८ वैशाख २०८१ शनिबार
कला

काठको बाकस

कविता

अन्जना पौडेल ‘अनुश्रुति’

 

केही टुक्राटाक्री

सपनाका खोजीमा

परदेश लम्किएको म

सपनाका सिला खोजेर

आफ्नो जीवन  

त्यो अग्लो पहाडको  

सिलाजितझैं

मजबुत बनाउन खोज्दै गर्दा

अचानक आज चीर सपनामा

स्वदेश फर्कंदैछ मेरो शरीर  

काठको बाकसमा !

तिम्रै सपना खोज्न  

हिँडेको थिएँ  !

तर तिम्रा सपना  

भेट्टाउनै सकिन

तिम्रा सपना पूरा गर्नै  

सकिन  

मलाइ माफ गर है आमा !

मलाइ गहिरो चोट लाग्दा बचाउन

सञ्जीवनी बुटी ल्याइदिने हनुमान  

त्यो विरानो लंकामा

थिएनन् आमा !

तिमीलाइ थाहा छ आमा ?

सपनाकै बाटोबाट सपनामै

यो संसारभरमै  

नभएको देश

लादैछन् नि मलाई !  

जहाँ सास फेर्नु पर्दैन रे

जहाँ जन्मनु र मर्नु पर्दैन रे  

जहाँ पुगेपछि फर्किनु मिल्दैन रे !

कस्तो होला त्यो संसार

मेरो आत्माले सोच्दैछ !

तर,  

म जन्मेको संसार अनि

तिम्रो न्यानो र स्नेही काखमा

बस्ने धोको अधूरो रह्यो नि आमा !

अहँ,  

म त  

बिउँतिनै सकिन आमा

सपनाका सगरमाथाबाट !

र  

परें चिर निद्रामा !

हे नेपाल आमा  

मलाइ सम्झेर  

आँसु नझार्नु है !

प्रकाशित: ११ वैशाख २०७८ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App