हठात्को पितृशोकले उन्मना बिलखबन्दमा परिन्। वैशाख पूर्णिमाको रात थियो। मालीपिताको दाहसंस्कारपछि उनी वैरोचनको आश्रममा फर्केकी थिइन्। त्यहाँ सबै शोकाकुल थिए, आश्रम नै शून्य लाग्थ्यो। उन्मना मध्यरातमा बगैँचामा बसेर टोलाइरहेकी थिइन्। उनलाई पूर्णिमाको जूनले पनि पोलेको आभास भइरहेको थियो।
वैरोचन आफ्नै कुटीमा मस्त निद्रामा थिए। अकस्मात् उनको निद्रा खुल्यो, यो उनका लागि विशेष संकेत थियो। उनी उठेर बगैँचातिर लागे।
उन्मनाको छेउमा बसेर वैरोचनले भने, ‘उन्मना! मृत्यु शाश्वत सत्य हो। जन्म र मृत्युलाई सहर्ष स्वीकार गरेर बाँच्न सक्नु नै जीवनको सार हो। यो जीवन जीवनजस्तो हुनलाई आशा, अभिलाषा र ऊर्जा चाहिन्छ। तर हाम्रो आशा र अभिलाषा असम्भव विषयवस्तुप्रति हुनु हुँदैन। मृत्यु अवश्यम्भावी छ, पिताको समाधिलाई स्वीकार गर। र, यो अभावको भावलाई शक्तिका रूपमा ग्रहण गर।’
दिउँसो उन्मनालाई माता शमनाले ठीक यिनै शब्द भनेकी थिइन्। यहाँ वैरोचनले तिनै शब्द दोहोर्याए। उन्मनाको मनमा दिउँसोदेखि नै एउटै वाक्यांश खेलिरहेको थियो—अभावको भाव!
– गुरु ! अभावको भाव भनेको के हो?
वैरोचनले मालीपिताको रित्तो कुटीतिर देखाउँदै भने—‘हेर, त्यहाँ हिजोसम्म गुरु मालीपिता थिए। हिजो त्यहाँ उनी हुनुको भाव थियो, आज त्यहाँ उनी नहुनुको अभावको भाव छ। जीवनको ऊर्जा भनेको भावनाको प्रबलता पनि हो। आफैँलाई आनन्द हुने र सबैलाई हित हुने भावनालाई प्रबल बनाउनु जीवनको पहिलो र अन्तिम उद्देश्य हो। यद्यपि यो अवस्थासम्म आइपुग्न जीवन र जगत्को बोधसँगै साधना आवश्यक हुन्छ।
संसारमा अधिकांश मानिस अभावको भावको दर्शनलाई नबुझेर पीडित हुन्छन्, भ्रममा पर्छन्। अहिले हामीले मालीपिताको मूर्ति बनाएर उहाँको अभावको भावलाई मूर्त रुप दिन सक्छौँ, तर यो हाम्रो मनको सम्मोहन मात्रै हो। आखिर कसैलाई कुनै किसिमले मनमै राख्नु छ भने किन मूर्तिको सहारा लिनू? कतिपय अभावको भावलाई हामीले सीधै मनमा समेट्न सक्नुपर्छ। मनको भण्डारण क्षमता असीम छ। कतिपय भावको अभावमाथि चिन्तन, मनन र अनुसन्धान गर्नुपर्छ।
– गुरु! यो भावको अभाव भनेको के हो?
