सुभद्रा ढकाल
म जिन्दगीको रंगीन क्यानभासमा अक्षरका सुन्दर रंगहरूले सजाउन मन पराउँछु । साहित्य, पत्रकारिता र फोटोग्राफी मेरा रुचिका विषय हुन्।
बाँच्ने आधार त नभनौं, म यो पेशासँग सन्तृष्ट छु र आफ्नो भविष्य देख्छु । लोकसेवा पढ्ने साथीहरूले चिया पसलमा चियाको सर्को तान्दै भन्छन्– आयोग पढ र अफिसरमा नाम निकाल । विवाह गरेका साथीहरूले भन्छन् – विवाह गर र घरबार सम्हाल । परिवार भन्छन् – विदेश जाऊ र पैसा कमाऊ । अनि मैले आफ्नो जिन्दगीको रहर र सपनाचाहिँ पूरा नगर्नु ? जिन्दगीप्रति मेरो व्यक्तिगत धारणा छ । अरूको जिन्दगीमा सुझाव दिनेहरूको ध्वस्त जिन्दगी सम्झन्छु । मलाई कसैले पनि मेरो जिन्दगी माथि आफ्नो दृष्टिकोण बनाएको र जज गरेको राम्रो लाग्दैन । म आफैँ जस्तो हुन चाहन्छु । अरूको नक्कल र अरूको इसारामा चलेको जिन्दगी कतिन्जेल टिक्ला ?
अफिसको कामको थकान ज्यादा छ । नयाँ वर्ष आउन केही दिन बाँकी थिए । मैले पोखराको यात्रामा निस्कने निर्णय गरेँ ।
मलाई एक्लो यात्रा मनपर्छ । पाँच दिनको लागि सामान प्याक गरेर यात्रामा निस्किएँ । हातमा केमेरा चंगा मन।
कलंकी चोकबाट एउटा टिकट पाएँ । त्यही पनि लास्ट सिटको।
सँगै एउटी बहिनी बसेकी रहिछे । ऊ मलाई देखेर मुस्कुराई । अहो अपरिचित मान्छेलाई देख्दा पनि कति मिठो मुस्कान ।
एकैछिनमा हाम्रो परिचय भयो । मैले सोचेँ, आजको हाम्रो यात्रा सफल रहन्छ।
सामान्य परिचय हुँदा हाम्रो गाडी नागढुंगाको ओरोला झरिसकेको थियो । टाढाटाढा देखिने नौविसेका हरिया फाँटहरु । रमाइलो दृश्य । म ती दृश्यहरू क्यामेरामा कैद गर्न थालेँ । संयोग उसको पनि फोटोग्राफीमा रहर रहेछ । रमाइलो मानेर अगाडिका दृश्यहरू केमेरामा कैद गर्न थाली । धार्के, गजुरी हुँदै हामी गल्छी पुगिसकेका थियौँ।
गल्छीबाट अगाडिको बाटो मलाई निकै डर लाग्छ । तल देखिने ज्यानमारा त्रिशुली । माथिका ठुलाठुला पहाड मेरो जिन्दगी जस्तै लाग्छ । जोगिएर हिँड्नुपर्छ । म बेलाबेलामा ऊसँग जिस्कन्थेँ । ऊ क्यामेरासँग जिस्कन्थी । तलबाट चलेको तीव्र हावाको वेगले उसको छरिएको कपाल मेरो गालासम्म आइपुग्थ्यो । उसको सिल्की कपालबाट आएको स्याम्पुको बासना मसम्म आएर ठोकिन्थ्यो।
हाम्लाई एक अर्कोको साथ निकै प्यारो लाग्यो । रमाइलोरमाइलोमै हामी आबु खैरेनी पुगिसेकेछौँ ।
