किशन पौडेल
ज्योतिषले उसको कुण्डली हेर्दै भयो– तपाईँको ठूलो राजयोग रहेछ । अलिकति जपतप गर्नुभयो भने यो देशको प्रधानमन्त्री बन्न सक्नु हुनेछ ।
ज्योतिषको कुरा सुनेर ऊ दङ्ग पर्दै घर फर्कियो र रातभरि सोच्न थाल्यो । श्रीमान् छटपटिएको देखेर श्रीमतीले सोधिन् – होइन, तपाईँलाई के भयो ? यता कोल्टे उता कोल्टे फेर्दै रात छिप्पिइसक्यो न निदाएर त्यत्तिकै हुनुहुन्छ त ?
श्रीमानले बिहान ज्योतिषले भनेको कुरा सुनायो – मर्ने बेलामा हरियो काक्रो के गर्नु प्रधानमन्त्री भएर यत्रो सम्पत्ति जोडिसक्नुभएको छ । बेकार टाउको दुखाएर । भोभो सुत्नुस् , मलाई विश्वास लाग्दैन ।
बिहान उठेर जपध्यान गरेर रेडियो सुन्दै थियो । रेडियोबाट एउटा विज्ञापन बजिरहेको थियो – कान्तिपुर नगरीमा एकजना योग्य प्रधानमन्त्रीको आवश्यक भएको हुनाले इच्छुक उम्मेदवारले प्रतियोगितामा भाग लिन सहभागी हुनु होला ।
उसको अनुहारमा खुसीको रौनक चम्कियो । हतारहतार दौरासुरुवाल र टोपी लगाएर प्रतियोगितातर्फ हानियो ।
त्यहाँ ऊजस्तै धेरै वृद्ध प्रतियोगितामा सहभागी हुन आएको देखेर दङ्ग परयो।
त्यहाँ एउटा गजबको अदभूत कुर्सी राखिएको थियो र त्यहाँ लेखिएको थियो – जो इमानदार र नैतिकवान् छैनन् , भ्रष्ट आचरणबाट गुज्रिएका छन् तिनीहरू कुर्सीमा बस्नेबित्तिकै कुर्सीको तापले मर्ने छन् ।
ऊ नराम्रोसँग झस्कियो र सोच्न थाल्यो – ओहो यो त अग्निपरीक्षा पो रहेछ । जिन्दगीलाई नै दाउमा राखेर भो चाहिँदैन यो कुर्सी बरु तीर्थतिर गएर पाप पखालेर आउँछु भन्दै सरासर घरतिर फर्कियो ।
प्रकाशित: १५ पुस २०७७ ०५:४२ बुधबार