‘उन्मना ! यसबारे तिमी चिन्तन गर, उत्तर पाउनेछौ, पाइनौ भने मैले तिमीलाई पछि बुझाउनेछु। जाऊ सुत, निद्रा पुर्याउनुपर्छ।’
– गुरु! आज यो मन भाँचिएको छ। यही पीडाले निदाउन दिएन।
उन्मना! यो मन भन्नु तिम्री सानी छोरी पिंगलाजस्तै हो। जसरी साना बालबालिका भोक, प्यास र सानातिना इच्छाले रुन्छन् अनि भोजन, जल र स–साना प्राप्तिले तृप्त हुन्छन्, त्यसरी नै मनलाई पनि औधि भोक–प्यास लाग्छ र यसले शरीरलाई स–साना इच्छाको दास बनाउन खोज्छ। भाग्न र भड्कन खोज्ने मनलाई बच्चालाई जस्तै थुमथुमाएर सुताउन सकिन्छ, वशमा राख्न सकिन्छ, जाऊ कोसिस गर।’
०००
एक बिहानको भोजनपछि, वैरोचन तुरुन्तै कुलोतिर लागे। भगवती मुहानदेखि आश्रमसम्म कुलो ल्याइएको थियो। परैबाट वैरोचनले कुलोको मधुर कलकल सुन्न सक्थे, अकस्मात् त्यो आवाज बन्द भएपछि उनी कुलोको निरीक्षणका लागि निस्केका थिए। मुसाले माटो खसालेर कुलो थुनिएको रहेछ।
उनको पछिपछि उन्मना, हिमाद्रि र जालन्धर गएका थिए। उनीहरूले वैरोचनलाई कुलोको माटो सोहोर्न सघाए। कुलोको पानीसँगै आश्रमतिर फर्कंदै गर्दा जालन्धरले सोधे—गुरु! म शान्त हुन सकिरहेको छैन। शिवपुरी राज्यमा गणतन्त्र आएदेखि मेरा पिता गंगाधर मसँग रिसाएका छन्। माता र बहिनीलाई लिएर उनी संग्रामपुर राज्यको शरणमा गएका छन्। मलाई यस कुराको भय छ कि उनले त्यहाँका राजकुमार वरुणको साथ लिएर धानग्राम र हजुरको आश्रममाथि आक्रमण गर्ने हुन् कि? भोलि मैले कथंकदाचित् आफ्नै पितामाथि तरबार उठाउनुपर्ने हुन्छ कि? यस्तै चिन्ताले मेरो मन स्थिर हुन सकेको छैन।
गुरू ४
https://nagariknews.nagariknetwork.com/arts/752651-1645841822.html
गुरू ३
https://nagariknews.nagariknetwork.com/arts/746631-1645237560.html
गुरू २
https://nagariknews.nagariknetwork.com/arts/727661-1643424482.html
गुरू
https://nagariknews.nagariknetwork.com/arts/721271-1642812599.html
जालन्धर! तिम्रो भय र आशंका स्वाभाविक हो। यस आश्रमप्रति तिम्रो प्रेम बढेको छ। हृदयमा प्रेम र अहंकार सँगै बस्न सक्दैनन्, प्रेम बढेपछि अहंकार हट्नुपर्छ। हिजोको राजकुमार भएकाले तिमीमा केही अहंकार पनि शेष छन्। अर्कोतिर, जवानीका बेला मानिसको हृदयमा अहंकारले घर गर्नु स्वाभाविक हो। कहिलेकाहीँ अहंकारले मानिसलाई आफ्नो क्षमता पहिचान गर्ने अवसर दिन्छ। यसको व्यवस्थापन गर्दै अगाडि बढ्न तिमीले सिक्नुपर्छ। कुनै कुराको सुर्ता नगर, यहाँ तिम्रा लागि म छु।
अहिले तिमीले एउटा कार्य गर। भिक्षुको भेषमा शिवपुरी राज्यमा जाऊ र एक सय आठ दीनदुःखी बालिकालाई केही दिएर खुसी बनाऊ र साष्टांग दण्डवत गर। एक सय आठ दीनदुःखी यौवना र एक सय आठ दीनदुःखी वृद्धालाई साष्टांग दण्डवत गरेर आऊ।
हिमाद्रिले सोधिन्—गुरु! मेरो अवस्था जालन्धरकै जस्तो हो। मेरा मातापिता र भ्राता पनि संग्रामपुर राज्यमा शरण लिन पुगेका छन्। त्यसैले मेरो मन स्थिर छैन।
– हिमाद्रि! कुनै कुराको सुर्ता नगर। तिम्रो परिवार र तिम्रो रक्षाका लागि म छु र यहाँ मजस्ता सयौँ वैरोचन छन्। मेरा केही सिपाहीका साथ तिमी ब्रह्मपुर राज्य जाऊ। तिम्रा पितापुर्खाले शासन गर्दा जति मानिस दासदासी र शुद्र हुन पुगेका थिए, उनीहरू सबैसँग पिता र आफ्नो तर्फबाट क्षमा मागेर आऊ।
यति कुरा हुँदा नहुँदै उनीहरू आश्रमको बगैँचासम्म आएका थिए। गुरुको आदेश अनुरुप हिमाद्रि र जालन्धर आ–आफ्नो कार्यक्षेत्रतिर लागे।
केहीबेर बगैँचामा थकाइ मार्दै उन्मनाले वैरोचनसँग सोधिन्—‘गुरु! जालन्धर र हिमाद्रिलाई फरक फरक आदेश किन गर्नुभयो? यसको तात्पर्य के हो?
