११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

गोरुलाई हरियो चस्मा

कथा

टंकबहादुर आले मगर

‘नीतिको मुखिया राजनीति। राजनीति नै हो देश परिवर्तन गर्ने साँचो। राजनीतिको कोदालो बोकेर मार्ग नसम्याएसम्म विकासे अश्व दौड्न सक्दैन।’ आदिइत्यादि बुझेर विद्यार्थी जीवनबाटै राजनीतिमा लागेको रत्ने। पुलिसको लाठो, अश्रुग्याँस, पानी प्रहारदेखि  रबर गोलीसम्म खायो पार्टीका लागि।

स्थानीय चुनाउमा टिकट पाउने आशा हुँदाहुँदै ऊ पन्सिन पयो।  अर्कैले पार्टीलाई राम्रै चन्दा दिएपछि। दोस्रो चुनाउ पनि उस्तै बन्यो पार्टी अध्यक्षको मीत जुवाइँको जुवाइँ उठेपछि।

यद्यपि पार्टी हितका लागि उसले खासै गुनासो गरेन, आफ्नो योगदानलाई हेला भए पनि।

अन्ततःऊ धेरै खुशी भएको दिन। पार्टीले देशको बागडोर समात्ने मौका पायो। देखेको सपना र आफ्ना तहका मान्छेलाई देखाका सपनाहरू पूर्ण हुने सम्झ्यो।

शनैः शनैः पार्टी सत्तामा पुगेपछि आफ्नै घरमा मेजमान गराएर, भोट दिएर पठाका नेताहरूले नै चिन्न छोडेपछि उसको आस्था चस्कियो। देशको हितभन्दा आफ्नो हितमा लागेको देख्दा मेरा महान् पार्टी भनेर भिरी हिँडेको सिउर लर्कियो। ती जुरक्कजुरुक्क उठाउन उत्साहित गर्ने भाषणहरू हात्तीको देखाउने दाँतजस्तै लाग्न थाल्यो। देश कुहातमा परेको भान हुन थाल्यो, मौलेको भ्रष्टाचारले।

ऊ रन्कियो। केन्द्रमा उफ्रियो, करायो, देश र जनतालाई देखाएको सपनाको कुरा उठायो। नसुन्ने पार्टीभित्र विद्रोह गर्ने चेतावनी दियो।

तर, उसको मर्मलाई भावनाका कुरा भन्दै खिल्ली उडाए सत्तामा पुगेकाले। उल्टै अनुशासनहीनताको कारण देखाएर साधरण सदस्य नरहने गरी कार्यवाही गरे।

रत्ने झनै झुँवालो बन्यो। पार्टीभित्र देशभक्त मिलेर उच्च पदीय भ्रष्ट नेताहरूलाई कार्यवाही गर्न आट्यो तर कसैले साथ दिएनन्, सत्तामा पुगेको पार्टी खसाल्न हुँदैन भन्दै।

अन्ततः थाकेर घर आयो। सानो कुरैमा रिसाउनुथाल्यो।

श्रीमतीसँग बाझेर घाँस काट्न गा’को रुखबाट लडेर मर्‍यो।

जिल्ला स्तरीय नेताले पार्टीको झन्डा ओढाएर अन्त्येष्टि गरे।

मरेपछि रत्नेको आत्मा सिधै माथि पुग्यो, राम्रो काज गरेको हुनाले।

तर, रत्नेका आत्मसन्तुष्ट थिएन। हरेक दृश्य सुनेको भन्दा फरक लाग्यो त्यो शक्तिको न्यायालयमा पनि।

अतः संसारले मान्ने शक्तिको सामु गएर गुनासो पोखायो,‘हे शक्ति! मेरा बाजे–बजूले भन्नुहुन्थ्यो, ‘भ्रष्ट, पापी,शोषक, सामन्ती, देश चुसुवा उडुस, उपियाँ, किर्ना, जुका आदिलाई पाप अनुरूप तातो तेलमा डुबाएर, आराले चिरेर, खुट्टातिरबाट अजिंगरलाई निल्न लगाएर सजाय दिइन्छ। तर, कतै देखिनँ पापीहरूलाई सजाय दिने यातनाशाला।’

