२५ श्रावण २०७९ बुधबार
कला

युक्रेनको सपना तोड्ने नाटो के हो?

दोस्रो विश्वयुद्धमा जर्मनीका तानाशाह हिटलरविरुद्ध लडेका रुस, अमेरिका, बेलायत लगायतका मुलुकहरू जर्मन टुक्र्याएर बाँडफाँड गरे र पूर्वी जर्मनी र पश्चिम जर्मनी मुलुक जन्मिए।

पूर्वी जर्मनी रुसको कम्युनिस्ट खेमामा र पश्चिम जर्मनी अमेरिकी–बेलायती प्रजातान्त्रिक खेमामा गयो। रुसले जहाँ जहाँ कदम राख्यो, त्यहाँ त्यहाँ कम्युनिज्म स्थापना गर्ने सम्भावना देख्यो र सोभियत संघ बनायो।

युद्धका कारण युरोप जर्जर भएको थियो र यही अवस्थामा सोभियत संघले आफ्नो प्रभाव विस्तार गर्ने सपना देख्न थाल्यो। यसपछि सन् १९४८ मा सोभियत संघले समर्थन गरेको समूहले चेकोस्लोभाकियाको निर्वाचित सरकारलाई अपदस्थ गर्‍यो। यसपछि जर्मनीको भविष्यलाई लिएर भएका कयौँ वार्ता असफल भएपछि बर्लिन घेराउ गर्‍यो। यसलाई बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले फलामे पर्दा घोषणा गरेका थिए। यो फलामे पर्दाप्रति पश्चिमा मुलुकहरू असन्तुष्ट भए।

सन् १९४९ सम्म आइपुग्दा अमेरिका, क्यानडा र अन्य १० वटा युरोपेली मुलुकले एउटा सम्झौता गरे, जसलाई उत्तर एटलान्टिक सन्धिका रूपमा जानियो। शान्तिकालमा जन्मिएको यो संस्थालाई अमेरिकाले अगुवाई गर्ने भयो। यससँगै तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रम्यानले भनेका थिए, ‘हामीले यो संस्थाको स्थापनासँगै तेस्रो विश्वयुद्ध रोकिने अपेक्षा गरेका छौँ।’

यो सन्धिको पाँचौँ बुँदाले यसको सशक्तता प्रमाणित गरेको छ। जसमा लेखिएको छ, ‘नाटो सदस्यका कुनै पनि एक मुलुकमा कसैले आक्रमण गरे, ती सबै सदस्यमाथि आक्रमण गरेको मानिनेछ र सामूहिक प्रतिरोध गरिनेछ।’

यसपछि सन् १९५५ मा नाटोको सदस्यका रूपमा पश्चिम जर्मनी समावेश भयो। यसको जवाफस्वरूप रुसले आफू प्रभावित मुलुकहरूसँग वार्सा प्याक्ट गर्‍यो। वार्सा प्याक्ट चाहिँ सोभियत संघ र यसका सदस्य राष्ट्रहरूको ‘नाटो’ बराबरको सम्झौता थियो।

यसमा पूर्वी युरोपका सात मुलुक सहभागी थिए। सन् १९५० को दशकभरि वार्सा प्याक्ट र नाटो सदस्यका कारण एउटा तनावपूर्ण अवस्थामा यी दुवै सदस्यहरू रहेका थिए। यो क्षेत्रमा शान्ति त कायम भयो तर ज्यादै ‘चिसो’ शीतयुद्ध कायम रह्यो। दुवै क्षेत्रका मुलुकहरू आणविक शस्त्रले सुसज्जित थिए। कलिकति मात्र शान्ति विथोलिँदा शहरहरू क्षणभरमै ध्वस्त हुने सम्भावना तीव्र थियो।

नाटोले कहिले पनि सिधासिधा युद्धको अवस्था निम्त्याएन। जसका कारण वार्सा प्याक्टका कारण कुनै पनि मुलुकले आफ्ना सैनिकहरू युद्धका लागि खटाउनु परेन। केही इतिहासकारहरू यस अवधिको सैन्य गठनबन्धनलाई ज्यादै सफल गठनबन्धनका रूपमा लिन्छन्।

रोचक त के छ भने शीतयुद्ध अवधिमा कहिल्यै सक्रिय नभएको नाटोको आर्टिकल फाइभ सन् २००१ को सेप्टेम्बर ११ मा सक्रिय भएको थियो। त्यो बेला अमेरिकी भूमिमा आतंककारी आक्रमण हुँदा नाटोका सबै सदस्य राष्ट्रहरूमाथि आक्रमण भएको मान्दै इराक र त्यसपछि अफगानिस्तानमा सेना परिचालन गरिएको थियो। हुन त सोभियत संघको पतनसँगै शीतयुद्ध सकिएको थियो र त्यससँगै वार्सा प्याक्टको सान्दर्भिकता पनि सकिएको थियो।

