१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

वादविवाद र अभ्यास

कविता

 पौडेल केशव प्रसाद 

 

आज  

बिहानै दाइले भन्नु भो,

“हाम्रो देशको अवस्थाको बारेमा

भाइ  

एउटा कविता शैलीको कथा लेख न

फेरि भाइले भन्यो,

“दाइ,  

देश हाँक्ने नेतृत्वको बारेमा  

एउटा कथा शैलीको कविता लेख्नु न  

 

अलपत्र परेँ !

म खलपत्र परेँ !

धेरैबेर सोचेँ

देशको बारेमा

कथा शैलीको कविता

अनि

नेतृत्वको बारेमा

कविता शैलीको कथा ।

 

कुन पहिले र सुरु गरौ कसरी ?

दुवै एकै चोटि लेखौ वा नलेखौ कसरी ?

अलमल्ल परेँ !

अनि यसो सम्झेर मैले भने,  

हाम्रै कुरा लेखौँ है दाइ !

हाम्रै कुरा गरौँ है भाइ !

अर्काको कुरा गर्दा के ठेगान छ र ?

चड्याम्म गाला चड्किने गरी  

झापट पो खाइने हो कि ?

मर्ने गरी कुबेलामा ताजन पो भेटिने हो  कि ?

कहिलै नउठ्ने गरी इज्जतको धज्जी उढेर

जीवनभर समाजकै कलंकको टिका पो लगाइने हो कि ?

के थाहा ! फेरि बोल्ने मौकै पो नपाइने पो हो कि ?

 

हिजो जंगलको घास खाएकैले

गोरुको पुच्छर काटिएको हैन र ?

जुरे गोरुले बेजुरेलाई पछार्दा  

जुवासहित हल्लुँडो चोरी नै भएको हैन र ?

हलोको फाली र फेसोसँगै अनौ भाँचिएको हैन र ?

त्यसैलै, कुरा आफ्नैबाट सुरु गरौ है भन्ने प्रस्तावमा

दुवैको “हुन्छ“ भन्ने सहमतिपछि

दुवैको ’राजी खुसी’ पछि

कनिकुथी सुरु गरेँ

आफै भित्रको आफ्नो व्यथा

आफैभित्रको कथा शैलीको कविता  

अनि

कविता शैलिको कथा ।

 

त्यसैलाई आधार लिई

बितेका जिन्दगीका पानाहरू पल्टाउँदै  

बक्न थालेँ,

“फाटेको मझेत्रोको कट्टुमा

सियोले सिएर बनाको लुत्रुङ्गे गोजीभित्र

कमेरो र रातो माटोको डल्ला राखी  

पढ्न पाइयो भन्दै खुसी भएर

स्कुल गएको बेलाको कुरा हो यो,

चक्कुले बाँसको सिक्राको डिको बनाएर

धरानमा आरा लगाएर बनाएको  

चारपाटे फल्याकमाथिबाट

आफ्नो अक्षराङ्क  

प्रारम्भ गरेको बेलाको बात हो यो,

त्यसैलाई किताव र कापी दुवै बनाई  

मजाले हात सेतै र रातै बनाउँदै  

कति सिक्रा भाँचियो पत्तै भएन

त्यसैबेलामा सरले दिएको

घरको काम याद छ मलाई

भोलि स्कुल नपुग्दै गर्नुपर्ने  

कामको भारीहरू ताजै थियो मलाई ।

 

घरमा पनि घरको काम अनि

स्कुल सकिएपछि पनि

घरको काम’

पछि बुझेको मैले  

स्कुलबाट त्यो पाटीमा दिएको कामलाई  

गृहकार्य भनिदो रहेछ ।

घरमा पुगेपछि घरको काम बेग्लै हुन्थ्यो

सुरु गरिन्थ्यो

कहिले  

गहुँको छ्वालीसँगै त  

कहिले

कोदोको नरुवासँगै

कहिले परालको लठ्ठा बटार्दै पुलो सँगै लठारिँदै  

गृह कार्य सम्पन्न गरिन्थ्यो हामी

कहिले स्कुलमा सरले दिएको

घरको कामबाट सुरु गर्थ्यौ हामी ।

 

