आइटी क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेषगरी आर्टिफिसियल इन्टेलीजेन्सी (एआई ) प्रमुख आकर्षणको विषय बनेको छ। नयाँ सरकारले युवालाई मध्यनजर गर्दै बजेटमै प्राथमिकताका साथ राख्ने सुरसार गरेको छ। सामाजिक सञ्जालमा चर्चामा रहेको ‘चोभार र वीरगन्जमा गुगलले खोल्दै डाटा सेन्टर’ भन्ने समाचार हेर्दा पनि स्पष्ट हुन्छ। त्यति मात्र नभई आइटीले समग्र सफ्टवेयर डेभलपमेन्ट, इकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किङ जस्ता क्षेत्रमा करिअर र जागिरको अवसर पनि दिन थालेको छ।
लामो समय यस क्षेत्रमा आबद्ध विज्ञले मात्र होइन भर्खर पढ्दै गरेका विद्यार्थीले समेत राम्रै तलबमा जागिर पाउने गरेको चर्चा छ। सफ्टवेयर डेभेलपर तथा प्रोग्रामरका रूपमा काम गरेर महिनाकै एक लाखभन्दा बढी कमाउने नेपालीको संख्या पनि उल्लेख्य छ। त्यति मात्र नभई यस क्षेत्रमा लागेर नेपालमै बसेर विदेशबाट आउट सोर्सिङ काम गरेर डलर कमाउन सक्ने भएकाले पनि आइटी क्षेत्रमा आकर्षण ह्वात्तै बढेको छ।
विगत लामोदेखि काव्य कलेज चलाउँदै आएका सञ्चालक सुलभ बुढाथोकी आइटी क्षेत्रमा नेपाली विद्यार्थीले पनि राम्रा अवसर पाउन थालेको बताउँछन्। ‘विद्यार्थीको आकर्षण धेरै बढेको छ। नयाँ जेनेरेसनले यस क्षेत्रमा पढ्न रुचि देखाउनु राम्रो हो’, उनले भने। विश्वभरिबाट ह्याकिङसम्बन्धी धेरै सर्च नेपालबाट धेरै हुने गरेको उनको भनाइ छ। अब विद्यार्थीले भविष्य बनाउनका लागि आइटी पढ्ने हो। यो क्षेत्रलाई पोलिटिकल सीमाले रोक्दैन। नेपालमै बसेर विश्वका जुनसुकैको देशबाट काम गर्न सकिन्छ। अबको संसार भनेकै टेक्नोलोजीको हो। नयाँ जेनेरेसनलाई अब एआई र आइटी मिस गर्नु हुँदैन भन्ने थाहा भइसक्यो। एक प्रसंगमा उनले भने, ‘यो विषय पढ्न विज्ञानै अध्ययन गरेको हुनुपर्छ भन्ने छैन। व्यवस्थापन विषयको अध्ययन गरेकाले हुन्छ। विशेषगरी म्याथ पढेको भए राम्रो।’ यसको अध्ययन गर्न मिनिमम १० लाखबाट सुरु भएर २० लाखसम्म खर्च लाग्ने उनले बताए।
त्यस्तै काठमाडौं वल्र्ड स्कुलका सञ्चालक इन्जिनियर मिथिलेश झाले आइटी क्षेत्रमा नेपाली विद्यार्थीको डिमान्ड बढ्न थालेको बताए। ‘मार्केटमा डिमान्ड बढी छ, विश्वको करिकुलम र नेपाल तथा साउथ एसियाकै करिकुलम कुनै भिन्नता छैन एकै खालको छ त्यसैले विदेश अध्ययन गर्न जाँदासमेत नेपालको सर्टिफिकेटले नै सिधै मान्यता पाउँछ’, उनले भने।
आइटी क्षेत्रमा अहिले युवाको भविष्य छ। कम्ती चार लाखबाट सुरु भएर अधिकतम २० लाखसम्मको खर्च आउन सक्ने उनको भनाइ छ। आफूमा भएको क्षमता देखाउने स्थान भनेको नै अब आइटी फिल्ड हो। यो क्षेत्रमा अध्ययन र काम गर्न दुवैमा उमेर हदबन्दी लागु हुँदैन। आउने दिनमा यसको डिमान्ड अझै बढ्दै जाने उनको आकलन छ। मेडिकल फिल्डमा अब आइटी नै चाहिन्छ। विदेशी कम्पनीलाई पनि नेपालमा ल्याउन सकिने उनको धारणा छ। घरमै बसेर आउट सोर्सिङ गर्न मिल्ने, नेपालमै लगानी गरेर स्टार्ट अप गर्न पनि मिल्छ।