‘ती सब सोझालाई बाठाहरूले फकाउने मन्त्र मात्रै हुन्। कतिले त अदृश्य शक्ति मान्नु अन्धविश्वास समेत भन्छन्। भन, तिमी के चाहन्छौ?’ शक्तिले सोधे।

‘हे शक्ति! जसलाई विश्वास गरें, उहीबाट घातमा परें। देश उठाउन जसको पछि लागे उसैबाट देश चिथोरेको हेर्न सकिनँ। त्यहीभित्र रहेर विद्रोह गर्दा साधारण सदस्य नरहने गरी कार्यवाहीमा परें। आशा मरेको थिएन, लडेर आफैं मरें। ती कुमान्छेहरूलाई यथाशीघ्र कारवाही होस्।’

‘म मरेका कुमान्छेका आत्मालाई मात्र नियमको दायराभित्र ल्याउन सक्छु। जिउँदा कुमान्छेलाई त्यहीका सुमान्छेले मात्रै तह लाउने हो। अब कुमान्छेलाई सज्ने दिन सबै सुमान्छेका हातमा  आएको छ।’

‘कसरी ...?’ चाखियो रत्नेको आत्मा।

‘चुनाउमा कुलाई आउनै नदिउन् मनुलोकमा।’

‘तर, सुर पनि कुतिरै जान्छन् मासु र रक्सीले पर्सिएपछि।’ रत्नेले जिउँदो छँदाको अनुभव सुनायो।

‘जबसम्म भक्त सुत्दैन मौन ढुंगाको देउता केही गर्न सक्दैन। यो चेतनशील मान्छेलेनै बुझ्ने हो।’

‘यद्यपि अझै देश र जनताको सेवा गर्ने इच्छा छ हजुर।’ भन्दै ग्वाँग्वाँ रुन थाल्यो रत्नेको मृतात्मा।

‘असम्भव। मान्छे जुनीको सपना अन्य जुनीमा पूर्ण हुन सक्दैन।’ शक्तिले प्राकृतिक नियम पर्गेल्दै भने।

‘शक्ति महाशय एउटा सम्भव छ।’

‘त्यो के?’ शक्ति चाखियो।

‘भालेको जुनीमा स्थापित गरिदिनोस्? गरीब जनले मेरो डाको सुनेर उठून्, धेरै प्रगति गरूँन्।’

‘इच्छा पूर्ण होस्।’ शक्तिले माया गर्दै भने’ हरेक आपतमा सम्झ, म आउनेछु।’ शक्ति अलप भए।

रत्नेको आत्मा रातो भालेमा परिणत भएर गरीब घरमा पुग्यो र बिहानै बासेर गाउँनै जगाउन थाल्यो। तर, त्यो जुनी पनि होइन रहेछ भन्ने लाग्न थाल्यो। गिरीराज बोक्तरे भालेहरूले जथाभावी बासेको सुन्दा। उसलाई अझै अचम्म लाग्यो बिहानै उठेर इमानदारपूर्वक काम गर्नेहरू समाजमा पछि थिए भने अल्छे ढिलो उठ्ने सामन्ती प्रवृत्तिका मान्छेनै अगाडी र सुखी थिए।

त्यस्तै केकेले विरक्तिएर रातो भालेले पनि साँझलाई बिहान सम्झेर बास्न थाल्यो। परिणामः अलक्षणे भाले भन्दै बेचिदियो गरीबले।

अल्छे प्रवृत्तिको खुकुरीद्वारा सेरियो जनसेवा गर्न आको भाले। लोकल भन्दै भुत्ला समेत नछोडी भ्रष्ट हाकिम,  गुणत्वहीन बाटो निर्माण गर्ने ठेकेदार र मतियारहरूले खाए।

अझै पीडित भएर भालेको आत्माले शक्तिलाई सम्झ्यो।

‘भन भाले आत्मा किन सम्झियौ?’ शक्तिको वाणी गुञ्जियो।

‘हे शक्ति! यो मान्छेको लोक बुझिनस्क्नु कोक्लाँटो रहेछ। म यहाँ पनि कुमान्छेकै लागि सेरिएँ। अझै जनसेवाको रहर मेटिएन। अब मलाई त्यो दोजियाकी विधवा धोबिनीको गधाको जुनीमा परिणत गरिदिनोस्। ठूलो भुँडीमाथि कुरुस्त कुम्लो बोकेर घाट झर्छे। त्यो कारुणिक दृश्यले गधा भएर सेवा गर्ने इच्छा जाग्यो। म गधा भएँ भने कुमान्छेको दुरुपयोग पनि हुँदिनँ।’

