२ पुस २०८१ मंगलबार
image/svg+xml
कला

‘जियारा’ लाई ‘कर्णाली कृति’ पुरस्कार

५० हजार राशीको ‘कर्णाली कृति पुरस्कार’ नयनराज पाण्डेको कृति ‘जियारा’लाई प्रदान गरिने भएको छ। कर्णाली साहित्य समाजले २०७७ सालभित्र प्रकाशित कृतिहरु मध्येबाट जियारालाई पुरस्कृत गर्ने निर्णय गरेको हो।  

समाजका संरक्षक महेशविक्रम शाहले आख्यानको नवीन विषयवस्तु, शिल्प र शैलीको प्रयोगद्वारा तराई र मधेसमा विद्यमान पारम्परिक कुप्रथा, रूढीवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै आम नागरिकहरुका दुःख, पीडा र भोगाईहरुलाई समेटिएको कृति जियरालाई २०७७ सालको कृति पुरस्कार दिने निर्णय गरिएको बताए।  

शुुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर शाहले ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रा.डा. राजाराम सुवेदीलाई प्रदान गर्ने निर्णय भएको बताए। ‘तीन दशकदेखि विशेषगरी कर्णाली प्रदेशको इतिहासको खोज, अन्वेषण र अनुसन्धानमा साधनारत इतिहासकार सुवेदीलाई साधना सम्मानबाट सम्मानित गर्ने निर्णय गरिएको छ,’ शाहले भने। सुवेदीका कर्णाली प्रदेशको मध्यकालीन इतिहास (२०५४), बाइसी राज्यको ऐतिहासिक रूपरेखा (२०५६), कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य (२०५६), अछामको इतिहास (२०५८) जस्ता ऐतिहासिक महत्वका कृतिहरु प्रकाशित छन्। उनले कर्णाली प्रदेशको इतिहासलाई अभिलेखन गरी नेपालको इतिहासलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।  

यस्तै वरिष्ठ कलाकार कुलमान नेपालीलाई २५ हजार राशीको कर्णाली प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ। कर्णाली प्रदेशका लोक नृत्यहरुलाई देशभर चिनाउन योगदान पुर्‍याएकाले नेपालीलाई कर्णाली प्रतिभा पुरस्कारबाट सम्मान गर्न लागिएको अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए। कुलमानको नृत्य निर्देशनमा २०३९ सालदेखि २०७६ सालसम्म २५ पटक राष्ट्रिय प्रतियोगीतामा सुर्खेतले प्रथम स्थान हासिल गरेको छ। उनले बन्धकी, बाटुली, गोर्खा पल्टन जस्ता चर्चित चलचित्रमा नृत्य निर्देशन गरेका छन्।

प्रकाशित: ६ फाल्गुन २०७८ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App