अर्जुनको निःशब्दमा

मेरो प्राण पखेरो नै रहस्यमा भाग्यो

जंगल, बाटो निःशब्दमा

कस्तो हुन्छ होला हजुर

मनमा अनौठा अनुभूति घुमे

गुरुत्वाकर्षण ले तान्यो

तर म किन जाने? भन्दा

अर्जुन भने बोल्नै मानेन

घरवर घैयाछरे पुग्दा

आफन्त हाम्रो घरतिर गइरहँदा

तर पनि मलाई थाहा भएन

कसलाई के भा’को हो भनेर

उब्जिएको शङ्का भने गएन

असारको महिना आकाशमा मेघ गर्जनका बेलाझैँ

धड्किएको मेरो मुटुलाई

त्यही परीक्षाको गुरुत्वाकर्षणको हिसाबले तान्यो

तर पनि काम्लामा सुतेका

हजुरबालाई पत्याउन मनले मानेन

हजुरबा! हजुरबा! भन्दै मैले बोलाएँ

तर बा भने मात्र टोलाए

बा नबोलेपछि म कोठामा पसेँ

अनि मेरा अश्रुहरू ब्ल्याङकेटमा थुप्रिएर बसे

भाइलाई तिम्री मम्मी माइत जाने रे

भनेर स्कुलबाट घर पठाउँदा

ह्वाह्वा गर्दै रोएको सुनेँ

हजुरआमाको सती भावको रुवाइ

मैले सुन्नै सकिनँ अनि कान थुनें

पर रुदीकी सेतीआमा रोइन्

मम्मीले आँशुले मजेत्रो धोइन्

मेरी हजुरआमाको आँखा दिउँसै धुमिल भयो

बुबाको परदेशबाट फोन त आयो

तर सम्पर्क भने भएन

बहिनी, म, भाइ सबै रोयौँ

तर गुरुत्वाकर्षणको हिसाबलाई भने केसैले छोएन

किनकि

त्यो माथि थियो

जयलाल शङ्ख फुके

इन्द्रबहादुर हरियो बाँस काटे

अनि

मेरा हजुरबा हृदयघातसँग

आफ्नो जीवनको गुन साटे

मझेरीबाट हजुरआमाले फुटाएको आँसुको मूलमा

आफन्तका भूलहरू फुटे

छिमेकीका अश्रु नहरहरू मिसिए

अनि बग्न थाले

कालीगण्डकीतिर कोराले देखाएको बाटोमा

हजुरबाले बाँधेको एचएमटीको घडी रोकियो

म आठ कक्षामा पढ्दा, टाइफाइटले थिलोथिलो पर्दा

सजिलेरी बोकेको सम्झिँदै

म हजुरबा र यादलाई सँगै बोकें

हामी कालीगण्डकीतिर मलामी जादाँ

जलेको हजुरबाको चिना

अनि हजुरबाका पुराना कपडाहरू त जले

तर मेरो स्मृति भने कहिल्यै जलेन

हजुरबा ह्वारह्वार जल्दै जानुभो

मेरा आँसुहरू सेताम्य भए

मलेसियाबाट आठ दिनभित्र बुबा आई कोरा पस्नु भो भन्दै

आफन्तले सत्य नबोलेको भने साँचो हो

खोइ मलाई किन हो

गुरुत्वाकर्षण र हजुरबा उस्तै लाग्छ

सधैं तानिरहने

हजुरबाको प्रेम सम्झिँदा

म हजुरबाको जुत्ता लगाएर बजार

पढ्न झरेको सम्झिन्छु

हजुर बाको बाह्र वर्ष हराएको कहानी सुन्दा

हजुर आमाले औँला भाँच्दै बाईस सन्तान गन्दा

बाँचेका हुन् मात्र यी तिन सन्तानभन्दा

लाग्छ म पनि भाग्यले संसार देखेको रहेछु भनेर 

मेरो जीवनमा

हजुरबा! हजुरको जस्तो अमूल्य

ऊर्जा

स्नेह

सद्भाव

अनि प्रेरणाको अभावलाई  

कसरी गरूँ म अनुवाद?

ए ! प्रिय हजुरबा !

मैले भगवान् श्रीकृष्णसँग प्रार्थना गरिरहेछु

तर पनि

आजकल किन म गुरुत्वाकर्षणको नियमझैँ

भवसागरको चक्रमा परिरहेछु?

प्रकाशित: २४ वैशाख २०७९ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App