मैले सुन्तला किनेँ । सुन्तलाको केस्रासँग रमाउँदै हामी दमौली पुगिसकेछौँ । ऊ घरि बसको झ्यालबाट आकाशमा उडेको चरी हेर्थी । घरी रोड छेउछाउमा फोटो खिच्न भ्याउँथी । मैेले उसलाई आफ्नो छोटो परिचय दिन भने । उसले आफ्नो लामो कहानी रहेको र पोखरा पुगेपछि मात्रै सुनाउने कुरा गरी।
हामी साँझतिर पोखरा पुग्यौँ । मैले न्युरोड झर्न लागेँ । उसले म पनि तपाईसँगै बस्छु भनेर अनुरोध गरी । मैले नाईँ भन्न सकिनँ ।
हामी होटल फेवा पुग्दा साँझको पाँच बजिसकेको थियो । फेवातालको रमणीय दृश्यहरू नियाल्यौँ । मन भरन्जेल सारङकोटका दृश्यहरू नियाल्यौँ ।
सुत्ने बेलामा म उसको नजिकै गएँ । आजै भेटेको मान्छेसँग कस्तो खालको आत्मीयता बढ्यो मैले जानिनँ । उसले आफ्नो व्यक्तिगत रहरदेखि पारिवारिक कुरासम्म गर्न भ्याई , म सानो छँदा आमा भन्नुहुन्थ्यो– तँ पेटमा आएदेखि मैले कहिल्यै सुखको सास फेर्न पाइनँ । सधैँ दुःख र पीडा मात्रै खेपिरहनुपर्यो।
म घोसे मुन्टो लगाएर आमाको कुरा एकोहोरो सुनिरहन्थेँ । अलि बुझ्ने भएपछि म सोचिरहन्थेँ । आमाको पेटमा भ्रुण बढेदेखि आँसु नटुट्ने हाय कस्तो भाग्य ? आफ्नो सन्तानका लागि आफ्नो खुसी लुटाउनुपर्ने यो कस्तो नियति, यो कस्तो बाध्यता ?
अहिले म सम्झन्छु, गह्रौँ पेट लिएर घाँसको भारी बोक्दा । हजुरआमाले दिनुभएको कामको बोझ सहन नसक्दा । बिहान बेलुकाको छाक टार्नका लागि ज्यालामजदुरी गर्न जाँदा । आधा रातमा बाबाको खुसीमा आफू समाहित हुनुपर्दा । आमालाई कति ठाउँमा दुख्यो होला ?
कसले सोध्यो होला पेटभित्रको मेरो लात्तीको दुखाइ ? कसले सहानुभूति दियो होला पेट बढेर राति निदाउन नसकेको पीडामा ? को थियो होला प्रसव–वेदनामा चिच्याउँदा भरोसा दिने मान्छे ?
आमाले सहनुभएको दुखद् समयको पीडा मलाई कहिल्यै सुनाउनु भएन । अलिपछि जान्ने भएपछि फुपू दिए दिदीले मलाई भन्नुहुन्थ्यो । तिमी भाग्यमानी रहेछौ । तिम्रो अस्तित्व डस्विनमा पुगेर सकिएन ।
तिमी पेटमा आएपछि आमालाई धेरै चिन्ता थियो । तिम्री आमा पेटमा हुर्कँदै गरेको मायाको चिचिलो मास्न अस्पतालसम्म पुग्नुभयो । तर कुन्नि किन हो ? डक्टरले मानेनछन् । कारण तिमी पाँच महिनाकोे समयमा आमाको पेटभित्र नाँच्दै थियौ । डक्टरलाई तिमीलाई नयाँ जिन्दगी दिए । तिम्रो जिन्दगी धर्तीमा पाइला नै नटेकी सकिएन । उहाँको कुरा सुन्दासुन्दै थरथर कामेँ । झन्डै भुईमा पछारिइन।
