१५ असार २०८१ शनिबार
image/svg+xml
कला

विक्रम संवत्का प्रवर्धक चन्द्रगुप्त विक्रमादित्य साँखुमा

लेखकको संग्रहमारहेको चन्द्रगुप्त द्वितीयको सुनको सिक्का।

नेपाललगायत सम्पूर्ण भारतमा विक्रम संवत्को प्रवर्धक (प्रवर्तक होइन)चक्रवर्ती सम्राट् चन्द्रगुप्त विक्रमादित्यको किशोरावस्था नेपालमा शक्ति सञ्चय गर्नमा लागेको थियो भन्ने पत्याउन गाह्रो हुन्छ। उनी को थिए र किन नेपालमण्डलमा आएका थिए भन्ने तथ्य प्रकाशमा ल्याउन सके इतिहास लेखनको एउटा महत्त्वपूर्ण पाटोमा प्रकाश पार्न सकिनेछ। यसबारे बुझ्न तत्कालीन राजनीतिक सांस्कृतिक पृष्ठभूमिको संक्षिप्त अध्ययन  उपयोगी हुनेछ।

आजभन्दा करिब तीन हजार वर्षअघि भएको महाभारत युद्धपछि कमजोर बन्दै गएको भारतीय उपमहाद्वीपमा ठूला र सुसंगठित आर्य राजवंश पनि विभाजित र कमजोर भएका थिए। यवनराज सिकन्दरको आक्रमणबाट पाठ सिकेका चन्द्रगुप्त मौर्य र उनका गुरु चाणक्यद्वारा इ.पू. ३२२ देखि एकीकृत गरी खडा गरेको साम्राज्य पनि अशोक महान्को मृत्युपश्चात् कमजोर भई ढलिसकेको थियो। यवन (ग्रिक), शक र युसी (कुशाण) का आक्रमणले देश थिलथिलो भइरहेको थियो। 

कुशाण साम्राज्यको पतन (सन् २३८) भएपछि परम दुरावस्था आई अनेक सामन्त राजाले आ–आफ्ना कैयौँ राज्य खडा गरिसकेका थिए। यस्तो अवस्थामा दक्षिण भारतको सातवाहन राज्यको पनि पतन भएपछि राजनीतिक विशृंखलताले गर्दा भारतीय उपमहाद्वीपमा केन्द्रीय शासन र प्रशासनिक सुव्यवस्था हराइसकेका थिए भने हुन्छ। बौद्ध र जैन धर्मको विस्तार तथा विदेशी आक्रमणकारीको प्रभावले वैदिक पौराणिक आर्य धर्म र संस्कृति नै अत्यन्त ठूलो जोखिममा परेको थियो।

यस्तो अवस्थामा (वैश्यबाट उकासिएका) क्षत्रीय कुलका एक वीर पुरुष श्रीगुप्तले मगधको पूर्वी भागमा एक राज्य खडा गरेका थिए। यिनको राज्यपछि छोरा घटोत्कच राजा भए। त्यसपछि चन्द्रगुप्त (प्रथम) राजगद्दीमा बसे। यिनले आफ्नोे राज्य र शक्ति बढाई महाराजाधिराजको पदवी लिएका थिए। मगधको उत्तरमा त्यस बेला शक्तिशाली लिच्छवि पुनः सत्तामा आई राजतन्त्रात्मक शासन चलाइरहेका थिए। यिनीहरूकै एउटा हाँगाले किरातलाई हराई नेपालमा पनि राज गरिरहेका थिए। आफ्नो राज्य विस्तारमा सहयोगी हुने देखी चन्द्रगुप्त (प्रथम)ले कुमारदेवी नामकी लिच्छवि राजकन्यासँग विवाह गरेका थिए। 

डिल्लीरमण रेग्मी र डा. श्रीराम गोयल आदिले कुमारदेवीलाई नेपाली लिच्छवि राजकन्या मानेका छन्, (गोयल, डा. श्रीराम, सन् १९७३, प्राचीन नेपालका राजनीतिक और सांस्कृतिक इतिहास, वाराणसी: भारतीय विद्या प्रकाशन।) यिनका छोरा प्रख्यात चक्रवर्ती गुप्त सम्राट् समुद्रगुप्त (राज्यकाल सन् ३२८–३७५) ले दिग्विजय गरी नेपाललाई समेत ‘सीमावर्ती’ मित्रराज्य बनाई उपहार सौगात लिने गरी (गुप्त साम्राज्यको गरुडमुद्रा अंकित गरी निष्काशन हुने) आज्ञाको पालना गराउने गरेका थिए। नेपालको लिच्छवि राज्य व्यवस्थामा गुप्तराज्य सञ्चालन व्यस्थाको प्रत्यक्ष प्रभाव त्यहाँदेखि पर्न थालेको हो। 

