१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

विपीको नियति चिन्तन

दृष्टिकोण

‘नियति’ भनेको के हो ? यसमाथि अनेकौं चिन्तकद्वारा व्यक्त हुँदै आएका अनेक धारणा पाइन्छन्। नियतिलाई कसैले भाग्य, कसैले आकस्मिक घटना वा परिस्थिति, अनि कसैले दैवको लीला आदिका रूपमा अथ्र्याएको पाइन्छ। पूर्वजानकारी वा अनुमानबिना नै कुनै अप्रिय स्थिति आइलागे, कुनै अप्रत्याशित घटना घटे त्यस स्थितिलाई नियतिको खेल भन्ने गरिएको पाइन्छ। नियतिलाई अचानक आइलागेको दूर्भाग्यपूर्ण घटना सम्झनेहरू अधिक भेटिन्छन्। यी सबै भाग्यमाथिको भरोसासम्बन्धी विचारका कुरा हुन्। सामान्यतः यस्तै विचार वा धारणालाई भाग्यवाद वा नियतिवाद भनिएको हो भन्ने बुझ्न सकिन्छ।

जनमानसमा धर्म वा ईश्वरप्रति जुन विश्वास छ, भाग्य वा नियतिप्रति पनि त्यस्तै प्रकारको विश्वास रहेको पाइन्छ। सर्वसाधारण, धर्मभीरु वा धर्मप्रति अगाध विश्वास राख्ने मानिसमा धर्मकर्म गर्‍यो भने ईश्वर प्रशन्न वा दाहिने हुन्छन् अनि भाग्य चम्किन्छ भन्ने विश्वास रहिआएको पाइन्छ। त्यसैले भाग्य वा नियतिलाई धर्म र ईश्वरप्रतिको परम्परागत धारणाभन्दा अलग्ग राखेर बुझ्न सकिँदैन। 

यद्यपि तात्त्विक रूपमा धर्मले मानव व्यवहारसँग, ईश्वरले पारलौकिक शक्तिसँग र नियतिले अज्ञानता, स्वयंप्रतिको अविश्वास एवं अन्धविश्वाससँग गाँसिएको मनोविज्ञानसँग सम्बन्ध राख्छ भन्ने बुझ्न सकिन्छ। यस प्रकारका भावनात्मक तत्त्व जोडिएको मनोविज्ञानलाई यो यस्तै हो भनेर स्पष्ट बुझ्न भने सकिँदैन।शब्दकोशमा नियतिका पर्यायवाचीका रूपमा भाग्य, प्रारब्ध, दैव आदि शब्द छन्। यस्तै आत्मानुशासन, आत्मसंयम जस्ता आत्मानियन्त्रणबोधी शब्द पनि छन्। नियतिवादलाई भाग्यवाद पनि भनिएको छ।कतिपय शास्त्रले पनि यस्तो चिन्तनलाई लिपिबद्ध गर्दै आएका छन्। 

अतीतदेखि नै नियतिवाद वा भाग्यवादले व्यक्तिलाई मात्र नभई पूरै समाज र राष्ट्रलाई नै ठूलो मनोवैज्ञानिक प्रभाव पार्दै ल्यायो। धर्म वा ईश्वरीय चिन्तनमा आधारित शासन व्यवस्था लागू भए। शासक वर्गले भाग्यवादको विश्वासकै आधारमा आम मानिसलाई नियन्त्रणमा राखी मुलुकको नेतृत्व पनि गर्दै आए। 

ईश्वरको प्रतिनिधिका रूपमा राजालाई मान्नुपर्ने परम्पराले हजाराैँ वर्षसम्म मान्यता पायो। दैवी सिद्धान्तको रचना भयो। दैव, भाग्य, ईश्वर वा नियतिप्रतिको विश्वासको जरो अझै मेटिइसकेको छैन। सामाजिक वर्ग भेदको भावना हट्न सकेको छैन। सुखदुःख, यशअपयश, धनी, गरिब आदि हुनुको मुख्य कारण भाग्यलाई सम्झने मानिस उत्तिकै छन्। 

यस सनातन विश्वासमा अवश्य कमी आएको छ, तर मानव मनको गहिराइमा यो अझै जीवित नै छ।अर्कोतिर अभिलाषाको प्राप्ति हेतु कर्म (काम) गर्नैपर्छ, भाग्यमा छ भन्दैमा चुपचाप बसेर केही प्राप्त हुँदैन भन्ने चेतना पनि आदिकालदेखिकै हो। शारीरिक वा बौद्धिक कार्य, उद्योग, जागरुकता, उद्देश्य पूर्ण सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधि आदि सबै मानव कर्म नै हुन्। कर्मलाई भाग्यका हिसाबले बुझ्ने परम्परागत विश्वास पनि उत्तिकै छ।  

