८ पुस २०८१ सोमबार
image/svg+xml
कला

नेपाली महिला कलाकार

नेपाली महिला कलाकारबारे हामीसँग लघु ऐतिहासिक आलेख मात्रै छन्। २०२२ सालमा राष्ट्रियस्तरमै तत्कालीन युवराज वीरेन्द्र शाहको पहलमा नेपाल ललितकला (नाफा) संस्थाको स्थापना भयो। गर्भमै रहेका धेरै कला सार्वजनिक हुँदा यसै वेलादेखि कला र कलाकारका बारेमा केही मात्रामा अभिलेखन हुन थाल्यो। राष्ट्रिय कला प्रदर्शनी शुभारम्भ गरेर अगाडि बढे पनि यो संस्था (नाफा)ले अभिलेखन वा दस्ताबेजीकरण पाटोलाई शुभारम्भ गरेन। यसो हुँदा आज त्यस वेलाका महिला कलाकारको अवस्था थाहा पाउन सकिन्न। त्यति वेला कला अनुसन्धान तथा अभिलेखनलाई तीव्रताका साथ अगाडि बढाइएको भए महिला कलाकारका नाम र काम देखिन सक्थ्यो। तैपनि अन्य धेरै स्रोतका आधारमा आज महिला कलाकारको लेखाजोखा गर्दा केही तथ्य फेला पर्छन्।  

ललित कला संस्थाको स्थापनाका वेला कार्यकारिणी सदस्यमा दुई महिला कलाकार शिलु प्यारी र प्रमिला गिरी रहेको देखिन्छ। यसबखत ४३ कलाकार साधारण सदस्य रहेको यो संस्थामा आठजना मात्र कलाकार महिला समावेश छन्। ती कलाकार महिलामध्ये आज सक्रिय रहेकामा प्रमिला गिरी मात्र देखिन्छिन्। केही महिला कलाकार दिवंगत भए, केही विविध कारणवश सक्रिय हुन सकेनन्। आज ती अधिकांशका बारेमा सामान्य जानकारी पनि हामीसँग छैन। कलाविद् नारायणबहादुर सिंहले २०३३ सालमा लेखेको ‘समसामयिक चित्रकलाको इतिहास’मा समेत निकै कम कलाकार महिलाको उल्लेख छ। माथि उल्लेख गरिएका बाहेक विशेष रूपमा उल्लेख गरिएका कलाकारमा सुधारत्न खतिवडा, सुधा मानन्धर, विद्या श्रेष्ठ, बेटी बज्राचार्य छन्। यी कलाकारभन्दा अगाडि वि.सं. १८६६ मा जन्म भएका राजमान चित्रकारको चर्चा हुँदा त्यसवेलाका कुनै महिला कलाकारको नाम उल्लेख भएको देखिँदैन।  

नेपालमा हालसम्मको अभिलेख अनुसार उर्मिला उपाध्याय प्रथम महिला आधुनिक कलाकार र पहिलो महिला कलाकार हुन्। उनले सन् १९५९ मा गरेको एकल कला प्रदर्शनी नै महिला कलाकारको प्रथम एकल प्रदर्शनी हो। उनी आज ८२ वर्षको उमेरमा पनि सामाजिक कार्यमा सक्रिय भएर लागिपरेकी छन्।