– उन्मना! बालबालिकाको मन पवित्र हुन्छ। बालबालिकालाई खुसी पारियो भने उनीहरूले पवित्र मन शुभ चिताउँछन्। उनीहरूले जसलाई शुभ चिताउँछन्, उसको मनलाई थप ऊर्जा मिल्छ।
केही सन्तान जन्माएर हुर्काएका र दुःख सहेका स्त्रीहरूको मन बलियो हुन्छ तर उनीहरूलाई आफ्नो मन कति बलियो छ भन्ने ज्ञात हुँदैन। बलियो मन भएका स्त्रीको आशीर्वादले पुरुषलाई ठूलो ऊर्जा मिल्छ। यद्यपि उनीहरूबाट आशीर्वाद पाउन सहज छैन। यसका लागि एउटै उपाय हो, उनीहरूप्रतिको श्रद्धा र सम्मान। धेरै पुरुषले यो रहस्य बुझ्न सक्दैनन्, वा बुझेर पनि व्यवहारमा ल्याउन सक्दैनन्। अरुले तब मात्र हामीलाई आशीर्वाद दिन्छन्, जब हामीले उनीहरूलाई आफ्नो अहंकार त्यागेर सम्मान व्यक्त गर्छौं।
क्षमाले अहंकार त्याग्न सघाउँछ। त्यसैले हिमाद्रिलाई त्यस्तो आदेश गरेको हुँ।
वैरोचनका कुरा बुझ्न उन्मनाले प्रश्न–प्रतिप्रश्न गरिरहिन्।
०००
गुरुको आदेश अनुरुप आ–आफ्नो कार्यमा लागेका हिमाद्रि र जालन्धर एक महिनापछि आश्रम फर्के।
हिमाद्रि निकै दिनसम्म भावविह्वल भइन्। ब्रह्मपुर गणराज्यका हिजोका दासदासी र शूद्रले उनलाई यति प्रेमभाव दर्शाएका थिए, यसअघि उनले त्यतिको प्रेमको अनुभव गरेकै थिइनन्। गणराज्य भएपछि ब्रह्मपुरमा वर्ण व्यवस्था हटेको थियो। मानिसहरू आ–आफ्नो प्रतिभा र सीप अनुसारको पेसा अपनाउँथे। प्रत्येक पेसाको सम्मान थियो। ग्राम–ग्रामका मानिस समूह–समूहमा मिलेर वस्तु तथा अन्नको उत्पादन गर्थे। तिनको व्यापारबाट हुने लाभ बाँडेर लिन्थे। विशेष क्षमता र प्रतिभा देखाउने व्यक्तिले गणराज्यका प्रमुखबाटै विशेष सम्मान पाउँथे।
जालन्धर निकै शान्त भएर फर्केका थिए। उनलाई ठूलो भारी बिसाएजस्तो महसुस भएको थियो। उनी गुरुको अर्को आदेशको पर्खाइमा थिए।
एक साँझको भोजनपछि अकस्मात् आँधीहुरी चल्यो। हावाले कुटीहरू उडाउन खोजेका थिए। हिमाद्रि र जालन्धर गुरुको आदेश लिन गए तर वैरोचन कुटीमा थिएनन्। उनीहरू उन्मनाको कुटीतिर लागे, उन्मना पनि भेटिइनन्। वैरोचन र उन्मना वृद्धावृद्धा बस्ने कुटीतिर गएका थिए। झट्ट हिमाद्रि र जालन्धरको मनमा आयो—आश्रमका वृद्धवृद्धालाई सुरक्षित राख्नुपर्छ। उनीहरू वृद्धवृद्धा रहने कुटीतिर लागे तर सबै कुटी खालि थिए।
वैरोचनले हावाको अवस्था बुझी पहिले नै वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित स्थानतिर सारेका थिए। उनलाई उन्मनाले सघाएकी थिइन्।
वृद्धाहरू बस्ने दुईवटा कुटीभित्र सुरुङ थिए, तिनलाई झट्ट हेर्दा नदेखिने गरी छोपिएको थियो। ती दुवै सुरुङ जमिनमुनिको दरबारभित्र पुग्थ्यो। ठीक बगैँचामुनि विशेष ढुंगा र काठको प्रयोग गरी विशाल दरबार बनाइएको थियो। दरबारसम्म पुग्ने थुप्रै सुरुङ थिए। केही सुरुङबाट घामको प्रकाश पनि छिथ्र्यो। दरबारमा अन्नबाली, औषधिदेखि युद्धका खरखजाना भण्डारण गरिएको थियो। भगवती लिपिका केही ग्रन्थ पनि भण्डारण गरिएका थिए।