भाग्य वा नियतिका सम्बन्धमा रहँदै आएको यसै सुदीर्घ विश्वासका पृष्ठभूमिमा नेपालका सुविख्यात राजनेता बिपी कोइरालाले यसलाई कसरी हेरेका छन्, उनी नियति वा भाग्यप्रति कस्तो दृष्टिकोण राख्छन् त ? यसै सन्दर्भमा यहाँ संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ।

भाग्य, प्रारब्ध वा नियति भन्ने कुरा पूर्वनिर्धारित अर्थात् जन्मनुभन्दा पहिल्यैदेखि नै तय भएको हुन्छ भन्ने परम्परागत विश्वासलाई बिपीले फरक ढंगले अथ्र्याएका छन्। उनको फरक ढंगको अथ्र्याइँ भाग्यवादी परम्परागत विश्वास अनुसारको नभएर प्रत्यक्ष अनुभव गर्न सकिने सामाजिक वा वैयक्तिक अवस्था र सो अनुसार मानिसमा उत्पन्न विश्वासमा आधारित पाइन्छ।

जुन कुरा अपरिवर्तनीय छ, कसैगरी पनि व्यक्तिको चाहना अनुसार त्यसलाई परिवर्तन गर्न सकिँदैन, त्यसैलाई बिपी प्रारब्ध वा भाग्य मान्छन्, ‘हामी जन्मनुभन्दा पहिल्यैदेखिको संस्कारलाई लिएर आएका हुन्छौँ। हाम्रो बाबुआमाको, हाम्रो समाजको, हाम्रो जातिको एउटा संस्कारमा हामी आएका छौं। जस्तो, तपाईं अमेरिकन समाजमा जन्मनुभएन, नेपाली समाजमा जन्मनुभयो, त्यो तपाईंको भाग्य हो। तपाईंले आफ्नो बाबुआमा जस्तो पाउनुभयो, त्यो पनि तपाईंको नियति वा भाग्य हो’ (राजा, राष्ट्रियता र राजनीति)।

मानिसमा वैयक्तिक संस्कारको प्राप्ति मूलतः दुई प्रकारले हुन्छ। पहिलो हो, जन्मसिद्ध संस्कार। जन्मैदेखि प्राप्त संस्कार भनेको पूर्वनिर्धारित संस्कार हो। यसरी पूर्वनिश्चित भइसकेको अवस्थाबाट व्यक्तिमा संस्कारको थालनी हुने मानिन्छ। जन्मेर सचेत अवस्थामा आइपुग्नुअगावै जीवनको क्रम सुरु भइसक्ने र त्यस समयसम्मको संस्कार सामान्यतः अपरिवर्तनीय रहने मानिन्छ। दोस्रो हो, सचेत हुन थालेपछि सिकिएको वा ग्रहण गरिएको संस्कार। त्यसलाई परिवर्तन गर्न पनि सकिन्छ। 

जन्मनुपूर्वका केही अवस्था (जस्तैः धर्म, वासस्थान आदि) पछि गएर व्यक्तिले परिवर्तन गर्नसक्छ तर जन्मेका बखतको अवस्था त उसको स्मृतिमा रहिरहन्छ। यस प्रकार, जन्मसिद्ध संस्कारलाई मानिसले इच्छाअनुसार प्राप्त नगरेको वा गर्न नसक्ने भएकाले त्यसलाई पूर्वनिर्धारित संस्कार भन्न सकिन्छ। 

व्यक्तिले स्वत प्राप्त गरेको यस्तो पूर्वनिर्धारित संस्कार पुस्तौँदखिको निरन्तरता हो। यो व्यक्तिको नियन्त्रणमा रहँदैन र यसलाई स्विकार्नुको विकल्प सामान्यतया रहँदैन। बिपी यसैलाई भाग्य, प्रारब्ध वा नियति भन्दछन्, ‘तपाईंसँग स्वतन्त्र निर्णय लिने सानो क्षेत्र मात्रै छ। अरू त सबै कुरो पहिलेदेखि नै निर्धारित छ। त्यसलाई मान्ने हो भने तपाईंको नियति त पहिलेदेखि नै तय भएर आएको छ। त्यसलाई तपाईं भाग्य भन्नुस् वा संस्कार भन्नुस्, त्यो त पहिले नै तय भइसकेको कुरा हो।’

