८ वैशाख २०८१ शनिबार
कला

जयतु संस्कृतम्को सम्झना

जब मानिस सबै किसिमका दुःखले छटपटाउँछ, छोराछोरीले छाडेर हिँड्छन्, वा बेवास्ता गर्न थाल्छन्, घरमा झगडा वा पतिपत्नीसँग अनमेल हुन थाल्छ, वा सम्बन्धविच्छेदको अवस्था आउँछ, वृद्धावस्थाले गाँजेर भएको धन पनि खर्च गर्न नसकिने हुन्छ, संसार अनित्य र आफू एक्लो भएको महसुस हुन्छ, त्यस अवस्थामा संस्कृत किन पढ्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने हुन्छ। यसैगरी पूर्वीय सभ्यताले अलंकृत ऋषिमुनिले बनाएका संस्कृत ग्रन्थमा भएका विज्ञान, ज्योतिष, योग आदिको उपयोग गरी फाइदा अरूले नै लिन थालेको स्पष्ट हुन्छ, त्यस वेलामा हरेक व्यक्तिलाई संस्कृतको महत्व बोध गर्न मन लाग्छ। नेपाली समाजमा आज तिनै दिन वरिपरि घुम्न थालेको अनुभूति भइरहेकाले ती प्रश्नको जवाफ खोज्ने वेला आएको देखिन्छ। त्यस्ता प्रश्न र तीसँग सम्बन्धित जवाफको सम्बन्ध सूत्रको रूपमा जयतु संस्कृतम् जस्ता संस्थाको भूमिका रहेको छ।

हरेक मानिसका लागि छोराछोरी र धन अपरिहार्य विषय हुने गर्छन्। यसैले भएभरको श्रम र लगानी त्यतैतिरै लगाउने प्रचलन पनि छ। तर, त्यसरी गरेको लगानीले समुचित सन्तोष वा शान्तिको अनुभव हुन सकेन भने त्योभन्दा दुःखदायी विषय अरू हुँदैनन्। नेपाली समाजमा बढिरहेको एकल परिवारको प्रचलन, आत्महत्याको संख्यात्मक वृद्धि, बढ्दो संख्याका वृद्धाश्रम, बाबुआमा मर्दा छिमेकीले दागबत्ती दिनुपरेको यथार्थ, बूढाबूढीले पाएको उपेक्षाको पीडा जस्ता विषयले दुःखका कारण खोतल्न पनि थालेका छन्।  

जुनसुकै समाजमा मानिसको अन्तिम अभीष्ट भनेको शान्ति र सन्तोष नै हो। त्यस वेलामा धन र छोराछोरी गौण हुन्छन्। मूल विषयको प्राप्तिका लागि पहिलो आवश्यक गौण विषय भने तिनै हुन्। यसैले सिकाउन थालेको पहिलो दिनदेखि नै छोराछोरीलाई सुशिक्षा दिने र आफूले पनि सत्कर्ममा मन लगाउने अभ्यास गर्नुपर्ने हुन्छ। त्यो ज्ञान संस्कृतले नै दिने भएकाले संस्कृतको महत्व अपरिहार्य हुँदै आएको सिद्ध भएको छ।  

नैतिकताको ह्रासले गर्दा हिजोआज मानवीयता, भाइचारा, पारस्परिक सद्भाव, सहयोग, विश्वबन्धुत्वजस्ता विषय इतिहासका पुस्तकमा सीमित हुँदै गएका छन्। घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियारको दबदबा बढ्दै छ। नयाँ पुस्तामा बाबुआमाको सल्लाह नमान्ने, अखाद्य वस्तुको सेवन गर्ने, गुरुको अनादर गर्ने जस्ता धेरै किसिमका अस्वाभाविक प्रवृत्तिमा बढोत्तरी भइरहेको छ। फलतः परिवारमा झगडा, मनमुटाव बढ्दै गएको र यसले हत्या र आत्महत्यासम्म पुर्‍याएका समाचार दिनदिनै हेर्न र पढ्नपर्ने भइरहेको छ। एकातिर यस्तो अवस्था छ भने अर्कातिर विभिन्न अध्ययनले सिद्ध गरे अनुसार खानपानले आचरणलाई असर गर्छ, आचरणले अध्ययनमा असर पार्छ। अध्ययनले चिन्तनलाई र चिन्तनले कर्तव्याकर्तव्यलाई प्रभाव पार्दछ। कर्तव्याकर्तव्यले सुकीर्ति र दुष्कीर्ति फैलाउँछ। सुकीर्ति र दुष्कीर्तिले मानिसलाई मरेतुल्य बनाउँछ वा अजरामर तुल्याउँछ। यो विश्वजनीन सत्य हो। यो शाश्वत सत्यको विषय हो, प्राकृतिक नियम पनि यही हो। वेद, पुराण, कुरान बाइबलले भन्दै आएका तथ्य यसैभित्र समेटिएका छन्। जुनसुकै धर्मावलम्बीका लागि आ–आफ्ना परम्परागत रीति र धार्मिक ग्रन्थ नै नीति, कानुन, समाज व्यवस्था र सामाजिक सद्भाव जगाउने स्रोत हुन्। राज्यका नीतिनियम, संविधान पनि धार्मिक ग्रन्थकै आधारमा विकसित हुँदै आएको हो। परोपकार, प्रेम, मित्रता, पारस्परिक सहयोग, विश्वबन्धुत्वको जगेर्ना गर्ने स्रोत र आधार तिनै हुन्। त्यति हुँदाहुँदै सबै धार्मिक ग्रन्थ सर्वस्वीकार्य छैनन्। 