तिमी जन्मदाँ तिम्री आमा खुब रुनुभयो । हजुरआमा हजुरबाबाको अनुहार मलिन भयो । कारण तिम्री आमाको तिमी चौथो सन्तान थियौ । तिम्री आमाले छोरी भएकै कारण छोरी जन्मँदा सबैको यातना सहनुपर्यो।
नाथेले छोरी जन्माइछे । छोरीले यो संसारमा के नै गर्न सक्छन् र ? हजुरको आमाको पहिलो प्रतिक्रिया थियो।
बाबा म जन्मेको दिनदेखि घरै आउनुभएन । दाइले आफैँले गरेको रमाइलो कर्मकोे फल दुखद भैदियो । अपसोच म तिमी छोरी भएर जन्मनुपर्यो।
म फुपू दिदीको अँगालोमा बेरिएर रातभरि रोइरहेँ ।
म हिँड्न थालेपछि पनि आमाले सुख पाउनुभएन । डाक्टरले आमालाई नसम्झाएको भए । बाबाले थोरै सावधानी अपनाइदिनुभएको भए । आमाले यसरी आँसु बगाउनु पर्थेन ।
म संसारको सबैभन्दा अभागी छोरी । गल्तीको चिचिलो पेटमा पलाएदेखि नै आमाले धेरै दुःख सहनुपर्यो।
बरु बेलैमा गर्भपतन गरिदिनुभएको भए आमाले मेरो कारण आँसु बगाउनु पर्थेँन । छोरी पाएकैै कारणले हररात आमाले आँखा चिसा बनाउनुपर्यो । आमाका सिरानीमा तुसारो जम्ने थिएन ।
अहिले म सम्झन्छु, म सानो छँदा बच्चामा निकै जिद्दी गर्दो रहेछु । एक दिन आमाले मेरो टाउकोबाट एक गाग्री पानी खन्याइदिनुभयो । म अत्तालिएर रुँदै बाबाको नजिक पुगेँ । उहाँले उचालेर आँगनमा फालिदिनुभयो । मेरो टाउको नराम्रोसँग बज्रियो । ठुलो चोट लागेन। म दोस्रोपटक मृत्युबाट जोगिएँ । संसारमा मेरो अस्तित्व जोगियो । त्यसपछिका दिनमा म कहिल्यै बाबाको नजिक परिन् । आमासँग मात्रै नजिकिएँ । जे दिनुभयो । त्यही खाएँ । जे भन्नुभयो त्यही बसेँ । आमासँग कहिल्यै रिसाइनँ । धेरै कुरा बोल्दैनथेँ । म यति ज्ञानी भएँ कि म आफूले आफैँलाई बिर्सिएँ ।
मभन्दा अगाडि जन्मनुभएको दुई दिदीको विवाह भएसकेको थियो । म सानो भए पनि घरकोे अभिभारा सबै ममाथि नै परेको थियो । म मेलापात जान्थेँ, पधेँरी जान्थेँ । जहाँ गए पनि मैले छोरी भएर जन्मिएकै कारण निकै यातना सहनुपर्यो ।
मलाई त्यतिबेला लाग्यो । छोरी भनेको दुखको सुरुवात हुनु हो । मलाई त्यतिबेला किन छोरा भइनँ भन्ने कुरामा निकै ग्लानि हुन्थ्यो । त्यतिबेला म घरमाथिको किम्बुको रुखमुनि बसेर बेसरी रुन्थेँ । उड्दै गरेको केमेरा चरी हेर्थेँ । त्यसैगरी उडेर टाढाटाढा जान मन लाग्थ्यो । कसैले नेदख्ने ठाउँमा कसैले नभेट्ने ठाउँमा।
छोरी भएकै कारण कलिलो उमेर किम्बुको रुखमुनि बसेर एक्लै रुनुपर्यो ...