नारायणबहादुर सिंहले २०२० सालदेखि गाोरखापत्रमा समसामियक कला र कलाकारका बारेमा अनुसन्धानात्मक आलेख लेख्न थाले। उनले त्यसवेलाका धेरै कलाकार र उनीहरूका कलाको चर्चा गरेका छन्। यसैको संकलनमा २०२७ सालमा ‘नेपाली कलाकार’ नामक पुस्तक निस्क्यो। यसमा पनि शिलु प्यारी र प्रमिला गिरीबाहेक अन्य कुनै कलाकार महिलाको नाम परेको छैन। कलाका बारे यसअघि लेखिएका सबैजसो पुस्तक र अनुसन्धानमूलक आलेख नेपालको माध्यमिक र प्राचीन कलामा केन्द्रित छन्। तिनमा कहीँ पनि कलाकारको उल्लेख गर्ने कोसिस गरिएको देखिँदैन। हाम्रो प्राचीन कला र त्यसकोे महत्ताबारे चर्चा भइरहँदा त्यस कला सिर्जना गर्ने कलाकार (महिला वा पुरुष) को थियो भन्नेबारे खोजखबर गर्न चासो राखेको देखिँदैन। यो पृष्ठभूमिमा समसामयिक कलामा चासो र गहिरो गरी लेखन प्रक्रिया आरम्भ गर्ने कलाविद्, कला समीक्षक वा कला अन्वेषक जे भने पनि नारायणबहादुर सिंह नै हुन्। उनी आज हामीबीच छैनन्। तथापि उनैले नेपाली समसामयिक कलाबारे यथेष्ट मात्रामा जानकारी मात्र दिएनन्, कला लेखन विधामा एक अलग्ग धारको विकास गरेको मान्नुपर्छ।  

हुन त सिंहले समसामयिक चित्रकलाको इतिहासमा खोजखबर गरेका हुन्। यसो हुँदा उनको लेखनमा परम्परागत कलाको सन्दर्भ आएका छैनन्। यही पृष्ठभूमिमा कलाकार महिलाको योगदान वा इतिहास चर्चा गर्नुपर्ने हुन्छ। तत्कालीन समाज र सामाजिक मूल्य–मान्यताले स्वाभाविक रूपमा महिला कलाकारलाई बाहिर आई कला सिर्जना गर्न र प्रदर्शन गर्न हतोत्साहित गरेकै हुन्थ्यो। अन्यथा यत्रो विघ्न पुरुष कलाकार प्रकाशमा आइरहेको अवस्थामा महिला कलाकार थिएनन् भनेर विश्वास गर्न सकिन्न। सामाजिक बन्धनले बाँधिदा घरभित्रै कला सिर्जना हुने अनुकूल वातावरण हुन सकेन। अथवा, लुकिछिपी सिर्जना गरिएका यस्ता कला प्रकाशमा आएन वा आउन दिइएन। भविष्यमा यसको खोज कार्य बाँकी छ। तथापि यसैवेला देखिएका माथि उल्लेख गरिएका कलाकारबाहेक ज्वाला शाह, भद्रा घले, हेमेन्द्र कुमारी राणा, भुवनेश्वरी तिवारी, शान्ता मानन्धर, सुष्मा शर्मा, शारदा लक्ष्मी चित्रकार, रमा मास्केलाई सुरुका महिला कलाकारको रूपमा हेर्नुपर्ने हुन्छ। यसैवेला देखापर्नेमा उर्मिला उपाध्याय पनि हुन्, तथापि उनी यो संस्थामा संलग्न त्यस वेलाको अभिलेखमा कहीँ देखिँदैन।

कलाको संठनात्मक विकासको कुरा गर्दा नाफाभन्दा अगाडि चन्द्रमानसिंह मास्केको अध्यक्षतामा २००९ सालमा गठित एउटा कला संस्था जन्मेको देखिन्छ। जसमा एकजना पनि महिला कलाकार रहेको देखिँदैन, पछि २०२७ सालतिर पहिलोपल्ट कलाकारको समूह बन्यो, स्किब। यसमा पनि एकजना महिला कलाकार रहेको पाइँदैन। यसपछि मात्र कलाकारका स–साना समूह बन्ने परम्पराको विकास भयो। धेरैपछि आएर यस्ता समूहमा महिला कलाकार समावेश भएको देखिएको छ।  