‘इच्छ पूर्ण होस्।’

शक्तिको पराशक्ति कार्यान्वयन हुनेबित्तिकै एउटा पुन्टे गधाको आँगमा समाहित हुन पुग्यो भालेको आत्मा।

पुन्टे गधा धोबिनीको आगनमा गएर बस्यो। धोबिनी गद्गद् भई  गधालाई देखेर।

पुन्टे गधामाथि ठूलो कुम्लो, ठूलो पेट भएकी डल्ली धोबिनीलाई घाटतिर हिँडेका देख्दा मुसुक्क हाँस्थे मान्छेहरू।  गधा पनि खुशी थियो सेवा गर्न पाएकामा।

एकदिन एक कुन्टल चामल ठगी नै नमानी बोकेको देखेर पुन्टेमाथि धनाढ्य व्यापारीको आँखा गाडियो अनि धेरै पैसा दिएर पुन्टे गधालाई किन्यो व्यापारीले। धोबिनेले गधा बेचेको पैसाले पसल खोल्यो, लुगा धुन छोडेर।

यता गधालाई व्यापारीले कुरुस्त समान बोकाएर सिमानामा वारिपारि भन्सार छलेर तस्करी  गराउँन थाल्यो।

पुन्टे गधा सिमनामा, तस्करी बाउन्ने गधाको उपनामले प्रख्यात बन्यो। पुलिसहरूको लागि पुन्टे चुनौती बन्दै थियो।

अन्ततः पुन्टे गधाको अन्त पनि दुःखदै बन्यो लुट्ने समूहको गोली खाएर।

फेरि पुन्टे गधाको आत्माले रुँदै सम्झ्यो शक्तिलाई।

शक्ति बोल्यो,‘किन सम्झ्यौ पुन्टे।

‘हे शक्ति म अझै कुमान्छेबाट किन दुरूपयोग भइरहेछु? सर्वहाराको पक्षमा उभिए पनि सफल हुन सकिनँ। अब मलाई आत्माहीन ऊन बनाइदिनोस्।गरीबको न्यानो बनेर सेवा गर्न सकौं।’

‘ऊन धनी र कुमान्छेकै यहाँ पुग्ने हो। गरीबको त उही पुसे घुर, अगेनाको सहरा, पोलिस्टरको चटचटाहाट।’

‘त्यसो भा गाई बनाइदिनोस्, गरीब लालाबालाको उर्वरक बन्न सकौं।’

‘गाईको दुध पनि हुनेखानेकै दुधदानीमा पुग्ने हो। गरीबका बालकले त उही आमाको टाक्सेको लाम्टो चुस्ने हो दूध नआए पनि।’ शक्तिले जगतमा भइरहेको यथार्थता सुनाए।

‘उफ!’ पुन्टे गधाको आत्माले सुस्केरा तान्यो, ‘लु त्यही बनिदार धनेको गोरु बनाइदिनोस्। गरीबका मेलो जोतेर सेवा गर्ने छु।’

‘हाम्रो परम्परामा जोत्नु हल गोरु चाहिन्छ। एक आत्माको जोडी जन्तु बन्न सक्दैन। एक त यो यान्त्रिक युग। सबैतिर ट्याक्टर र हाते ट्याक्टरले जोत्न थालेका छन्। गोरुको महत्ता छैन।’

‘यान्त्रिक युग भए पनि अझै कतिको छरपटाउ गोरुद्वारा गरिंदै छ। पहाडका पाखाहरूमा गोरु जिन्दावाद नै छन्। पाखापखेरामा मैले खोजेकै जस्ता मान्छेहरू अल्झेर बसेका छन् र मलाई दुर्गम ठाउँमा विन्यास गरिदिनोस्। म एक्लै भए पनि कुनै गोरुसँग बराहा बाँधिने छु।’ गधाको आत्माले भन्यो।

‘पूर्ण होस्...।’ शक्ति बोल्यो।

शक्तिको शब्दान्तको साथ धनेको गोठको गाभिनो गाजली गाईको बाछोको आत्मा समाविष्ट भयो गधाको आत्मा।

