आजका बालबालिका नै भोलिको देश हाँक्ने हुन् । यसमा कसैको दुई मत छैन । आजका बालबालिका राम्रा भए मात्रै भोलिको देश राम्रो हुने हो । यिनलाई कसरी उत्तम बनाउने होला । यो कुरा सबैले सोचिदिने हो भने अवश्य पनि भोलिको देश र बालबालिकाको पनि भविष्य उज्ज्वल हुने छ । तिनले आफ्नो जीवन पनि सुखमयका साथ व्यतीत गर्ने छन् । पैसा त तपाईले जतिसुकै कमाएर राख्नोस् न ती बालबालिकाको बुद्धि, विचार र विवेक राम्रो भएन भने घरमा दिनहुँ अनेक लफडा आइलाग्ने छन् । तिनका कुलतले तपाईलाई कहिल्यै शान्ति दिने छैन।
त्यो एउटा बालकको मात्र नभएर गाउँमा एउटा बालक खराब भयो भने त्यसले गाउँ, समाज, जिल्ला, प्रदेश, देश र विश्वलाई नै असर गर्दछ । त्यसैले जसरी पनि हामीले बालबच्चालाई कसरी असल बनाउने होला सोच्नै पर्दछ।
बालबालिकालाई कसरी शिक्षित र ज्ञानी बनाउने होला भनेर पहिला पनि निकै सोचिएको हुन्थ्यो । त्यतिबेला नेपालभरि कहीँ पनि पढ्ने एउटा विद्यालय थिएन । सबै जना काशीवनारस गएर पढेर आउँथे र यहाँकालाई पढाउनेसिकाउने गर्दथे ।
पहिला बालबालिकालाई शिक्षा दिँदा सर्वप्रथम “सरस्वती मयादृष्ट्वा विणापुस्तक धारिणी हंशवाहन संयुक्ता विद्यादान करोतु मे” भनेर संरस्वतीको स्तुति गरेर क, ख, ग, घ, ङ, च भनेर सुरु गरिन्थ्यो । यसको अर्थ हो बालकले ए सरस्वती माता, म तपाईलाई दुई हात जोडेर नमस्कार गर्दछु । मलाई विद्या देऊ” यसरी सरस्वती माताप्रति भित्रैदेखि ध्यान गरेर पढ्न बसिन्थ्यो। मलाई कसरी पढ्न आउला भन्ने ध्यान हुन्थ्यो । मलाई किन एकदम राम्रोसँग पढ्न नआएको होला भनेर खोज गर्दथे अनि उसलाई पढ्न नआउने कुरै थिएन।
अहिले सरस्वतीको स्थानमा त बालकलाई लगिएला । तर, त्यो मन्त्र उच्चारण गरिँदैन र ए, वि, सि, डि, इ, एफ, जि, एच भनेर सुरु गरिन्छ । त्यो ए, वि, सि, डि भन्न पाएको छैन बालकले उता एउटा साथीले बेलुन उडाउँदै दौडेको देख्छ उसको पालो आमा मलाई पनि ऊ त्यो बेलुन किनिदिनोस् न भन्न थाल्दछ । आमाको पालो ए, वि, भन्न पाएको छैन दौडेर बेलुन किनेर ल्याइदिएकी हुन्छिन् ।
छिनमा के देख्छ, छिनमा के देख्छ, त्यो ल्याइदे भन्छ । आमा त्यतै किन्न दौडिएकी हुन्छिन् । पढ्न र पढाउनभन्दा बालकलाई चित्त बुझाउनतिर ध्यान गएको देखिन्छ ।
पहिला घोकेर कण्ठस्थ पारेपछि आँखा चिम्लिएर पाठ बुझाइन्थ्यो । अघिल्लो दिन विद्यालयमा गुरुले दिएको पाठ भोलिपल्ट कण्ठस्थ पारेर लगेर बुझाएपछि बल्ल गुरुले अर्को पाठ दिनुहुन्थ्यो। कुनै त्यही विद्यालयमा बसेर कण्ठस्थ पारिन्थ्यो त कुनै घरमा आएर बेलुका कण्ठस्थ पारिन्थ्यो र विद्यालयमा गएर बुझाइन्थ्यो।