नेपालमा गुप्त भाषा लिपि चलेको तथा गुप्त साम्राज्य कालका स्वर्ण मुद्रालगायत अन्य धेरै मुद्रा पाइनाले पनि यस तथ्यको पुष्टि हुन्छ। यिनले सम्पूर्णजस्तो उत्तरी भारतमा आफ्नोे प्रत्यक्ष र सबल शासन खडा गरी सीमान्त राजा र दक्षिण भारतका अनेक राजालाई करद् बनाएका थिए। चन्द्रगुप्त द्वितीय विक्रमादित्य भारतका नेपोलियन भनिने विजयी सम्राट् समुद्रगुप्तका छोरा थिए। यिनको राज्यकाल सन् ३७८–४१५ भएको प्रमाणित छ।  

चन्द्रगुप्त विक्रमादित्य (विक्रमसेन)को नेपाल प्रवास

भारतीय इतिहासमा चन्द्रगुप्त (द्वितीय)को किशोरावस्थाको तल प्रस्तुत वर्णनबाहेक अन्य खासै वर्णन पाइन्न। जेठा छोरा रामगुप्तको अयोग्यता देखी तथा अर्का छोरा चन्द्रगुप्त (द्वितीय)को साहस र राजकाज चलाउन चाहिने गुणहरू देखी समुद्रगुप्तले उनलाई नै उत्तराधिकारी तोकेका थिए। तर परम विजेता समुद्रगुप्त भावुक, कविहृदय र संगीतकार पनि भएकाले होला, दोधारमा परेर उनले राज्यको भारदारी सभाबाट आफ्नोे यस निर्णयको समर्थन लिन सकेका थिएनन्। यसै कारणले रामगुप्त, उनका समर्थक भारदार र केही सेनापतिबाट किशोरावस्थाको चन्द्रगुप्तलाई ज्यानकै खतरा रहेको थियो, (कुमार एवं कुमार, डा. अखिलेश्वर एवं डा. रामनन्दन, सन् १९९३, प्राचीन भारतका राजनीतिक एवं सांस्कृतिक इतिहास)। 

सम्भवतः किशोर चन्द्रगुप्तलाई दक्षिणी भारतका करद राज्यहरूमा दृष्टि  पुर्‍याउन  र राजकाजको अनुभव प्राप्त गर्न तत्कालीन भारतको सामाजिक, धार्मिक र बौद्धिक केन्द्र उज्जैनमा राखिएको थियो। शैवशाक्त मतको केन्द्र भएको र महांकालको प्रसिद्ध मन्दिर उज्जैनमा रहेकाले बालक चन्द्रगुप्तको तन्त्रमन्त्रप्रतिको रुझान त्यहीँ बस्दाखेरि नै बढेको हुन सक्छ। बेताल पशविशती तथा कथा खरित्सागर ग्रन्थका आधारमा चन्द्रगुप्त (द्वितीय)लाई बेतालतन्त्र साधक भनिएको छ, (कुमार एवं कुमार, सन् १९९३ : १५४)।

ज्यानैको खतरा बढेपछि चन्द्रगुप्त (द्वितीय)को छद्मनाम विक्रमसेन राखी किशोरावस्थामै उनलाई (सम्भवतः सन् ३६३ मा) समुद्रगुप्तकै इच्छाअनुसार आफ्नोे मावली पर्ने नेपालका तत्कालीन लिच्छवि राजा (भाषा वंशालीमा धर्मागत देव भनिएका) धर्मदेवको संरक्षकत्वमा राख्न नेपाल मण्डलको विशालनगरमा पठाइएको थियो। सम्राट् समुद्रगुप्तको छत्रछायामा रहेका नेपाली राजाले गुप्तसम्राट्को इसाराबेगर चन्द्रगुप्तलाई शरण दिन असम्भव नै देखिन्छ। 

