३ माघ २०८२ शनिबार
image/svg+xml
कला

तर पीडा दिनेहरू सधैँ आफ्ना नै हुन्छन्

मुक्तक

रुद्र अधिकारी 

 

१)

बाँसको  अस्तित्व  मेटाए नि बाँसुरी मिठै बज्छ ।

थुकले  तन  नै  रुझाए  नि  बाँसुरी  मिठै  बज्छ ।

पीडा  हुँदैमा  दुखी  नै  हुनुपर्छ भन्ने केही छैन,

झिरले घोच्दै प्वाल बनाए नि बाँसुरी मिठै बज्छ ।

 

 

   २)

मनले  चाहेझैं मन  फुकाउन सकिन्न ।

जिन्दगी सोचेको जस्तै बनाउन सकिन्न ।

कसैको अन्तर्मनले प्रेम  गर्दैन  भने,

शरीर  पाए  पनि  प्रेम  पाउन  सकिन्न ।

 

  ३)

पराईले  भलो  सोच्दैन भनी कान थुन्छन् ।

आफ्नालाई  भरोसा गर्नेहरू सधैँ रुन्छन् ।

खुसी  दिनेहरू पराई  पनि हुन सक्छन्,

तर पीडा दिनेहरू सधैँ आफ्ना नै हुन्छन् ।

 

  ४)

कालले लगे  रित  नै  हो  मन  थामिन्छ बरु ।

कर्मको लेखा  यस्तै  रैछ  भनी  बसिन्छ  बरु ।

घाममा त सिसाका टुक्रा नि हिराझैँ टल्कन्छन्,

जिन्दगीको  अँध्यारोमा  नै मान्छे चिनिन्छ बरु ।

 

  ५)

प्रेम भिक्षा ठानी दया जागेजस्तै  गरी ।

फाइदा  हेर्छन्  हृदय साटेजस्तै  गरी ।

कोहीकोहीले मुटुमा स्थान दिन्छन् तर,

पन्छीलाई  पिँजडामा  राखेजस्तै गरी ।

प्रकाशित: १५ पुस २०७७ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App