७ वैशाख २०८१ शुक्रबार
कला

बेकरी र बुटिकबीच उमेरकाे कला

ललितपुर बखुण्डोलको चोकैमा बेकरी पसल छ। यसैको माथिल्लो तलामा बुटिक,अनि तल–माथिका सबैजसो भित्तामा कलाकार प्रमिला बज्राचार्यका अनगिन्ती चित्र प्रदर्शित भए। प्रमिलाले भर्खरै बेकरी र बुटिकबीच अजीव लाग्ने शैलीमा कला प्रदर्शनी गरेकी हुन्। भावकबीच पुग्ने यो अनौठो तरिका मात्र होइन, यो खानेकुरा र लाउने कुराबीच प्रदर्शित भएका चित्रको एउटा गाथा हो।

प्रमिला सन् ९० को अन्तिम अन्तिमतिर उदाएकी सशक्त महिला कलाकार हुन्। ९० कै सुरुआतदेखि कलामा पाइला टेकेकी प्रमिला झन्डै ३० वर्ष कला यात्रामा निरन्तर लागिरहेकी छन्। ‘काष्ठमण्डप’ भनेर संस्थागत रूपमै उनी निकै सक्रिय छन्। त्यस्तै, कोचिङ कक्षा चलाएर कैयौँ बालबालिकालाई कला सिकाएकी छन्।

यसको लेखाजोखा अझ हुन बाँकी छ। फेसन सोको परेडभित्र पनि उनका कला अटाएका छन्। कुनै बेला उनका कलाहरू टाँसिएका वस्त्र लगाएर परेडमा कैयौँ सुन्दरी निस्किए, उनका कलालाई अझ जीवित पारे। शान्त,सरल र स्निग्ध स्वभाव भएकी प्रमिलाका जुनसुकै चित्रमा थोरै पनि उत्ताउलोपन देखिँदैन। मनमोहक र लालित्यपूर्ण छन् उनका चित्र।

विशेष गरी नेपालका महिला कलाकारको सन्दर्भमा उनीअघिको पुस्तामा यस प्रकारको सक्रियता देखिन सकेको थिएन। एकदमै थोरै महिला कलाकार घरभित्रै बसेर कला सिर्जना गर्थे,कहिलेकाहीँ बाहिर आउँथे,अझ बिहे भएपछि सक्रियतामा कमी आउँथ्यो। यस्तो अवस्थामा प्रमिलाजस्ता थुप्रै यस पुस्ताका महिलाले महिला चित्रकारको बिँडो थामेकै हुन् भन्नुपर्ने हुन्छ।

९० को दशकमा नेपालमा प्रभाववादी दृश्यचित्र (ओपन एयर पेन्टिङ) बनाउने प्रचलन बिस्तारै हराउँदै, सेलाउँदै गएको र कलाकार सिर्जनशीलतामा मुखरित भएको अवस्था थियो। यस्ता आउटडोर पेन्टिङलाई कतै अभ्यासका रूपमा,कतै कलाको पाठ्यक्रमको मूल विषयमा वा कतै प्रकृतिलाई अध्ययन गर्न रङ र संयोजनमा सर्जकलाई यथेष्ट ज्ञान र सीप आर्जन गर्ने माध्यमका रूपमा हेर्ने प्रचलन त्यसताका थियो।

यसरी ८० को दशकमा एकदमै उर्वर स्थितिमा रहेको यो कलाको विधा त्यसपछि बिस्तारै सेलाउँदै जान थाल्यो। यसै वेला कलामा अमूर्ततालाई प्रवेश गराउने प्रचलन बढ्दै गयो। नेपालमा अमूर्त कला यसअघि नै स्पष्ट प्रचलनमा आइसकेको थियो,तर सबैजसो युवा कलाकारले ८० को दशकमा अमूर्त कला बनाउन बढी रुचि देखाएका थिए। विशेषतः नवयुवा कलाकार यसै शैलीमा आकर्षित भएका मात्र थिएनन्,अझ नौलो शैली र प्रवृत्ति प्रयोग गर्न उद्वेलित भएको अवस्था थियो। यसरी कलामा सानोतिनो नौलो प्रयोग हुँदाहुँदै सन् २००० को शुभारम्भमा वैकल्पिक कलाको उदय भइसकेको थियो। जसलाई हामी उत्तरआधुनिक कला भन्छौँ।