नेपाली कला, साहित्य, संगीत, नाटक आदिको विकास गर्न नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना भयो। लामो कालखण्डमा समेत एकजना पनि महिला कलाकार यस प्रतिष्ठानको सदस्य पदमा आसीन हुन पाएनन्। हुन त पुरुष कलाकार पनि लामो अवधिमा जम्मा ६ जना समावेश भएको इतिहास छ। जसमा लैनसिंह वाङदेल, अमर चित्रकार, उत्तम नेपाली, शशिविक्रम शाह, विजय थापा र ठाकुरप्रसाद मैनाली थिए। २०६२ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापना भयो। नौजना प्राज्ञ परिषद्मा र १५ जना सभासद् हुने व्यवस्था भयो। प्रज्ञा परिषद्मा बाध्यात्मक रूपमा दुई महिला कलाकार हुनैपर्ने प्रावधान राखियो। आज यो प्रज्ञा प्रतिष्ठानको तेस्रो कार्यकाल चलिरहेको छ। रागिनी उपाध्याय, शारदा चित्रकार, शुष्मा राजभण्डारी र मिथिलादेवी यादव मात्र प्राज्ञ परिषद्मा छन्। यी चारैजना महिला कलाकार पनि घरीघरी दोहोरिँदा अन्य महिला कलाकारको पहुँच हुन पाएको छैन। ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति र उपकुलपति जस्तो गरिमामय पदमा महिला कलाकार रागिनी उपाध्याय र शारदा चित्रकारले मौका पाएका छन्। महिला कलाकारका बारेमा कुनै पनि आधिकारिक अनुसन्धानमूलक ऐतिहासिक आलेख, महिला कलाकारकै बारेमा गोष्ठी र सेमिनार हुन भने सकेको छैन। यसैले यता पछिल्लोकालमा आएर समेत महिला कलाकारको भरपर्दो अभिलेख तयार हुन सकेको छैन।  

विश्वमा महिला कलाकार  

विश्व कला इतिहासको सन्दर्भमा ‘प्यालियोलिथिक एरा’देखि नै महिला कलाकारको उपस्थितिलाई संकेत गर्ने गरिन्छ। यस वेला कलाको उत्कृष्ट नमुनाका रूपमा रहेको ‘केभ पेन्टिङ’मा महिला कलाकार करिबन ७५ प्रतिशतसम्म संलग्न रहेको कलाविद्को दाबी छ। यस वेला मानव जीवन निर्वाह गर्न एक मात्र उपाय सिकार थियो, भाषा थिएन। जंगलमा रहेका जनावर आफूभन्दा बलिया थिए। एक्लैले सिकार गर्न सम्भव थिएन। यस्तो अवस्थामा मिलेर सिकार गर्न जाऔँ भन्ने सन्देशलाई प्रवाह गर्न सम्भवतः आफू बस्ने गुफामा चित्र कोर्ने परम्पराको विकास भयो। त्यस बखतकै चित्रबाट के ज्ञात हुन्छ भने बढी मात्रामा पुरुष नै सिकार गरिरहेको देखिन्छ। यसो हुँदा गुफाभित्रै बसिरहने महिला कुनै न कुनै कलामा बढी मात्रामा संलग्न हुन्थे होला भन्ने सजिलो आधार बन्छ। पछि ‘नियोलिथिक एरा’मा आएर टेक्सटाइल आर्ट, फाइबर आर्ट, सेरामिक्स आर्ट वा समग्रमा आर्ट एन्ड क्राफ्टमा महिला कलाकार अत्यधिक संलग्न भएको देखिन्छ। आज यो प्रचलन विश्वभर छ। पोटरी, बास्केट, गरगहना, वेशभूषा बनाउने क्रममा महिलाकै बढी मात्रामा संलग्नता देखिन्छ, विशेषतः संस्कृति र संस्कारका कार्यमा। विश्वमै धेरै कलाका काम कि धर्मसँग कि संस्कारसँग आबद्ध भएर देखापर्ने गरेको छ। यसबाहेक घरको व्यवस्थापन, आन्तरिक सजावट, शृंगार, दैनिक प्रयोग हुने सामग्री आदि निर्माणमा बढी मात्रामा महिला नै सक्रिय रहेको देखिन्छ। यसरी कला सिर्जनाको इतिहासमा महिला कलाकार सुरुवातदेखि जोडिएका छन्। तथापि यसको अभिलेख कार्य नेपालमा मात्र होइन, विश्वभरि नै कम देखिन्छ।  

