coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

खुवालुङ गाउने जनम थुलुङ

खुवालुङ ! खुल, खुल, खुल  

नछेकिदेऊ मेरो बाटो, नरोकिदेऊ मेरो पाइला

नलागोस् है मलाई ठेस, चाँडै पुगी हेर्नु छ, किरातीको देश !

स्वर/संगीत : जनम थुलुङ  

शब्द : खुक्सङ खम्बु  

थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष तथा सांस्कृतिक अभियन्ता निर्कुधन राईले गत जेठ १३ गते फेसबुक स्टाटस लेखे, ‘म निःशब्द छु। हामी बोल्योम्देल (कटुञ्जे)मा अवश्य भेटिनेछौँ।’  

यतिबेला मुलुक विश्वव्यापी कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको छ। यसले युवा गायक तथा संगीतकार जनम थुलुङलाई पनि छाडेन। ऐसेलुखर्क गाउँपालिका– ५ रिब्जुङ, खोटाङमा जन्मेका जनमको यही जेठ १३ गते ललितपुर जिल्लास्थित एक हस्पिटलमा कोरोना भाइरस संक्रमणका कारण निधन भयो।

गायक थुलुङले आफूले बाँचेको थोरै समयमा आफ्नो समुदायको पहिचानका लागि गीत गाएका छन्। ‘मरे कटुन्जे’ र ‘खुवालुङ ! खुल खुल खुल’जस्ता सांस्कृतिक गीतले किराती पहिचानको रक्षा गरेको छ। त्यसैले उनको निधनमा धेरैले ‘खुवालुङ’ र ‘कटुन्जे’ सम्झिए।  

‘खुवालुङ’ र जनम

सुनैकोसी पछ्याइजाने तिलुङ, वाम्बुले

सही बाटो हिँड्दै छन् कि कतै अल्मलिए ?

स्वर/संगीत : जनम थुलुङ,  

शब्द : खुक्सङ खम्बु  

किराती बस्तीमा जनम थुलुङको ‘खुवालुङ’बारे यो गीत बजिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘त्यस (खुवालुङ)लाई क्रेन लगाएर फालिन्छ’ भनिरहेका थिए। गत साल फागुन ८ गते प्रधानमन्त्री ओलीले विराटनगरको एक आमसभालाई सुनाएका थिए, ‘त्यहाँ बाधा भएको एउटा ढुंगो (खुवालुङ) हो। त्यसलाई क्रेन लगाए फुटाउँदै छौँ र नदीको बाटो क्लिअर गर्दैछौँ।’  

सुनकोसीको बराह क्षेत्रमा अहिले सानो मोटरबोट चलाइएको छ। यहाँ ठूलो जेटबोटका लागि फराकिलो जलमार्ग बनाउने सरकारी योजना छ। तर, किराती सांस्कृतिक स्थान भएकाले जनताले सरकारी योजनाको विरोध गर्दै आएका छन्। दूधकोसी र तमोर नदी मिसिएको ठाउँमा अवस्थित सांस्कृतिक ढुंगा (खुवालुङ) फुटाउने प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिको विरोधमा किराती समुदायले अभियान चलाउँदै आएको छ। विकासको नाममा कसैको सांस्कृतिक धरोहरमाथि धावा बोल्न पाइँदैन। अभियन्ताले खुवालुङ नफुटाई जलमार्ग विकास गर्न सकिने विकल्प पनि बताउँदै आएका छन्। तर, सरकारले जनमको निधनको दुई दिनपछि (जेठ १५ गते) बजेट ल्यायो, जसमा कोसी नदीको चतरा–भोजपुरसम्म जल यातायात निर्माणका लागि बजेट छुट्ट्याइएको छ। खुवालुङ फुटाउन सरकार फेरि पनि लागिपरेको भन्दै किरातीले विरोध जनाउन थालेका छन्।  