मूलतः प्रमिलाले दृश्यचित्रलाई पूर्णरूपमा अमूर्तमा भाँचेर प्रस्तुत गर्छिन्। यसर्थ उनका कलामा अमूर्ततासँगै चहकिला रङका खण्डबीच दृश्यचित्रलाई सजिलै छाम्न सकिन्छ। आधारभूत चम्किलो रङ मन पराउने प्रमिला कलामार्फत भावाभिव्यक्तिभन्दा सौन्दर्यतालाई अनुभूत गर्न आग्रह गर्छिन्।

उनी महिलालाई मुख्य पात्र बनाएर आकृतिमूलक र अभिव्यञ्जनामूलक चित्र पनि बनाउँछिन्। उनका चित्रमा थोरै सौन्दर्यता लुकेकै हुन्छ,योसँगै समसामयिक परिवेश, घटना र नारीको अवस्थालाई प्रस्तुत गर्न उनी अग्रसर देखिन्छिन्।

यसरी उनले दुईवटा कलाको धारलाई अलगअलग पाराले स्थापित गराएको मान्नुपर्छ। यद्यपि अलिकति अमूर्तता,अलिकति वैकल्पित धार अनि अलिकति प्रभाववादी,अभिव्यञ्जनावादी सबैजसो शैलीले गिजोल्दा एक प्रकारले अहिलेको समय संक्रमण कालजस्तै थियो।

यसपल्ट प्रमिलाको सबैजसो चित्रमा महिलाको विभिन्न रूप, अवस्था र प्रकृति देखापरेको छ। नयाँ र पुराना काम प्रदर्शित हुँदा पनि उनका कलामा शैली,मोटिफ र संयोजन अलग रूपमा देखिएको छैन। यो उनको एक अलग्ग प्रकारको आफ्नै पाराको सिग्नेचर हो। चित्र दोहोरिएको जस्तो देखिन्छ, तर हरेकमा आ–आफ्नै मौलिकता हुन्छ। यसका लागि अलि सूक्ष्म ढंगले हेर्नुपर्छ।

आफ्नो पहिचानलाई देखाउन पनि कलाकारले जानाजानी यसरी नै कला सिर्जना गर्ने प्रचलन थियो। नेपालमा उत्तरआधुनिक कलाको प्रवेश भएपछि भने यस्तो परम्परा बिस्तारै हराएर गएको देखिन्छ।

प्रमिलाको कला प्रदर्शनी बेग्लै खालको छ– दर्शक हेर्न आउँदा सजिलै हेर्न नसकिने कला। तल स–साना टेबुल, कुर्सीले भरिएको सानो कोठा छ,जसले गर्दा स्वभावतः दर्शक अलग्गै आएर कला हेर्न सम्भव हुँदैन। केही कुरा खाँदै–हेर्दै गर्दा मात्र यस्ता कला हेर्न सकिन्छ। माथिको कोठामा लुगा–कपडा टाँगिएका, झुन्ड्याइएका छन्। यसलाई हेर्न खोज्दा पछाडिको चित्र छोपिन्छ,अनि अलि समय दिएर अवलोकन गर्न अझ गाह्रो हुन्छ। परजीवी जस्तो भएर देखिँदा यस्ता कला सम्भवतः अर्थसँग गाँसिँदा यसरी अटेसमटेस भएर पनि प्रदर्शित भएका देखिन्छन्। लुगा किन्न आउने वा खाना खान आउने आम दर्शक पनि कलाको क्रेता हुन सक्छन्।

यस्ता कला आम भावकमा पुर्‍याउने प्रयोग अहिले बढेर गएको छ। यसमा कला प्रदर्शनी अर्कै व्यवसायसँग जोडिएर आउँछ। यसमा कलाकार अर्को व्यवसायसँग गहिरोसँग जोडिनुपर्छ।

यो प्रदर्शनीमा प्रमिलाका साह्रै स–साना चित्र बढी र ठूला वा लामालामा चित्र थोरै मात्रामा रहे। कुनाकाप्चातिर पनि कला प्रदर्शित थियो। कुनै खालि ठाउँमा कला झुन्ड्याइँदा लुगाको भीडमा कुनाकाप्चाबाट कलाले चियाएजस्तो देखिन्थ्यो। हेर्न अलि अप्ठेरो लागे पनि लुगा छान्दाछान्दै अचानक देखिने यी चित्र लुगाफाटाकै एउटा अंग हुँदै प्रदर्शित भएको भान हुन जान्थ्यो।

