१ पुस २०८२ मंगलबार
image/svg+xml
कला

परदेशीको पत्र

पत्र

नारायण कोइराला

 

सात समुन्द्रपारि  अर्थात् अरबको खाडीबाट

यो परदेशीको सबैलाई नमस्कार !

जाडोको पहारिलो घाममा बसी फुर्सत निकाली यो अरबको खाडीबाट लेखिएको पत्र पढ्दिनु होला।पढ्न नजाने आमाबाबाले पनि जान्नेहरूसँग बसी सुनी दिनु होला। हजुरहरूलाई थाहा नै छ। करीब एक दशक पहिलासम्म हाम्रो दुःखसुख साट्ने माध्यम पत्राचार नैं थियो। पत्र आयो भनेपछि गाउँभरि हल्ला हुन्थियो। अहिले भनें म अलिक भिन्न किसिमको पत्र लेख्दै छु।

समय बदलियो भन्छन्। देशको शासन व्यवस्था बदलियो भन्छन्। नयाँ संविधान आयो।जनताको अधिकार सुरक्षित भयो,भन्छन्। मैले  भने अरबमा बसी परदेशको चस्माबाट हेर्दा देशमा परिवर्तन भएको देखिन । पहिलाभन्दा अहिले झन् बढी भष्टाचार उस्तै महँगी, उस्तै नेता ,२०४६ देखि २०७७ सम्म उनै पुरानो अनुहार।अनि म के परिवर्तन भएको छ भनु खोई ?

म दशक पहिला नि एउटा अन्तर्राष्टिय विमानस्थल देखेको मान्छे । आज पनि त्यति नै  देख्दै छु।

म मेरो देश छोडेर आउँदा बालुवा मात्र देखिने ठाउँ यहाँ हरियालीमा परिवर्तन भइसकेको छ। तर, मेरो देश जहाँ हरियाली थियो । त्यो पनि मरुभूमिमा परिणत हुँदै छ। मेरो देशका किसानहरू खेत बाँझो राख्न्न बाध्य छन्। न मल न जल कसरी गरून् खेती पनि ! खेती गरे पनि बजार भाउ शून्य। छ त, हाम्रो देशमा राजनीतिक खेती छ। भ्रष्टाचारको खेती छ। कुर्सीको खेती छ। मानव तस्करको खेती छ। पासपोर्ट बनाई लाखौं ठगी विदेश पठाउने खेती छ। आफू राजधानीमा महल बनाई जनतालाई बेवकुफ बनाउने खेती छ। देशविदेशमा रहेका नेपालीसँग सहयोग माग्ने खेती छ। युट्युब च्यानल चलाएर पैसा उठाउने खेती छ।

तर, अरबको गर्मी सर्दी के छ । मजदुरको अवस्था के छ। श्रमअनुसार पारिश्रमिक छ छैन् । कति मजदुरका लास बाकसको बरफमा जमिरहेका छन् । बुझ्ने कोही छैन। अरबमा कैयौं नेपाली दुःखमा परेका छन्। तिनलाई हेर्ने दूरबिन बनेको छैन हाम्रो देशमा। मात्र रेमिट्यान्स भित्र्याउने हतार छ। रेमिट्यान्स आएन भने चुनाव खर्च कहाँबाट लुट्ने भन्ने चिन्ता छ। लाजै पचाई गरीबका छोराछोरीलाई विदेशमा पासपोर्टभित्र बाँधेर श्रम बेच्न बाध्य पारिएको छ।

यसर्थ परदेशको एक्लोपनलाई  हेर्दा पनि आफ्नो देश फर्किने वा नफर्कने भन्ने प्रश्न अगाडि आउँछ। न ढुक्कसँग देश फर्कौ भन्न सकिन्छ। न जिन्दगीभर अरबमा बस्न सक्ने हिम्मत ममा छ। म अब के गरूँ दोधारमा छु। नेपालको व्यवस्थालाई भरोसा गरूँ अथवा अरबको खाडीमा नै आफूलाई अन्त्य गरूँ!

यदि खाडीमा नै आफ्नो अन्त्य भएछ भने पनि मेरो देशको सरकारले लास मात्र नेपाल लान पनि महिनौ या वर्षौं पनि लगाउने छ। त्यों अनुभव म देखिरहेको छु । सायद मेरो देशमा परिवर्तन भएको भए यस्तो हुने थिएन। देश पाल्ने परदेशीहरूको सम्मान हुन्थियो होला।

दुःख पर्दा सरकार छ भन्ने आभास हुने थियो होला। परदेशीका लागि सरकार कहाँ छ भन्ने कुरा कोरोना कालमा  स्पष्ट भइसकेको छ।

आफनै कविताको यो शब्द याद  आयो –

मर्नु छ भने मेरै देशमा मर्छु, बरु उतै खरानी बनाएर जलाइदेऊ।

म विदेशमा थला परेको छु, तातो घाम जलिरहेको छ।

एकपल्ट हेर सरकार, म तिम्रो पर्खाइमा बसिरहेको छु ।

यी शब्दहरू त्यसै आएका थिएनन्। त्यस समयमा उम्लिएको वेदनाको चीत्कार थियो।

त्यसैले अन्ततिर म मरे पनि मेरो देशको माया मार्न सकिन। सबैजनालाई म यो पत्रबाट अनुरोध गर्द्छु – मेरो देश सधैं बाँचिरहोस्। जसरी संसारमा नेपालीको लगनशीलता छाएको छ। समुन्द्रपारि भए नि अबको मेरो रेमिटेन्सले भ्रष्टाचारी, झोले ,तस्कर ,कामचोर कर्मचारी , दलाल अनि आफ्ना लागि मात्र   रोड तताउने  नेताहरूको अन्त्य भएर देशमा विनाश होइन विकासको लहर देख्न पाइयोस।

यति भन्दै अन्तमा पुनः सबैलाई सम्झँदै, यो पत्र बन्द गरे।

अरबको खाडीबाट एक परदेशी– 

नारायण कोइराला

तानसेन पाल्पा

हाल– युएई ।

प्रकाशित: २४ पुस २०७७ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App