यस अवस्थामा अहिलेसम्म उपलब्ध भएका अपेक्षाकृत निर्विवादी स्रोतलाई आधार बनाउनुपर्ने हुन्छ। त्यस्ता स्रोतमा वेद नै सर्वमान्य छ। विश्वभरमा वेदको विरुद्धमा कुनै ग्रन्थ लेखिएको छैन। वेदमा पृथ्वीको, अन्तरिक्षको, वनस्पतिको, सूर्यको महत्व दर्शाई महत्व मानिएपछि पूजा गर्नुपर्छ भन्ने मान्यता छ। वेदको मूल रूप संस्कृत हो भन्ने बारेमा कुनै वादविवाद पाइँदैन। वेदमा नै विज्ञान, आयुर्वेद, तन्त्र, ज्योतिष, वातावरण आदिको बृहत चर्चा भएको छ। अहिले जर्मनी, बेलायत, फ्रान्स, अमेरिका, चीनमा भएका खोज र अनुसन्धानले पनि वेदको महत्व अतुलनीय भएको र यसको भाषा अत्यन्त वैज्ञानिक भएको तथ्यलाई स्विकारिसकिएको छ। वेदकै विषयलाई टीका, व्याख्या र विश्लेषण गर्ने क्रममा उपनिषद्, पुराण र आख्यान बनेका हुन्। संस्कृत जत्तिकै वैज्ञानिक र धनी भाषा अहिलेसम्म प्रचलनमा आएका भाषामा अरू भेटिन्नन्। व्याकरणका दृष्टिले पनि बलियो भएकाले नासाले सन् २०३० पछि संस्कृतलाई कम्प्युटरको भाषा बनाउनेतर्फ अनुसन्धान गर्दै छ भन्ने जानकारीमा आएको छ। सबै मानिस सुखी होऊन्, निरोगी बनून्, सबैको उन्नति होस् (सर्वे भवन्तु सुखिनः) भन्ने विश्व जनीन चिन्तन संस्कृत वाङमयमै छ। संस्कृत वाङ्मयले आकाश, पृथ्वी, पशु, चरा, सर्प, पानी सबैलाई ईश्वर मानेको छ। यिनीहरूको अस्तित्वमा नै संसार खडा भएको छ। हामी यसैभित्र छौँ। ‘यत्र विश्वं भवत्येक नीडम्’लाई लोक व्यवहारमा ल्याउने शास्त्र समेत संस्कृत वाङ्मय हो।  

संस्कृत भाषा र वाङ्मयलाई उपयोगमा ल्याउने, यसभित्रको ज्ञानविज्ञान पक्षको महत्व बोध गराउने समेत उद्देश्यले देशमा केही संस्था स्थापना भएका छन्। त्यसरी स्थापना भएका संस्थामा ‘जयतु संस्कृतम्’ पुरानो र प्रमुख हो।

जयतु संस्कृतम् के हो ?

वास्तवमा जयतु संस्कृतम्को अर्थ संस्कृत वाङ्मयको जय होस् भनिएको हो। संस्कृत वाङ्मयको जय होस् भनेको– संस्कृत भाषामा आबद्ध सार्वजनीन कुरा अर्थात् सह–अस्तित्व, विश्वबन्धुत्व, विश्वकल्याण, विश्वशान्ति, पारस्परिक सहयोग, धार्मिक सहिष्णुता आदि भावनाको जय होस् भनिएको हो। जयतु संस्कृतम् कुनै भाषा, जात र जातिको नारा होइन, विश्व मानवको समुन्नति, शान्ति र कल्याणकारी कार्यका निम्ति एक भएर अघि बढौँ भन्ने आह्वान र विचार हो। म को हुँ, कसरी आएको वा बनेको हुँ, म बसेको समाजको निर्माण कसरी भएको छ, मेरो र राष्ट्रका बीच कस्तो सम्बन्ध छ र हुनुपर्छ जस्ता प्रश्नको जवाफ जयतु संस्कृतम्ले दिलाउँछ। म भन्नाले मभित्रको ऊर्जा र क्षमता हो। जुन समाजमा हामी जन्मे हुर्केका छौँ, जसको छहारी पाएका छौँ, त्यसको संरक्षण गर्नु र महत्व बुझ्नु हाम्रो कर्तव्य हो। योे शंखघोष जयतु संस्कृतम्ले गर्दै आएको छ।  

नेपालको इतिहास अनुसार २००४ सालमा चलाइएको जयतु संस्कृतम् आन्दोलन त्यस वेलाको हुुकुमी राणाशासनको विरुद्ध आवाज उठाउने पहिलो जनप्रयास थियो। राणाकालमा स्वस्फूर्त रूपमा आएको यो अभियानले नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न ठूलो सघाउ पुर्‍यायो। पञ्चायती शासनकालमा प्रजातन्त्रको शंखनाद गर्ने र मानव विचारलाई प्रश्रय दिने सबै संघ, संस्था र तिनका विचारमा प्रतिबन्ध लागेसँगै जयतु संस्कृतम् आन्दोलन पनि प्रतिबन्धित हुन पुग्यो र मौनप्रायः बस्यो। २०५४ सालमा संस्कृत क्षेत्रका अग्रणी एवं जयतु संस्कृतम्का अभियन्ताद्वारा अभियान स्थापनाको स्वर्णमहोत्सव मनाएसँगै संस्कृत वाङ्मयको संरक्षण गर्ने मूल उद्देश्य राखेर जयतु संस्कृतम् संस्था स्थापना गरी कानुन बमोजिम दर्ता गरियोे। कालक्रममा जयतु संस्कृत् अभियानका अभियन्तामध्येकै श्रीभद्र शर्मा, हेमराज ज्ञवाली, विद्यानाथ उपाध्याय यस संस्थाका क्रमशः अध्यक्ष हुनुभएको थियो।  

मानव मूल्यको जगेर्ना गर्न र पहिचान दिन इतिहासलाई जोगाएर संस्कृत, संस्कृति, भाषा, वाङ्मयको संरक्षणमा जयतु संस्कृतम् लागिपरेको छ। यसबाहेक संस्कृतमा भएका अमूल्य सम्पत्तिलाई धेरैले बुझ्ने र बोल्ने भाषामा अनुवाद गर्ने काम गरिरहेको छ। संस्कृतमा भएका चार प्रमुख पक्ष– दर्शन, साहित्य, ज्ञान–विज्ञान र कर्मकाण्ड (समग्रमा वाङ्मय)को प्रचारप्रसारमा यसका नियमित र विशेष कार्यक्रम रहेका छन्। यसै संस्थाको पहलमा नेपालमा विश्व संस्कृत सम्मेलनको तयारी हुँदै छ। महाभारतकालपछिको विश्व इतिहास तयार गर्ने उद्देश्यले उत्तर महाभारत लेख्न थालेको छ। नेपाल एकेडेमी, खुला विश्वविद्यालय लगायत संस्थासँग सहकार्य गर्दै आएको छ। संस्थाको जन्मदिन असार १ गते एकपटक वाङ्मय, भाषा र संस्कृतिको संरक्षणमा हौसला र सहकार्यमा सामेल हुन यो दिवसले प्रेरणा प्रदान गरेको छ। हिजोआज गर्नुपरेका पश्चातापबाट मुक्ति पाउनका लागि संस्कृतलाई बुझेर जीवनमा उतार्न पनि जयतु संस्कृतम् दिवसले अभिप्रेरित गर्छ।  

(लेखक जयतु संस्कृतका अध्यक्ष हुन्।)

प्रकाशित: ५ असार २०७८ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App