पहिलो महिला कलाकार  

सामान्यतः विश्वमै आधुनिक कलाको जन्म भएपछि कलाकार प्रकाशमा आउने क्रम देखिन आएको छ। युरोप र अमेरिकामा बढी मात्रामा कलामाथि अनुसन्धान भएका छन्। कलाका अनेकौँ पक्ष खोज्ने क्रममा कलासँगै कलाकारबारे पनि थुप्रै जानकारी अभिलेखन भएका छन्। यसैले विश्व कला इतिहासमा युरोप र अमेरिका नै केन्द्रबिन्दुका रूपमा देखिन्छन्। यति हुँदाहुँदै पनि महिला कलाकारमाथिको अनुसन्धान र अभिलेख त्यति बलियो देखिँदैन। अहिलेसम्म प्राप्त जानकारी अनुसार इजिप्टकी हेलेनालाई प्रथम चित्रकारका रूपमा उल्लेख गर्ने प्रचलन छ। जसले आफ्नै बुवा कलाकार टिमोनसँग कला कोर्न सिकेको भनिन्छ। ग्रिक महिला हेलेनाले अलेक्जेन्डरको मृत्युपछि करिब ३२३ बिसीमा कलाको सिर्जना गरेको उल्लेख गरिन्छ। यसपछि विभिन्न सन्दर्भमा पछिल्लो कालमा आएर टिमारेट, यर्न, कालिप्सो, एरिस्टारेट, लाइआ आदि महिला कलाकारको उल्लेख गरिन्छ। विशेषतः ग्रन्थचित्रको विकास भएसँगै दशौँ शताब्दीका स्पेनिस नन गुडा, १२औँ शताब्दीका जर्मन नन क्लारिसिया आदि महिला कलाकारको उल्लेख छ। यसपछि रोममा जन्मेको आर्टेमिसिया भन्ने महिला चित्रकारले बनाएको सुसना एन्ड इल्डर्स सन् १६१० मा निर्माण भएको बताइन्छ। पछि यथार्थवाद र प्रभाववादको उदय भएपछि कलाको मूलधारमा पुरुष कलाकारको बाहुल्य रहे पनि धेरै महिला कलाकार देखापरेका छन्। यी सबैको यहाँ उल्लेख गरेर सम्भव छैन। तथापि सचेत महिला कलाकार देखिएको सन् ६० को उत्तरार्धमा हो। महिला कलाकारको भूमिका, हक र अधिकारका लागि सन् १९६० देखि ७० को दशकमा महिला कलाकार र इतिहासकारले ‘फेमिनिस्ट आर्ट मुभमेन्ट’ नै गरेको इतिहास छ। यसपछि नै जेन्डर आर्टको विश्वभर भरमार प्रयोग भयो। यो सन्दर्भमा नेपाल पनि अछूत रहेन।  

कलामा बढी अनुसन्धान भएको भारतमा सन् १९१३ मा जन्मिएकी अमृता सेरगिललाई पहिलो महिला चित्रकारका रूपमा मान्छन्। उनको जन्म हङ्गेरीमै भएको थियो। उनका बुवा भारतीय र आमा हङ्गेरिएन हुन्। उनी युवावस्थामै बितिन्। तथापि १९ वर्षको उमेरमा उनले बनाएको योङ गर्ल नामक चित्रलाई भारतीय कलामा आधुनिक कलाको नवीन धारका रूपमा व्याख्या गरिन्छ। यसमा विश्वास मात्र गर्ने प्रचलन छैन, महिला कलाकारको दह्रो उपस्थितिको प्रारम्भ भएको सन्दर्भ पनि उठाउने गरिन्छ। पाकिस्तानमा जुबेदिया आगा (१९२२–१९९७) लाई पहिलो आधुनिक कलाकार र पहिलो महिला कलाकारको रूपमा मान्छन्। उनले नै पाकिस्तानमा पहिलो एकल कला प्रदर्शनी गरेकी थिइन्। उनी आफैँमा एक राम्रो कलाकार मात्र थिइनन्, कलाको शैक्षिक प्रक्रियामा गहिरो गरी संलग्न भएको समेत देखिन्छ। सम्भवतः त्यसवेलाको पाकिस्तानमा उनी सक्रिय कलाकारका रूपमा चिनिन्छन्। यसैगरी बंगलादेशमा चित्रानिभा चौधरीलाई पहिलो महिला कलाकारका रूपमा मान्छन्।  

