६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला

‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान

‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ। दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन्। गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका हुन्।  

विभिन्न ३० मुलुकका चार सय भन्दा बढी फोटोपत्रकारले खिचेका दुई हजार ७३  फोटो प्रतियोगितामा समावेश भएको जनाइएको छ। प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भएका थिए। सजिलै हाड भाँचिने रोग (ओस्टियो नेनेसिस इम्पेर्फेक्टा—ओआई) बाट पीडित आफ्नै छोरा अनिमेसलाई दुर्गा केसी ह्विलचियरका सहायताले विद्यालय पुर्‍याउँदै गरेको फोटो लामिछानेले प्रतियोगिताका लागि पठाएका थिए।  

एघार वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ। ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गरेको फोटोले दिएको थियो। फोटोमाध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउन सफल भएकोमा लामिछानेले खुशी व्यक्त गर्दै भने, 'सफलताका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई आभाव व्यक्त गर्दछु।' फोटोका माध्यमबाट ओआई रोगको बारेमा स्वदेश र विदेशमा जनचेतना अभिवृद्धि गर्न आफ्नो लागि महत्वपूर्ण उपलब्धि भएको उनले बताए। रासस

प्रकाशित: १३ फाल्गुन २०७७ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App