यहाँ बस्दा चन्द्रगुप्त (द्वितीय)ले वज्रयोगिनीको तन्त्र साधना गरी आत्मबल र दृढ निश्चयको वृद्धि गरी सुनचाँदी मणिमाणिक्य तथा खरखजाना जम्मा गरी राखेको मान्नुपर्छ। यहाँ १२ वर्ष गुप्तसाम्राज्यको राजप्रतिनिधि अथवा सामन्त राजा भई बसेपछि आफ्ना बाबु समुद्रगुप्तको मृत्यु हुने समय (सन् ३७५ तिर) यिनी नेपालबाट स्वदेश (मगध)मा फर्केका थिए।  

स्वदेश प्रस्थान र राजभोग  

समुद्रगुप्तपछि गुप्त साम्राज्यको महाराजाधिराजका रूपमा रामगुप्त (लगभग ३७५–३७८ इ.पू.) को छोटो अवधिका लागि रहेको प्रमाणित छ। रामगुप्तको राज्यारोहण हुनासाथ सामन्त शक राजाहरूको विद्रोह र रामगुप्तको कमजोरी तथा कुशासनले गुप्त साम्राज्य संकटमा पर्न लागिसकेको थियो। यस्तो गडबडीको अवस्थामा कुमाउँतिरका एक शक (खस) राजाले सेनासहित रामगुप्तलाई कुनै पहाडी दुर्गमा घेराबन्दीमा पारेका थिए। 

रामगुप्तको सन्धियाचनाको उत्तरमा अन्य सर्तका साथै रामगुप्तकी पटरानी ध्रुवदेवीलाई मागेकामा ज्यान बचाउन कायर र नपुंशक रामगुप्त सहमत भएका थिए। यस्तो सर्त मान्न नसकी गुप्त साम्राज्य र परिवारको इज्जत बचाउन, चन्द्रगुप्त ध्रुवदेवीको भेषमा खसराजकै शिविरमा घुसेर खस राजालाई मारेर फर्केको ऐतिहासिक वर्णन पाइन्छ। यस घटनापछि अति उच्च जनसहयोग र सम्मान पाएका चन्द्रगुप्त (द्वितीय) गद्दीमा बसेका थिए।  

यिनले बाबु समुद्रगुप्तले जोडेको गुप्त साम्राज्यलाई विस्तारित गरी सबल र सम्पन्न बनाएका थिए। शकहरूमाथि विजय गर्दै आफ्नोे राज्य मध्य एसियाको वक्षुनद्तटसम्म फैलाएपछि अश्वमेघ यज्ञ गरी आफूलाई विक्रमादित्य घोषित गरी विक्रम संवत् (इ.पू. ५७ मा मालवा नरेश शकारी शतकर्णी ‘द्वितीय’ले चलाएको तर त्यति प्रचलित भइनसकेको)लाई भारतभर र नेपालमा पनि यिनैले फैलाएका थिए। यिनले दोस्रो राजधानी उज्जैनलाई बनाई धन्वन्तरी, कालिदास, वराहमिहिर र अमरसिंह आदि नवरत्नहरूको सल्लाहमा राज्य सञ्चालन गरी भारतमा स्वर्णयुग ल्याएको प्रायः सबै इतिहासकारको अभिमत छ।

भाषा वंशावलीहरूमा वर्णित विक्रमसेन यस्ता परमप्रतापी चक्रवर्ती सम्राट् चन्द्रगुप्त (द्वितीय) विक्रमादित्यले दृढ इच्छाशक्ति र शक्ति सञ्चयको प्रारम्भ देवी वज्रयोगिनीको साधना गर्दै काठमाडौं उपत्यकाको साँखुमा बसेर गरेका थिए भन्ने तथ्यमा विश्वास गर्नै गाह्रो हुन्छ। तर, पुरातात्त्विक  प्रमाणबाट यस तथ्यको पुष्टि हुन सक्छ। नेवारी मिश्रित संस्कृतमा लिखित गोपाल राजवंशावलीभन्दा पनि पहिले लेखिएको हुन सक्ने हाल अप्राप्य कुनै वंशावलीबाट नेपाली भाषामा काँटछाँट गरी उतारिएको (भाषा वंशावली भनिने) राजभोगमाला, डेनियल राइट सम्पादित वंशावलीलगायत नेपालका अन्य वंशावलीमा मात्र चन्द्रगुप्त विक्रमादित्यको युवावस्थाको र शक्ति सञ्चयको वर्णन पाइन्छ। पृथ्वीनारायण शाहको समयतिर थपघट गरी उतारिएको हाल भाषा वंशावली भनिने उपरोक्त राजभोगमालामा भने यसबारे धेरै ऐतिहासिक   महत्त्वका सूचना लुकेका विस्तृत वर्णन पाइन्छन्, (भाषा वंशावली भाग १, सं. २०२०: ५६–७६)। 