नेपालमा हालसम्मको अभिलेख अनुसार उर्मिला उपाध्याय प्रथम महिला आधुनिक कलाकार र पहिलो महिला कलाकार हुन्। उनले सन् १९५९ मा गरेको एकल कला प्रदर्शनी नै महिला कलाकारको प्रथम एकल प्रदर्शनी हो। उनी आज ८२ वर्षको उमेरमा पनि सामाजिक कार्यमा सक्रिय भएर लागिपरेकी छन्। नेपालमा परम्परागत कला, लोककला र हस्तकलामा सदियौँदेखि महिला कलाकार संलग्न छन्। अझ नेवार समुदायभित्रका चित्रकार (थर) त चित्रै बनाउने पेसा अपनाउँछन्। यो समुदायका महिला प्रशस्तै मात्रामा चित्र बनाउँथे भन्ने कुरामा शङ्का छैन। समूहमा मिलेर चित्र बनाउने र चित्रमा नाम लेख्न नहुने प्रचलनले यस वेलाका महिला चित्रकारको नाम अगाडि आउन सकेको देखिँदैन। यो परम्परा कायमै छ। यसको एक अलग्ग अभिलेख नहँुदा, यतापट्टि अनुसन्धान गर्नुपर्ने ध्यान नजाँदा महिला कलाकारको नाम र काम प्रकाशमा आउन सकिरहेको छैन। हुन त विश्वको प्रचलनमै हेर्दा आधुनिक कलाको शुभारम्भपछि महिला कलाकारको नाम र कामबारे चर्चा भएको देखिन्छ। सम्भवतः यसैको प्रभावमा एसिया, साउथ एसियाका मुलुकमा विशेषतः पश्चिमी शैली र पद्धतिमा कला कोर्न थालियो, यसपछि कलाकारको नाम पनि उल्लेख हुन थालेको देखिएको छ। महिला सशक्तीकरण, हकहित र अधिकारका कुरा उठ्न थालेपछि महिला कलाकार बढी मात्रामा प्रकाशमा आए। यस्तो प्रचलन नेपालमा भने सन् २००० को उत्तराद्र्धमा बढेर आएको देखिन्छ। यस वेला महिला कलाकारले निर्धक्क भई सडक, चोक, आममान्छेका सामु किसिम किसिमका कला रचेर गतिलो उपस्थिति जनाएका थिए।  

महिला सहभागिता

नेपालको कला इतिहासमा आधुनिक कलाको उदय भएपछि बिस्तारै बिस्तारै महिला कलाकारको संख्या बढ्दै आएको देखिएको छ। उर्मिला उपाध्याय, प्रमिला गिरीपछि स्पष्ट रूपमा सक्रिय भएका कलाकारमा शुष्मा सिम्खडा, शशिकला तिवारी देखापरेका थिए। उर्मिला उपाध्याय र प्रमिला दुवैकोे विदेशी नागरिकसँग बिहे भएकाले नेपाल बसाइ कम भएको देखिन्छ। उर्मिलाले सिर्जनशील कला बनाउन छाडे पनि प्रमिला अझ प्रखर बनेर आज पनि अति सक्रिय कलाकारमध्ये एक हुन पुगेकी छन्।  

