६ वैशाख २०८१ बिहीबार
कला

पनौतीको इतिहास र संस्कृति बुझाउने पुस्तक लोकार्पण

साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको पनौती नामक परिचयात्मक कृति प्रकाशित भएको छ। २०६४ सालमा पहिलो संस्करण प्रकाशन भएको सो पुस्तकको परिमार्जित र पुनर्लिखित संस्करणको लोकार्पण हालै एक समारोह बीच सम्पन्न भएको हो।

पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले सो पुस्तकको लोकार्पण गरेका हुन्। पनौती नगरपालिकाले प्रकाशन गरेको उक्त पुस्तकमा पनौतीको इतिहास, संस्कृति, धर्म,  प्रकृति,  सांस्कृतिक सम्पदा, चाडपर्व आदिका बारेमा जानकारी दिइएको छ।

पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो। नगरको विशेषतालाई अक्षरमा लिपिबद्द गरेर पनौती नगरका बारेमा जानकारी लिन चाहनेहरूका लागि पुस्तक उपयोगी हुने विचार नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि भीम न्यौपानेले बताए।

त्यस्तै पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले पनौती पुस्तक आफू जन्मेको माटोप्रतिको प्रेमको प्रतीक रहेको विचार राखे। एक अर्को प्रसंगमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताए। संस्कृतिकर्मी तुयुकाजी ताम्राकारले भेगीय दृष्टिकोणले  ठूलो रहेको यो नगरको सुक्ष्म अध्ययन गरेर लेखकले पुस्तक तयार गरेकाले पुस्तक पठनीय, मननीय र संग्रहनीय रहेको बताए।  

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, पूर्व नगर प्रमुख सप्तकाजी बुद्धाचार्य, संगितकार सुरेश अधिकारी, रामचन्द्र नास्ननी, पुरुषोत्तम कर्माचार्य लगायतले मन्तव्य राखेका थिए। सोही कार्यक्रममा मकरमेलासँग सम्बन्धी गीत पनि विमोचन गरिएको थियो।

मूलत लाकोजू कवि हुन्। उनको पाँचओटा कविता संग्रहका साथै नेपाली साहित्यका विविध विधाका साढे दुई दर्जन साहियिक कृति प्रकाशित छन्। साथै त्यतिकै संख्यामा उनको सम्पादित कृति पनि छन्।

प्रकाशित: २१ कार्तिक २०७८ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App