जेठ १५ देखी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोल नं १’ ले दर्शकको लागि पैसा जित्ने अवसर ल्याउको छ।
मोफसलका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीसँग साक्षात्कार गरेको फिल्मले अहिले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम लिएर दर्शकमाझ आएको छ।
टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा तथा भिडिओ प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अवसर लिएर आएको छ। प्रतियोगितामा सहभागीहरूले फिल्मसँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडिओमार्फत प्रस्तुत गर्नुपर्नेछ।
आफ्नो परिचय विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ। कथामा आफ्ना वास्तविक स्कुल जीवनका अनुभव समेटिनुपर्नेछ।विद्यार्थीलाई फिल्मसँग जोड्न निर्माण युनिटले यो प्रतियोगिता ल्याएको हो।
कथामा शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्व, गरिबी वा चुनौती, स्कुलको रमाइलो सम्झना, सपना र लक्ष्य तथा संघर्ष र मेहनतलगायत विषयवस्तु समेट्नु पर्ने छ।
भिडिओ छोटो, स्पष्ट , भावनात्मक तथा १ देखि ३ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ। सिर्जनात्मक प्रस्तुति तथा स्पष्ट आवाज अनिवार्य गरिएको छ। यसका लागि सबै उमेर समूहका व्यक्तिहरूले सहभागिता जनाउन सक्नेछन्। भिडिओ टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत पोस्ट गर्नु अघि तोकिएका ह्यासट्यागहरू प्रयोग गर्नु पर्ने छ।
उक्त प्रतियोगीतामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, २० जना सान्त्वना विजेताले ‘रोल नं १’ फिल्मको एक–एक टिकट प्राप्त गर्नेछन्।
विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’ मा विद्यार्थीको बालमनोविज्ञानको कथा भन्नेछ। जहाँ पढाइसँगै गलत शैक्षिक प्रणालीका कारण बालबालिकामा कस्तो असर पछै, भन्ने केन्द्रमा राखिएर बनाइएको छ।
जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बालकलाकारमा रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ ,निर्भिक रेग्मी रहेका छन्।
उक्त प्रतियोगिताको विजेता घोषणा जेठ २५ गते गरिनेछ।
प्रकाशित: ६ जेष्ठ २०८३ १८:२० बुधबार