शुष्मा सिम्खडाले बरोडाबाट कला शिक्षा हासिल गरेकी हुन्। स्वास्थ्यले साथ नदिएपछि यिनीबाट कला सिर्जना कम हुन गयो। शुष्मा सार्वजनिक रूपमा बाहिर आउँदै आइनन् भने पनि हुन्छ। केही वर्षअगाडि अल्पायुमै उनको देहावसान भयो। शशिकला तिवारी अहिले पनि नितान्त एकान्तमा बसेर कला सिर्जना गर्न रुचाउँछिन्। त्यति वेलाकै कलाकार हुन्— शारदा चित्रकार र कान्ति न्यौपाने, तर अलिपछि मात्र पुनः सक्रिय भएर कला सिर्जनामा लागे। यसै वेला सक्रिय भइरहने कलाकारमा नीरा जोशी प्रधान, रागिनी उपाध्याय, शोभा वाग्ले र चन्दा श्रेष्ठ पनि हुन्। नीरा जोशी अहिले एक मात्र बोटानिकल आर्ट सर्जकको रूपमा चिनिन्छिन्। विदेशी नागरिकसँग बिहे गरेपछि रागिनी उपाध्याय बढीमा मात्रामा विदेशमै बस्छिन्। ५० को उत्तरार्द्धमा उनी महिला कलाकारको एक कला संस्था खोली सक्रिय भएकी थिइन्। राम्रो काम गर्ने शोभा पनि अहिले बेलायतमा बस्दै आएकी छन्। यति वेलाको माहोल र आ–आफ्नै प्रकृतिका कारण कलाकारहरू नितान्त व्यक्तिगत सिर्जनामा बढी मात्रामा केन्द्रित भएको देखिन्छ। समग्र राष्ट्रको कला विकासको सन्दर्भ, समाजसँग कलालाई कसरी जोड्ने आदिमा त्यति सजग भएको देखिँदैन।  

उदाहरणका रूपमा त्यतिवेलाको एउटा सानो घटनालाई सम्झनुपर्ने हुन्छ। २०४२ सालतिर काठमाडौं उपत्यकाका सम्पूर्ण कलाकार राम शाहपथस्थित लायन्स क्लबको ठूलो हलमा जम्मा भई कला विकासबारे बहस गरेका थिए। सम्भवतः कला विकासको चिन्ता कलाकारमा पहिलोपल्ट देखापरेको थियो। नेपालभरका कलाकारको छलफलमा एउटा राष्ट्रियस्तरको कला संस्था खोल्ने र ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापनाका लागि संघर्ष गर्ने यस बखतको मूल निचोड थियो। यसै बखत ‘नेपाल कलाकार समाज’को जन्म भयो। कलाकार उत्तम नेपालीको अध्यक्षतामा १३ जनाको पहिलो कार्य समितिको गठन भएको थियो। तर त्यहाँ न कुनै महिला कलाकारले चुनाव लडे, न मनोनीत गरेरै समितिमा राखियो। अलि सक्रिय भएका नवयुवा महिला कलाकार यो राष्ट्रियस्तरको संस्थामा संलग्न हुन सायद आँट गरेनन्। यो एउटा अनौठो दृश्य यहाँ देखिन्छ।  

त्यतिबेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान अन्तर्गत सानो कला–कौशल विभाग थियो, जसलाई कलासँग सम्बन्धित प्राज्ञले नभई साहित्यसँग सम्बन्धित प्राज्ञले हेर्थे। त्यस विभागले कलाका गतिविधि गथ्र्यो। त्यतिबेला कलाकारले छुट्टै ललितकला प्रज्ञा प्रतिष्ठानको माग गरेका थिए। हाल रहेको ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापनाका लागि नेपाल कलाकार समाजले ठूलो संघर्ष गरेको थियो। यस्ता दर्जनौँ क्रियाकलापमा धेरै महिला कलाकार पनि सक्रियताका साथ अगाडि आएको देखिन्छ।  