स्वाभाविक मानवीय अस्तित्वका मूलभूत आधारहरू पहिल्यै निर्धारित भइसकेको स्थितिमा मानिसमा स्वतन्त्र निर्णय लिनसक्ने स्थिति कमै मात्र बाँकी रहन्छ। व्यक्तिको स्वतन्त्रताको परिधि साँघुरो रहेको बिपी महसुस गर्छन्। बिपी भाग्यवादी नहुँदा नहुँदै पनि भाग्यका सम्बन्धमा उनले गरेको विश्लेषण यथार्थपरक रहेको पाइन्छ। कसैले पनि उनको यस प्रकारको विश्लेषणलाई अस्वीकार गर्न सक्दैन।  

स्वतन्त्रता एउटा अमूर्त  तत्त्व हो। मानिस त्यसलाई आफ्नो अस्तित्वकोे पूर्णताहेतु अपनाउन चाहन्छ, उपयोग गर्न चाहन्छ तर उसलाई संस्काररूपी सिक्रीमा बाँधिएर बाँच्नुपरेको छ। प्राकृतिक रूपमा अपरिवर्तनीय संस्कारद्वारा मात्र नभएर स्वयंद्वारा ग्रहण गरिएका, स्विकारिएका स्वतन्त्रताविरोधी संस्कारद्वारा पनि मानिस बाँधिएको छ।

यी अनुल्लङ्घनीय नियतिका बन्धन अनि स्वयंद्वारा वा परनिर्मित अन्य बन्धनबाट मुक्ति पाउन निम्ति विभिन्न धार्मिक विश्वास र तिनका कट्टरतामा विश्वास राख्ने मानिस अरूलाई आह्वान गर्दै आएका छन् भन्ने बिपीको आसय रहेको बुझ्न सकिन्छ, ‘अलिकति एउटा सानो क्षेत्रमा मात्र हामीलाई स्वतन्त्रता छ। त्यसलाई धर्मका मान्छेहरू के भन्दछन् भने त्यस स्वतन्त्रतामा तिमीले अब प्रयत्न के गर भने तिम्रो नियतिले झन्झन् तिमीलाई बाँधेर नजाओस्, तिमी त्यसबाट मुक्त हुनका निम्ति प्रयत्न गर।’

धार्मिक दृष्टिले मुक्ति पाउन गरिँदै आएका व्यवहार भनेका पारलौकिक विश्वासका कुरा हुन्। धर्म गुरुहरू सांसरिक वा इहलौकिक अवस्थाबाट पुनर्जन्म हुनुनपर्ने गरी मुक्ति पाउन सो अनुसारका कार्य गर्न आह्वान गर्छन् भन्ने बिपीको आसय रहेको बुझिन्छ। नियतिद्वारा बन्धित अवस्थाबाट मुक्ति खोज्ने प्रयत्न धार्मिक रूपले भइरहेको भए पनि त्यस्तो मुक्ति वा स्वतन्त्रता वास्तविक स्वतन्त्रता होइन। 

मानिसले आफ्नो जीवन र अस्तित्वका लागि आफ्नो क्षमताको पूर्ण उपयोग गर्न सक्ने अवस्थालाई स्वतन्त्रताको प्रत्याभूतिको अवस्था मान्छन् बिपी। उनी नियतिमा मात्र आफूलाई खुम्च्याएर राख्ने हो भने मानिस आफ्नै सामथ्र्यबाट पनि अनभिज्ञ रहनसक्छ भन्दै भाग्यवादी भएर मात्र नबाँच्न सुझाव दिन्छन्। नियतिमाथिको विश्वास धार्मिक विश्वासकै जगमा निर्माण भएको हो भन्ने उनको आसय देखिन्छ। बिपीको नियतिको तात्पर्य भने मूलतः मानव अस्तित्वका अपरिवर्तनीय अवस्थासँग सम्बन्धित छ।

