ई स्पोर्ट्स संघ नेपाल (इसान) को आयोजनामा इसान एसियन पब्जी च्याम्पियनसिप आगामी वैशाखको तेस्रो साता हुने भएको छ ।
कुल १३ राष्ट्रका टोलीले प्रतिस्पर्धा गर्ने इसान एसियन पब्जी च्याम्पियनसिपमा आगामी वैशाख २६ देखि २८ गतेसम्म हुन लागेको हो । आइतबार पत्रकार सम्मेलनमार्फ ई स्पोर्ट्स संघ नेपालका अध्यक्ष अञ्जन धमलाले संघको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता हुन लागेको बताए ।
उक्त प्रतियोगितामा नेपालका तीन टोली डिआरएस, होरा ई स्पोर्ट्स र नेपेक्स ई स्पोर्ट्सले खेल्ने भएका छन् । मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बाङ्लादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलंका र माल्दिभ्सका टोलीले भर्चुअलको माध्यमबाट प्रतिस्पर्धा गर्ने भएका छन् । बिग ब्राकेट्स ई स्पोटर््सले च्याम्पियनसिपमा टेक्निकल व्यवस्थापन गर्ने इसानले जनाएको छ ।
आयोजकले यस प्रतियोगिता आयोजना गर्न ३२ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ । प्रतियोगिताका शीर्ष ६ टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । संघका अध्यक्ष धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए ।
‘ई स्पोर्ट्सको पब्जी मोबाइल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेका छौं,’ धमलाले पत्रकार सम्मेलनमा भने, ‘भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकताबद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास छ ।’
संघका वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसीले प्रतियोगितामा नेपालसहित एसियाका १३ देश सहभागी हुने बताए । सचिव आशिष दाहालले एसियाली देशलाई प्रतियोगिताका लागि निमन्त्रणा गरेर सहभागीता निश्चित गरिएको उल्लेख गरे । इसानको इभेन्ट कमिटीका संयोजक समेत रहेका दाहालले एसियाली च्याम्पियनसिपको तयारी तीव्र रूपमा अघि बढेको बताउँदै प्रतियोगितालाई भव्य बनाउन संघ लागिपरेको बताए ।
पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष कल्पदीप राई, सचिव बालकृष्ण केसी, सदस्य घनश्याम ढुङ्गेल, सिजन भट्टराईलगायतको उपस्थिति थियो ।
प्रकाशित: ७ वैशाख २०८२ २१:३६ आइतबार