निम्न शीर्षकमाथि छलफल गर

भन्ने शीर्षकबाटै सुरु हुन्थ्यो

अनि हामी उर्लन्थ्यौ, ’तरवार बलियो कि कलम बलियो’ भनेर

’खोला धाउने कि तिर्खा धाउने’ भनेर  

घम्साघम्सी गर्थ्यौ हामी

लाप्पा पनि खेल्थ्यौ हामी

यसैमा कसैलाई आफ्नै पक्षमा सहमत गराउँथ्यौ हामी

कहिले विपक्षीलाई नै समर्थन गरिदिन्थ्यौ हामी

’विपक्षी विद्वान महोदयले भनेको कुरा ठिकै हो’ बाट सुरु गरी

सबै विपक्षी गलत  

सबै पक्ष सही  

बखान गर्थ्यौ हामी

मन परेकालाई तानातान र

मन नपरेकालाई ठेलाठेल अनि हानाहान ।

आफ्नोमा संख्या कम भए

विपक्षीकै खोसेर बढी भिड देखाइदिन्थ्यौ हामी

नमाने फकाउदै भनिदिन्थ्यौँ,

’आईज ओइ रातिगेडी दिउँला नि तलाई,

भिरगौँडी दिउँला नि,

भरे हेर राम्रो घुर्रा बनाइदिऊँला नि“

यसो भन्दै फकाउँथ्यौ

विपक्षीलाई नै कमजोर बनाइदिन्थ्यौ

हामीलाई पनि त्यसै गर्थे

कहिले धम्क्याउथे, कहिले घुर्क्याउँथे

कहिले डर र त्रासमै थरथर काम्ने बनाउँथे

कहिले रिङ्ग खेलेको बेलामा छिर्के लगाएर लडाइदिन्थे

कहिले मोझाको फुटबटलमा पछारिदिन्थे

कहिले ओफ लगाई मा खेदाइदिन्थे

गट्टी खेल्दा गट्टी नै फ्यालिदिन्थे

अनि  

ढ्याकको ढक उफार्दा हुत्याइदिन्थे  

लडे पछी ढक खोसिदिन्थे

र सबै कोठामा सम्राज्य जमाइदिन्थे

मन नपरेपछि

स्थानिय गाली गलौजको भारी बर्साइन्थ्यो

जे खोल्न बाँकी थ्यो त्यो सबै  

नाङ्गै बनिइन्थ्यो र देखाइन्थ्यो

विपक्षी नै त्यसै गर्थ्यौ

दुवैले दुवैको हेराइ भयो भन्ने  

पत्तै हुँदैन थियो

तर राम्ररी देखेर आइन्थ्यो

सबै हेर्ने पनि हेरिन्थ्यो

छोपेको पनि देखिन्थ्यो

नाप, आकार र तौल नै लगभग अनुमान लगाइन्थ्यो

के महिला, के पुरूष

रिसको बेलामा वेद कोही के पढिन्थ्यो ?

स्वास्थ्य कितावको पाठ पढाउँदा पढेका अक्षर  

नक्सामा सबै जस्ताको तस्तै प्रत्यक्ष दर्शन गरिन्थ्यो

अनि धोको फेरेर रिस मारिन्थ्यो र भनिन्थ्यो

आज चै राम्ररी भनेर आइयो

आज चै हामीले चड्कन हानेर आइयो,  

राम्रै दनक दिएर आइयो ।

 

अहिले पनि ताजै छन ती घटना

चार कक्षामा पढ्दाको अभ्यास थियो त्यो

नेपाली कितावको गृहकार्य थियो त्यो

भन्दै गर्दा  

आउनु भो बुबा टुप्लुक्क मेलाबाट

आउनु भो आमा टुप्लुक्क जंगलबाट

अनि भारी बिसाउँदै गलेको शरीरले थकित भएर  

सोध्नु भो

“फगटाबारीको  

कुवाबाट, गाग्रोमा पानी ल्यायौ केटा हो ?