एक बजे हाफ टायम हुन्थ्यो । त्यतिबेला कसैले खाजा खाने चलनै थिएन। हाफ टायम भएपछि खेल्न गइन्थ्यो । एकछिन खेलेपछि पढ्न बस्यो अनि चार बजे टयाङ्टयाङ् घण्टी लाग्थ्यो । त्यतिबेला कसैको हातमा घडी थिएन । रूखको छाया हेरेर ‘ल अब बेला भयो ’ भनेर घण्टी लगाइन्थ्यो अनि दौडिएर घर आयो खाजा बनाएर राखेको हुन्थ्यो । खाजा खायो आयो र खेतबारीमा घाँस काट्न गइन्थ्यो । घाँस काटन गए पनि दिउँसो गुरुले केके पढाउनुभयो सबै सम्झिरहेको हुन्थ्यो । गाईभैँसीलाई घाँस काटेर ल्याएपछि बल्ल पलेँटी मारेर बसेर पाठ घोकिन्थ्यो । कुनै घाम छँदै घोकिन्थ्यो । कुनै टुकी बालेर टुकीको –उज्यालोमा घोप्टिएर कण्ठ पारिन्थ्यो र भोलिपल्ट विद्यालयमा हाफ टायम अगाडि गुरुलाई बुझाइन्थ्यो । लेख्न त एक अक्षर पनि लेख्न पर्दैन्थ्यो ।
अहिले त सबै लेख्ने चलन छ । एउटा अक्षर पढिंदैन खालि लेखिन्छ मात्रै । लेखेको कुरा पनि दिमागमा नबस्ने त हैन । तर, पढेको कण्ठ पारेको कुरा बूढा हुने बेलासम्म पनि मुखाग्र हुन्छ । लेखेको कुरा बढीमा एकदुई वर्षमा नै बिर्सिन्छ ।
पहिला हाम्रो पालासम्म पनि पढ्ने भनेको ज्ञानका लागि पढ्ने हो भन्ने थियो र यस्ता उक्तिहरूको पढाइ हुन्थ्यो, “परोपकाराय पुन्याय पापामा परपिडनम्”अरूको उपकार गर्नु भनेको धर्म गर्नु हो, पुन्य कमाउनु हो भने अरूलाई दुख दिनु भनेको पाप गर्नु हो भने पढाइन्थ्यो । त्यस्तै वरमेको गुणीपुत्रो नचर्मूख शतान्यपि एकश्चन्द्र तमोहन्ति नतुतारा गणीपिच” सयओटा मूर्ख छोरा हुनुभन्दा एउटा मात्रै गुणी पुत्र हुनु बेस हुन्छ जस्तै आकाशमा नौलाख तारा उदाएर के काम, उज्यालो हुँदैन । तिनका मित्र दोष भए पनि एउटै चन्द्रमाले सारा संसार उज्यालो बनाउँछन् भनेजस्ता कुराको पढाइ हुन्थ्यो ।
र जुन गाउँमा एउटा व्यक्ति आएर यो गाउँमा सबैभन्दा असल गुणी व्यक्तिको छ हँ भनेर सोध्यो भने हत्त न पत्त एक नम्बरमा जसको नाउँ आउँदैन त्यस्ताकी आमा बाँझी हुन भनिदिए हुन्छ । तिनले पाएका छोराको यो समाजमा कुनै अर्थ छैन । त्यस्ता छोरा पाउनु बेकार छ भनेर भनिन्थ्यो ।
त्यतिबेला गर कि मर भन्ने थियो। कुनैले पढेन भने त्यसलाई पिटेर पनि पढाउनुपर्छ भन्ने थियो र पिटेर पनि पढाउने गरिन्थ्यो । पहिलाको यो बानी ज्यादै नराम्रो नै थियो ।
पहिला अर्को कुरा यस्तो पनि थियो आफ्ना बालबच्चा जतिसुकै एकदम ओजस्वी, बुद्धिमान र चतुर भए पनि राम्रोसँग पढेर समाजमा त्यसले जति राम्रो काम गरे पनि आफ्ना बाआमाले स्याबास बाबु तिमीले राम्रो काम गरयौँ । कहिल्यै नभन्दिने जस्तै यहाँ एउटा कथा छ । भारवि भन्ने हाम्रै नेपालका एउटा महाकवि थिए । ती कवि निकै ओजस्वी थिए तिनले “किँतार्जुनीयम्” भन्ने महाकाव्य लेखेका छन् तिनले जति पढे पनि लेखे पनि स्याबास राम्रो ग्यौँ बाबु भन्नु त कताकता सधैँ बाआमाले तिरस्कार गर्ने यस्तो पढेर हुन्छ यस्तो लेखेर हुन्छ भन्ने गर्दथे । उनको पालो जति राम्रो गरे पनि नहुने जति राम्रो गरे पनि तिरस्कार गरेको गरै भनेर दिक्क लागेर यिनलाई मारिदिन्छु बरु भनेर योजना बनाएछन् । पछि कताकता उनले थाहा पाएछन् । त्यो कुरा बाबाले आफ्नै भलाइका निम्ति भनेका रहेछन् भन्ने कुरा अलिकति राम्रो गर्दैमा क्यावात बाबु तिमीले धेरै राम्रो गरयौ भन्ने हो भने मात्तिएर बिग्रिएला छोराछोरी भनेर बाबाले त्यसो गरेका रहेछन् । यो कुरा उनले थाहा पाएपछि बाबासँग आफ्नो बाबुलाई मार्न खोज्ने त्यसको पापकटनी गर्न के गर्नुपर्ला भनेर सोधेछन् अनि बाबाले बार वर्षसम्म ससुरालीमा गएर बस्नुपर्छ भने छन् अनि उनी ससुराली गएर बस्न थाले । त्यसपछि उनलाई त्यहाँ धेरै दुखकष्ट पर्न थाल्यो हेपिएर बस्नुपरयो ।
अहिले त आफ्ना छोराछारीहरू विद्यालयमा फेल भएर आएका रहेछन् भने पनि फेल भयो भन्दा लाज हुन्छ भनेर झन् यति नम्बर र उति नम्बर ल्याएर पास गरेछ भनेर बढाइचढाइ गरेर भनिएको हुन्छ । जसले गर्दा छोरा झन् लठिमुङे भएर निस्किएको हुन्छ ।
अहिले किताब किनेर ल्याएर दियो बालक विद्यालय जान्छ आउँछ । कति के पढेर आयो कि केही पढेन केही वास्ता छैन । कस्ता साथीभाइहरूसँग खेलिरहेको छ । त्यो पनि थाहा छैन बाबाआमा दुवै जागिरे आफ्नै चटारो भियाईनभियाई छ । बालबच्चालाई हेर्ने समय नै छैन । गृहकार्य गरेर बुझायो बुझाएन त्यो पनि थाहा छैन । कतिलाई त विद्यालय गयो गएन त्यो पनि थाहा हुँदैन ।
हिजोआज बालबच्चालाई गालीगलौज र पिटपाट गर्न हुँदैन त्यो थाहा छ । कहिले पैसा यति चाहियो उति चाहियो यो किन्न परयो त्यो किन्न परयो भन्छन् मागेर लैजान्छन् । केका लागि हो त्यो सामान ल्यायो ल्याएन त्यो पनि थाहा हुँदैन ।
पहिलेपहिला पो नैतिक शिक्षा थियो योयो काम खराब हो खराब काम गर्न हुँदैन भन्ने थियो र खराब काम गर्न हुँदैन भनेर गर्दैनथे । खराब काम गर्न डराउँथे । अहिले त खराब काम कुन हा,े असल काम कुन हो कति शिक्षकले त आफैले पढ्नुभएको छैन होला । बाबुआमा शिक्षक कसैलाई पनि थाहा छैन अनि कसरी कल्ले सिकाएर ती बालबालिकाले असल काम गर्छन् त न घरमा सिक्छन न विद्यालयमा।
अहिले कति विद्यार्थी घरबाट विद्यालय जान्छु भनेर जान्छन् । बाटामा गएर दिनभरि तास खेलेर बेलुका घर फर्किन्छन् । कहिले विभिन्न दुव्र्यसनमा लागेर पाखामा यसै दिनभरि रल्लिएर बेलुका घर फर्किन्छन् । अब कसरी भोलिको हाम्रो देशको भविष्य सुनिश्चित होस् उन्नति प्रगतितिर लागोस् र सन्तति देशको भविष्य उज्ज्वल होस् । यसका लागि अभिभावक निकै चनाखो हुनुपर्छ ।
प्रकाशित: १५ फाल्गुन २०७७ १०:३७ शनिबार