केही दिनमै गोठूको पेटबाट जन्मियो। धनेले दर्पणे नामाकरण गर्याे गधाको आत्मा बसेको बाछालाई।

समयसँगै दर्पणेको दुई दाँत साटिएपछि गाउँको कुप्रवृत्ति होमेको दामली राघे बहरसँग बराहा बाँधियो।

दर्पणे गोरुको जुनी पनि सोचे अनुरूप भएन। धनेको थोरै बारी, होमेको धेरै। होमेले धनेलाई विविध करेजमा पारेर पेल्थ्यो। धनेले कसैको मेलोमा खेतला जान पर्दा राघे बिमार छ भनेर चतुराइ गर्थ्यो।

होमेको ग्रहण लागेको धनेको दर्पणे। सामन्ती बल्छी लगाएर दर्पणेलाई आफ्नै पार्‍यो।

भैंसी गोठमा गोरुको हेला। कुँडो, हरियो, मीठो घाँस जति गुजुराती भैंसीलाई, दुध सुक्छ भन्दै।

धनेकामा प्यारो दर्पणे सुकेको परालले होमेकोमा पानीपेट धसियो।

राघेसँग सल्लाह गरेर भुख हड्ताल बस्यो दर्पणे।

गोरुले पराल नखाएपछि  होमेले सोच्यो, ‘गोरुलाई हरियो चस्मा लगाइदिए संसार हरियो। सुकेका पराल, ढोड, कुसाउरो, कोदानल सबै चिरिप पार्छन्।’

शहरको चस्मा कारखानाबाट एकजोर हरियो चस्मा ल्याएर गोरुलाई लगाइदियो।

दर्पणेले सोच्यो,‘हरियो परालबाट किन सुकेको गन्ध आइरहेछ? जरुर हामी पशु समेतलाई जालझेल भइरहेको छ कुमान्छेद्वारा।’

तुरुन्तै राघेसँग सल्लाह गरेर किलामा ठोकाएर चस्मा फोरेर हेर्दा हरियो पराल सुकेको थियो। संसार सुक्खा नै थियो।

हरियो चस्मा फोरेको सुन्ने साथ थलोमा आएर गोरुमाथि लौरो बर्सायो होमेले। दर्पणे र राघे पीडाले असहाय भए।

भोलिपल्ट मेलामा दर्पणेले राघेलाई भन्यो, ‘यार, दुष्टसँग बदला लिने यही मौका हो। हामी मरौं सँगै गाउँको सामन्तीलाई मारौं।’

‘ओके!’ राघेले हली होमेलाई डेरो आँखाले हेर्दै सहमति जनायो।

परिणाम–चस्मा फोरेको रिसले बौलाको होमेले गोरुलाई कुट्दै पल्लोछेउमा भरा फर्काउनुअघि हलोजुवासहित छाँगाबाट हाम्फाल्दा होमे पनि खुर्मुरिएर झर्‍यो। हल गोरु मरे, होमे मरेन। पाप भोग्नलाई होला ढाँड भाँचिएर थला पर्‍यो।

दर्पणे मर्ने साथ शक्तिलाई सम्झ्यो।

शक्ति प्रत्यक्ष प्रकट हुँदै सोध्यो, ‘भन दर्पणे।’

‘हे महाशक्ति! मैले गोरु जुनीबाट कुमान्छे मास्ने सुरुवात गरेको छु। कुमान्छेलाई भन्दा, व्यवस्थाको आड लिएर बसेका कुचरित्रलाई मास्नुपर्दाे रहेछ। त्यसैले मलाई जोसिलो हिम्मती मान्छेको जुनीमा प्रवेश गराइदिनोस्।’

‘पूर्ण होस्, जय रहोस्।’ भन्दै शक्ति हिंड्नै लाग्दा दर्पणेको आत्माले भन्यो, ‘तर....।’

‘के तर ...?’

‘मभित्र नातावाद, कृपावाद र लोभिपापीविहीन  पारिदिनोस्। म राजनीतिमाथि लागेका दागहरू मेटाउन सकौं। त्यो अधिकारको कुर्सीमा बसेर कुचारित्र्यका पात्र पात्राहरूलाई कानूनको कठघरामा उभियाएर कारागारसम्म पुर्‍याउनु सकौं।’

‘पूर्ण होस्।’ भन्दै शक्ति अलप भए।

प्रकाशित: १९ चैत्र २०७८ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App