इतिहासकार स्व. बालचन्द्र शर्मा, डा. जगदीशचन्द्र रेग्मी र ज्ञानमणि नेपाल आदि पुराणहरू र वंशावलीमा लुकेर बसेका सूचनालाई इतिहास लेखनका महत्त्वपूर्ण  स्रोत मान्नुपर्दछ भन्नेमा छन्। सन् १९२२ मा अक्सफोर्डका प्राध्यापक पार्जिटरले धेरै वर्ष वेद पुराणको अध्ययन गरी समसामयिकताको निरूपण गरे। उनले राजवंश र ऋषिवंशको क्रम र कालनिर्धारण गरेपछि भारतका इतिहासकार पनि पुराणको  महत्त्व  स्विकार्ने भएका छन्। अतः भाषा वंशावलीमा भएका अतिशयोक्तिपूर्ण र अलौकिक–अतिरञ्जित भाग हटाई सांकेतिक वर्णनको अर्थ बुझी अध्ययन गरेमा प्राप्त हुने यस्ता पौराणिक प्रकारका वर्णन अत्यन्त उपयोगी हुने र  पुरातात्त्विक महत्त्वका हुन सक्नेछन्।

पूर्वाेक्त राजभोगमाला (भाषा वंशावली, भाग) का अनुसार सार संक्षेपमा भन्दा विशालनगरको राज्यमा धर्मागतदेव नाम गरेका राजा श्री वज्रयोगिनीका परम भक्त थिए। उग्रतारादेवीले ‘तेरा प्रथम कर्मद्वार नेपालनाम भूमि हो, त्यहाँ जाउ’ भन्ने स्वप्न दिएपछि १२ वर्षका विक्रमसेन, संरक्षक बुद्धिसेन, माननाथ शर्मा र सेवक रक्षक बैकुण्ठका साथ उज्जैनबाट विशालनगर आई राजाका सेवामा लागे। राजा खुसी भई वीरपुरुष  ठहर्‍याई आफ्ना प्रिय नगिची गरी लिच्छवि राजा धर्मागतले विक्रमसेनलाई साथै राख्ने लैजाने गरे। पृष्ठ ६१ देखि ६२ को वर्णनअनुसार राजा धर्मागतले सधैँ आधा रातमा वज्रयोगिनी गई त्यहाँ रहेको कराहीमा तेल उमाली आफ्नो शरीरमा मरमसाला लगाई तारेर योगिनी गणलाई प्रशन्न पारी नित्य धन प्राप्त गरी प्रजालाई बाँड्ने गरेका थिए। यो सुइँको पाई विक्रमसेन साँखुमा गए। 

राजा धर्मागत पुग्नुभन्दा पहिले नै पुगी उनले उक्त कराहीमा तैलपाक गरी आफ्नोे शरीरको मांस योगिनीलाई चढाई प्रशन्न पारे। उनले पारसमणिका साथै आफ्नो मनवाञ्चित धर्म, अर्थ, काम, मोक्षको चारै पदार्थ पाउने वरदान पाएका थिए। त्यसै रात केही बेरपछि राजा धर्मागत वज्रयोगिनीमा तैलपाक चढाउन आउँदा तान्त्रिक विधिले कार्य सम्पन्न भएको देखाउने कराहीलाई घोप्टो पारी राखेको देखे । त्यसपछि उनले देवीसँग पुकार गर्दा देवीले भनिन्, ‘तिम्रै सेवक विक्रमसेन आई पारसमणि र वरदान लिई गयो।’ त्यसपछि धर्मागतले देवीको इच्छाअनुसार दरबारमा फर्की विक्रमसेनलाई ‘राज प्रतिपालित पुत्र’ भनी राज्याभिषेक गरिदिए।