स्वभावतः लुगाफाटाका ग्राहक कलाको पनि ग्राहक बन्ने सम्भावना हुन जान्थ्यो। सायद आयोजकको यही उद्देश्य रहेको हुन सक्छ। कलामा पटक्कै मोह नहुनेहरू पनि अचानक यस्तो कला देखेपछि आकर्षित होऊन् भन्ने प्रस्तुतिको उद्देश्य हुन सक्छ।

कोल्याबोरेटिभ अवधारणा

नेपालमा कला सिर्जना गर्दा कोल्याबोरेटिभको अवधारणा धेरैअघि आएको हो। आ–आफ्ना मनमा लागेका कुरा अभिव्यक्त गर्न सर्जकले समूहमा काम गर्ने संस्कार पुरानै हो। सामाजिक मुद्दामा सर्जकबीच ऐक्यबद्धता कायम गर्ने र वकालत गर्ने सन्दर्भ पनि पुरानो भइसक्यो। समूह वा संयुक्त रूपमा अगाडि आउँदा प्रभावपूर्ण हुने भएकाले सर्जकहरू एक ठाउँमा उभिँदै आएका छन्।  

सामुदायिक विकासमा समेत ‘सेक्टोरल अप्रोच’लाई पर पन्छाएर ‘हलेस्टिक अप्रोच’ आएको पनि धेरै भइसक्यो। व्यापारमा जल्दोबल्दो रहेको टिक्युएम (टोटल क्वालिटी अफ् म्यानेजमेन्ट)को अवधारणा सामुदायिक विकासमा छिरिसकेको छ। यातायातबाट आएको ‘सिन्डिकेट’को अवधारणा आज राजनीतिमा छ्यापछ्याप्ती देखिन थालेको छ। यसरी ‘कोल्याबोरेटिभ’को अवधारणा समग्र क्षेत्रमा छिर्दा कला यसबाट अलग्ग हुने सन्दर्भ रहेन। तर, नितान्त व्यापार र व्यवसाय क्षेत्रसँग मिलेर अगाडि जाने सन्दर्भलाई नौलो प्रस्तुति मान्नैपर्छ। दुवै मिलेर ‘दुवैका वस्तु एकै ठाउँमा मिलाएर बेचौँ है’ भन्नु नौलो नै हो।  व्यापारको उद्देश्य र कलाको उद्देश्य कदापि एउटै होइन।

वस्तु वा उत्पादन क्रेता वा उपभोक्ता माझ जाने सन्दर्भ पनि अलगअलग हो। तर सहयोगका लागि व्यापारी वा उद्योगपतिलाई चित्र वा मूर्ति किन्न लगाउन सकिन्छ। कलाकारको जीविकासँगै हरेक घरमा नेपाली कला र संस्कृति पुर्‍याएर यसको विकास गर्नुपर्नेछ।

कमिसन वर्क र कलाकृति किनेर व्यापार गर्ने सन्दर्भमा व्यापारी एक हुने गरेको देखिन्छ। तर, यस्ता पृथक् कार्यक्रम यसअघि नभएकै हो। नयाँ प्रयोग गर्ने सन्दर्भमा प्रदर्शन हुन र गरिन पनि यो अवधारणा अगाडि आएको देखिन्छ। यसले गर्दा कलालाई जनतामाझ लैजाने यो एउटा रमाइलो र चाखलाग्दो संयोजन बन्न गएको छ।

कलाको साइज

कलामा साइजको सन्दर्भ अलग्गै हो। स्तरयुक्त र स्ट्यान्डर्ड कला केलाउने सन्दर्भमा आर्ट क्युरेटर र कला समीक्षकले कलाको साइजलाई खुबै ध्यान दिने गर्छन्। कला प्रदर्शनीमा कलाको साइजले खास अर्थ राख्छ। कति ठाउँमा साइज हेरेरै कलाको मूल्य तोकिन्छ। अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा ठुल्ठूला चित्रलाई मात्र मान्यता र ग्राह्यता दिन्छन्।