मैले बाबाको तातो अँगालो र न्यानो चुम्बन कहिल्यै पाइनँ । आमाले मलाई सानो एक्लै छोडेर काम गर्न जानुहुन्थ्यो । म सानो भए पनि घरको सबै काम सकेर घरमाथिको दाडिमको फेदमा टाउको राखेर आमाको बाटो हेरिहरन्थेँ । दाडिमको बुटामा लटरम्म फल लागेका थिए । त्यो देखेर एकदिन बाबा निकै खुसी हुनुभएको थियो । तर, आफैले रोपेको फलको परिणाममा बाबा कहिल्यै खुसी हुन सक्नुभएन।
मभन्दा माथि तीन वटी दिदी हुनुहुन्थ्यो । दुईवटीको विवाह भएको थियो । एउटीको दिदी भने घरमै हुनुहुन्थ्यो ।
सधैँ घरको काम गरिरहने र मलाई एकछिन पनि नछाड्ने आमा एकदिन बजारसम्म पुगेर आउँछु भनेर निस्कनुभयो ।
तर आमा त्यो रात घर आउनुभएन । बाबा त आएको गएको पनि मैले थाहा पाउन्थेँ । त्यो रात बाबा घर आउनु भएन । हामी चुपचाप बसिरह्यौँ ।
भोलिपल्ट आमा घर आउनुभयो । तर, उहाँ पहिलेभन्दा निकै परिवर्तन भएर आउनु भएजस्तो लाग्यो । के जादु भयो एक रातमै ?
मैले जानेदेखि आमा यसरी बसेको कहिल्यै थाहा पाएको थिइनँ । उहाँ सुतेको ओछ्यान र उहाँको घरको मझेरी सबै रगतले लत्पतिएको थियो।
म निकै डराएँ । के होला मेरी आमाको जिन्दगी भनेर उहाँलाई अँगालो मारेर निकैबेर रोइरहेँ । उहाँले पनि मलाई अँगालो मारेर रुनुभयो ।
मैले आमा रक्ताम्मे हुनुको कारण धेरैपछि मात्रै थाहा पाएँ । त्यसपछिका दिनमा दिनमा आमालाई प्राय एकान्तमा रोइरहनुभएको देख्थेँ । उहाँको आँसु देखेर म बारम्बार विचलित भइरहन्थेँ । तर, उहाँलाई सोध्ने हिम्मत कहिल्यै गरिनँ । मैले केही प्रश्न सोधे भने आमाको मुखभन्दा पहिला आँखा बोेल्थे ।
त्यस बेलामा गाउँघरमा छोरीलाई पढाउने चलन थिएन । आमाले मलाई स्कुल भर्ना गरिदिन बाबालाई आग्रह गर्नुभयो । पितृसत्ताको जरोमा उभिएका मेरा बाबाले स्कुल भर्ना गरिदिन मान्नुभएन । समाजले भन्थ्यो, छोरी पढाउने मान्छे पागल हो ।
आमासँग पैसा रहेनछ । उहाँले छिमेकी आन्टीसँग सापटी गरेर मलाई स्कुल भर्ना गरिदिनुभयो।
मैले आमाको दुःख र मेहनत सम्झेर पढ्न थालेँ । कहिल्यैै उहाँको बाध्यतामाथि प्रश्न उठाइनँ । जे दिनुभयो त्यही खाएँ । जहाँ सुताउनुभयो त्यही सुतेँ । म ज्ञानी भएँ । चुपचाप पढेँ । त्यतिबेला म कक्षा सातमा पढ्थे ।
एकदिन स्कुलबाट फर्कँदा घरभरि मान्छे नै मान्छे भरिएका थिए । म घरमा पुग्दा त आमाको मृत्यु भइसकेको रहेछ ।
उहाँको शरीरमा सेतो वस्त्र ओडाइएको थियो । तुलसीको मोठमा राखेको आमाको शव रगतले भिजेको थियो । मृत्यु हुनुको कारण खोजेँ । तर, मलाई कसैले पनि बताउने प्रयास गरेनन् ।