यो भेद केही वृद्धवृद्धा र वैरोचनका विशेष शिष्यशिष्यालाई मात्र थाहा थियो।
आँधीहुरी चलेसँगै केही नयाँ शिष्यशिष्या प्रवचन कक्षभित्र सजग भएर बसेका थिए, उनीहरूलाई वैरोचनको यस्तै आदेश थियो। प्रवचन कक्ष हुरीले उडाउन नसक्ने गरी बनाइएको थियो। हिमाद्रि र जालन्धर पनि त्यहाँ पुगे। वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित स्थानतिर लगेको थाहा पाएर उनीहरू ढुक्क भए।
हावाको गति कम भएपछि वैरोचन, उन्मना र केही शिष्यशिष्या प्रवचन कक्षमा आए। वैरोचनले हिमाद्रि र जालन्धरबाहेक सबै नयाँ शिष्यशिष्यालाई आ–आफ्नो कुटीतिर गएर आराम गर्न भने। त्यसपछि उनले हिमाद्रि र जालन्धरलाई जमिनमुनिको दरबारतिर लिएर गए।
दरबारको सबै भेद र भण्डारका बारेमा बताएपछि वैरोचनले भने—अब यसको सुरक्षाको जिम्मा तिमीहरूको हो। धानग्राम, मातंगीपुरी नगरी, हाम्रो आश्रम, ब्रह्मपुर र शिवपुरी गणराज्यमाथि संग्रामपुर राज्यको आँखा परिसकेको छ। परशुराम संवादबाट समाधान खोज्दैनन्, उनी युद्धमा विश्वास गर्छन्। उनीमा शक्तिको उन्माद छ, त्यसैले एकपटक उनलाई पराजयको स्वाद चखाउनैपर्छ।
परशुरामले यहाँ पनि वर्ण व्यवस्था अनुसार शासन चलाउन चाहन्छन् र यहाँको उर्वरभूमिमा कर लगाउन चाहन्छन्। कुनै पनि विवेकवान् मानिसले विवाह, भोजन र पेसाका आधारमा हुने ऊँचनीचको भावना र व्यवहारलाई स्विकार्न सक्दैन। र, आफूले हराभरा बनाएको माटोमा पराईलाई हक जमाउन दिन कसैको मनले मान्दैन।
मैले शिवपुरी र ब्रह्मपुर गणराज्यका गणपति र वरपरका राजाहरूसँग सल्लाह लिएको छु। अहिले पराजय स्वीकार गरी पछि पुस्तौँपुस्तासम्म दासदासी भएर मर्नुभन्दा युद्ध गर्नु उचित हो, यही विचारले हामी सबै संग्रामपुर राज्यसँग युद्ध गर्न सहमत भएका छौँ। शान्तिको जप गरेर मात्रै युद्ध रोकिने होइन, यस पृथ्वीलाई सबैले साझा सम्पत्ति मान्ने र सहअस्तित्व स्विकार्ने विवेकको विकास नहुँदासम्म संसारमा युद्ध चलिरहन्छ। यस युद्धपछि हामी शान्तिको आह्वान र अभियानमा लाग्नुपर्छ।
हिमाद्रि र जालन्धरले त्रास व्यक्त गरे—गुरु! यस युद्धमा हामी दुवैका मातापितालाई केही हुने हो कि! उहाँहरू ब्रह्मपुर राज्यको शरणमा रहेको अवगतै छ।
केही दिनअघि हिमाद्रि र जालन्धरको परिवारलाई चेत खुलाउन वैरोचनका केही जासुस संग्रामपुर राज्य गएका थिए। वैरोचनका जासुसले संग्रामपुर राज्यका सिपाहीको भेष धारण गरी हिमाद्रि र जालन्धरको परिवारले सुन्ने गरी भने—शिवपुरी र ब्रह्मपुर राज्यका राजाहरू मूर्ख रहेछन्। हाम्रा राजाले ती दुवै राज्य जित्ने चाल रच्दैछन्, यिनीहरूलाई केही थाहा छैन। आखिर यिनीहरूले केही पाउने होइनन्!