त्यस्तै सोही कलेजका विद्यार्थी सन्तोष खनाल दैनिक जीवन र आधुनिक अर्थतन्त्रको मेरुदण्ड बनिसकेको बताउँछन्। यो हाम्रो दैनिक जीवन र आधुनिक अर्थतन्त्रको मेरुदण्ड बनिसकेको छ। हाल व्यापार, वित्त र लेखा प्रणाली मात्र नभई सरकारी सेवा र वैज्ञानिक अनुसन्धानका हरेक क्षेत्र डिजिटल प्रणालीमा पूर्ण रूपमा निर्भर छन्। आईटीको अध्ययनले मलाई केवल प्राविधिक ज्ञान मात्र दिने छैन, यसले प्रशासनिक क्षेत्रमा पारदर्शिता ल्याउन, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउन र सुशासन प्रवर्द्धन गर्न मद्दत गर्नेछ। यसका साथै अनुसन्धान क्षेत्रमा ठूला डेटाको विश्लेषण र नयाँ प्रविधिको विकासले ठूलो परिवर्तन ल्याइरहेको छ, जसले देशको आर्थिक विकास र लागत न्यूनीकरणमा प्रत्यक्ष योगदान पुर्याउँछ। तीव्र गतिमा परिवर्तन भइरहने यो क्षेत्र सधैं नयाँ कुरा सिकिरहन चाहने मेरो रुचिसँग पूर्णरूपमा मेल खान्छ। यो तर्क र सृजनशीलताको यस्तो उत्कृष्ट मिश्रण हो, जसले मलाई एउटा सानो सोचलाई पनि समाज र देशका लागि उपयोगी डिजिटल साधनमा रूपान्तरण गर्ने क्षमता प्रदान गर्दछ। अन्ततः देशको समग्र आर्थिक र प्राविधिक रूपान्तरणमा प्रत्यक्ष हिस्सेदार बन्दै एक सुरक्षित र फलदायी करियर निर्माण गर्नका लागि उनले आइटी क्षेत्र रोजेको खनाल बताउँछन्।
त्यस्तै कान्तिपुर सिटी कलेजका भाइस प्रिन्सिपल (उपप्रधानाध्यापक) भानुभक्त निरौला एआईमा विद्यार्थीको आकर्षण बढेको बताउँछन्। ‘अहिले संसार नै आइटीमय भएको छ। हाम्रो कलेजले त विद्यार्थी प्लेसमेन्टका लागि भनेर विभिन्न ३५ वटा कम्पनीसँग (एमओयु) गरिसकेको छ। जसले विद्यार्थी पास आउट हुनासाथ रोजगारी सिर्जना भइसकेको हुनेछ। झन् पछिल्लो समय स्थानीय तहहरूमा पनि आइतीको माग बढ्दो छ। त्यस्तै कर्पोरेट सेक्टर अनि बैंकिङ सेक्टरमा यो क्षेत्रमा अध्ययन गरेकाको माग बढ्दो छ।
तुरुन्तै रोजगारी उपलब्ध हुनु, नेपालमै बसेर विदेशको काम गरेर डलर कमाउन पाउनु इत्यादि धेरै फाइदा देखिएकाले पनि आकर्षण बढेको छ। नेपाललगायत देशको म्यानपावर अरू देशका भन्दा सस्तो हुनु र सो सस्तो मूल्यमा काम गर्दा आयस्रोत बढी हुनुले पनि युरोप, अमेरिकाका आइटी कम्पनीले नेपालीलाई काम दिन खोज्नुले यो क्षेत्रको भविष्य उज्ज्वल रहेको छ। उनको कलेजमा बिसिआइटी अध्ययन गर्न आठ लाख रुपैयाँबाट सुरु भएको उनले बताए।
त्यस्तै सोही कलेजमा अध्ययनरत सोलुखुम्बुका विद्यार्थी रोशन गोटङले सानो कामदेखि विज्ञानसम्मका सबै काम आइटी नै भएकोले आफूले यसको अध्ययन गरेको बताए। उनलाई एप डेभलपमेन्ट, गेम डेभलपमेन्ट, वेब डेभलपमेन्ट, सफ्टवेयर डेभलपमेन्ट सेक्टरमा काम गर्ने इच्छा रहेको उनले बताए।
त्यस्तै सोही कलेजमा अध्ययनरत सविता सुवेदीको भनाइ भने थोरै फरक रहेको छ। उनलाई अबको मेडिकल फिल्ड एआईले रिप्लेस गरिदिने उनको बुझाइ छ। ‘मलाई मेडिकल फिल्डमा रुचि थियो तर यसलाई एआईले रिप्लेस गर्ने भन्ने थाहा पाएर मैले एआई पढेकी हुँ, जुन अहिले सही साबित भएको छ। अब सिटी स्क्यानदेखि मेडिकल डाटासमेत सबै एआईले नै तयार पारिदिने उनको बुझाइ छ।
प्रकाशित: ८ जेष्ठ २०८३ १२:०३ शुक्रबार





