बहत्तर सालको भूकम्पमा नेपाली सान धरहरा गाम्राङगुम्रुङ लड्यो । धरहरा मात्र कहाँ हो र भिमसेन थापाको अस्तित्व लड्यो । नेपाली सबैको वीरता लड्यो।
आजको जमानामा मान्छे निर्जीव बन्दै गर्दा । बरु निर्जीवहरू सजीव बनेर चाल देखाउन थाले । यसै क्रममा धरहरा , घण्टाघर र रानी पोखरी आधारातमा कानेखुसी गर्न थाले।
नाक फुलाउँदै धरहराले भन्यो– सबैको सामु म जुरुक्क उठ्दैछु । एक्काइस तला पुगेँ ।
घण्टाघरलाई सुन्नेबित्तिक्कै कन्सिरी तात्यो । रिसले आगो भएर आवाज निकाल्यो – अग्लो भएँ भनेर धेरै घमण्ड गरयौ त्यसैकारण ढल्यौ।
वार्तालापमा रानी पोखरी भने मौन थियो । धेरै वर्षपछि आफू परिचित भएकाले चूपचाप बस्न सही ठान्यो । काष्ठमण्डप, वसन्तपुर तथा सिंहदबार दुर्घटनापछि पूर्ण उपचारको पर्खाइमा थिए । डाक्टरले आधाआधी उपचार गरेकाले दुखाइ कम भएको थिएन।
रत्नपार्कको आफ्नै चिन्ता थियो । उसले पिरोलिँदै भन्यो– हे भगवान् , कृत्रिम सुन्दरताको नाममा यी मनुष्यहरूले मेरो अस्तित्व नसकून् ।
धरहरा हालको सरकारभन्दा माथि उठ्यो घमण्डले । मानौँ , आधारबिनाको उचाइ नै सर्वमान्य हो । पद नमिल्दा सडक रोज्नेजस्तै सस्तो घमण्डमा उत्साहित भयो । यी सबै अवस्थाहरू घण्टाघरले एकएक गरी नियालिरहेको थियो।
अचाक्ली भएपछि घण्टाघरले मुख फोर्यो – शरीर ढलेपछि शिर उठाएर के काम ? सबैको धरोहर भएर उठे पो देश उठ्छ ।
प्रकाशित: ८ फाल्गुन २०७७ ११:०१ शनिबार