बिपी समाजवादी राजनेता एवं विचारक पनि हुन्। उनले मानवको विकास इतिहासको देन मात्र होइन भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन्। मानिसको नियति इतिहासद्वारा निर्माण भएअनुसार सामाजिक वा आर्थिक वर्गसापेक्ष मात्र रहन्छ भन्ने माक्र्सको विचारसँग बिपी सहमत देखिँदैनन्। मानिस सामाजिक रूपमा चेतनशील प्राणी भएको हुँदा उसले आफ्नो स्वतन्त्र अस्तित्वका लागि इतिहासपूर्वदेखि नै निर्णायक भूमिका खेल्दै आएको हो भन्ने बिपीको धारणा पाइन्छ। 

उनी इतिहासकै क्रमअनुसार मात्र मानिस अघि बढ्दै जाने हो भने समाज एवं सभ्यताको विकासका लागि उसले गर्ने प्रयत्न नै निरर्थक रहने ठान्छन्, ‘ऐतिहासिक नियतिमा विश्वास गर्ने हो भने अर्थात् सबै कुरो इतिहासले निर्धारण गरे बमोजिम नै हुने हो भने हाम्रा सारा प्रयत्न एउटा निरर्थक अभ्यास मात्र हुन जान्छन्। यो एउटा बडो चाखलाग्दो कुरो छ। माक्र्सको दर्शन अनुसार मानिसको मन स्वतन्त्र छैन, पूर्वनिर्धारित छ। अर्थात् मानिस जुन सामाजिक वर्गको सदस्य हुन जान्छ, त्यसै बमोजिम उसको मनस्थिति निर्धारित हुन्छ भन्ने उनको राय छ। 

यो विडम्बना हो कि माक्र्स उस बेलाका सबैभन्दा ठूला पर्चाबाज थिए। यदि मानिसको मन स्वतन्त्र हुँदैन, अथवा बदलिन सक्दैन, या भनाैँ पूर्वनिर्धारित हुन्छ भने, उनले कसको मन बदल्नलाई पर्चा लेखेका थिए त ?’ (पानस साप्ताहिक)। माक्र्सको दृष्टिकोणमा मानिसको मन स्वतन्त्र छैन। उसको मनस्थिति वा चेतना ऊ सम्मिलित रहेको सामाजिक वर्गद्वारा मात्र निर्धारित हुन्छ भन्ने माक्र्सको विचारको आलोचना गर्दै बिपीले उनलाई पर्चाबाजको संज्ञा दिएका हुन्।

मार्क्सको व्याख्या अनुसार इतिहासको गति एकरेखीय हुन्छ, अर्थात् इतिहासको नियम एउटा मात्र रहन्छ। मानिसलाई आर्थिक प्राणीका रूपमा व्याख्या गरेर माक्र्सले उसलाई असीमित सम्भावनाहरूबाट अलग गराउने विचार दिएकामा त्यसप्रति बिपीको विमति छ। व्यक्तिको सम्भावनाको वा सामथ्र्यको परिणति भोकतृप्तिको उद्देश्यबाट मात्र प्रेरित हुने हो भने त्यसबाहेक मानव जगत्ले यस बेलासम्म गर्दै आएका उन्नति र उपलब्धिको उपादेयता केही रहँदैन। 

यस्तो बुझाइ अनुसार त मानिसलाई एउटा निरीह र नियतिद्वारा ठगिएको प्राणीको रूपमा मात्र लिन सकिन्छ। त्यसो होइन, सत्यका रूप अनेक छन्।आर्थिक आवश्यकता त मानव चैतन्यको सीमाहीन क्षितिजको एउटा सानो आयाम मात्र हो। अर्थ प्राप्तिको उद्देश्यका अतिरिक्त उसले जीवनबाट अन्य धेरै सम्भावनाको द्वार खोल्नु छ। त्यसैले मानिसलाई नियतिद्वारा ठगिएको सामथ्र्यहीन प्राणीका रूपमा मात्र बुझ्नु हुँदैन। मानिसलाई एउटै मात्र आयामबाट बुझ्नु नै माक्र्सको त्रुटि रह्यो। मानिसलाई बुझ्ने तर्फको बिपीको दृष्टिकोण फराकिलो र बहुआयामिक देखिन्छ। स्वतन्त्रताप्रतिको असीम चाहनाले मानिसलाई बेचैन गराइरहेको छ। स्वतन्त्राको कुनै सीमा रहँदैन। त्यस निम्ति एकपछि अर्को खालको संघर्ष उसले गरिरहनुपर्छ। मान्छे अनेक सम्भावनालाई चुम्न चाहन्छ। त्यस क्रममा अनेक बन्धनबाट आफूलाई मुक्त गर्दै उसले हिँड्नुपर्छ। मानिस नियतिद्वारा बाँधिएको अवस्थामा रहिरहन चाहँदैन। त्यसकै कारण त संसारमा अनेक क्रान्ति भए, ज्ञान विज्ञानका क्षेत्रमा असीमित प्रगति हुँदै आयो।