यो सुनेपछि पनि हिमाद्रि र जालन्धरका मातापिताको चेत खुलेन। उल्टै उनीहरूले परशुरामलाई सघाउने निर्णयलिए।
यो घटना वैरोचनले हिमाद्रि र जालन्धर दुवैलाई सुनाए। दुवै बिलखबन्दमा परे, केही बोल्न सकेनन्।
वैरोचनले भने— तिमीहरू नआत्तिनू। हाम्रा योद्धाले तिमीहरूको परिवारलाई जोगाउनेछन्।
०००
केही दिनपछि वैरोचनका जासुसले खबर ल्याए— एक सातापछि पूर्णिमाको दिन २० हजार योद्धासहित परशुराम ब्रह्मपुर राज्यमा आक्रमण गर्न आउँदै छन्। ब्रह्मपुरपछि शिवपुरी, त्यसपछि मातंगीपुरी र हाम्रो आश्रममाथि आक्रमण गर्ने उनीहरूको योजना छ।
बर्खाको बेला थियो। कृषकहरू खेतबारीमा गएको मौकामा गणराज्यहरू कब्जा गर्ने परशुरामको योजना थियो। वैरोचनले सबैलाई सजग रहन र योद्धाहरू एक ठाउँमा भेला हुन खबर पठाए।
ब्रह्मपुर गणराज्यभन्दा ठीकमुनि वनमा संग्रामपुरका योद्धालाई घेर्ने रणनीति वैरोचनले बनाएका थिए। त्यहाँ ठाउँ ठाउँमा वैरोचनका विशेष योद्धाले विशेष प्रकारको जडीबुटीको धुलो र धुँवा उड्ने गरी विस्फोटक पदार्थ राखेका थिए।
योजनाअनुरुप चारैतिरबाट परशुरामका योद्धालाई घेरेर विस्फोट गराउन वैरोचनका योद्धा सफल भए। नशालु जडीबुटीका धुलो र धुँवाले परशुरामका लगभग सबै योद्धा लट्ठिन पुगे। वैरोचनको योजना अनुरुप उनीहरूको सम्पूर्ण अस्त्र–शस्त्र लुटियो। नशाले लट्ठिएकै अवस्थामा राजा परशुराम र राजकुमार वरुणलाई अपहरण गरियो।
प्वाँख झरेका चराजस्तै हुन पुगेका परशुरामका योद्धाहरू नशाले छाडेपछि ज्यान जोगाउन हतार–हतार आफ्नो राज्यतिर फर्किए। उनीहरूलाई आफ्नो राजा र राजकुमारको बारेमा केही थाहा थिएन।
युद्धस्थलभन्दा केहीमाथि चौरमा परशुराम र वरुणलाई ल्याइएको थियो। त्यहाँ वैरोचन, शमना, उन्मना लगायत युद्धका लागि जुटेका सम्पूर्ण योद्धा उपस्थित थिए। परशुराम र वरुण होसमा आएपछि वैरोचनले भने—महाराज परशुराम, राजकुमार वरुण! यहाँहरूलाई हामीले यस भूगोलमा स्वागत गर्दछौँ।
यति भनेर वैरोचनले उनीहरूलाई फूलको माला लगाइदिए र विशेष यन्त्रको सहायताले पुष्पवृष्टि गराए। त्यसपछि त्यहाँ उपस्थित विशेष व्यक्तिहरूले परशुराम र वरुणलाई फूल दिएर स्वागत गरे। उनीहरूलाई भोजनको पनि व्यवस्था गरियो।
स्वागत र सत्कारको कार्यक्रम सकिएपछि वैरोचनले भने—महाराज परशुराम! आज हामीले चाहेको भए यहाँका सबै योद्धाको ज्यान लिन सक्थ्यौँ। आखिर युद्ध नै थियो र यहाँहरू हामीमाथि आक्रमण गर्न आउनुभएको थियो। तर हामीले यहाँले जसरी सोचेनौँ। हामी शान्ति चाहन्छौँ र सबै मानिस मिलेर पृथ्वीको स्रोत–साधनको समान उपभोग गर्न चाहन्छौँ। यहाँसँग हाम्रो विनम्रतापूर्वक अनुरोध छ—युद्ध रोकौँ, सबै मिलेर बस्ने व्यवस्था ल्याऊँ। यहाँले आफ्नो राज्यमा विभेदकारी वर्ण व्यवस्था हटाएर जनतालाई समान सुखशान्तिमा राख्न यथाशीघ्र पहल गर्नुहोला। अन्यथा, यहाँको राज्यमा विद्रोह भई गणराज्य स्थापना हुन धेरै समय लाग्नेछैन।