अँ हँ ल्याएको छै

“घरभित्र बाहिर सबै फोहोर थ्यो, बढार्यौ केटा हो ?

अँ हँ बढारेको छैन

“बोरामा फापरको पिठो थ्यो, बाबर हाल्यौ केटा हो?

अँ हँ हालेको छैन

“डालोमा कोदाको पिठो थ्यो,  पुवा पकायौ केटा हो ?

अँ हँ पकाएको छैन

“मतानमा आगोको कोइला थियो,  

कैल्याटोमा आगो पैचो ल्याई साँझ बत्ती बाल्यौ केटा हो ?“

अँ हँ

सबै चिज यही घरभित्रै त थियो नि  

घरमा ल्याउन मिल्ने त थियो नि

किन चै केही गरेनौ त केटा हो ?

के चै गरेउ त तिमीहरूले केटा हो ?

यसरी घरको इज्जत रह्यो त केटा हो?

जोरीपारी हँसाउने काम कति गरेको केटा हो?

स्कुलमा सरले दिएको गृहकार्य गरयौ त तिमीहरूले

त्यसमा चै अलिअलि समर्थन जनाउँदै मुन्टो हल्लाउँदै भन्यौ  

ऊँ गरयौं

हामि अहिलेसम्म त्यसैको अभ्यास त गर्दै थियौ बुबा हजुर

अनि भन्नु भो

’थुक्क मोरा हो’

अहिलेसम्म अभ्यासै गरिराख !

यो घरलाई

दुनियाँ भरीको अभ्यास गर्ने ठाउँ नै बनाई राख तिमीहरू

दुनियाको घर राम्रो भैसक्यो

दुनियाकोमा बत्ती बलिसक्यो

दुनियाले भोक मेटाइसके

दुनियाले काम गरेर देखाइसके

दुनियाले सफलता हात पारिसके

दुनियाले कमाएर देखाइसके

तिमीहरू चै अभ्यासै गरिराख

यो घर तिमीहरूको अभ्यासै मात्रै घर बनाव बस

लुट, खाव, कामकाज केही गर्नु छैन

यसै गरी दुनियालाई रमिता देखाइरहनु !

यति भनेर बुबा भित्र रोटी हाल्न छिर्नुभो

गलेको शरीर लिएर आमा बढार्न थाल्नु भो ।

 

 

दाइले भन्नु भो

गफैमा हामीले कर्तव्य बिर्सेछौ नि भाइ

गफैमा हामीले जिम्मेवारी पूरा गरेनछौ नि भाइ

हाम्रा आदर्श, मूल्य, मान्यता र नैतिकता  

सबै स्वाहा पारेछौँ नि भाइ

भाइले भन्यो

हामी सबै मिलेर काम गरौ है दाइ

सबै मिले यी सबै काम चाँडै पूरा गरिन्छ नि हइ

एकमत भयौ र सुरु गरिउ

हस् भन्दै सबै सहकार्य गर्न थाल्यौ  

हो त्यहीबाट त्यही अवस्थाबाट

ठ्याक्कै

त्यही बिन्दुबाट बिर्सिएछु मैले

त्यहीबाट जानिन छु मैले

देशको बारेमा

कथा शैलीको कविता लेख्न

अनि

नेतृत्वको बारेमा

कविता शैलीको कथा लेख्न ।

भनेर यसो हिँड्न खोज्दा

झल्यास्स बिउँझिएर हेर्छु आफू त ओछ्यानमै र’छु

बिहान भैसकेको रहेछ  

रेडियोले समाचार भन्दै थियो

“आज पनि देशमा आन्दोलन जारी छ

घम्साघम्सी र तुच्छातुच्छी प्रहार छ

’जाडोको मौसम छ, पानी ततार मात्र खानु होला

जय देश जय नेपाल ।।

प्रकाशित: १८ पुस २०७७ ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App