त्यस्तै, पृष्ठ ६४ देखि ७० मा उल्लेख छ– कलिगत वर्ष २९६० मा ...हिन्दुस्तानमा साम्राज्य चक्रवर्ती राजा हुनपर्ने हुनाले विक्रमसेन (राजाघरानाकै) ...विश्वदेवलाई राज्याभिषेक दिई, पारसमणि लिई उज्जैन विषे जाँदा भया। वंहा भतृहरी नामका विक्रमसेनका दाजु राजा थिया...।

उनी वैरागी भई गएपछि त्यहाँको राज्य विक्रमसेनले पाएको वर्णनमा, चन्द्रगुप्त विक्रमादित्यले दाजु रामगुप्तलाई हराई मारेपछि भाउजु ध्रुवदेवीलाई आफ्नी पटरानी बनाएको ऐतिहासिक तथ्यलाई बङ्ग्याएर लुकाउन खोजेको देखिन्छ। यस वर्णनपछि यस भाषा वंशावलीमा विक्रमसेनलाई विक्रमादित्य लेख्न थालिएको छ र उनको राज्य सञ्चालनमा परामर्श दिने धन्वन्तरी, कालिदास लगायत नवरत्न (बडाजान्या पण्डितहरू नौजना सधैँ रहन्थ्या) भनिएको छ। 

यसै भाषावंशावली खण्ड १ को पृ. ७३ मा विक्रमसेनका संरक्षक सल्लाहकार बुद्धिसेन आदिको सहयोगमा यिनै चक्रवर्ती महाराजले देवी वज्रयोगिनीबाट प्राप्त पारसमणिका प्रभावले राज गरेको र धन प्राप्त गरी हिन्दुस्तानमा विक्रम नाम सम्वत्सर फिरायाका हुन् भन्ने लेखिएको वर्णन पनि  महत्त्वपूर्ण छ। त्यसपछिका वर्णनमा विक्रमादित्यलाई बत्तीसपुतलीयुक्त सिंहासन र बेताल पच्चिसीका अलौकिक लोककथा किंवदन्ती आदिसँग जोडिएको छ।

यस वंशावलीकै पृ. ५६ र ७५ मा लिच्छवि राजा धर्मागत देवलाई राजा वृषदेवका नाति र राजा शंकरदेवका छोरा तथा विश्वदेवका धर्मपिता तथा मानदेव (प्रथम) का पूर्वज भनी उल्लेख भएकाले यस भाषावंशावलीमा वर्णित राजा धर्मागत देव नै धर्मदेव भएकामा शंका रहन्न। मानदेव (प्रथम)को प्रमाणित राज्यकाल सन् ४६४–५०५ रहेकाले मानदेवभन्दा पहिलेका र धर्मदेवभन्दा पछिका राजा विश्वदेवको भोग वर्ष ४८ मानी हेर्दा धेरै वर्ष बाँचेका (राज्यभोग वर्ष ५१ मानिएका) धर्मदेवको राज्यकाल सन् ३६५–४१६ को हुने देखिन्छ। 

दुवै सम्राट् समुद्रगुप्त र चन्द्रगुप्त (द्वितीय) विक्रमादित्यको राज्यकाल सन् ३२८ देखि ४१५ सम्मको बीचमा रहेकाले पनि विक्रमसेन छद्म नामले चन्द्रगुप्त (द्वितीय) विक्रमादित्य नेपालमण्डलमा आई साँखुकी वज्रयोगिनीको तन्त्रसाधना गरी मानसिक र भौतिक शक्ति सञ्चय गरेको वर्णन इतिहाससम्मत नै हुने देखिन्छ । वज्रयोगिनी मन्दिर परिसरमा हालसम्म घोप्टो पारी राखिएको कराही र मानदेवका पिताको शिर मानिने टाउकोको मात्र मूर्ति लगायत अन्य पुरातात्त्विक  प्रमाणको पनि खोज, अध्ययन र अनुसन्धान भएमा भारतका साथै नेपालको प्राचीन लिच्छवि इतिहास र संस्कृतिबारे जान्न ठूलो मद्दत मिल्नेछ।

(शिवराज श्रेष्ठ मल्ल स्वतन्त्र अन्वेषक र मिथिलाका कर्नाटवंशीहरू तथा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘मानव यात्रा  सृष्टिदेखि आर्यहरूको प्रथमा संस्कृतिसम्म’ आदि पुस्तकका लेखक हुन्।)

प्रकाशित: २३ श्रावण २०७८ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App