९० दशकको उत्तरकाल  

मूलतः सन् ९० को उत्तरार्द्धमा भएको राजनीतिक परिवर्तनले सम्भवतः अन्य सामान्य नागरिकझैँ कलाकारमा पनि केही रूपमा जागरुकता ल्याएको देखिन्छ। यस वेला कला सिर्जनामा शैलीगत परिवर्तनका धेरै प्रयोग भए। कलाको संस्थागत रूपमा विकास गर्न महिला कलाकार उद्यत भए। ललितकला क्याम्पसका विद्यार्थी कलाकार जागरुक अवस्थामा देखिँदा समग्रमै कलाको माहोल परिवर्तन भएको देखियो। ०४६ सालको राजनीतिक आन्दोलनमा युवा कलाकारले विरोध स्वरूप अनेक प्रकारका कला बनाई भित्तामा टाँस्ने गरेका थिए। यही मेसोमा कैयौँ महिला कलाकार प्रकाशमा आए। यसैवेला माया मानन्धर नीलम ताम्राकार, मीना श्रेष्ठ, पुष्पाञ्जली शेरचन, देविना अमात्य मल्ल, अस्मिना रञ्जित, डा. सीमा शाह, एरिना ताम्राकार, सुनिता राणा, सरिता डंगोल, प्रमिला बज्राचार्य, शुष्मा राजभण्डारी आदि देखापरे। यो एउटा नयाँ माहोलमा विशेष गरी एरिना, सुनिता, सरिता, प्रमिला र शुष्मा कलाका अन्य क्रियाकलापसहित सक्रिय रहे।  

सन् १९९५ मा भएको ऐतिहासिक कला कार्यशाला (बंगला देशी र नेपाली कलाकारको संयुक्त पहलमा भएको) मा भाग लिई प्रभावपूर्ण तरिकाले कला सिर्जना गर्ने सुनिता र एरिना आज कलामा एक अलग्ग स्थान बनाउन सफल भएका छन्। सरिताले चारवटा कला ग्यालरी खोलेर कला गतिविधिलाई अगाडि बढाएकी थिइन्। अहिले पनि यी पाँचै महिला कलाकारले केही न केही कलाका कार्यक्रम गरिरहेकै देखिन्छ।  

अस्मिना सन् २००० को उत्तरकालमा कलाको नवीनतम प्रयोगात्मक शैलीका साथ उदाएको देखिन्छ। यसैबखत संस्थागत रूपमै नेपालमा उत्तरआधुनिक कलाको नयाँ स्वरूप देखापरेको थियो। यो आन्दोलनमा उनको अहं भूमिका थियो। यसपछिका महिला कलाकारको ठूलो लस्कर छ, जो नेपाली समसामयिक कला क्षेत्रमा नयाँनयाँ प्रयोगात्मक काम गर्दै आफूलाई स्थापित गरेका छन्। यी कलाकारमा संगी श्रेष्ठ, ज्यास्मिन राजभण्डारी, शौरगंगा दर्शनधारी, रीता मानन्धर, सविता डंगोल, सुमित्रा राणा, शुष्मा शाक्य, विधाता केसी, सम्झना राजभण्डारी, मीना कायस्थ, अरूणा हिङमाङ, मञ्जु स्याउला, मुना भडेल, अनिता खनाल, डिना श्रेष्ठ, इन्दिरा श्रेष्ठ, कृपा जोशी, पल्पसा मानन्धर, प्रमिला परियार, रविता किसी, नम्रता सिंह, सन्ध्या सिलवाल, जया शर्मा, सुशिला सिंह, शिलासा राजभण्डारी, प्रमिला लामा आदि छन्। यसबाहेक पनि अहिले सक्रिय महिला कलाकार अरू धेरै छन्, सबैको नाम उल्लेख गर्न यहाँ सम्भव भएन।  

यतिखेर मोफसलमा सक्रिय कलाकारमा सरोजा खड्की अग्रपंक्तिमा छन्, उनले मोरङ पथरीमा कलाको माहोल मात्र तयार गरेकी छैनन्। उनैको सक्रियतामा काठमाडौं उपत्यकाबाहिर पूर्वमा प्लस टुमा ललितकलाको औपचारिक पढाइ सुरु भएको छ। यसबाहेक पूर्व विराटनगरमा अनुराधा थापा, गंगा सुवेदी, पोखरामा मिलन शेरचन र बुटवलमा सुमित्रा राणा सक्रिय कलाकारका रूपमा लागिपरेका छन्।  

(मल्ल कलाकार र कला समीक्षक हुन्।)

प्रकाशित: ९ श्रावण २०७८ ०३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App