मुन्दुम अनुसार किराती पुर्खाहरू घुम्दैघुम्दै खुवालुङ क्षेत्रमा आइपुगे। त्यहाँ नदी बीचमा रहेको ठूलो ढुंगा (खुवालुङ)ले बाटो छेकिरहेको थियो। अगाडि आइपुगेका पुर्खाले जुरेली चराको भोग दिएपछि खुवालुङ खुल्यो। तर सबैले नदी पार नगर्दै खुवालुङ बन्द भयो। नदी तर्न बाँकी रहेकाले आफ्नो चेलीको औँलामा चोट (उनीहरूको साथमा बाख्रा पनि थियो। चेलीको रगत परेको घाँस बाख्राले खाएकाले कतिपय राईले बाख्राको मासु खाँदैनन्) पारेर रगत चढाएपछि खुवालुङ फेरि खुल्यो। र, बाँकीले नदी पार गरे। उनीहरूभन्दा अघि नदी पार गरेका पुर्खा धेरै अगाडि बढिसकेका थिए। त्यसैले उनीहरू एउटै बाटो भएर हिँड्न सकेनन्, आ–आफ्नो बाटो लागेका थिए। यसरी फरक फरक ठाउँ पुगेका किराती पुर्खा नै अहिले चाम्लिङ, बान्तवा, थुलुङ, तिलुङ लगायत अन्य थुप्रै किरात भएका हुन्। यसलाई जनम थुलुङले गीतमा पनि यसरी गाएका छन् :

रावाखोला पछ्याइजान्छु नाछिरिङ, कोयूलाई हेर्न।

के–कस्ता छन् ? हतार भयो साम्पाङ, दुमी भेट्न।।

साप्सुखोला सेरोफेरो चाम्लिङखिम बास बस्नुपर्ला।

त्यहीबेला पुमाको नि दुःखम्–सुखम् सोध्नुपर्ला।।

मेरै काखमा हाँस्दै–खेल्दै फैलिएका यी मेरा सन्तान।

सन्चो–बिसन्चो के कसो छ ? अहिले के गर्दै छन् ?

‘बोल्योम्देल’ र जनम

भेटौँ–भेटौँ लाइरहन्छ बेलामौकामा

फुर्सद कहिल्यै नहुने गाउँघरैमा

साह्रै खुसी बनायो हौ यो हाम्रो भेटले

बाँचे फेरि भेटौँला है मरे कटुन्जे।

स्वर/संगीत : जनम थुलुङ,  

शब्द : खुक्सङ खम्बू  

थुलुङ राई भाषामा ‘बोल्यो’ भनेको ‘पितृ’ र ‘देल’ भनेको ‘ठाउँ’ हो। ‘कटुन्जे’ अर्थात् ‘बोल्योम्देल’ भनेको पितृ बस्ने ठाउँ। थुलुङ समुदायसँग सम्बन्धित ‘बोल्योम्देल’ अर्थात् कटुन्जे ठाउँबारे थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईले एउटा लोककथा सुनाएका थिए। यो ठाउँ ओखलढुंगा जिल्लाको सुनकोसी गाउँपालिकाको साविक कटुन्जे गाविसमा पर्छ। जसको कथासार यस्तो छ।

एक समय दुश्मनले थुलुङ गाउँमा मानिसलाई धेरै दुःख दिन थाले। गाउँभरि धेरै अत्याचार हुन थालेपछि यसको समाधान गर्न एक दिन गाउँले भेला भए। थुलुङहरूले आफ्ना बूढाबूढी बाआमा र केटाकेटीलाई नजिकैको अनकन्टार ठाउँमा लुकाएर राखे। त्यसपछि हिँड्न सक्ने जति सबै दुश्मन लखेट्न गए। दुश्मन र ती थुलुङ–राईबीच महिनौँ लडाइँ भयो। यो लडाइँमा थुलुङ राईले धेरै धनजनको क्षति व्यहोर्नुपर्‍यो। लामो समयपछि उनीहरू गाउँ फिरेर बालबच्चा, बूढापाका लुकाएको ठाउँमा पुगे, तर उनीहरूको कंकाल मात्रै भेटियो। यसरी लामो समय लडाइँ व्यहोरेर गाउँ फिर्दा आफन्त पनि गुमाउनुपर्दा थुलुङ राईले धेरै पीरचिन्ता गरे। त्यसै दिनदेखि थुलुङ राईले त्यो ठाउँलाई आफ्नो पुर्खा बस्ने ठाउँ ‘बोल्योम्देल’ (कटुन्जे) भनेर सम्बोधन गर्न थालेका हुन्। थुलुङ राई समुदायमा दुई किसिमको मृत्यु (अरू किराती समुदायमा पनि छ) हुन्छ– १) ‘नयुप्स्यु’ (प्राकृतिक मरण अर्थात् बूढो भएपछि काल गतिले हुने निधन)। २) ‘मिज्योपालाम’ (अप्राकृतिक अर्थात् दुर्घटना वा अरू केही कारणले अकालमा हुने निधन)।  