शीतयुद्ध सकिएपछि नाटोको उद्देश्य, औचित्य र यसको सैद्धान्तिकीमाथि निकै चर्चा परिचर्चा भएको थियो। केही सदस्यहरूले यसलाई सैन्य गठबन्धन भन्दा पनि राजनीतिक धुरीका रूपमा विकसित गर्न चाहन्थे तर निकै वादविवाद र छलफलपछि यसको सैन्य सक्षमताको औचित्य नसकिएको भन्दै जारी राखियो। औचित्य स्थापित गर्न त्यो बेला बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले भनेकी थिइन्, ‘तपाईंको गल्लीमा गएका १२ महिनामा चोरी कम हुन थाल्यो भन्दैमा घरको इन्स्योरेन्स रद्द गर्नु हुन्न नि, हैन ? यसलाई ठीक त्यस्तै ठान्नुस्।’

यसपछिका केही वर्षमा पूर्व वार्सा प्याक्टका पोल्यान्ड, हंगेरी र चेक गणतन्त्र नाटोको सदस्यका रूपमा सन १९९० को दशकमा सदस्य बने। इस्टोनिया, लात्भिया, लिथुआनियाले २००४ मा सदस्यता लिए। यो सदस्यतासँगै शीतयुद्धपछि पश्चिमा मुलुकहरूले युरोपको फराकिलो दृष्टि, खासगरी लोकतन्त्र र पुँजीवादलाई दह्रो गरी टेकाउन भूमिका खेल्यो। तर नाटोको विस्तारसँगै रुस भने पश्चिमा मुलुकले आखिर गर्न खोजेको के हो भन्दै गहिरो शंकामा पौडन थाल्यो।

नाटोको विस्तार सन् १९९३ तिर हुन थालेको थियो। त्यो बेला नै रुसी राष्ट्रपति बोरिस यल्तसिनले पूर्वतर्फ नाटोको विस्तार हुनु गैरकानुनी हुने बताएका थिए। यस कुरालाई रुसका राजनीतिक एलिटहरूले मान्दै र विश्वास गर्दै आएका थिए।

धेरै रुसीहरूले नाटोलाई शीतयुद्धको अवशेषका रूपमा मान्दै आएका थिए। त्यसैले नाटोको विस्तार हुनु शीतयुद्ध अझै नसकिनु हो भन्ने विश्वास रुसको थियो। यो विश्वास यल्तसिनसँगै अन्य राजनीतिक विरासतधारीमा पनि सर्‍यो। रुसले वार्सा प्याक्ट निष्प्रभावी बनाएजस्तै नाटो पनि त्यही बेला निष्प्रभावी पार्नु पर्ने भनी सोचेको थियो तर कमजोर रुसको सोचअनुसार नाटो विघटित भएन।

बरु यसले अर्कै बाटो समात्यो। उसले समयअनुसार आफूलाई परिवर्तन गरेको र नयाँ विश्वमा उदाउँदै गरेका नयाँ संकटतर्फ लक्षित रहेको तर्क गर्‍यो। उसको यस किसिमको तर्कमा वैश्विक शान्ति खल्बलाउने जेहादी आन्दोलनको तर्कलाई अगाडि ल्यायो। झन् २००१ सेप्टेम्बर ११ को आक्रमणले त यो संस्थालाई अझ सशक्त बनाउने बाटो खुल्यो। अमेरिकाले नाटोलाई बहुपक्षीय सुरक्षा संगठनका रूपमा अघि बढायो। उसले यसलाई सबै किसिमका असुरक्षामा उपयोग गर्न सकिने गरी सक्षम बनाउँदै लग्यो।  

नाटो सक्षम हुँदै जाँदा र यो पूर्वी युरोपतिर सर्दै गर्दा आफ्नो सुरक्षामा गम्भीर आघात पर्न थालेको महसुस रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले गर्न थाले। खासमा पूर्वी युरोपमा नाटोको विस्तारलाई उनले धोकाकै संज्ञा दिए किनभने सन् १९९० मा जर्मनीको एकीकरणका बेला अमेरिकी विदेश मन्त्री जेम्स बेकर र अन्य पश्चिमा मुलुकका प्रमुखहरूले पूर्वी युरोपमा विस्तार नहुने र नगरिने आश्वासन दिएको पुटिनले दाबी गरेका थिए। तर त्यसपछिका समयमा १४ नयाँ मुलुक नाटोका सदस्य बने।

