१)
काम गर्नेको खुट्टा तानिन्छ, कसरी बन्छ देश
विकासमा पत्थर हानिन्छ, कसरी बन्छ देश !
विकास र समृद्धिको लागि, होड चल्नुपर्नेमा,
मुखभरिको लड्डु छानिन्छ, कसरी बन्छ देश !
२)
खुकुरी गर्धन साक्खै बन्दा, अचम्म लागेको छ,
हामी त घनिष्ट मित्र भन्दा, अचम्म लागेको छ ।
न लाज छ न घिन, न मनमा ईखको विउ छ,
कस्तो हो राजनीतिको धन्दा अचम्म लागेको छ।
३)
न सिङ छ न जुरो, साँडे बन्ने रहर छ,
अभागी छ पुर्पुरो, साँडे बन्ने रहर छ,
न मष्तिष्कले काम गर्छ, न त पाखुराले,
हर पक्षमा लुरो, साँडे बन्ने रहर छ।
४)
माननीय पदको, अपमान नहोस् महासय,
विकासको गतिमा, व्यवधान नहोस् महासय ।
जनताको विश्वास मात्रै, राष्ट्र हितको लागि हो,
खसीबोकाको जस्तो, पहिचान नहोस् महासय।
५)
एउटा छोरो पाए थ्यो देशले, डाहा गरे,
जसरी हुन्छ पदच्यूत गर्ने, चाहा गरे ।
देश उठ्दै थियोे, जनता मुस्कुराउँदै थिए,
बिच बाटोमै सबैको सपना, स्वाहा गरे।
प्रकाशित: १४ फाल्गुन २०७७ ०७:३१ शुक्रबार