प्राकृतिक रूपमा उमेर पुगेर कालगतिले निधन भएमा मृतकको पार्थिव शरीरलाई घरमुनिको बारीमा गाडेर अन्त्येष्टि गर्छन्। अकालमा निधन भएमा पार्थिव शरीरलाई जंगलमा लगेर गाड्ने चलन छ। मृतात्मालाई थुलुङ राईले ‘मुनाङ’ भन्छन्। थुलुङ राई समुदायमा मृतात्मालाई आफ्ना पुर्खा बसोबास गरेको ठाउँ कटुन्जेमा पुर्‍याउने परम्परा छ। त्यसैले हप्ता दिनभित्र मृतकको काजकिरिया गरेर मृतात्मालाई मुन्दुम गाएर बोल्योम्देल (कटुन्जे) पुर्‍याउँछन्। प्राकृतिक मरण भएका मृतात्माले आफ्नो सन्ततिको रक्षा गरिरहन्छन् भन्ने थुलुङ समुदायमा विश्वास रहिआएको छ। अप्राकृतिक मरण भएकाको आत्माचाहिँ कटुन्जेनजिक रहेको खेरेलुङ खेरेता (पहरा)मा पुर्‍याउने गर्छन्। अकालमा मृत्यु भएका मृतात्माले घर–परिवारलाई दुःखपीडा दिने भएकाले मुन्दुम विधिबाट सधैँका लागि बाटो बन्द गरिने चलन छ।

खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, भोजपुर लगायत नेपालको थुप्रै पूर्वी जिल्लामा थुलुङ राईको बसोबास भए पनि उनीहरूको थुप्रै सांस्कृतिक थलोमध्ये कटुन्जे महत्वपूर्ण ठाउँ हो।  

मानिस मरेपछि के हुन्छ, कहाँ पुग्छ, अर्को जुनी हुन्छ कि हुँदैन– यसबारे विभिन्न समुदायको आ–आफ्नै सांस्कृतिक मान्यता भएजस्तै थुलुङ राई समुदायको पनि आफ्नै मान्यता रहेको कुरामाथि उल्लेख गरिसकिएको छ। यसरी आफ्नो महत्वपूर्ण सांस्कृतिक थलो ‘बोल्योम्देल’ अर्थात् कटुन्जेबारे जनम थुलुङले गीत गाएर किराती पहिचान स्थापित गर्न ठूलो सहयोग गरेका छन्। गीतको माध्यमबाट आफ्नो भाषा, संस्कृति र पहिचानलाई स्थापित गर्नु जनम थुलुङको महत्वपूर्ण योगदान हो।  

जनमको सांगीतिक यात्रा  

थुलुङ मातृभाषा भएका जनमले एक अन्तर्वार्तामा भनेका थिए, ‘नेपाली भाषा नबुझेर मैले स्कुलमा धेरै सजाय पाएको छु।’ अरूको भाषा नबुझेर स्कुलमा कुटाइ खानु आफ्नो मातृभाषाप्रति ठूलो अन्याय हो। त्यसैले पनि होला गायक जनमले आफ्नो मातृभाषाको सम्मानका लागि थुलुङ भाषामा धेरै गीत गाए।

शास्त्रीय संगीतको पनि राम्रो ज्ञान भएका थुलुङले २०६८ सालमा ‘सन्जोगले भेट हुँदा आँसु खस्यो’ गीत पहिलोपटक रेकर्ड गराएका थिए। गायक, गीतकार र संगीतकार रूपमा उनले आठ दर्जनजति गीतमा काम गरेका छन्। उनकै संगीत र स्वर रहेको ‘आलस्य’ (२०७०) एल्बममा ६ वटा थुलुङ राई भाषाको गीत छन्। त्यस्तै, विभिन्न संगीतकारको संगीत र उनको स्वर रहेको ‘दृश्य’ (२०७२) एल्बममा नेपाली भाषाका गीत छन्।  

थुलुङ मातृभाषामा ‘माम पाप’, ‘बकि बकिस्यो’, ‘झापा कोङ्ङा डुमु बासी’ आदि बोलका गीत चर्चित छन्।  

मानिस मरेपछि के हुन्छ भन्नेमा हरेक समुदायको आआफ्नै मान्यता भए पनि थुलुङ राईहरू मरेपछि कटुन्जे पुगिन्छ भन्ने विश्वास राख्छन्। जनम थुलुङ कटुन्जे पुगिसके पनि गीतमार्फत उनले ‘खुवालुङ’लाई ठूलो इज्जत गरेका छन्।

प्रकाशित: ५ असार २०७८ ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App