रुसको अरूचि र असुरक्षाका बीच युक्रेन आखिर किन नाटो सदस्य बन्न चाहन्थ्यो त? यो एउटा गम्भीर प्रश्न यतिबेला उभिएको छ। यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडेनका सुरक्षा सल्लाहकार तथा सेन्ट्रल इन्भेस्टिगेसन एजेन्सी (सिआइए)का प्रमुख विलियम बन्र्सले युरोपमै जासुसी गर्दाका बेला सन् २००८ मा तत्कालीन सेक्रेटरी अफ स्टेट कोन्डोलिजा राइसलाई युक्रेनलाई नाटोमा छिराउनु भनेको रुसी उच्च वर्गलाई चिढ्याउनु र सिधासिधा निहुँ खोज्नुसरह भएको टिप्पणी लेखी पठाएका थिए। बन्र्सले क्रिमिया र पूर्वी युक्रेनमा रुसी सेनालाई छिराउने दाउ पनि खेल्नु हो भनी सचेत गराएका थिए।

त्यसैले अमेरिकाले युक्रेनलाई सदस्यता दिलाउने कुरामा ढिलाई गर्दै जान थाल्यो। यता नाटोको सदस्यता लिएका पिछडिएका पूर्वी युरोपका अन्य मुलुकहरूमा भने ‘विकास’ मौलाउँदै जान थालेको युक्रेनीहरूले देखिरहेका थिए। त्यसैले पनि आफ्नो देशको भरपूर सम्भावना हुँदाहुँदै किन नाटो सदस्य नलिने भन्दै सदस्यताका लागि ताकेता गर्दै जान थाल्यो।

सन् २००८ मा नाटोको सदस्यता खुला गरिँदा युक्रेनले निवेदन दर्ता ग¥यो तर नाटो सदस्य कहिले हुने भन्ने ठ्याक्कै मिति तोकिदिएनन्। यता रुस र खासगरी पुटिनले आफ्नो सिधासिधा अरूचि प्रकट गर्दागर्दै पनि पश्चिमा मुलुकहरूले आफ्नो चासो र चिन्तामा पटक्कै ध्यान नदिएको महसुस गर्न थाले। कतिसम्म भने केहीले यसलाई पुटिनकै अपमान गरेको पनि भन्न थाले।

युक्रेनमाथि रुसको आक्रमण र पश्चिमा मुलुकहरूको निरीहताले नाटोको औचित्यमाथि एक पटक पुनः प्रश्न उठेको छ। हुन त युक्रेन आफ्नो सदस्य राष्ट्र नभएको भन्दै नाटो टक्टकिएको छ तर यसले नाटोको अब काम छैन भनी पूर्व अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सारा खर्च आफूले नबेहोर्ने कुरा गर्दै आइरहेका थिए, त्यो औचित्यपूर्ण थियो कि भन्नेतर्फ कुरातर्फ ध्यान आकृष्ट हुन थालेको छ। 

ट्रम्पले युरोपको सुरक्षाका लागि युरोपेलीहरूले खर्च गर्नुपर्ने र त्यसका लागि अमेरिकाले बढी खर्च गर्नुको कुनै औचित्य नरहेको उनको तर्क थियो। यतिबेला बल्ल जब रुसले युक्रेनमाथि आक्रमण गर्‍यो, निद्राबाट ब्युँझेजस्तै गरेर जर्मनीले सुरक्षामा २ प्रतिशतभन्दा बढी खर्च गर्ने घोषणा मात्र गरेन, युक्रेनलाई हतियार सहयोग गर्नेसमेत घोषणा ग¥यो। यो घोषणा आफैँमा ठूलो कुरा थियो किनभने जर्मनीले दोस्रो विश्वयुद्धपछि कहिल्यै पनि हतियार र युद्धको कुरा गरेको थिएन।

यतिबेला नाटो सदस्य मुलुकहरूले रुसी बैंकलाई प्रतिबन्ध लगाएका छन्। उसको अर्थतन्त्रलाई घात गर्ने केही प्रतिबन्ध लगाइएका छन्। कोकाकोला लगायतका केही ठूला कम्पनीले संकेतस्वरूप त्यहाँ आफ्ना उत्पादन बिक्री नगर्ने घोषणा गरेका छन्।

रुसका लागि अमेरिकाका पूर्व राजदूत माइकल म्याकफलले यस किसिमका घटना जुन तीव्र रूपमा बढिरहेका छन्, यसलाई नयाँ युरोपको पुनर्जन्म भनेका छन्, ‘यस्ता नयाँ घटनाक्रमले नाटोको भविष्य तथा एटलान्टिक आरपारका मुलुकहरूको संगठनमा भविष्यमा ठूलो असर पर्नेछ। र, यो असर सकारात्मक नै हुनेछ।’

तर यी सारा विकसित अवस्थाका बाबजुद पनि युक्रेन ध्वस्त भएको छ। कयौँ सर्वसाधारणको हताहती भएको छ। समग्रमा एकअर्काप्रतिको अविश्वासले गर्दा एउटा मुलुक अस्तित्वको संकटमा परेको छ। जसको घाउ र दाग अब दशकौँसम्म चहर्‍याइरहने छ।

(विभिन्न समाचार स्रोतमा आधारित)

प्रकाशित: २८ फाल्गुन २०७८ ०७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App