 तसर्थ मानिसको भाग्य वा नियति, कुण्ठित भएर बसिरहनुमा छैन। उसको चेतनाले स्वयं भाग्यको निर्माण गर्दै हिँडेको छ। आजको संसार त्यसकै परिणाम हो भन्ने बिपीको सघन चिन्तन रहेको छ। समाजवादी चिन्तनको गहिराइबाट बिपीले मानिसका सम्भावनाको विस्तृत धरातललाई देख्ने प्रयत्न गरेका छन्, माक्र्सको झैँ एकपक्षीय रूपमा आर्थिक आयामको साँघुरो आँखीझ्यालबाट होइन।

केही समालोचकले बिपीद्वारा लिखित उपन्यास तथा कथाका पात्रपात्राद्वारा अभिव्यक्त संवादका आधारमा उनको नियतिप्रतिको दृष्टिकोणलाई बुझ्न सकिने बताएका छन्। उनको नियति चिन्तनको मूल ध्येय मानव जीवनको गहिराइलाई नियाल्दै सचेत कर्मप्रति अखण्डित रूपमा लागिरहनु हो भन्ने विश्लेषण समालोचक डा. ज्ञानु पाण्डेको रहेको देखिन्छ, ‘उनी मूलतः जीवनवादी चिन्तनका पक्षधर हुन्। उनको चिन्तनका विभिन्न पक्षमध्ये नियति चिन्तन पनि एक प्रमुख हो र यसमा पनि उनको उही जीवनवादी सोच नै उद्भाषित भएको पाइन्छ। 

उनको नियति चिन्तनको मुख्य आसय भनेको जीवनको गहिराइ नियाल्नु हो र त्यसमा देखिएका यावत् विसङ्गति असङ्गतिलाई नियतिका रूपमा पहिचान गरी मनलाई हलुङ्ग्याउन कोसिस गर्नु हो, ताकि सचेत कर्महरूप्रति अनवरत रूपमा जुटिरहनुपर्ने जीवनको मूल दायित्व पूरा गर्न मनले सधैँ साथ दिइरहन सकोस्, त्यो कहीँ नथाकोस्, कहीँ नसुस्ताओस्’ (मधुपर्क)।

नियतिका सम्बन्धमा बिपीद्वारा व्यक्त केही भनाइका आधारमा के बुझ्न सकिन्छ भने नियति भन्ने कुरा जन्मनुपूर्व नै निर्धारित भएर आएको त्यस्तो सत्य हो, जसलाई मानिसले आफ्नो बुद्धि वा इच्छा अनुसार बदल्न सक्दैन। धर्म वा ईश्वरसँग प्रार्थना गरेर भाग्य परिवर्तन हुँदैन। सफलता, असफलता भन्ने कुरा मानिसको आत्मबलमा निर्भर रहन्छ। 

पूर्वनिश्चित, अपरिवर्तनीय अवस्था वा संस्कारद्वारा बाँधिएको मानिसका लागि स्वतन्त्रताको क्षेत्र ज्यादै सीमित छ। आर्थिक अवस्थाको आधारमा मात्र मानिसको परिभाषा गर्नु र त्यसकै आधारमा मात्र उसको नियतिको मूल्याङ्कन गर्नुले सभ्यताको विकासका लागि इतिहासदेखि नै मानिसले गर्दै आएका यावत् कार्य र उपलब्धिको उपेक्षा हुन जान्छ। 

मानिसमा उसका केही अपरिवर्तनीय वास्तविकतालाई स्विकार्नुको विकल्प पनि छैन। साथै मानिसको भाग्य उसले गरेका कार्यद्वारा निर्धारित हुने धारणा बिपीको रहेको छ। विगतमा सम्पादित सुकर्मकै प्रतिफललाई भाग्यका रूपमा बुझ्न सकिने बिपीको विचार पाइन्छ। यी सबै दृष्टिकोणका आधारमा बिपीलाई भाग्यवादी नभएर भाग्यको आधार नै कर्मशीलता हो भन्ने कर्मवादी, जीवनवादी एवं आशावादी चिन्तक हुन् भनेर बुझ्न सकिन्छ।

प्रकाशित: १९ भाद्र २०७८ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App