यति सम्झाएपछि विशेष घोडा र रथमा सवार गराई उनीहरूको बिदाइ गरियो। परशुराम र वरुण नतमस्तक भएर आफ्नो बाटो लागे।
एक थोपा रगतको बलि नदिई युद्ध जितेकामा त्यहाँ उपस्थित सबै हर्षित थिए। सबैको माग थियो—वैरोचनलाई सम्मानस्वरुप रथयात्रा गराउनुपर्छ।
वैरोचनले भने—मलाई होइन, यी नशालु जडीबुटी संग्रह गर्ने मातंगीपुरी नगरी, धानग्राम र मेरो आश्रमका वृद्धा र यौवनालाई सम्मान गर्नुपर्छ। विशेषतः यसमा शमना गुरुआमाको ठूलो भूमिका छ। र, आज युद्ध मैदानमा साहसका साथ खटिने सबै योद्धाको उत्तिकै देन छ। हाम्रा गुरुहरू, पितापूर्खाहरूले लामो अभ्यासबाट सिकेको ज्ञान र विधिलाई आज यहाँ हामीले प्रयोग गरेका हौँ, उनीहरू सबैप्रति हामी धन्य हुनुपर्छ। कुनै पनि सफलताको श्रेय कुनै एक व्यक्तिले लिने लोभ गर्नु हुँदैन।
परशुरामको योद्धा भई ब्रह्मपुर गणराज्यका पूर्वराजा विष्णुभक्त र शिवपुरी गणराज्यका पूर्व राजा गंगाधर पनि आएका थिए। वैरोचनले उनीहरूलाई अपहरण गरी सुरक्षित स्थानमा राख्न भनेका थिए। परशुराम र वरुणलाई स्वागत–सत्कार र बिदाइ गरेको दृश्य उनीहरूले पनि हेरेका थिए।
गंगाधर र विष्णुभक्त दुवैले वैरोचनसँग क्षमा मागे। गंगाधरले भने—पहिले मेरो दरबारमा हजुरजस्तो राजगुरुको खाँचो रहेछ भन्ने अहिले मैले बुझ्दै छु।
गंगाधरले कुनै बेला वैरोचनलाई अपमान गरेर दरबारबाट निकालेका थिए। त्यसमा पनि गंगाधरले पटकपटक क्षमा मागे।
एकपटक वैरोचन राजा गंगाधरको मन्त्रीमण्डलका सदस्य भएका थिए। सदस्यमा नियुक्त भएकै दिन वैरोचनले गंगाधरलाई राजकाज चलाउने केही विधि र व्यवस्था सिकाएका थिए। गंगाधरले उनको कुरा सुनेनन् र तुरुन्तै सदस्यबाट बर्खास्त गरे। वैरोचन मालीपिताको सल्लाहमा गंगाधरको मन्त्री हुन गएका थिए, एक दिन पनि टिक्न सकेनन्।
विष्णुभक्तले वैरोचनलाई सोधे—गुरु! के हजुर यस भूगोलको चक्रवर्ती राजा बन्नुहुनेछ?
वैरोचनले भने—मित्र विष्णुभक्त! मलाई शासन गर्नमा कुनै रुचि छैन। म त असल शासकहरू जन्माउन चाहन्छु। ब्रह्मपुर र शिवपुरी दुवै गणराज्यमा चार–चार वर्षको दुई कार्यकाल गणपति हुने व्यवस्था गरेका छौँ। जनताबाट चुनिने अवसर यहाँहरूलाई पनि छ।
(कथा सकिएको छैन, यसको अर्को भाग छिटै प्रकाशित हुनेछ।)
प्रकाशित: २१ फाल्गुन २०७८ ०२:२३ शनिबार