मलाई आफ्नो प्राणभन्दा प्यारो मान्ने मेरी आमाको शरीर धुवाँमा फैलियो । मैले आँगनीको डिलमा उभिएर उहाँको अन्तिम अस्तिव हेरिरहेँ।
त्यसपछि बहिनी र मलाई फुपू दिदीको घर चावहिलमा ल्याइएर पढाउने सल्लाह भयो । हामी यतै बस्न थाल्यौँ । मैले धेरैपछि थाहा पाएँ । आमाको मृत्यु गर्भपतन भएर उच्च रक्क्तचापको कारणले भएको रहेछ।
मलाई यो कुरा सुनेपछि निकै नरमाइलो लाग्यो ।
विगतसँग मलाई कुनै पनि गुनासो थिएन । मेहनत गरेर पढेँ । एसएलसीमा राम्रै प्रतिशत आयो । मैले मेरो खुसीको सुखद समाचार मेरी आमालाई सुनाउन पाइनँ।
म लेखनको माध्यमबाट समाज र राष्ट परिवर्तन गराउनको लागि आफूले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न चाहान्थेँ । त्यसकारण मैले आरआरमा पत्रकारिता विषय जोइन गरेँ ।
एकदिन चावहिलबाट गौशाला जाँदै थिए । बाटोमा सुरक्षित गर्भपतन सेवा भनेर लेखिएको रहेछ । ज्यानमारा । मेरो मुखबाट फुत्किएको पहिलो वाक्य त्यो नै थियो । आर्थिकताकोे खोल ओडेर अर्काको ज्यान मार्न बसेका ज्यानमाराहरू कसैलाई मार्नु भनेकोे आफू मर्नुजस्तै होइन ? मान्छेहरू बाहिर आर्दशको ठुलाठुला खोल ओडेर भित्र कति खोक्रो हुँदो रहेछ भन्ने कुरा बुझेँ । मलाई अचेल आदर्शको खोल आडेर हिँड्ने खोक्रो मान्छेहरूसँग निकै डर लाग्छ । बाटोमा सुरक्षित गर्भपतन सेवा लेखेर राखिएको ठुलाठुला बोर्ड अगाडि उभिएर निकैबेर सोध्ने गर्छु । यो ज्यानमारा ठाउँ हो । चिचिलाकै जीवन समाहित गर्न पुगेका कलिला छोरीहरूले गरेकोे चित्कार मात्रै सुन्छु । अरूलाई मार्नु भनेको आफैँ मर्नु जस्तो हो । यो शहरमा कति ज्यानभाराहरू हाँस्दै खुलेआम हुन्छन् । यी चिचिलाहरूको नाममा कसले बनाउँछ कानून ? यो सरकारको छाती फराकिलो होला खै ?
यो समाजको मानसिकता खै कहिले परिवर्तन होला ? छोरी मान्छेलाई हेर्न आम मान्छेको धारणा कहिले परिवर्तन होला ? हामी कहिलेसम्म आर्दशको खोल ओडेर कुरूप मन लिएर बाँचिरहन्छौँ ?
मेरो मनमा यी कुराले निकै प्रभाव पार्यो । म हरेक रात आफ्नो मृत्युको चित्कार मात्रै सुन्थेँ ।
दिदी, यति फराकिलो संसारमा छोरीहरूको स्थान कति संकुचित है । असल बुहारीको कल्पना गर्ने समाजले किन असल छोरीको व्यक्तित्व निर्माण गर्न सक्दैन् । हामीलाई घरपरिवार, छिमेक सबै समृद्धि बनाउन मन लाग्छ । तर छोरीहरूलाई गर्भमै निमोठ्न कति आतुर हुन्छौँ हामी ? साँच्चै छोरीहरू यो पृथ्वीको भार नै हो त ? नत्र किन खुलेआम खुलिरहेछ सुरक्षित गर्भपतन सेन्टर ?
उसका कुरा एकोहोरो सुनिरहेँ । आँखामा अघि नै फेवाताल जमिसकेछ...!
प्रकाशित: १५ वैशाख २०७८ ०८:३३ बुधबार