coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

राजधानी

लघुकथा

राममायाले आफ्नो राजधानी जाने यात्रा सुरु गरेकी थिइन् । हुन त उनले दुनियाका तिसौँ राजधानीको भ्रमण नगरेकी होइनन् । फ्रान्सको राजधानी पेरिसमा त जीवनका अति उर्वरक बिस वर्ष बिताएकी थिइन् । आफ्नो देशको राजधानी हेर्ने अवसर भने पहिलोपटक जुरिरहेको थियो । उनी आइरहेको हवाई जहाजले दिल्लीलाई विश्राम गर्ने चौपारी बनाउन पुग्यो।

डिल्ली हवाई अड्डाको  अत्यासलाग्दो पर्खाइपछि हवाई जहाजमा प्रवेश  गरिन् । प्लेनले आकाश मार्ग समाउनु स्वाभाविक थियो । रातको समय थियो । राजधानीको आकाशमा आउँदा झिलिमिली धर्तीमाथि विचरण गर्ने मौका मिल्यो । के कारणले हो कुन्नि जहाज आधा घण्टा होल्डमा रहनुपर्यो । उसले राजधानीको आकाशमा चिप्लिदै चक्कर लगाउन थालेको थियो । त्यही समयमा सँगै रहेका राममायाका साथीले भने– ऊ त्यो नारायणहिटी संग्रहालय हो । राजतन्त्र छँदा राजाको राजधानी । उनलाई झिलिमिलीले आकर्षण नगर्ने कुरा थिएन।

साथीले भन्दै गए– ऊ त्यो प्रधानमन्त्रीको आवासगृह हो । ऊ त्यो मन्त्री क्वाटर । ऊ त्यो सैनिक अड्डा । ऊ त्यो समानान्तर रेखाको घेरोजस्तो देखिएको छ नि  त्यो रिङ रोड हो।

रातमा झिलिमिली देखियो राजधानी । उनको मनभित्रको ममताको गाग्री उमङ्गले भरिभराउ भएर छाल जान थालेको थियो।

उनले  घाँटीदेखि खाँजिदै आएका शब्दहरू ओकलिन्– यो त पेरिसभन्दा पनि सुन्दर लाग्यो।

प्लेनले भुइँ समात्यो । उनीहरू झिलिमिली सडक हुँदै पाँच तारे होटलमा गएर विश्राम गरे । भोलिपल्ट बिहान राजधानीको सुन्दरता चुम्बन गर्ने योजना बनाउँदै  ओक्षानको  शरणमा पुगिन् राममाया।

 दैनिक कम्तीमा एक घण्टा बिहानी यात्रा गर्ने चलन थियो  राममायाको । आफ्नो देशको राजधानीको पहिलो दिनमा त दुई घन्टा मर्निङ वाक गर्ने घोषणा गर्दै सडकतिर निस्केकी थिइन् । दुई घन्टा हैन दसै मिनेटमा फर्केको देख्दा देख्नेहरूले अचम्म मान्नु अनौठो भएन। 

उनी स्याँस्याँ गर्दै, खोक्दै, घ्राणेन्द्रियको प्रवेशद्वार बन्द गर्दै र पकेट समाउँदै आएकी थिइन् ।

प्रकाशित: ९ फाल्गुन २०७७ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App