एकताका चार फुट बाई ६ फुट साइजका चित्रको प्रचलन खुबै बढेर गएको थियो। यसलाई नै ‘स्ट्यान्डर्ड साइज’ मानिन्थ्यो। निश्चित साइजभन्दा सानोलाई प्रदर्शनीको स्वीकृति मिल्दैनथ्यो। टाढा जानैपर्दैन, हाम्रै राष्ट्रमा हुने राष्ट्रिय कला प्रदर्शनीमा निश्चित कलाको साइज तोकिएको हुन्छ। यस्ता साइज नमिलेका कला छनोट समितिले हटाउने प्रचलन अहिले पनि छ।

बाह्य राष्ट्रमा ग्यालरीका स्पेस किन्नुपर्छ र यही स्पेसलाई मिल्ने गरी कला बनाउने आजको प्रचलन हो। यसरी ग्यालरीको स्पेस स्थायी वा अस्थायी रूपमा बेच्ने प्रचलन नेपालमा पनि भित्रिसकेको छ। कला सिर्जनामा मात्र होइन,यसलाई प्रस्तुत गर्ने पनि अनेकौँ तरिका छन्। व्यापारसँग जोडिएको एउटा सिंगो कोठा मात्र नभई कोठाका भित्ता र खास ठाउँ पनि भाडामा दिने वा बेच्ने प्रचलन बनिसकेको छ। कलाकारले आफ्नो कला प्रदर्शन यसै अनुसार गर्ने र व्यापारीले आफ्नो वस्तुलाई बेचेर आयआर्जन गर्ने अभ्यास नेपालमै सुरु भएको छ।

ठूला कलाको खास विशेषता हुन्छ। ठूला कला निर्माण गर्नका लागि कलाकारमा खास शिल्प–दक्षता आवश्यक हुन्छ। जस्तो: मूल रूपमा ठुल्ठूला कलालाई संयोजन गर्नु, रङ र तुलिकाघातलाई कुदाउनु, सन्तुलन र मोटिफलाई संगठन गर्नु। कलालाई जाँच गर्दा अन्य धेरै पक्षका साथै ठुल्ठूला क्यानभासमा कलाकारले कसरी काम गर्छ भन्ने हेरिन्छ। पश्चिमबाट भित्रिएको यो अवधारणाको अहिले नेपालमा गहिरो गरी अवलम्बन गरिन्छ।

हाम्रा नेपाली कलाकार लक्ष्मण श्रेष्ठकै कुरा गरौँ, जो अहिले मुम्बईमा बस्छन्, उनले १४ बाई २८ फुटका विशाल अमूर्त चित्र बनाउँछन्। यति ठूलो चित्र कलाकारले कसरी बनाउन सके भनी दर्शक अवाक् बन्छन्। नेपालका आम दर्शकले भने उनका यस्ता चित्र हेर्न पाएका छैनन्। कलाको साइज ठूलो र कलाकार प्रख्यात हुनु पनि नेपालका आम भावकका लागि बेफाइदै भएको छ। किनकि म्युजियमदेखि कला प्रदर्शनीमा उनका चित्र अवलोकन गर्न पाइँदैन।

कैयौँपटक नेपालमै प्रदर्शन हुँदा पनि उनका ठुल्ठूला चित्र मात्र होइन, ओरिजिनल चित्र पनि धेरै कमै प्रदर्शित भएका छन्। लक्ष्मण श्रेष्ठका सुरुका दिन (सन् ६० वा ७० को दशक)का बाहेक उनका ठूला चित्र नेपालमा प्रदर्शित भएका छैनन्।

सुरक्षाका दृष्टिकोणले गर्दा उनका छापा चित्र नै बढी मात्रामा प्रदर्शन भएका छन्। अर्को महत्त्वपूर्ण कुरा उनले बनाउने गरेका जस्ता ठुल्ठूला चित्र नेपालमा अरू कसैले बनाउने आँट गरेको देखिँदैन। विशेषतः समसमायिक कलामा अन्य कलाकारका यस्ता ठूला चित्र पाइएका छैनन् भन्दा पनि हुन्छ।

