तुलसीराम खरेल
विद्यालय लामो समयसम्म बन्द भएकोले आफ्नो दिनचर्या समेत बिग्रिएको थियो। गाउँमा कोभिडको ठूलो त्रास नभए पनि सङ्क्रमण नै नहुने कुराको प्रत्याभुति थिएन। दुर्गम क्षेत्रमा शिक्षाको ज्योति छर्ने कुरा आफैँमा धेरै चुनौतीपूर्ण थियो। एकदमै पातलो बस्ती, पहाडी धरातल, गरीबी र अशिक्षाको अन्धकारको भुमरीभित्र पूर्णबहादुर सधैं अपूर्ण ठान्थे आफूलाई। उनी स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत थिए। विद्यालयलाई आकर्षक, ठूलो शैक्षिक केन्द्र बनाउने धोखो अपूर्ण सपना होला जस्तो लाग्दैनथ्यो।
ठाउँठाउँमा विद्यालयहरू खुल्न थालेका थिए। आफ्नो विद्यालय पनि खोलेर शैक्षिक वर्ष खेर जान दिनु हुँदैन भनेर पूर्णबहादुर लागेका थिए। बन्दको बेला पनि भेट भएका विद्यार्थीहरूलाई हौसला दिन्थे। कोभिडबाट बच्ने उपायहरूबारे गाउँमा समेत सचेत गराउँदै हिड्थे। तास ,जुवा , मदिरापान आदिको विरोध गर्दथे। त्यसकारण उनी कसैका लागि आँखाका कसिंगर समेत थिए।
दुई दिनपछि देखि विद्यालय खोल्ने निर्णय भएको थियो। विद्यालय ब्यवस्थापन समितिका सबै सदस्य पूर्ण सरको कुरामा सहमत भैहाल्थे। केटाकेटीहरु अब विद्यालय खुल्ने कुराले उत्साही भएका थिए। अभिभावकहरू पनि आफ्ना नानीहरु बरालिँदैनन्, अब विद्यालय जान पाए भनेर हर्षित भएका थिए।
बेलुकादेखि पूर्ण सरको पत्तो थिएन। उनका ससाना छोराछोरी, वृद्ध आमा र श्रीमती समेत छक्क परिरहेका थिए। बेलुका उनको लास जंगलमा फेला पर्यो। उनलाई अज्ञात समूहले गोली हानी हत्या गरेको पुष्टि भयो।
प्रकाशित: १ पुस २०७७ ०४:३१ बुधबार