अर्कोतिर नेपालमा आधुनिक कला भित्र्याउने महत्त्वपूर्ण कलाकारमध्ये एक मानिने लक्ष्मण श्रेष्ठका कला नेपालमै हेर्न र अध्ययन गर्न पाइँदैन। कलाकार, कलापे्रमी वा कलामै खोज, अनुसन्धान गर्नेमा पनि उनीबारे सामान्य जानकारीको अभाव छ। यसो हुनु कतै न कतै कलाको साइज ठूलो हुनु पनि हो। यद्यपि ठुल्ठूला साइजका कलाको गरिमा अलग्गै छ। केही वर्षअगाडि मात्र उनको चित्रको प्रिन्टलाई ल्याएर सिद्धार्थ कला दीर्घामा प्रदर्शन गरिएको थियो। सबल संयोजन, रेखा र रङ अनि प्रस्तुतिका ढाँचाले देखाएको उत्कृष्टताले गर्दा उनका चित्र करोडौँ रूपैयाँमा बिक्री हुने गर्छन्। यसै वेला पनि यस्ता थुप्रै कलाका प्रिन्ट बिक्री भएका थिए।

सानासाना क्यानभासमा चित्र बनाउनुलाई कतिले अभ्यास रूपमा लिने गरेका छन्। पछि त्यसैलाई ठूला क्यानभासमा बनाई प्रदर्शनमा राख्ने प्रचलन छ। यसोभन्दा मिनिएचर कला हुँदैन भन्ने होइन। मिनिएचर कलाको एक अलग्ग स्वरूप, चरित्र,विशेषता, अर्थ र मान्यता हुन्छ। यसलाई चित्रण गर्ने तरिका पनि अलग्ग हुन्छ। यसको गाथा पनि अलग्ग छ। विशेषतः यस्ता मिनिएचर कला नेपाली परम्परागत कलामा वा लोककलामा पनि महत्त्वपूर्ण तरिकाले देखापरेको छ।

कला प्रदर्शनको नालीबेली

कोल्याबोरेटिभ रूपमा व्यवसायसँग जोडिएर यसअघि पनि कला प्रदर्शनी भएका थिए। दशकौँअघि ठमेलबाट सुरु भएको यस्तो चलन अहिले काठमाडौंको चारैतर्फ फैलिएको छ। ससाना रेस्टुराँ, होटल हुँदै विभिन्न क्षेत्रमा यस्ता कला प्रदर्शनी देखापरिरहेका छन्। पहिले ठूला होटलमा कलालाई सजाउने गरिन्थ्यो।

अझ पहिले राजा–महाराजाले कलाकारलाई कला बनाउन लगाई महलमा सजाउने परम्परा थियो। ठुल्ठूला सभाकक्ष र बैठकमा कला सजाउँदा महत्व बढ्ने मानिन्थ्यो। त्यसैले आज पनि मूर्धन्य कलाकारका अति राम्रा कला महलमा हेर्न सकिन्छ। तर, आज समाज कलामा सचेत भएको अवस्थामा ठुल्ठूला घरमा यस्ता चित्र सजिन पुगेको देखिँदैन। विकसित समाजमा झनै कलामाथिको चेतना हराएको हो कि भन्ने लाग्न सक्छ।

समय क्रमसँगै कलाहरू होटल, क्याफेका भित्ता, लबी वा खालि ठाउँमा प्रदर्शित हुन थाले। पछि बिक्री गर्ने उद्देश्यले पनि यसरी प्रदर्शन गर्न थालियो। पर्यटक वा पाहुनाका लागि होटलहरू कला ग्यालरी नै बन्न थाले। होटलको कुनै कोठालाई ग्यालरी बनाएर किसिम–किसिमका कला प्रदर्शनी हुन थाल्यो। अर्कोतिर, कति ग्यालरीमै स–साना कफी हाउस स्थापित भएका छन्। कलाकारहरू आफ्ना कृतिलाई दर्शक माझ लैजान अनेक कलापूर्ण प्रयत्न गरिरहेका छन्।

बखुण्डोल, धोबीचौरको वरिपरि वा ठमेलमा बढी मात्रामा यस्ता प्रदर्शनी देखापरेका छन्। स्वभावतः पर्यटकमा रहेको कलाप्रतिको मोह, बिक्रीको सम्भावनाका कारण कला यसरी फैलन थालेको छ। बखुण्डोलको आभीर बुटिक, सामी बेकरी,जहाँ प्रमिलाले कला प्रदर्शनी गरेकी छन्, यी दुवै क्रमशः बिनी बर्जाचार्य र सुह्रित शाक्यको हो। यी दुवै व्यवसायी युवा हुन्। अहिले काठमाडौं उपत्यकामा विशेषतः युवाले अनेक प्रकारले कलाको प्रदर्शन गर्न थालेका छन्।

(मल्ल कला समीक्षक र कलाकार हुन्।) 

प्रकाशित: ३ पुस २०७८ ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App